२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

बाढी पहिरोले ११ सय मेगावाट विद्युत अवरुद्ध, ४ अर्बको क्षति

ADV
छबि सापकोटा
२०८१ असोज १३ गते २१:२५
बाढी पहिरोले ११ सय मेगावाट विद्युत अवरुद्ध, ४ अर्बको क्षति

काठमाडौं : शुक्रबार र शनिबार आएको अविरल वर्षाले जलविद्युत र सिँचाइ आयोजनामा चार अर्ब ३५ करोड भन्दा बढिको क्षति भएको छ । आइतवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी र पहिरोबाट जलविद्युत र सिँचाइ क्षेत्रमा ठूलो नोक्सानी भएको जनाएको हो । उर्जामन्त्री दीपक खड्काले देशमा आएको बाढी र पहिरोले ऊर्जातर्फ दुई अर्ब ४५ करोड, सिँचाइतर्फ एक अर्ब ३५ करोड र नदी नियन्त्रणतर्फ करिव एक अर्ब १६ करोड २० लाख रुपैयाँ गरी समग्रमा करिव चार अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको बताए । 

पत्रकार सम्मेलनमा मन्त्री खड्काले भने ‘यो क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो, योभन्दा कम हुँदैन, अझ बढ्ने देखिन्छ, बाढी र पहिरोका कारण एक हजार एक सय मेगावाटका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ’, मन्त्री खड्काले भने ‘बाढी र पहिरोले निजी क्षेत्रका २६ वटा भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको छ ।’ 

तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने विद्युत प्राधिकरणका दुई जना कर्मचारी र सुरक्षामा खटिएका नेपाल सेनाका दुई जना गरी चार जना बेपत्ता भएका छन भने देशभर ११ सय मोगावाटका जलविद्युत् आयोजना बन्द भएका छन् । मन्त्री खड्काले गत वर्ष पूर्वमा भएको बाढीमा मात्रै ऊर्जा क्षेत्रमा १० अर्ब रुपियाँ र ठूलो जनधनको पनि क्षति भएपनि मौसम विभागले गरेको पूर्वअनुमान गरी दिएको सूचनाको कारण कम क्षति भएको बताए  । 

यस्तै उर्जा सचिव सुरेश आचार्यले ६२५ दशमलव ९६ मेगावाट जडित विद्युत क्षमताको ११ वटा संचालनमा रहेका जलविद्युत आयोजनाहरुमा क्षति भएको बताए । उनले भने ‘आपतकालीन अवस्थामा अधिकांश विद्युतगृहहरुको उत्पादन बन्द रहेका छन् । विद्युत आयोजनामा पुगेको क्षति २ अर्ब ४५ करोड बराबरको क्षति भएको बताए । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाको कारण अपर तामाकोशीमा निकै ठूलो क्षति भएको बताए । निर्माणमा तीव्रता नदिने हो भने ड्राइसिजनमा समस्या आउन सक्ने बताए । उनले जलविद्युत आयोजना क्षति र टावरहरुमा आएको समस्याले विद्युत आपुर्तिमा समस्या आइरहेको बताए । उनकाअनुसार काबेली करिडोरमा एउटा टावर बगाएको र दुइटामा क्षति क्षति हुँदा पाँचथर फिदिम लगायत पूर्वमा बिजुली आपूर्तिमा समस्या भएको छ । खिम्तीबाट लामो साँघु आउने टावर तामाकोशीले बगाएको र त्यसले गर्दा २ सय मेगावाट काठमाडौं आउने बिजुली बन्द भएको निर्देशक घिसिङले जानकारी दिए ।

विकासको आधुनिक पूर्वाधारको रुपमा रहेका जलविद्युत आयोजनाहरु तथा सिँचाइका निर्माणाधीन तथा निर्माण सम्पन्न भई संचालनमा रहेका आयोजनाहरुमा पनि बाढी र पहिरोले ठूलो क्षति भएकाले क्षतिको बीमाको लागि तत्काल काम गर्नुपर्ने इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । बंगालको खाडीमा उत्पन्न भएको जलवाष्पयुक्त वायुको सक्रिय हुँदा दुई दिन निरन्तर वर्षा भएको थियो । निरन्तर परिरहेको अविरल वर्षाको कारण मुलुकका अधिकांश भागमा बाढी, पहिरो र डुबानको प्रकोपले जलविद्युत क्षेत्रमा ठूलो मात्रामा क्षति पुर्‍याएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise