२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

महिला प्रधानाध्यापकले फेरेको विद्यालय

ADV
कुलेन्द्र शाही
२०८१ असोज १९ गते ०६:३५
महिला प्रधानाध्यापकले फेरेको विद्यालय

सुर्खेत : नेतृत्वमा महिलाले अवसर पाएको ठाउँमा सकारात्मक परिवर्तन भएका उदाहरण प्रशस्तै भेटिन्छन् । यस्तै एक उदाहरण बनेको छ – जाजरकोटको शिवालय गाउँपालिका–६ थालारैकरको इन्द्रज्योति माध्यामिक विद्यालय । 

२०१२ सालमा स्थापित इन्द्रज्योति माध्यमिक विद्यालयले ७० वर्षको लामो इतिहासमा पहिलो पटक महिला प्रधानाध्यापक पाएको छ । महिला प्रअ हुनुअघि त्यहाँका स्थानीयहरू आफ्ना सन्तानको भविष्य राम्रो नरहेको भनेर विद्यालयको आलोचनाहरू गर्थे । स्कुलमा न उचित कक्षा, न कोठा थिए, न भवन । पैसा हुनेले आफ्नो छोराछोरीहरूलाई पढाउन सुर्खेत, नेपालगञ्ज, कोहलपुर, काठमाडौंलगायत विभिन्न ठाउँमा पठाउँथे । आर्थिक हैसियत कमजोर भएकाहरू मात्रै इन्द्रज्योतिमा पठाउँथे । शिक्षकहरूको नियमित उपस्थिति नहुँदा विद्यालयको स्तर समेत खस्किएको थियो । 

विद्यालयका शिक्षकहरू नियमित विद्यालयमा उपस्थित नहुने, उपस्थित भएपनि नियमित नपढाउने प्रबृत्ति थियो । पढ्नलाई विद्यालय आएका विद्यार्थीहरू कोही घाम ताप्दै बस्थे, कोही एक आपसमा गफ गर्दै बस्थे त कोही विद्यालय नजिकैका पसलहरूमा हुन्थे ।

तर, जब इन्द्रज्योति माविले २०८० फागुन २८ गते महिला प्रअ पायो, तब विद्यालयमा सकारात्मक सुधार आउन थाले । पहिलो पटक महिला प्रअ शर्मिला रावल (शाही) नियुक्त भएपछि विद्यालयले मुहार फेरिएको विद्यार्थी तथा कर्मचारीको भनाइ छ । (शाही) को नियुक्तिले विद्यालयको शैक्षिक र भौतिक अवस्थालाई परिवर्तन गर्न सफल भएको विद्यालयका शिक्षक सहान्त बहादुर बुढाले बताए ।

रावलको नेतृत्वमा विद्यालयले नयाँ दिशा पाएको उनको भनाइ छ । विद्यालयमा हालै दुई वटा नयाँ भवन र अन्य सुविधाजनक संरचनाहरू जस्तै, खेल मैदान, पुस्तकालय र शौचालय निर्माण भएका छन् । विद्यालयमा अहिले दुई सय ५० भन्दा बढी विद्यार्थी खुसीसाथ अध्ययनरत छन् । 

शर्मिला रावलले विद्यालयलाई राजनीतिक थलोको सट्टा शिक्षाको पिठाका रूपमा पुनस्र्थापित गरेकी छन् । उनले विद्यालय सञ्चालनमा आमूल परिवर्तन ल्याउने लक्ष्यका साथ काम गर्न थालेकी छिन् । अभिभावक र शिक्षकबीच नियमित छलफलका लागि मासिक बैठकहरू आयोजना गरिएका छन् । रावलले सबैलाई मिलाएर काम गर्नुपर्ने आवश्यकता र पारदर्शिताको महत्वलाई औंल्याउँदै शिक्षकीय नेतृत्वलाई सशक्त बनाएकी छन् । 

उनको आत्मविश्वास र प्रतिबद्धताले विद्यालयको स्थिति सुधार्नमा महत्वपूर्ण भूमिका खेलेको अभिभावकको भनाइ छ । उनी भन्छिन्, ‘विद्यालयलाई परिवर्तन गर्न सक्षम हुनुपर्छ । यो केवल सरकारी जागिर होइन, समुदायको लागि एक जिम्मेवारी हो ।’ 

महिलाले नेतृत्व लिएपछि विद्यालयको काँचुली फेरिएको र भौतिक तथा शैक्षिक सुधारमा केही उल्लेखनीय देखिएको छ 

विद्यालयमा सुधार आएपछि वद्यार्थीको संख्या पनि बढिरहेको छ । पहिले विद्यालयलाई राजनीतिक थलो बनेको हुँदा विद्यालय निकैपछि परेको थियो । तर शर्मिला प्रअ भइसकेपछि उनले राजनीतिक थलो होइन शिक्षाको पिठाका रूपमा लिएकी छिन् । विद्यालयमा यसले विद्यार्थी आकर्षण बढाएको हो । 
स्कुलभित्रै खानेपानी, छात्रा र छात्रको छुट्टाछुट्टै शौचालय, पुस्तकालय, व्यवस्थित विज्ञान ल्याब, कम्प्युटर ल्याब  र अतिरिक्त क्रियाकलापले विद्यार्थी र अभिभावकको चाहना नै इन्द्रज्योति मावि बनेकोमा उनी गर्व गर्छिन् । 

अविभावकहरू पनि खुसी छन् । ‘महिला प्रअले नानी बाबुहरूलाई आफ्ना छोराछोरीसरह गरी समय दिन्छन्, संवेदनशील भएर सबै पक्षको ख्याल राख्छिन्’ विद्यालयका अभिभावक सुरेन्द्र खत्रीले भने, ‘त्यही भएर इन्द्र ज्योति मावि राम्ररी चलिरहेको छ ।’ 

इमानदार हेडसर भए जुनसुकै स्कुल राम्रो हुन सक्ने उदाहरण इन्द्र ज्योति माविले देखाएको अर्का अभिभावक प्रेम नेपालीले बताए । हाल दुई सय बढी विद्यार्थी इन्द्र ज्योति माविमा अध्ययनरत हुनु रावलको मुख्य योगदान रहेको उनले बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise