–मेघराज भट्टराई
नेपाली युवालाई यो देशको माया छैन झैँ देखिन्छ । युवाहरू देश छाड्न लामबद्ध छन् । आफ्नो देशमा स्वाभिमानपूर्वक होइन, अरूको देशमा गुलामी गर्न लालायित देखिन्छन् । युवाहरूमा यो देश बनाउन, संघर्ष गर्ने हिम्मत देखिँदैन । केवल नकारात्मक भाष्य फैलाइएको छ । नेपालमा केही हुँदैन भन्ने भाष्य खडा गरिएको छ ।
देशभित्र राष्ट्र असफल बनाउन अनवरत लागेका पात्रहरूलाई हामीले भगवान बनाउन केही कसर छोडेनौ । जस्तो की पर्यटन विकासको नाममा खरबौँ पैसा सकिएको छ । हाम्रा अग्ला पहाडका चुचुरामा टावर किन बनाइयो ? जब कि त्यहाँ पुग्ने सडक छैन । पानीजहाज कारखाना, रेल मन्त्रालय कसको स्वार्थको लागि बनाइयो ? कुनै आन्दोलनले माग नगरेको संघीय व्यवस्था किन र केको लागि ल्याइयो ? एमसीसी, नागरिकता विधेयक जस्ता राष्ट्रघाती सन्धि सम्झौताको आवश्यकता किन केको लागि ? योभन्दा प्रगतिशील उन्नत व्यवस्था तीर होइन, पछाडि फर्किने व्यवस्थाको लागि नारा लगाएका छन् । त्यो पनि आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिको लागि मात्र केन्द्रित छ ।
नयाँ भनाउँदाहरू पनि आफू चोखिन मोलतोल गरेका छन् । ठुला–ठुला भ्रष्टाचार गरेका छन् । त्यही पैसा चुनावमा खर्च गरेर चुनाव जितेर कथित ठुला पार्टी बनेका छन् । राष्ट्रको अस्मितामा खेलबाड गरिरहेका छन् । यो संघीय संरचनाको घाँडो आफ्ना नेताहरूको लागि पालैपालो व्यवस्थापन ठाउँ बनेको छ । संविधान निर्माणपछि यो नौ वर्षमा कति वटा मुख्यमन्त्री, मन्त्री, सांसद बने ? केन्द्रमै सरकार कति बन्यो ? ३५ वर्षमा ३४ वटा सरकार बनेका रेकर्ड सायद बिर्सिन मिल्दैन होला । यो बेथिति आखिर कहिलेसम्म हुने हो ?
यी मन्त्री अनि सांसद पाल्न नेपाली युवाले अरबको तातो घाम खाएका छन् । ज्यान गुमाएका छन् । अङ्गभङ्ग भएका छन् । यसको चिन्ता न राज्यलाई छ, न त यहाँका सत्ताधारी पार्टीहरूलाई नै । यिनै ठुला राजनीतिक पार्टीका पछि लागेका आम नेपालीले नेताले जे गरेपनि तिलक सम्झी लगाउने बानी परेपछि सर्वसाधारण नागरिक निराश भएका छन् । सरकारी कार्यालयमा राजनीतिक पार्टीका समर्थक कर्मचारी नियुक्त गर्ने र पहुँच नभएका नागरिकका आवाज नसुनिने अवस्थामा देश छोडेर भाग्न आतुर नेपाली युवाको दुर्दशा विदेशी भूमिमा दयनीय छ । यो सबै विकृतिको अन्त्य नै आजको आवश्यकता हो ।
यसको लागि नेपाली नागरिक गलत नियत भएका नेता र पार्टीको पछि लाग्न छोड्नु पर्यो । एउटा कुरा के भुल्न भएन की “तपाईँले राजनीतिलाई छोडे पनि राजनीतिले तपाईँलाई छोड्दैन” किनकि राजनीति राज्यका प्रत्येक अङ्गसँग जोडिएर आएको हुन्छ । आफू लागेका राजनीतिक पार्टीका अगुवालाई प्रश्न गर्नु होस्, गलत चीजको विरोध गर्नु होस् ।
जबसम्म सचेत वर्ग राजनीतिलाई शुद्धीकरण गर्न लाग्दैन, तबसम्म यो शुद्धिकृत हुँदैन । त्यसकारण आम युवाहरू मुलुक बर्बाद भो, मुलुकमा समस्या छ भन्ने भाष्य बनाउनभन्दा मुलुकमा सम्भावना छ भन्ने कुरालाई अगाडि सार्नु अहिलेको आवश्यकता हो । यो अभियानको नेतृत्व आम युवा वर्गबाटै लिनुपर्छ ।