–शम्भू पनेरु
खास अहिलेको व्यवस्था १० वर्षे जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनले ल्याएको हो । तत्कालीन समय भएको १२ बुँदे सहमतिले यो व्यवस्था ल्याउन जगको काम गरेको थियो । तत्कालीन विद्रोही माओवादी र संसदवादी दलहरु एक ठाउँमा नआएको भए, हामी व्यवस्थामा आउन सम्भव थिएन । किनकि सांसदवादी दलहरूको त्यति ल्याकत थिएन कि एक्लै निरङ्कुश राजतन्त्रलाई फाल्ने । उनीहरूभित्र त्यो ढङ्गबाट आत्मबलसमेत पलाएको थिएन । जब तत्कालीन राज्य सत्ता बराबरको अर्को शक्ति माओवादी बाहिर थियो, तब नै उनीहरूलाई व्यवस्था परिवर्तनतर्फ लाग्न सहज बनायो । नत्र उनीहरू ज्ञानेन्द्र शाहको काल कोठरीमा कैद भएका हुन्थे । संघर्षको समयमा तत्कालीन माओवादी र सांसदवादी ७ दलबिच यति प्रगाढ भरोसा र विश्वास नभएको भए ऐतिहासिक परिवर्तन सम्भव थिएन ।
तर, आज परिस्थिति बदलिएको छ । तत्कालीन सांसदवादी दलहरूको स्वरूपमात्रै बदलिएको छैन, वैकल्पिक राज्यसत्ता बनाएको माओवादी पनि बदलिएको छ । करिब दुई दशकको यो समयमा माओवादी नै फेरिएको छ । उ अन्यजस्तै सांसदवादी बनेको छ । उसका तत्कालीन नीति मुख्य सांसदवादी दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)का भन्दा फरक छैनन् । ‘संसदलाई उपयोग’को नाममा उ आफैँ यो व्यवस्थामा फसिसकेको छ । र, उ यही व्यवस्थाको रक्षार्थ आफूलाई प्रस्तुत गरिरहेको छ । तत्कालीन समय ‘कुकुरको टाउको’ भनेर संसदलाई पर्याय बनाएको माओवादी स्वयम् खसी टाउको देखाएर मासु बेच्ने बुच्चर चलाउन तल्लीन बनेको छ ।
यद्यपि, यहीबिचमा यो व्यवस्था ल्याउन लडेका दलहरू आज एक–अर्काका विरोधी बनेका छन् । एकले अर्कोलाई सिध्याउने शैलीमा प्रस्तुत भएका छन् । मूलतः तत्कालीन मुख्य शक्ति माओवादी निकै कमजोर भएको छ । उ कमजोर भइरहँदा सांसदवादी कांग्रेस र एमालेले हदैसम्म पेलानमा पार्ने प्रर्यत्न गरेका छन् । र, एक ढंगले भन्दा माओवादीलाई सबै हिसाबले सिध्याउने शैली सांसदवादी कांग्रेस र एमालेबाट भइरहेको देखिन्छ । हुन त यसमा दोषी को भनेर खोज्दा स्वयम् माओवादी हुन जान्छ । किनकि उसले जनतासँग गरेका प्रतिबद्धतालाई तिलाञ्जली दिएर सत्ता भोगमा आफूलाई डुबायो । उसले आफ्नै एजेन्डा बिक्री गर्न थाल्यो । सत्ताका निम्ति नीति नै नमिल्नेसँग पनि पार्टी एकता मात्रै गरेन चुनावी एकता र सत्ता सहकार्यसम्म गर्न पुग्यो ।
सायद, आफ्नै खुट्टामा बन्चरो प्रहार गर्नुको उखान माओवादी आन्दोलनमा समेत प्रयोग गर्न सकिन्छ । जसको परिणाम नै भन्नुपर्छ आज व्यवस्थामाथि समेत प्रश्न उठेको छ । परिवर्तनहरू उल्ट्याउने खतरा देखिएको छ । यद्यपि, यसमा माओवादी दोषी होइन, महादोषी छ । उसको गलत अभ्यासले यो अवस्था सिर्जना गराएको हो । यदि माओवादी सही हुन्थ्यो भने, फरक व्यवस्थाको अभ्यास हुन्थ्यो । तर, त्यो भएन ।
माओवादीले गाँस, बास र कपाससहित शिक्षा, स्वास्थ्य र रोजगारीबारे फरक नीति लिएको थियो । तर, आज उसले गाँस, बास र कपासका नीति मात्रै बिर्सिएको छैन, शिक्षा, स्वास्थ्य र रोजगारीलाई आम हुँदा खानेको पहुँचभन्दा टाढा पुर्याउने काम गरेको छ । सत्ताको संसर्गमा पुगेसँगै उसले हुँदा खाने होइन, हुने खानेको पक्षमा काम ग¥यो । उसका प्रत्येक नेता कसरी हुने खाने हुने भन्ने ध्याउन्नै लागे । आज तत्कालीन जनयुद्धका मुख्य नेतृत्वकर्ताको धन सम्पत्तिको तह मात्रै फेरिएको छैन, जीवनशैली नै तत्कालीन समय भनिने ‘सुकिला मुकिला’मा परिवर्तन भएको छ । यो निकै विडम्बनाको विषय हो । यो एउटा समूह, एउटा दल वा एउटा वर्गको विषय होइन, तत्कालीन आन्दोलन आम हुँदा खाने वर्गको आन्दोलन थियो, जसले सबैलाई समेटेर बेग्लै परिवर्तनको आशा देखेको थियो । तर, आज एउटा नेतृत्वकर्ता बिग्रिँदा समग्र आन्दोलन नै धूलिसाथ भएको छ र एउटा तप्का जोगिन रक्षात्मक शैलीमा उपस्थित छ ।