काठमाडौं : नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा.नीलम ढुंगाना तिम्सिनाले वित्तीय साक्षरताको अभावकै कारण ऋणीहरुमा कर्जा तिर्दिन भन्ने प्रवृत्ति बढेको बताएकी छन् ।
मिडिया इन्टरनेशनल नेपालले काठमाडौंमा आयोजना गरेको वित्तीय शिक्षा र उद्यमशीलता अन्तर्गत ‘फाइनान्सियल लिट्रेसी, विजनेश एण्ड लिडरसीप समिट’ कार्यक्रममा डेपुटी गभर्नर तिम्सिनाले भनिन्, ‘यदि कर्जा लिएपछि नतिर्दा के हुन्छ ?, कर्जा तिर्नुपर्छ भन्ने खालको वित्तीय साक्षरता नहुँदा समस्या देखिएको हो । कर्जा नतिर्दा ऋण दिनेले पनि कसरी दिन्छ ?, जनताबाटै कर्जा उठाएर बैंक वित्तले ऋण दिने हो । तिरेन भने सबै सिस्टम कोल्याप्स हुन्छ ।’
यस्तै डेपुटी गभर्नर ढुंगानाले वित्तीय साक्षरता अभिवृद्धिका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने पनि बताइन् । उनले भनिन्, ‘वित्तीय साक्षरता अभिवृद्धि गर्नका लागि राष्ट्र बैंक अहोरात्र प्रयासमा छ । राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई आफ्नो मुनाफाबाट सामाजिक उत्तरदायित्वमा खर्च गर्नु भनेको छ । त्यसैबाट वित्तीय साक्षरतामा पनि खर्च गर्नु भनेको छ ।’ वित्तीय साक्षरतालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने उनले बताइन् ।
डेपुटी गभर्नर ढुंगानाले बढ्दो डिजिटल बैंकिङसँगै वित्तीय साक्षरताको महत्व पनि झन् बढ्दै गएको बताइन् ।
यस्तै उनले साना–साना ऋण लिएर आयस्तर उठाउनका लागि लघुवित्तीय संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले आफुले लिएको ऋणलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्न आग्रह गरिन् । उनले भनिन्, ‘लुघवित्त वित्तीय संस्थाका ९६ प्रतिशत ऋणीहरु महिला हुनुहुन्छ । त्यसकारण महिलाहरुलाई ऋण लिनका लागि त्यति असुविधा छ जस्तो लाग्दैन । कतिपय कुरामा ज्ञान पुगि राखेको छैन ।’
महिला उद्यमीहरुलाई राष्ट्र बैंकले प्रोत्साहन गर्ने खालका नीतिहरु ल्याएको पनि उनले बताइन् । उनले अहिले बैंकहरुमा कर्जा प्रवाहमा प्रतिस्पर्धा भएको भन्दै बुझेर मात्र ऋण लिन आग्रह गरिन् ।
कार्यक्रममा लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले उद्यमशीलता र वित्तीय साक्षरता एक अर्काका परिपूरक रहेको बताए । ग्रामीण क्षेत्र, दुरदराजमा उद्यमशीलता विकास गर्न, वित्तीय पहुँचको अभिवृद्धि गर्न लघुवित्त क्षेत्रको अहम् भूमिका खेलेको बताए ।
उनले भने, ‘लघुवित्त संस्थाहरु देशको ६० लाख घर परिवारमा पुगेको अवस्था छ । ६० लाख घरपरिवारमध्ये २७ लाख दिदी बहिनीहरुले त्यसबाट कर्जा पाएर उद्यमशीलताका काम अगाडि बढाइरहेको अवस्था छ ।’
लघुवित्त संस्थाहरुले महिलाको उद्यमशीलता, वित्तीय साक्षरता, वित्तीय स्रोत उपलव्ध जुन कार्यक्रम ल्याएको छ । यस कार्यक्रमलाई नेपाल सरकारले महत्व दिएर एउटा छुट्टै संरचना बनाएर अगाडि बढ्नुपर्ने अध्यक्ष यादवले बताए । यस्तै उनले देशमा रोजगारी सिर्जना गर्न, युवाहरुलाई देशमै राखेर काम गर्न उद्यमशीलताको विकल्प नभएको बताए ।
वरिष्ठ उद्यमी शोभाकान्त बस्यालले नेपालमा केही सिप लिएर उद्यमशीलता शुरु गर्न सकेमा त्यो सफल हुने बताए । देशका विभिन्न स्थानहरुमा संस्थाहरुले चलाएका सिपमूलक तालिमहरु अपूरा खालको रहेको भन्दै अपुरो ज्ञान, सिपले गरेको काम सफल हुन नसक्ने बताए ।
यस्तै उनले पछिल्लो समय महिलाहरुमा उद्यमशीलता वृद्धि भएको बताए । उनले भने, ‘आजभन्दा ३० वर्षअघि उद्यमशीलतामा महिलाको सहभागी न्यून थियो । १० वर्षमा अलि बढेर आयो । ५ वर्षपछि अझ बढेर आएको छ । अहिले हेर्दा धेरै बढेर माथि पुग्नुभएको छ ।’
उपकार लघुवित्त वित्तीय संस्थाकी सिईओ शारदाकुमारी खत्रीले उद्यमशीलता अत्यन्त महत्वपूर्ण विषय भएको भन्दै एउटा पक्षले मात्र गरेर सफल हुन नसक्ने बताइन् । लघु उद्यमशीलताका लागि स्वयं व्यक्तिमा आत्म विश्वास, उर्जा, हिक्मत भएमात्र यसको शुरुवात हुने उनको भनाइ थियो ।
यस्तै उनले पारिवारिक बजेट बनाउन समेत आग्रह गरिन् । उनले भनिन्, ‘आजका दिनमा हामीले पारिवारिक बजेट बनाउँदैनौं, जेठ १५ आयो भने नेपाल सरकारले बजेट ल्याउँछ भनेर सुन्छौं, हे¥छौं, तर, आफ्नो जिन्दगी चलाउने बजेट हामीले कसैले बनाउँदैनौं । पहिला हामिले आफ्नो बजेट बनाऔं ।’
महिला उद्यमी उषा कार्कीले बैंक वित्तको ब्याजदर पछिल्लो समय घट्दो क्रममा रहेको भन्दै अझै थप घटेमा व्यवसाय गर्न सहज हुने बताइन् । उनले नेपालमा साच्चिकै उद्यमशील बन्ने हो भने काम गर्नका लागि विदेश जानु पर्ने बाध्यता हट्ने बताइन् ।
कार्यक्रमका संयोजक एवम् मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले नेपालीसँग थुप्रै सम्भावनाहरु रहेको भन्दै ति सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सक्नुपर्ने बताए ।
उनले उद्यमशीलतामा लाग्ने व्यक्तिहरुलाई हौसला दिनका लागि यो कार्यक्रमको शुभारम्भ गरिएको समेत बताए । उनले भने, ‘आजदेखि यो कार्यक्रमलाई हामीले गाउँ–गाउँसम्म लैजानेछौं । स्थानीय निकाय, उद्यमीसँग जोडेर अगाडि बढ्नेछौं ।’ वित्तीय साक्षरतासँगै उद्यमशीलता अत्यन्त महत्वपूर्ण र जरुरी रहेको निर्दोषको भनाइ थियो ।