२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

जयपृथ्वीका ८ विद्यालयमा आइसिटी ल्याब स्थापना

ADV
सत्यराज सिंह
२०८१ असोज ४ गते २०:४४
जयपृथ्वीका ८ विद्यालयमा आइसिटी ल्याब स्थापना

बझाङ : प्रगतीशिल युवा समाज बझाङले बझाङको जयपृथ्वी नगरपालिकाका आठ वटा सामुदायिक विद्यालयहरुमा सूचना, सञ्चार तथा प्रविधि (आइसीटी) ल्याब स्थापना गरेको छ ।

वर्ल्डभिजन इन्टरनेश्नल नेपाल, एडुटेक नेपालको आर्थिक सहयोग र प्रगतिशिल युवासमाजद्वारा संचालित विद्यालयमा प्रविधिमैत्री शिक्षा सिक्ने अवसर (टेलस) परियोजना अन्तर्गत उक्त ल्याब स्थापना गरिएको हो । आइसिटी ल्याबमा विद्यालयमा विद्यार्थीको पठनपाठनमा आवश्यक शैक्षिक सामग्री (इ–लाइब्रेरीसहित)को ३ घण्टा पावर ब्याकअप, फर्निचर आवश्यक रंगरोगनसहित कक्षाकोठा व्यवस्थापन गरी ल्याबको स्थापना गरिएको छ । 

जयपृथ्वी नगरपालिका–१ कैलाशमा रहेको नारायण माध्यामिक विद्यालयका प्रधानाध्यापक ऐन बहादुर सिंहले भने,‘अहिलेसम्म विद्यालयले कक्षा ४ देखि १० सम्म कम्प्युटर बिना नै कम्प्युटर विषय अध्यापन गराइरहेको थियो । प्रयोगात्मक परीक्षा गर्ने कम्प्युटर नभएकोले थौरी टिकल मात्र पढाइ हुन्थ्यो, अब कक्षाका १ देखि १० सम्मका विद्यार्थीहरुलाई एक साथ आइसिटी ल्याबको प्रयोग गरी अध्यापन गराउन सहज भएको छ ।’

सुनिपिपलचौर माध्यामिक विद्यालय सुवेडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र बहादुर सिंहले डिजिटल साक्षरता अभियानमा समुदायका युवाहरुलाई पनि समेट्ने सर्त रहेकाले फुर्सदको समयमा विद्यार्थी बाहेक अन्य युवायुवतीहरुले पनि ल्याबमा पढ्न र सिक्न पाउने उनको भनाइ छ ।

संस्थाले ल्याब सञ्चालन गर्नुअघि विद्यालयका शिक्षकलाई तालिम प्रदान गरेको छ, भने विद्यालयका प्रधानाध्यापक, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षक अभिभावक संघ र जनप्रतिनिधिहरुलाई ल्याबको व्यवस्थापन र सञ्चालन सम्बन्धी विभिन्न समयमा छलफल पनि गर्दै आएको प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले बताए ।

जयपृथ्वी नगरपालिकाभित्रका नारायण माध्यामिक विद्यालय, बालविकास माध्यामिक विद्यालय, पाण्डु माध्यामिक विद्यालय, निलकट्टी माध्यामिक विद्यालय, सुनिपिपल चौर माध्यामिक विद्यालय,भवानी माध्यामिक विद्यालय,शिशु आधारभूत, विद्यालय र सुर्मा आधारभूत विद्यालय गरी नगरपालिकाका ८ वटा विद्यालयमा आइसिटी ल्याब स्थापना गरिएको समेत अध्यक्ष केसीले बताए ।

पढाइलाई अझ रोचक

आइसिटी ल्याब स्थापना भएपछि शिक्षक तथा विद्यार्थीहरुलाई पठनपाठनमा सहज भएको विद्यालय परिवारको भनाइ छ । नारायण माध्यामिक विद्यालयकक्षा आठमा अध्ययनरत छात्र आनन्द सिंहले कम्प्युटर ल्याब स्थापना भएपछि विद्यार्थीहरुले कम्प्युटर प्रयोग गरेर अध्ययन गर्न सहज भएको बताए ।

उनले पहिले कम्प्युटर नहुँदा प्रयोगात्मक कक्षा लिन समस्या हुने गरेको भन्दै अब त्यो समस्या समाधान भएको बताए । कम्प्युटर पढाइमा मात्र सिमित भएको र अहिले प्रयोग गर्दा निकै सहज र पढाइ नै रोचक भएको बताए । नारायण माध्यामिक विद्यालयका शिक्षक नरेन्द्र बहादुर दौल्यालले संस्थाले कम्प्युटर ल्याब स्थापना गरिदिएपछि पठनपाठनमा निकै सहयोग भएको बताए । यसबाट शिक्षक र विद्यार्थी दुुवैलाई  पठनपाठनमा सहज भएको उनको भनाइ छ । परियोजनाले ल्याब स्थापना गरिदिएपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नुका साथै अभिभावकको पनि चासो बढेको छ ।

प्रगतिशिल युवा समाजमा कार्यरत टेलस परियोजनाका अधिकृत पाण्डव पुजाराले अबको शिक्षा प्रविधिमैत्री हुन आवश्यक भएको बताए । विद्यालय शिक्षामा प्रविधि निकै महत्वपूर्ण भएको भन्दै विद्यालयलाई प्रविधि मैत्री सिकाइ गर्ने र बालबालिका, शिक्षक तथा अभिभावकलाई प्रविधिबारे सचेत गराउने परियोजनाको उद्देश्य रहेको बताए । आइसिटी ल्याबको दिगोपनाका लागि विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला व्यवस्थापन र प्रयोग सम्बन्धी कार्यविधि २०८१ निर्माण गरी सोही अनुसार ल्याब सञ्चालन गरेको समेत पुजाराको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise