२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

इन्जिनियर्स एसोसियसनको निर्वाचन : प्रगतिशील समूहले सार्वजनिक गर्‍यो ३४ सूत्रीय साझा प्रतिबद्धता

ADV
लेखनाथ सिकारु
२०८१ भदौ २६ गते २१:४५
इन्जिनियर्स एसोसियसनको निर्वाचन : प्रगतिशील समूहले सार्वजनिक गर्‍यो ३४ सूत्रीय साझा प्रतिबद्धता

काठमाडौं : इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियसन नेपाल ३४ औं निर्वाचनको संघारमा छ । विभिन्न ६ वटा समूह निर्वाचनमा होमिएका छन् । यसै अन्तर्गत नेपाल इन्जिनियर्स एसोसिएसन प्रगतिशील समूहले ई. प्रा. डा. विष्णुप्रसाद पाण्डेको नेतृत्वमा समूह तयार गरेको छ ।

जापानबाट जलस्रोतमा विद्यावारिधि तथा पोष्ट डक्टोरल उपाधि हासिल गरेका पाण्डे हाल इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा प्राध्यापकको रुपमा कार्यरत छन् । 

पाण्डेको समुहका उपाध्यक्षमा इ. सुमन योगेश, महासचिव इ.डा. लक्ष्मणप्रसाद घिमिरे, उपमहसचिव इ. कृष्णबहादुर पाण्डे, कोषाध्यक्ष इ. विन्दु पौडेल, सहकोषाध्यक्ष इ. राजेन्द्र गौतम छन् । 

यस्तै सदस्यहरू इ. धर्म महर्जन, इ.निरन काफ्ले, इ.हर्ज उमिन तुम्रोक लिम्बू, इ.सूर्यप्रसाद कडरीया, इ.पवन रावल, इ.रमेश पौड्याल, ई.राधा ढकाल छन् । यस्तै इ. मनिश सुवेदी, इ.एलिसा गौतम, इ.नारायण प्रसाद रेग्मी, इ.स्वाभिमान आचार्य र इ. नितेशकुमार यादव रहेका छन् ।

इन्जिनियरहरूको हकहितको संरक्षणका विषयमा उक्त समुहले आफ्ना ३४ सूत्रीय घोषणा पत्रसहितको साझा प्रतिबद्धता सार्वजनिक गरेको छ ।  

उनीहरूले एसोसिएसनको सदस्यताको गुणस्तरीयता र गरिमालाई वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन्  । सोको लागि ने.इ.ए.मा नीतिगत हस्तक्षेप गर्न सक्ने, प्राज्ञिक र अन्तर्राष्ट्रिय अनुभव भएका नेतृत्वको खाँचो रहेको भन्दै एसोसिएसनलाई पेशागत संगठन बनाउन यो क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यभारहरू रहेको उल्लेख गर्दै आफ्नो जित सुनिश्चित रहेको जनाएको छ ।

एसोसिएसनले समग्र इन्जिनियरिङ् पेशामा आबद्ध श्रमजीविहरूको पेशागत हकहित सहित सरकारी सेवा क्षेत्रमा इन्जिनियरहरूको प्रवेश र त्यहाँ हुने विभेदका विषयमा सरकारले नीतिगत सुधार गर्दै त्यसको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ । 

उक्त समुहले इन्जिनियरहरूको हकअधिकार, स्वास्थ्य उपचारको सेवा, गुणस्तरीय इन्जिनियरिङ् शिक्षा, वृत्ति विकास, समान सेवा सुविधालगायतका विषयहरूमा सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

नेपालको सन्दर्भमा इञ्जिनियरहरूले पाउने तलब तथा सुविधा अरु क्षेत्रको तुलनामा निकै कम रहेकाले चाँडोभन्दा चाँडो यसको व्यवस्थापन गर्नुपर्ने माग इञ्जिनियरहरूले राखेका छन् । 

‘स्नातक तहको डिग्री हासिल गरेका इञ्जिनियर तथा आर्किटेक्टहरूलाई कतै सातौँ र कतै छैठौँ तहमा प्रवेश गराइन्छ,’ पाण्डेले भने, ‘यस्तो विभेदपूर्ण नीति र प्रक्रियाप्रति हाम्रो घोर असहमति छ र सबै निकायहरूमा कम्तीमा सातौँ तहलाई नै प्रवेश तह बनाउनु पर्छ ।’  यसै क्रममा उनले आफू आसन्न निर्वाचनमा विजयी भएमा त्यसका लागि आफ्नो पहिलो पहल हुने उनले बताए ।

दक्ष र कर्मशील इन्जिनियरहरुको संख्या वृद्धि हुँदै गइरहेको आजको प्रतिष्पर्धात्मक युगमा संस्थामा आबद्ध इन्जिनियररआर्किटेक्टहरुको संख्या निरन्तर वृद्धि गरी एशोसियसनलाई बलियो बनाउनुपर्ने आम इन्जिनियरिङ् समुदायको मान्यता रहेको छ । 

त्यस्तो रुपान्तरणकारी भूमिका खेल्नका लागि एशोसियनका अनुभव र अठोट तथा पौरख र प्रतिबद्धता भएको नेतृत्वको आवश्यकता अपरिहार्य रहेको उनले बताए ।

नेपाल इञ्जिनियरिङ्ग काउन्सिलको तथ्यांक अनुसार हालसम्म इन्जिनियरिङ्गका कुल ५५ विधामध्ये विभिन्न ४४ विधाका झण्डै ८५ हजार इञ्जिनियरहरू काउन्सिलमा दर्ता भइसकेका छन् । 

हालसम्म काउन्सिलमा आबद्ध भएका कुल ५५ वटा इन्जिनियरिङ् कलेजहरूमा वार्षिक भर्ना क्षमता १२ हजार जति छ भने वार्षिक ४ हजार भन्दा बढी इञ्जिनियरहरू उत्पादन भइरहेका छन् ।

प्रगतिशील समूहको टीम संयोजन, अनुभव, योग्यता, क्षमता, ऊर्जा तथा इन्जिनियरिङ क्षेत्रमा गरेको योगदान नै जितका सशक्त आधारहरु रहेको उक्त समूहले दाबी गरेको छ  ।

ADVADV

सम्बन्धित खबर

Advertise