२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

डोल्पाबाट यो वर्ष ४ सय मेट्रिक टन स्याउ निर्यात, २ करोड २० लाख रुपैयाँ आम्दानी

shivam cement
पूर्ण सार्की
२०८२ कार्तिक २० गते १६:५४
Shares
डोल्पाबाट यो वर्ष ४ सय मेट्रिक टन स्याउ निर्यात, २ करोड २० लाख रुपैयाँ आम्दानी

डोल्पा : स्याउको हब मानिने हिमाली जिल्ला डोल्पाबाट यो वर्ष ४ सय मेट्रिक टन स्याउ निर्यात भई करोडौं रुपैयाँ आम्दानी भएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई कार्यालय डोल्पाले आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाइ तथा कार्यक्रम सार्वजनिकीकरण गर्ने क्रममा उक्त जानकारी सार्वजनिक गरेको हो ।

कार्यालयका अनुसार स्याउ निर्यातका लागि ढुवानीमा ५० प्रतिशत अनुदान सहयोगका साथ डोल्पाबाट विकसित सहरहरू- जाजरकोट, सल्यान, दाङ, पोखरा र काठमाडौंमा ४०० मेट्रिक टन स्याउ निर्यात भई करोडौं रुपैयाँ जिल्लामा भित्रिएको जानकारी दिइएको छ ।

बिहीबार जिल्ला समन्वय समिति डोल्पाको सभाहलमा आयोजित कार्यक्रममा निमित्त कार्यालय प्रमुख गोविन्द मल्लको सभाध्यक्षता र जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलको प्रमुख आतिथ्यमा आर्थिक वर्ष २०८२/८३ का लागि कार्ययोजना सार्वजनिक तथा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको हो ।

कार्यालयले यस आर्थिक वर्षमा पूँजीगततर्फ २५ लाख ९३ हजार रुपैयाँ र चालूतर्फ ३ करोड ३४ लाख ६५ हजार रुपैयाँ गरी कुल ३ करोड ६० लाख ५७ हजार रुपैयाँ विभिन्न कार्यक्रममा खर्च हुने जनाएको छ ।

कार्यालयले कार्यक्रममार्फत यस वर्ष स्याउ, ओखर, दलहन/सिमी, भेडा–बाख्रा र आलुमा जोन बनाई काम गर्ने जनाएको छ । विशेषगरी डोल्पामा स्याउ जोन र सिमी जोन गरी दुई जोनमा विभाजन गरी काम भइरहेको कार्यालयका निमित्त प्रमुख मल्लले जानकारी दिए ।

उनका अनुसार कार्यालयले त्रिपुरासुन्दरीका ३ र ४, ठुलीभेरीका ११ र जगदुल्ला गाउँपालिकाका सबै वडामा स्याउ जोन तथा काइकेका ७ र मुड्केचुलाका ६ वडामा सिमी जोन कार्यक्षेत्र बनाई काम गरिरहेको छ ।

कार्यालयका अनुसार यो वर्ष डोल्पाबाट ४०० मेट्रिक टन स्याउ निर्यात भई करिब रू. २ करोड २० लाख जिल्लामा भित्रिएको छ । डोल्पाको स्याउ उत्पादनको उत्पादकत्व राष्ट्रिय उत्पादकत्वभन्दा उच्च रहेको र जिल्लाको काइके गाउँपालिकामा सिमी उत्पादन मुड्केचुलाभन्दा बढी भएको कार्यालयले दाबी गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ५० हेक्टरमा स्याउ विस्तार, १ हेक्टरमा उच्च घनत्वको फुजी जात रोपाइँ, बजार अभावका कारण खेर जाने स्याउ जिल्लाबाहिर निर्यातमा सहयोग, ओखरमा डोल्पालाई आत्मनिर्भर बनाउने, जिल्लामै स्याउ/ओखरका बिरुवा उत्पादन, परम्परागत बगैँचालाई प्रविधियुक्त रूपमा सुधार, प्राङ्गारिक मल र बर्मी कम्पोस्ट प्रवर्द्धन, माटो परीक्षण र डिजिटल सोइल म्याप अद्यावधिक, ७५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार, रैथाने जात/बालीको बजारीकरण सहयोग, मेलामहोत्सवमा सहभागिता, ब्रान्डिङ र प्याकेजिङजस्ता मुख्य कामहरू गर्ने जनाएको छ ।

सार्वजनिक सुनुवाइ तथा सार्वजनिकीकरण कार्यक्रममा ठुलीभेरी–१ का कृषक दसरथ रोकायले प्राङ्गारिक विषादीबारे चेतना अभावका कारण वर्षेनी बिरुवा सुक्ने गरेको बताए । उनले कृषकका खेतबारीमा सम्बन्धित विषयमा दक्ष प्राविधिक नखटिने गुनासो गर्दै वास्तविक कृषक पहिचान गरी सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए ।

कार्यक्रम कार्यान्वयन इकाईसँग समन्वय गरेर कार्यक्रमलाई प्रभावकारी बनाउने डिभिजन वन कार्यालय डोल्पाका वन अधिकृत कमल अधिकारीले बताए । उनले भने, “वन कार्यालयले पनि प्रत्येक वर्ष हजारौँ बिरुवा उत्पादन गर्ने लक्ष्य राखी ओखर वितरणमा सक्रिय रहेको छ ।”

कार्यक्रममा बगैँचा संरक्षणमा चुनौती रहेको बताउँदै स्याउ जोनका अध्यक्ष धनबहादुर डाँगीले डोल्पा कृषिमा सम्भावनाको खानी रहेको र यार्सागुम्बा मात्र होइन, फलफूलको हब बनाउन पनि सम्भव रहेको बताए ।

नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले कार्यक्रम कार्यान्वयन इकाईलाई केवल ठूलीभेरी वरिपरि मात्र नभई सबै पालिकामा प्राथमिकतामा पर्नुपर्ने र लक्ष्यअनुसार काम गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला अध्यक्ष लंक रोकायले कार्यालयको काम अन्य कार्यालयभन्दा सन्तोषजनक रहेको बताउँदै नतिजामुखी काम गर्न नसक्ने कार्यालयको आलोचना समेत गरे ।

डोल्पामा असली कृषकको पहिचान गरी लगानी आवश्यक रहेको बताउँदै नेपाली कांग्रेस जिल्ला सचिव हिक्मतकुमार शाहीले जिल्ला स्थित कृषि सम्बन्धित कार्यालयहरूले आफ्नो जिम्मेवारी अनुसार काम गरी डोल्पालाई कृषिको हब बनाउन सुझाव दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले उत्पादनको ब्रान्डिङले आम्दानी दोब्बर हुने बताउँदै जिल्ला स्थित कार्यालयहरूलाई “राम्रो गर्न सके राम्रो, नसके नराम्रो नगर्नुहोस्” भन्ने सुझाव दिए ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई डोल्पाका निमित्त कार्यालय प्रमुख मल्लले कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै सबै सुझावलाई प्राथमिकतामा राखी काम गर्ने बताए । उनले कार्यालय सञ्चालन भएदेखि लाभान्वितहरूको विस्तृत विवरण सार्वजनिक गर्ने र सर्वपक्षीय सुझावसहित आगामी वर्षका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

डोल्पामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले जिल्लालाई कृषिमुखी विकास, उत्पादन अभिवृद्धि र बजार व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर