२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मणिपुरमा हिंसा वृद्धि भएपछि भारतीय प्रहरीद्वारा दर्जनौँ पक्राउ

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते १५:२२
मणिपुरमा हिंसा वृद्धि भएपछि भारतीय प्रहरीद्वारा दर्जनौँ पक्राउ

काठमाडौंः जातीय हिंसामा वृद्धि भएपछि कर्फ्यू र इन्टरनेट सुविधा समेत बन्द गरिएको मणिपुर राज्यमा बिहीबार भारतीय प्रहरीले ३३ जनालाई पक्राउ गरेको अधिकारीले बताएका छन् । मणिपुरमा मुख्यतया हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबिच सन् २०२३ को मे महिनामा शुरु भएको जातीय द्वन्द्वले कम्तिमा २०० जनाको ज्यान लिएको छ । 

महिनौँको सापेक्षिक शान्तिपछि यस महिना द्वन्द्वको नयाँ लहर शुरु भएको हो । विद्रोहीहरूले रकेट र ड्रोन प्रयोग गरेर आक्रमण गर्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने राज्यमा हिंसाको उल्लेखनीय वृद्धि भएको प्रहरीले बताएको छ । ‘पछिल्ला केही दिनमा भएको हिंसात्मक विरोध प्रदर्शनपछि मणिपुर प्रहरीले सात किशोर र अन्य ३३ जनालाई पक्राउ गरेको छ’, प्रहरीको एक विज्ञप्तिमा भनिएको छ । 

प्रहरीले मानिसहरूलाई हिंसाग्रस्त क्षेत्रमा शान्ति कायम गर्न कानून प्रवर्तन विभागसँग सहकार्य गर्न आग्रह गरेको छ । गत वर्ष महिनौँसम्म चलेको ‘ब्ल्याकआउट’लाई दोहोर्‍याउँदै अधिकारीहरूले विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरेका छन् । प्रहरीले कर्फ्यूको आदेश पनि जारी गरेको थियो तर राज्यको राजधानी इम्फालमा सयौँले आदेशको अवहेलना गर्दै प्रदर्शन गरेका थिए ।

मेइतेई प्रदर्शनकारीले कुकी समुदायलाई पछिल्लो आक्रमणको दोष लगाउँदै उनीहरूविरुद्ध कारबाहीको माग गर्दै मंगलबार विरोध प्रदर्शन गरेका थिए ।मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीको विषयमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ । अधिकारकर्मीहरूले राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप लगाएका छन् । सरकारी तथ्याङ्कअनुसार गत वर्ष दुई समुदायबीचको लडाइँले लगभग ६० हजार  मानिस आफ्नो घर छोड्न बाध्य भएका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise