नेपाली गीतसंगीतको क्षेत्रमा अनेक स्रष्टा, सर्जकहरुले आफ्नो जीवन ब्यतित गरेका छन् । पर्दा अगाडि आउने सर्जकको जतिको मिहिनेत हुन्छ, पर्दा पछाडि बस्नेहरुको पनि त्यतिकै मिहिनेतले मात्रै एउटा सुन्दर रचना दर्शक माझ आइपुग्छ । यस्तै पर्दा पछाडि रहेर सुन्दर सिर्जनाहरु गरिरहेका गायक, संगीतकार हुन् अशोक कुमार राई । बाल्यकालदेखि नै गीतसंगीत भनेपछि हुरुक्कै हुने उनको आनीबानीले नै आज संगीतको क्षेत्रमा यो सफलता हासिल गरेका हुन् । ताप्लेजुङको हाङपाङका स्थानीय राईकोे जन्म २०२७ सालमा भएको हो । २०४६ साल देखि निरन्तर संगीतकर्ममा सक्रिय रहँदै आएका उनी हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ परिषद सदस्यको रुपमा कार्य सम्पादन गर्दै आइरहेका छन् भने संगीत विभाग प्रमुख पनि हुन् । उनले हजारौं गीतमा संगीत भरेका छन् भने तीन सयभन्दा बढी स्टेज सांगीतिक प्रस्तुति दिएका छन् । उनको वतासेको घुम्ति, मन पो दुख्योकी, रहर, यात्रा आरम्भ, आयाम, यो जीन्दगी, अनौंठो यात्रा, देउसी भैलो गीत, पाथीभरा माता भजन लगायतका एल्बम प्रकाशित छन् । फिल्मी संगीततर्फ पल्टन, जवाफ, चेसुङ, छिमेकी, शस्त्र र लिम्बु भाषको चलचित्र ‘मासेमी’मा संगीत दिएका छन् । मौलिक बाजाहरुको खोजी र संरक्षण गर्न लागिपरेका, दर्जनौं अवार्ड र सम्मानबाट सम्मानित भएका कुशल संगीत सर्जक प्राज्ञ अशोक कुमार राईले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र किरात याक्थुङ चुम्लुङ पाँचथरको व्यवस्थापनमा हालै सम्पन्न प्रदेशस्तरिय लोक बाजा प्रशिक्षण कार्यक्रमको उपलब्धी कस्तो पाउनुभयो ?
यो कार्यक्रम गत मंसिर १५ गतेबाट २७ गतेसम्म पाँचथर फिदिममा संचालन भएकोे थियोे । जसमा तीन जिल्लाका २२ जना प्रशिक्षार्र्थीहरुले सहभागिता जनाएका थिए । १२ दिने उक्त कार्यक्रममा मुख्य प्रशिक्षक यासेली योङहाङ हुनुहुन्थ्यो । हामीले प्रशिक्षार्र्थीहरूलाई यो बोध गरायौं कि च्याब्रुङ बजाउन पनि संगीत पढ्नु पर्ने रहेछ । हामीले प्रशिक्षणलाई तीन प्रकृतिमा विभाजन गरेर संचालन गरेका थियौं । पहिलो परम्परागत रुपमा च्याब्रुङ बजाउने र नाच्ने तथा त्यसको समाजिक, सांस्कृतिक र धार्मिक जानकारी दिने काम गर्यौं भने दोस्रो संगीत सम्बन्धी सैद्धान्तिक ज्ञान र अहिले प्रचलित प्रविधिको प्रयोग र यसबाट गरिने संगीत संयोजनका विषयमासमेत जानकारी दिने काम गर्यौं । यस्तो खाले प्रशिक्षण कार्यक्रम सम्भवत पहिलो पटक संचालन भएकोेले प्रशिक्षार्र्थीहरूले केही दिन असजिलो महसुस गरे पनि बिस्तारै यस विधिको सिकाईले व्यवस्थित ढंगले छिटो र सजिलोसँग च्याब्रुङ बजाउन र नाच्न सिकिने जानकारी पाए ।
लिम्बु समुदायकोे अत्यन्तै पुरानो मौलिक बाजा के च्याब्रुङको पनि संरक्षणमा लाग्नु भएको छ, के अघिल्ला पुस्ताले यसको महत्व नबुझेर हो ?
