–सरस्वती मोहोरा
दुनियाँ त्यतिकै सनकले बदलिने होइन । आवेशले, आक्रोशले, क्रान्तिकारी जोसले मात्रै पनि बदलिने होइन । दुनियाँ प्रतिभा, मेधा, निपुणताले बदलिने भए, बुर्जुवाहरूले यो दुनियाँ उहिल्यै बदलिसकेका हुने थिए । मार्क्सले सर्वहारालाई क्रान्तिको नेता घोषित गर्दैन थिए होला । माओले व्यवहारको बारेमा कुरा गर्दा भनेका थिए, “मार्क्स, एंगेल्स, लेनिन, स्टालिन जतिसुकै मेधावी र प्रतिभाशाली भए पनि उनीहरूले व्यक्तिगतरूपमा आफ्नो समयको वर्ग संघर्षमा भाग नलिएका भए र वैज्ञानिक प्रयोगलाई उपयोगमा नल्याएका भए क्रान्तिकारी मार्क्सवादी सिद्धान्तको प्रतिपादन उनीहरूले गर्न सक्दैन थिए ।” मार्क्सवादी सिद्धान्त÷विचारको प्रतिपादन यसरी क्रान्तिकारी व्यवहार वा वर्ग संघर्षमा हेलिएर मात्र सम्भव हुने कुरा माओले गरेका छन् । क्रान्तिकारी नेतृत्वले व्यक्तिगत रूपमा वर्ग संघर्षमा सहभागी भएर मात्रै क्रान्तिकारी सिद्धान्त र विचारको प्रतिपादन गर्न सक्ने कुरा स्पष्ट रूपमा राखेका छन् ।
वर्गीय समाजमा वर्गको निषेध गरेर वर्ग निरपेक्ष नारा दिने फ्रान्सेली बुर्जुवा क्रान्तिले यता आफ्नो विगत पाँच सय वर्षदेखिको अवधिभर पनि स्वतन्त्रता, समानता र भाइचारा जस्ता नारा र कार्यक्रमलाई अहिलेसम्म पनि आफ्नै बुर्जुवा तानासाही रहिरहेको व्यवस्था र अवस्थामा पनि व्यावहारिकता दिन सकेन । जनमानसमा साँच्चैको सद्भावना, शान्ति र सुरक्षाको प्रत्याभूत गर्न नसक्नुले, बुर्जुवा विचार र बुर्जुवा व्यवस्था असफल भइसकेको कुरा स्विकार्नै पर्दछ । मार्क्सले १९औँ शताब्दीको उत्तरार्ध तिरै बुर्जुवा विचार र नेतृत्वले सामाजिक क्रान्ति गर्न नसक्ने कुरा तथ्यसहित प्रस्ट पारेका थिए ।
वर्ग संघर्षको खोज आफूले नगरेको कुरा पनि उनले गरेका थिए । मार्क्सको मुख्य कुरा वर्ग संघर्ष नभएर इतिहासदेखि अहिलेसम्मको सबै समाजलाई अघि बढाउने इन्जिनको भूमिकामा वर्ग संघर्ष मुख्य निर्णायक र इतिहासको चालक शक्ति रहेको कुरा भने उनले गरेका छन् । यसका साथै अझै महत्वपूर्ण कुरा पुँजीवादी समाजमा बुर्जुवाहरू नभएर श्रमजीवी सर्वहारा वर्ग क्रान्तिको मुख्य नायक र मुख्य नेतृत्व हुने मुख्य कुरा उनले गरेका छन् ।
काल्पनिक समाजवादी र वैज्ञानिक समाजवादी वा मार्क्सवादीबिचको अन्तर, काल्पनिक समाजवादीहरू बुर्जुवाहरू प्रति नरम र उदार हुने, क्रान्तिका नायकका रूपमा सर्वहारा वर्ग र नेतृत्वलाई चिन्न नसकेका कुरा माओले गरेका छन् भने वर्ग संघर्षमा नै मुख्य रूपले भर पर्नुपर्ने कुरामा जोड उनले दिएका छन् । यसो र बुर्जुवा विचार र बुर्जुवा नेतृत्वले पुँजीवादी समाजमा सामाजिक बदलाव वा क्रान्ति नहुने कुरा मार्क्सले उहिल्यै १९औँ शताब्दीको उत्तरार्ध तिरै भनेका थिए ।
