२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

युवालाई नीतिगत रूपमै समेट्नुपर्छ

shivam cement
खगेन्द्र पौडेल
२०८२ कार्तिक १३ गते ०६:००
युवालाई नीतिगत रूपमै समेट्नुपर्छ

नेपालमा युवालाई राजनीतिको मूलधारमा ल्याउने सवाल अहिलेको समयको अत्यन्त महत्वपूर्ण विषय बनेको छ । देशको जनसंख्या संरचनामा युवाको हिस्सा ठुलो भए पनि उनीहरूको राजनीतिक सहभागिता न्यून रहँदै आएको वास्तविकता छ । हरेक निर्वाचनमा युवाको मत निर्णायक भूमिका खेल्ने भए पनि निर्णय लिने तहमा उनीहरू प्रायः अनुपस्थित छन् । यस अवस्थाले देशको लोकतान्त्रिक अभ्यासलाई कमजोर तुल्याउँदै आएको छ । त्यसैले अब युवालाई केवल मतदाता होइन, नीति निर्माता र नेतृत्वकर्ताका रूपमा सक्षम बनाउने प्रयास आवश्यक भएको छ ।

नेपालको राजनीतिक इतिहासमा युवाको भूमिका सदैव निर्णायक रहँदै आएको छ । राणा शासनको अन्त्यदेखि २०४६ सालको जनआन्दोलन १० वर्षे सशस्त्र युद्ध र २०६२/६३ को लोकतान्त्रिक आन्दोलन युवाले अग्रपंक्तिमा रहेर परिवर्तनको दिशा तय गरेका थिए । पछिल्लो जेनजी आन्दोलन युवाकै नेतृत्व र पहलकदमीमा भएको हो । तर विडम्बना के भने, ती परिवर्तनका फल भोग भने प्रायः पुराना पुस्ताका नेताहरूले गरे । युवा पुस्ता आन्दोलनमा अग्रणी भए पनि निर्णय प्रक्रियामा पछाडि परे । यसले राजनीतिक प्रणालीमा उमेरका आधारमा बनेको असमानता र अवसरको कमीलाई उजागर गर्छ ।

आजको युवापुस्ता शिक्षित, प्राविधिक ज्ञानयुक्त र विश्व दृष्टिकोण भएको पुस्ता हो । उनीहरूमा राजनीतिक चेतना उच्च छ तर त्यस चेतनालाई व्यावहारिक राजनीति र नीति निर्माणमा रूपान्तरण गर्ने अवसर पाएका छैनन् । दलहरूले युवालाई केवल नाराका रूपमा प्रयोग गर्छन्, ‘युवाको हातमा देशको भविष्य’ भन्ने वाक्य प्रयोग त गर्छन् तर जब निर्णय लिनेबेला आउँछ, त्यही युवा किनारामा पारिन्छ । 

युवालाई राजनीतिको मूलधारमा ल्याउन सबैभन्दा पहिले राजनीतिक दलहरूले आफ्ना संरचनामा वास्तविक अवसर दिनु जरुरी छ । युवा संगठन वा विद्यार्थी संगठनमा सीमित गरेर होइन, पार्टीका केन्द्रीय तह, नीति निर्माण समिति र निर्णय प्रक्रियामा युवाको सहभागिता सुनिश्चित हुनुपर्छ । उमेर र अनुभवबीच सन्तुलन कायम गर्न सकिए मात्र पार्टीमा नवीन सोच र गतिशीलता आउनेछ । दलहरूमा अहिले देखिएको जडता र नेतृत्वको पुनरावृत्तिको समस्या तब मात्र टुट्न सक्छ जब नयाँ पुस्ता नेतृत्वमा आउने अवसर पाउँछ ।

युवाको सहभागिता यत्तिकै हुन सक्दैन । युवालाई राजनीतिको मूलधारमा ल्याउन राज्यको नीतिगत भूमिका पनि महत्वपूर्ण हुन्छ । स्थानीय तहदेखि संघीय तहसम्म युवाको प्रतिनिधित्व बढाउन कानुनी रूपमै प्रावधान आवश्यक छ । जेनजी आन्दोलनपछि बनेको सरकारले त्यतातर्फ पनि भूमिका खेल्नुपर्छ । 

युवाको राजनीतिक सहभागिता बढाउन आधुनिक प्रविधिको उपयोग पनि आवश्यक छ । सामाजिक सञ्जाल र डिजिटल मञ्च युवाको विचार अभिव्यक्त गर्ने ठुलो माध्यम बनेका छन् । ती माध्यमलाई केवल विरोध र व्यंग्यका रूपमा होइन, नीति संवाद र सुझावको प्लेटफर्मका रूपमा उपयोग गर्न सकिन्छ । अनलाइन विचार विनिमय, नागरिक बजेटिङ र सार्वजनिक नीतिमा डिजिटल सहभागिताजस्ता अभ्यासले युवालाई राज्यका निर्णयमा प्रत्यक्ष रूपमा जोड्न सक्छन् । यसले उनीहरूको आवाज सुन्ने र नीति निर्माणमा त्यसको प्रभाव पार्ने अवसर दिनेछ ।

युवालाई राजनीतिको मूलधारमा ल्याउने काम केवल राज्य, दल वा संस्थाको जिम्मेवारी होइन, स्वयं युवाले पनि सक्रिय भूमिका खेल्नुपर्छ । उनीहरूले अवसरको प्रतीक्षा होइन, अवसर सिर्जना गर्ने साहस गर्नुपर्छ । जेनजी आन्दोलनमार्फत जसरी युवाहरूले साहस देखाए त्यसैगरी सामाजिक अभियान, स्वैच्छिक काम, स्थानीय नेतृत्व र नीति बहसमा सहभागिता जनाउँदै उनीहरूले आफूलाई प्रस्तुत गर्नुपर्छ । राजनीतिको सफाइ, पारदर्शिता र जबाफदेहिताको माग गर्न उनीहरू अग्रपंक्तिमा रहनुपर्छ ।

नेपालको भविष्य युवाको हातमा छ भन्ने कुरा केवल नारा होइन, तथ्य हो । देशले रूपान्तरणको बाटो समात्न सक्ने क्षमता युवामै छ । यदि अहिलेको पुस्ताले आफ्नो जिम्मेवारी बुझे र देशले तिनलाई निर्णय गर्ने ठाउँ दियो भने नेपाली राजनीति केवल सत्ताको खेल होइन, सेवा र सुधारको माध्यम बन्न सक्छ । 

ADV

सम्बन्धित खबर

Advertise