म च्याब्रुङ मात्रै नभएर सिंगो नेपाली मौलिक बाजाहरू संरक्षण र संवद्र्धनसँगै ती बाजाहरू बजाउन योग्य वाद्यवादक उत्पादन गर्नु पर्छ भन्ने अभियानमा लागेको छु । किनकि यी मौलिक बाजाहरू मुलधारको गीत संगीतहरूमा बढी भन्दा बढी प्रयोगमा ल्याउन सकियो भने मात्रै ती बाजाहरू र हाम्रा वाद्यवादक कालान्तरसम्म संरक्षण हुन र जिवित रहन सक्छन् भन्ने मेरो मान्यता छ ।
के च्याब्रुङ कस्तो अवसरमा नाच्ने र बजाउने बाजा हो ?
च्याब्रुङ विशेष त लिम्बू जातिको सुःखद र शुभ कार्यमा बजाइने मौलिक बाजा हो । यो बाजा हरेक सुखद कार्य जस्तै विवाह, ब्रतबन्ध, घरपैचो आदि शुभकार्यहरूमा नबजाउँदा सो कार्य अपुरो हुने विश्वास रही आएको छ ।
अघिल्ला पुर्खाले अव्यवस्थित र अवैज्ञानिक ढंगले प्रयोग गरेका कारण यसलाई समय अनुसार आधुनिकीकरण गर्न खोज्नु भएको हो ?
हाम्रा सबै मौलिक बाजाहरू हालसम्म परम्परागतरुपमा नै बजाइँदै र सुनाइँदै आएको पाइन्छ । त्यो नै त्यसको सौन्दर्यता हो । यी हाम्रा बाजाहरू बजाइने भनेको विभिन्न चाडपर्व, विवाह, ब्रतबन्ध, मेलापर्व आदि शुभकार्यहरूमा नै हो । त्यस ठाउँमा व्यवस्थित र बैज्ञानिक ढंगले बजाउँदा पनि त्यसको मौलिकता नझल्किन र व्यवहारिक पनि नहुन सक्छ । तर जब हामी गीतहरूमा अन्य बाजाहरूसँग मिलाएर वा रेकर्डिङ गरेर अर्केष्ट्राहरूमा बजाउँछौं तबमात्र हामीले हाम्रा बाजाहरू व्यवस्थित ढंगले सुरताल र संगीत निर्देशन अनुसार बजाउनु पर्ने रहेछ भन्ने कुरा थाहा पाउँछौं । त्यसका लागि हाम्रा मौलिक बाजाहरू बजाउने वाद्यवादकहरूसँग पारम्भिक रुपमा भए पनि संगीतको ज्ञान हुनै पर्ने हुन्छ । जसले गर्दा अझ हाम्रा बाजाहरू बजाउने तौरतरिकामा निखारता आउन सक्छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ हुनुहुन्छ, यो राजनीतिक नियुक्ति र राज्यकोष रित्ताउने संस्था हो उपलब्धी केही छैन भन्छन् नि ?
राजनैतिक नियुक्ति भन्दा पनि यसलाई म फरक हिसाबले बुझ्न अनुरोध गर्दछु । कुनै राजनैतिक संस्थाले सिफरिस गरेता पनि यो नेपाल सरकार कै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित सिफारिस समितिले नै छनोट गरेर सम्बन्धित विषय विज्ञको रुपमा ४ वर्षका लागि नियुक्ति दिने हो । नियुक्ति लिने व्यक्तिले पद र जिम्मेवारी लिएपछि सो अनुसार जिम्मेवारी पूर्वक काम गर्न सकिएन वा सकेन भने जुनसुकै संस्थामा जुन सुकै पदमा नियुक्ति किन नहोस् राज्यकोषको सम्पत्ति दोहन मात्रै हुनेछ, त्यसैले यो राजनीतिक नियुक्ति र राज्यकोष रित्ताउने संस्था हो भनेर लान्छना लगाउनु अलि न्यायोचित नहोला । उपलब्धीको विषयमा मेरो संगीत विभागले हालसम्म जिम्मेवारी पाएको काम सतप्रतिशत पुरा गरेको छ । हामीले ताप्लेजुङको ओलाङ्चुङ्गोलादेखि दार्चुलासम्म पुगेर त्यहाँको मौलिक संस्कृतिसँग जोडिएका संगीतसँग सम्बन्धित कुराहरूको अभिलेखिकरण गर्ने काम गरेका छांै । यो बाहेक अन्य धेरै कामहरू पनि गरेका छौं त्यो तपाईं स्वयं उपस्थित भएर लेखाजोखा गर्न सक्नु हुनेछ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा तपाईंको प्रवेशपछि यो क्षेत्रको विकासका लागि सम्झन योग्य के काम गर्नुभयो ?
म त्यहाँ प्रवेश गरेपछि धेरै कामहरू हुन नसके पनि केही यस्ता कामहरू भएका छन्, जुन काम पछिसम्म पनि सम्झन योग्य छन् । म संगीत विभागमा बसेर गरेका केही कामहरू यहाँ उल्लेख गर्न चाहन्छु, २४ वटा मौलिक नेपाली बाजाहरुको पाठ्यपुस्तक लेखन र प्रकाशन, प्रदेश १ मा प्रचलित तथा लोपोन्मुख नेपाली बाजाहरूको अभिलेखिकरण, प्रदेश १ स्तरीय बहुभाषिक संगीत उत्सव, सुदूरपश्चिम धनगढीमा राष्ट्रिय गीत महोत्सव, पोखरामा प्रचलित तथा लोपोन्मुख बाजा प्रदर्शनी तथा प्रस्तुति, आधुनिक नेपालमा राजनैतिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका गीत तथा गीतकारहरूको विवेचनात्मक समालोचना लेखन, दार्चुलाका सौका, दाङका थारु, ताप्लेजुङका वालुङ, समुदायको लोपोन्मुख धुन संकलन गरी रेकर्डिङ गर्नुका साथै २० जना वाद्यवादकद्वारा प्रस्तुति साथै ३५ जना मौलिक बाजा वाद्यवाादनहरूद्वारा सारङ्र्गीको धुन प्रस्तुति गरिसकेका छौं । हाल राई तथा लिम्बू समुदायको मुन्धुम धुन तथा तालहरूको अभिलेखिकरण गरिँदैछ, प्रदेशस्तरीय नेपाली मौलिक बाजाहरूको ५ स्थानमा १० प्रकारका बाजाहरू प्रशिक्षण कार्यक्रम संचालन भइरहेको छ ।
आफ्नो आगामी योजनाहरू पनि बताइदिनु हुन्छ कि ?
मुलतः हाम्रो जति पनि मौलिक गीत संगीतहरू छन् त्यसलाई व्यवस्थित ढंगले संरक्षण गर्नु नै हो । त्यसका लागि अध्ययन अनुसन्धान गर्नुका साथै त्यसको प्रदर्शन र अभिलेखिकरण गर्नु, देशव्यापीरुपमा मौलिक बाजा प्रशिक्षण अभियान संचालन गरेर ठाउँ ठाउँमा मौलिक बाजाहरूको मात्रै अर्केष्ट्रा समूह तयार गर्ने, विभिन्न कार्यक्रममार्फत संसार भर हाम्रो मौलिक बाजाहरू चिनाउने काम सँगसँगै दक्ष र योग्य वाद्यवादकहरू प्रशस्त मात्रामा तयार गर्ने र तिनीहरूलाई व्यावसायिकरुपमा आत्मनिर्भर बनाउने नै हो ।
खासमा प्राज्ञ नियुक्ति हुन शैक्षिक योग्यता चाहिन्छ कि सम्बन्धित विषयमा विद्यत्व हुनु पर्छ ?
प्राज्ञको शाब्दिक अर्थ सम्बन्धित बिषयको विज्ञ नै हो भन्ने जनाउँछ त्यसैले जुनसुकै प्रतिष्ठानको सदस्य हुनलाई सम्बन्धित क्षेत्रमा प्रचुरमात्रा काम गरेको अनुभव, त्यस विषयमा विज्ञता हासिल गरेको र अध्ययन अनुसन्धान गर्न सक्ने क्षमता भएको व्यक्ति नै हुनुपर्छ ।
परिचित संगीतकार हुनुहुन्छ, अहिलेका युवा पुस्ताले नेपाली गीतसंगीतप्रति चासो नदिनुको कारण के होला ?
होइन, उनीहरूका सबै गीतहरू अर्थात सृजनाहरू नेपाली नै हुन् । त्यसमा यतिमात्र फरक हो जुन हाम्रो मौलिकताको रंग अलि गाढा हुनुपर्ने हो त्यो मात्र कम भएको हुन सक्छ । यसमा अहिलेको आधुनिक प्रविधिको प्रभाव र त्यसैमाथि नेपालमा अध्ययन अध्यापन भइरहेका संगीतमा पनि हाम्रो नेपाली माटोको संगीत भन्दा बाहिरको संगीत अलि धेरै हावी पो भएको हो कि भन्ने पनि लाग्छ । त्यसैको प्रभाव पनि हुन सक्छ अहिलेको संगीत । त्यो कोणबाट पनि विचार गर्नु पर्ने छ ।
तपाईं राजनीतिमा पनि सक्रिय हुनुहुन्छ, कलाकारले पार्टीको झण्डा बोक्नु हुन्न भन्छन् नि ?
कलाकारले मात्र नभई उद्योगी, व्यापारी, कर्मचारी, पत्रकार, विद्यार्र्थी, सर्वसाधरण आदि जुनसुकै व्यक्ति किन नहोस् आफ्नो विचार अनुसार राजनैतिक आस्था राख्नु उसको नैसर्गिक अधिकारको कुरा हो । झण्डा बोक्नु वा पार्र्टी राजनीति गर्नु–नगर्नु उसको विचार हो । जहाँसम्म कलाकारको विषय छ कसको झण्डा बोक्यो, कुन पार्र्टीको राजनीति गर्यो भन्दा पनि नेपाली गीत संगीतको लागि उसले के योगदान गर्यो भन्ने विषय चाहिँ महत्वपूर्ण हो । यदि कसैले कलाकारको खोल ओढेर कलाकारितालाई नै भर्याङ बनाएर आफ्नो व्याक्तिगत अभिष्ट पूरा गरेको छ र गर्छ भने त्यो गलत हो ।
अन्त्यमा, समग्र कला क्षेत्रको उत्थानको लागि राज्यले खेल्नुपर्ने भूमिका र यससँग आवद्ध स्रष्टा, कलाकर्र्मीहरूले निभाउनुपर्ने दायित्व के हुनुपर्छ ?
हाम्रो मौलिक कला संस्कृतिको क्षेत्रमा एक छेउमात्र त्यो पनि ‘हो कि हो कि’ जस्तोमात्र काम भएको छ, गहिरो अध्ययन अनुसन्धान दस्तावेज आदिका कामहरू प्रसस्त मात्रामा गर्न बाँकी नै छन् । आफ्नो कला सांस्कृति संस्कार भनेको हाम्रो आत्मा हो देशको प्रमुख पहिचान नै त्यही हो । यस क्षेत्रलाई संरक्षण संवद्र्धन र प्रवद्र्धन गर्न पुग्दो मात्रामा ध्यान दिइएन भने राष्ट्र फूल बिनाको बगंैचा जस्तो हुनेछ जहाँ कुसंस्कार अराजकता स्वार्र्थीपन आदिको राज हुनेछ । अब कल्पना गरांै त्यो अवस्थामा राष्ट्र कस्तो होला । हामी छोटो समयको लागि मात्रै काम नगरौं । खाली आफ्नो लागि मात्रै होइन आउँदो पुस्तालाई पनि सम्झेर काम गरौं । हामीले काम त गरेका छौं तर गरेका ती कामहरूले आफ्नो समुदाय, क्षेत्र र राष्ट्रका लागि के कति योगदान भयो त्यता तिर पनि सोचौं भन्ने लाग्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies