२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

ललितपुरले वातावरण र कृषिमा कोरियाको चेरवन शहरका सकरात्मक अभ्यास पछ्याउने

ADV
माधवप्रसाद घिमिरे
२०८१ असोज १० गते १७:३०
ललितपुरले वातावरण र कृषिमा कोरियाको चेरवन शहरका सकरात्मक अभ्यास पछ्याउने

ललितपुर : ललितपुर महानगरपालिकाले वातावरण र कृषि क्षेत्रमा काेरियाको चेरवन शहरका सकरात्मक अभ्यास पछ्याउने भएको छ । 

कोरियाको चेरवन शहरका मेयर ली ह्युन जोनसहितको प्रतिनिधिमण्डलकाे स्वागतमा ललितपुर महानगरपालिकाकाे बैठक कक्षमा बिहीबार आयाेजित कार्यक्रममा मन्तव्य राख्दै महानगर प्रमुख चिरीबाबु महर्जनले वातावरण र कृषि क्षेत्रमा हामी दुवै शहरबीच राम्रो अभ्यास आदानप्रदान गर्न चाहेको बताए ।

प्रमुख महर्जनले चेरवन शहर र ललितपुर महानगरबीचको भगिनी सम्बन्धले नेपाल र कोरियाबीचको दौत्य सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए । एक महिनाअघि महानगर प्रमुख महर्जन चेरवन शहरको निमन्त्रणमा भगिनी सम्बन्ध कायम गर्नका लागि त्यसतर्फ गएका थिए ।

चेरवनका मेयरसहितकाे प्रतिमण्डललाई स्वागत गर्दै ललितपुर महानगर प्रमुख महर्जनले कृषि र वातावरणको क्षेत्रमा चेओरवनबाट ललितपुरले धेरै असल अभ्याशहरु सिक्न सक्ने बताए । "चेरवनसँग भगिनी सम्बन्ध कायम गरेर सहकार्य गर्न पाउनु हाम्रा लागि महत्वपूर्ण छ, दुई देशबीचकाे कूटनीतिक सम्बन्ध कायम भएको पनि ५० वर्ष पूरा भएको छ, कृषि र वातावरणको क्षेत्रमा हामी चेरवनको असल अभ्याशहरुको सिक्छौं । हस्तकला र सम्पदा क्षेत्रमा हाम्रा असल अभ्याशहरु चेरवन शहरलाई हस्तान्तरण गर्न चाहन्छाैं, यो हामी दुबै पक्षका लागि प्रभावकारी हुनसक्छ," उनले भने ।

चेरवन शहरका मेयर ली ह्युन जोनले ललितपुर महानगरसँग हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए । उनले कृषि, पर्यावरण प्राथमिकतामा रहेको भन्दै नेपालीहरुको सद्भावको शैलीबाट आफू प्रभावित भएको बताए । "दाेस्राे पटक यहाँकाे भ्रमणमा आउन पाउँदा मलाई आानन्दित बनाएकाे छ, यसअघि फेब्रुअरीमा यहाँ भ्रमण गर्ने अवसर पाएकाे थिएँ, अर्थपूर्ण सहकार्यले दुवै शहरका साझा सराेकारका विषयमा काम गर्न सकिने छ, हामीले हरेक काम गर्न सिटी काउन्सिलबाट बजेट बनाएर काम गर्नुपर्छ, सबै कुरा समझदारीमा उल्लेख गरेर काम गर्नुपर्छ । दुवै शहरका विकासमा मिलेर काम गर्न हामी तयार छाैं," चेरवन शहरका मेयर ह्युन जाेङले भने ।

ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले चेरवन शहरसँग भगिनी सम्बन्ध कायम भएकोमा खुसी व्यक्त गर्दै दुई शहरबीचको भिन्नता र एकतालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताइन् । उनले अघिल्लो वर्ष कोरिया भ्रमण गर्दा कृषि र पर्यावरणको क्षेत्रमा भएको कामबाट आफू प्रभावित भएको बताइन् । "यी दुई क्षेत्रमा महानगरले धेरै सिक्नुछ, हालै कायम भएको भगिनी सम्बन्धले त्यसलाई मार्गप्रशस्त छ," उनले भनिन् ।

चेरवन शहरका उपाध्यक्ष जाङ योङले अन्य शहरलाई सहयोग गर्न काउन्सिलबाट बजेट पारित गर्नुपर्ने बताउँदै ललितपुरको आवश्यकता र मागबारे जानकार हुन भ्रमण तय गरेको प्रष्ट पारे ।

ललितपुर महानगरका प्रवक्ता तथा वडा नंं. ९ का अध्यक्ष राजु महर्जनले दुई शहरबीचको असल अभ्यास आदानप्रदान गर्नुपर्ने धारणा राख्दै रोजगारी सिर्जना गर्न स्टार्टअपलाई सहयोग गर्नुपर्ने बताए । उनले दुई शहरबीच भगिनी सम्बन्ध कायम भइसकेको अवस्थामा नागरिकले अनुभूत गर्ने गरी काम गर्नुपर्नेमा जाेड दिए ।

चेरवन शहरका कृषि प्रविधि विभागका निर्देशक लि हुङजोङले कृषि क्षेत्रमा के र कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा अध्ययन र व्यापक छलफल गर्ने बताए ।

कार्यक्रममा वडा नं.२० का अध्यक्ष चन्द्रलाल महर्जन, वडा नंं. १२ का अध्यक्ष नारायणलाल अवाले,  वडा नं. २७ का अध्यक्ष कृष्णहरि महर्जन, वडा नं. २६ का अध्यक्ष सुरेश महर्जनले ललितपुर महानगरभित्र कृषि क्षेत्रमा उल्लेख्य सम्भावना रहेको बताउँदै कोरियाको प्रविधि भित्राएर उत्पादन बढाउनुपर्ने धारणा राखे ।

महानगरका कृषि सल्लाहकार धर्म महर्जनले ललितपुर महानगर मात्रै नभएर प्रविधिका कारण नेपाल नै पछि परेको तर्क गर्दै कोरियाको प्रविधि ललितपुर भित्राएर उत्पादन बढाउनुपर्ने बताए । उनले भने, "कोरियाको प्रविधि प्रयोग गरेर फलफूल र तरकारी उत्पादन गर्ने एउटा नमूना कृषि फर्म बनाउनुपर्छ ।"

ललितपर महानगरमा कृषिको अध्ययन अनुसन्धान र सम्भावना खोजी गर्नका लागि कोरियाको चेरवन शहरका मेयर ली ह्युन जोनसहितको प्रतिनिधिमण्डल ललितपुर आएको हाे । ललितपुर महानगर र छिमेकी पालिकामा सञ्चालित कृषि फर्महरुको अवलोकन गर्ने, त्यहाँका उत्पादनहरुका बारेमा छलफल गर्ने कार्यक्रम मेयर ली ह्युन जोनको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले तय गरेको छ । एक साता लामो भ्रमणमा ललितपुर आएका जोनको टोलीले कृषिमन्त्री लगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।

असल अभ्यास आदानप्रदान गर्ने प्रतिबद्धतासहित ललितपुर महानगर र कोरियाको चेओरवन शहरबीच भदौ ९ गते शुक्रबारबाट भगिनी सम्बन्ध कायम भएको छ । 

भगिनी सम्बन्धसम्बन्धी समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख महर्जन र चेरवन शहरका मेयर ह्युन जोनले हस्ताक्षर गरेका छन् । त्यसका भदौ ७ गते प्रमुख महर्जन, महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठसहितकाे टाेली काेरिया प्रस्थान गरेकाे थियाे ।

५० वर्षअघि सन् १९७४ मे १५ तारिखमा गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि काेरियाले नेपालकाे विकासमा महत्वपूर्ण याेगदान पुर्‍याउँदै आएकाे छ ।

ADVADV

सम्बन्धित खबर

Advertise