२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

संघको भवन खरिदबारे व्यवसायीका तर्क वितर्क

ADV
२०८१ भदौ २५ गते ०६:३५
संघको भवन खरिदबारे व्यवसायीका तर्क वितर्क

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काठमाडैंको सिफलमा ६ आना जग्गामा बनेको साढे तीन तले घर खरिद गर्न बैनाबट्टा गरेपछि संघलाई आगामी दिनमा कस्तो भवन चाहिने हो भन्ने बहस प्रारम्भ भएको छ ।

स्थापनाको तीन दशकभन्दा बढी समय भएको र मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगार व्यवसायले ठूलो योगदान गरिरहेको भएपनि संघको हालसम्म आफ्नै भवन छैन । आफ्नो भवन नहुँदा दैनिक कार्यालय सञ्चालन, भावी योजना निर्माण र कतिपय नीतिगत छलफलमा समेत समस्या भएको व्यवसायीहरुले महसुस गरेका छन् । सोही कारण व्यवसायीहरुले धेरै अगाडिदेखि आफ्नै भवन हुनुपर्ने आवाज उठाइरहेका छन् । संघको आफ्नै भवन बनाउने विषय अन्य समयमा भन्दा कार्यसमितिको निर्वाचनको समयमा प्रखररूपमा उठ्ने गरेको छ ।

संघका हालका अध्यक्ष राजेन्द्र भण्डारी, महासचिव मेघनाथ भुर्तेलले गत निर्वाचनमा संघको भवन बनाउने विषयलाई प्रमुख एजेण्डा बनाएर मत मागेका थिए । त्यतिमात्र नभइ संघका पूर्वमहासचिव तथा नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका पूर्वअध्यक्ष नरेश गेलालले संघको भवन नबनेसम्म आफू संघ अध्यक्षको उम्मेदवार नै नबन्ने घोषणा नै गरेका थिए ।

आफ्नै भवन बनाउने र त्यसमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको झण्डा फहराउने व्यवसायीको चाहना धेरै अगाडिदेखिको हो । संघले करिब १८ वर्ष अगाडि तत्कालीन अध्यक्ष दानबहादुर तामाङको कार्यकालमा सिनमंगलमा खरिद गरेको करिब साढे सात आना जग्गामा भवन निर्माण गर्ने योजना बनाइ श्रम मन्त्रालयका तत्कालीन सचिव लक्ष्मण मैनालीबाट शिलान्याससमेत गराएको थियो । 

तत्कालीन अवस्थामा उक्त भवन निर्माण गर्न संघमा सदस्य रहेका सम्पूर्ण म्यानपावर कम्पनीबाट न्यूनत्तम ५१ हजार र संघ कार्यसमिति र सल्लाहकारहरूले न्यूनतम १ लाख १ हजार आर्थिक सहयोग गर्नुपर्ने निर्णय भएको थियो । भुइँ तला पार्किंङ र पहिलो तलामा करिब सय जना अटाउने सभा हल र त्यसभन्दा माथिल्लो तलामा संघको कार्यालय रहने योजनासहित संघले करिब साढे ३ तलाको भवनको परिकल्पना गरेको थियो । संघको भवनको डिजाइनलगायतका कार्य अरनिको डेभ्लपर्सलाई दिने निर्णयसमेत भएको थियो । तर बागमती सभ्यता विकास परियोजनाले अनुमति नदिएपछि संघको भवन निर्माणको कार्य रोकिएको थियो । 
यसपटक संघले पहिलेको भन्दा कम क्षेत्रफलको जग्गामा बनेको भवन खरिद गर्न बैनाबट्टा गरेपछि त्यसलाई अनुपयुक्त र साँघुरो भन्दै कतिपय व्यवसायीले त्यस्तो ठाउँमा लगानी गर्नु अगाडि संघ नेतृत्वले दुरदर्शी दृष्टिकोण राख्नुपर्ने बताएका छन् ।

संघले भवन खरिदका लागि बैना गरेपछि व्यवसायीले समूह बनाएर लाभहानी,  उपयुक्त अनुपयुक्तलगायतका विषयमा छलफल गरिरहेका छन् । राई वैदेशिक रोजगार व्यवसाय समाजका कार्यबाहक अध्यक्ष चन्द्र राईले संघले भवन खरिद गर्ने विषय सकारात्मक भएपनि उक्त भवन भविष्यमा थपिनेसहित हाल कायम रहेका ९ सय ९२ व्यवसायीका लागि उपयुक्त हुनुपर्ने बताउँछन् । उनले तत्कालका लागि नभइ दीर्घकालीनरूपमा पनि भरपर्दो छ कि छैन भन्ने विषयमा संघ कार्यसमिति व्यवसायीका अगाडि जवाफदेही हुनुपर्ने र सबैसँग छलफल चलाउनुपर्ने बताए । उनले भने, ‘ठाउँ साँघुरो भएको धेरैलाई लागेको छ । यसमा संघ गम्भीर हुनुपर्छ ।’

उता संघका महासचिव मेघनाथ भुर्तेलले भवन खरिदका लागि प्रक्रिया अघि बढेको अवस्थामा कोही पनि प्रक्रियालाई खलबल्याउने गरी प्रस्तुत हुन नहुने बताए । मध्यान्हसँगको कुराकानीमा उनले भने, ‘पटक–पटक सार्वजनिक विज्ञापन गरेर टेण्डर आह्वान गरिएको हो । प्राप्त भएकोमध्ये सबैभन्दा राम्रो प्रस्तावअनुसार भवन खरिदका लागि प्रक्रिया अगाडि बढेको हो । यसमा सबै व्यवसायीले खुला हृदयले सहकार्य गर्नुपर्छ ।’

ADVADV

सम्बन्धित खबर

Advertise