मार्क्सवादी दर्शनको कुरा गर्दा माओले यसका दुई वटा मुख्य विशेषता सर्वहारा वर्गको पक्षमा स्पष्ट रूपले यसले घोषणा गर्ने ‘वर्ग पक्षधरता’ र व्यावहारिकता ( सिद्धान्त र दर्शनको मूल र आधार व्यवहारलाई मान्ने) अथवा मार्क्सवादी दर्शनले व्यवहारलाई मूल, आधार र निर्णायक मान्ने र दर्शन र विचारलाई व्यावहारिकका लागि महत्वपूर्ण ठान्ने । मार्क्सवादले यसरी सर्वहारा वर्गको पक्षमा स्पष्ट दृष्टिकोण र अडान राख्ने र उक्त दृष्टिकोण र अडानले फेरि क्रान्तिकारी व्यवहार र वर्ग संघर्षलाई सघाउ पु¥याउने मार्क्सवादी दर्शनको विशेषता बुझिन्छ ।
सामाजिक क्रान्ति, परिवर्तन मुख्यतः र अन्ततः सामाजिक संरचनालाई बदल्ने कुरा हो । मार्क्सवादी द्वन्द्ववादले सामाजिक संरचनालाई बदल्नमा व्यक्तिगत मनोभाव र मानसिकतालाई बदल्ने कुरा वा त्यसको पनि भूमिका महत्वपूर्ण हुने कुरा गर्दछ । कहिले काहीँ अझ यो निर्णायक पनि हुने कुरा गर्दछ । सिद्धान्तको मूल व्यवहार भए पनि क्रान्तिकारी सिद्धान्त बिना क्रान्ति सम्पन्न नहुने कुरा लेनिनले गरेका छन् ।
सामाजिक संघर्षका लागि वैचारिक संघर्षमा व्यक्तिले आफूलाई, आफ्नो दृष्टिकोणलाई खार्ने कुरा निकै जटिल र महत्त्वपूर्ण हुन जान्छ । यद्यपि, विपरीत तत्वहरूको बिचको संघर्ष वा अन्तरविरोधको नियमअनुसार हुने आत्मसंघर्ष, अन्तरसंघर्ष बिना सजिलै एकैचोटी सिङ्गो समाज र दुनियाँ बदल्ने वर्ग संघर्षको कुरा गर्छाैं हामी । वर्ग संघर्ष विज्ञान पनि हो र त्यो एउटा विशेष प्रक्रियाअन्तर्गत गतिशील र क्रियाशील जटिल विषय पनि हो । जो निरन्तर आत्मसंघर्ष र अन्तरसंघर्षको प्रक्रियाबाट अघि बढ्ने वा पछि पर्ने गर्दछ भन्ने कुरा पनि सायदै बुझ्दछौ ।
सामाजिक परिवर्तन÷क्रान्ति माओले “कारचोपी बनाउने र फुल बुट्टा भर्ने जस्तो सजिलो हुँदैन, आफ्नो टाउकोमा आफ्नै हातले आगो सल्काउने कुरा क्रान्ति हो” भनेका थिए । गोर्कीले पनि “हातहरूलाई सशस्त्र बनाउनुअघि दिमागलाई सशस्त्र बनाउनुपर्दछ” भनेका थिए । पुरानो रूढि कु–परम्पराहरूलाई नभत्काई कन, पुराना विचार, मान्यता र आदर्शहरूका विरुद्ध संघर्ष नगरीकन, विचारमा जड र हैकम जमाएर बसेका सामन्ती बुर्जुवा सोच, संस्कारजन्य दिमागी संरचनालाई नभत्काई कन, यथार्थमा नयाँ प्रगतिशील सोच र संरचनाको निर्माण गर्ने कुरा कत्ति सम्भव होला र ?