-गोरखबहादुर वि.सी.
हाम्रो देश प्रथम विश्वयुद्धमा होस या दोश्रो विश्व युद्धमा होस्, आफ्नो वीरता देखाएर कुनै पनि शक्तिसँग हार खानु परेन स्वतन्त्र र सार्वभौमिकता भइ रहयो । यति मात्रै ऐतिहासिक रुपमा भन्ने हो भने हिमवत खण्डको केन्द्रविन्दु नेपाल जसलाई खस साम्राज्यले विश्वका शक्तिशाली मुलुकहरुलाई आफ्नो कब्जामा लिएको इतिहास कतै लुकेको छैन । यसैले आजको नेपाल कुनै पनि शक्ति र देशको औपनिवेसिक भएन, स्वतन्त्र र सार्वभौमिकता रहि रहयो । प्रथम विश्वयुद्ध र दोश्रो विश्वयुद्धमा नाम निशान नै समाप्त भएका मुलुकहरु आज शक्तिशाली सम्पन्न भएका छन् । कोहि जापानी साम्राज्यवादका अण्डरमा थिए । कोही जर्मनीको उपनिवेश रहेका थिए भने कोही बेलायतको उपनिवेश थिए ।
बेलायती साम्राज्यवादका उपनिवेशमा बसेका मुलुकमध्ये भारत आज दक्षिण एसियामा नै आफ्नो प्रभूत्व जमाउने काममा अग्रसर भएको छ । अरु विश्वका थुप्रै देशहरु आज शक्तिशाली र सु—सम्पन्न छन् । तर ऐतिहासिक कालदेखि हालसम्म कसैको उपनिवेशमा नरहेको यो मुलुक किन आज हरक्षेत्रमा परर्निभर तिर धकलिँदै छ ? दुर्भाग्यवस हिमालयको काख अवस्थित यो देश आज संसारकै गरिब, परिनिर्भतामा बाँच्न विवस भएको छ । यसमा पनि नेपालको राज्य सञ्चालकहरु राष्ट्र बनाउन भन्दा पनि आफू कसरी बन्ने होडबाजीेले गर्दा मुलुकको विकास निर्माण र राष्ट्रिय उद्योग धन्दा विकासमा शून्यता छाएको छ । परनिर्भता अर्थतन्त्र र राजनीतिक भिजनले मुलुकको राष्ट्रिय अस्तित्व समेत ओझेल पर्ने प्रवल सम्भावना देखिँदैछ । त्यसैले यो राष्ट्रको चौतर्फी उन्नति, प्रगति, समृद्धिशाली बनाउन वीर नेपालीहरु एक पटक सामूहिक रुपमा एकजुट नितान्त आवश्यक भइसकेको छ । देशको राज्य व्यवस्था फेरवदल हुन नयाँ कुरा होइन, काले गए गोरे आउँछ, तर राष्ट्रलाई बलियो पार्ने राष्ट्रिय नीति, नियम र निकायहरु नै कमजोर अवस्था पुग्नुले पनि देशको अवस्था जर्जर हुँदैछ । यसका पछाडि हाम्रो देशका सामारिक महत्व र भू—राजनीतिकले पनि आज विश्वका शक्तिशाली मुलुकहरुको प्रयोगशाला बन्दैछ ।
छिमेकीहरुले जे चाहे त्यहि हुँदै जानु देशको आन्तरिक स्थिति बिग्रदै जानु, यति मात्रै होइन विभिन्न मुलुकका गैर सरकारी संस्था र दातृ निकायहरुले असफल राष्ट्र बनाउन नेपालमा अनेकौँ वितृणाहरु पैदा गर्नुले यो देशको राष्ट्रियता, स्वाधिनता माथि नै खतरा उत्पन्न हुने देखिँदैछ । यसमा विशेष रुपमा गरेर बेलायती उपनिवेशमा रहेको र वीर गोर्खालीहरुले स्वतन्त्र बनाइदिएको मुलुकबाट विशेष रुपमा देशको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा व्यापक हस्तक्षेप भइरहेको छ । यसमा हालका राजनीतिक नेतृत्व र दलहरुको भूमिका पनि उनीहरुकै पछि लागेको घाम जस्तै छर्लङ्गै देखिँदैछ । यसर्थ, मुलुकमा राजनीतिक परिवर्तन नेपाली जनताको चाहना हो । त्यो चाहानालाई कदाकदा दक्षिणको नै हात रहेको भन्ने आइरहन्छ र नेपालका परिवर्तनकारी भन्ने नेताहरुबाट नेपालको हित विपरित सन्धि सम्झौता गरि हाल्ने वातावरण सिर्जना गरिदिन्छ र हाम्रा नेताहरुले आँखा चिम्लेर हस्ताक्षर गर्छन् ।
राजनीतिक परिवर्तन यदि मुलुकका राष्ट्रिय स्वाधिनताको रक्षाका लागि, जनताका आधारभूत आवश्यकता परिपूर्तिका लागि, नेपाली जनताको जनचाहाना अनुसार राज्य व्यवस्था पद्धतिको लागि, नेपाललाई आत्मनिर्भर र राष्ट्रिय पूँजी एवम् उद्योगधन्दाको विकासको लागि हुनुपर्छ । तर देशमा भएका सबै स्रोत र साधन बुझाउने बहुराष्ट्रिय कम्पनी निम्त्याएर देशका कंगाल बनाउने परिवर्तन नेपाली जनताले चाहेका होइनन् । व्यक्तिहरुलाई मोटाउने जनता दुब्लाउने राष्ट्रको दीर्घकालीन असर पर्ने सन्धी सम्झौता गर्न लगाउने नेपाली जनताले नेता मागेका होइनन् । यो त भारतीय नेता स्व. नेरुको पालादेखिको योजना अनुसार नेपाललाई सिक्किम बनाउने गुरु योजनामा नेपालका नेता गणहरुलाई त्यो योजनामा पछि दौडाउने र आफ्नो एजेण्ड बनाउँदै जाने उनीहरुको योजना मुताविक सत्यता हो भन्ने कुरा अहिले देखिरहेको नेपालको राजनीतिक, आर्थिक, सामाजिक, क्षेत्रको परर्निभरता र भारतले जे गरे पनि नेपाली नेताहरुले चुप लागेर बस्नु भनेको नै स्वर्गीय नेरुको योजना मुताबिक नै नेपाली नेताहरुले पनि काम गर्दैछन् भन्ने कुरा देखाउँदैछ । अब यो राष्ट्र बचाउन आम नेपालीहरुको एकताको खाँचो छ ।
हामी हाल आन्तरिक रुपमा उत्पीडन वा उपेक्षितमा परेपनि हामी आन्तरिक रुपमा धार्मिक, सांस्कृतिक, राजनैतिक एवम् प्रशासनिक क्षेत्रमा विभेदमा परेपनि हामी सबै क्षेत्र वर्ग र जातिका समूदायले एउटा राष्ट्रिय स्वाधिनताको लडाईमा हातेमालो गर्न जरुरी छ । हाम्रो छिमेकी राष्ट्रहरु छिमेकी भूमि र मित्रता देखाएको भए छिमेकीको विकासगति धेरै अघि बढेको छ । हामी किन पछाडी प¥यौँ ? त्यसमा हामी गम्भिर हुनु पर्दछ । के हामी दुई विशाल देशका बार (वाल) मात्रै हौँ ? या दुई ढुङ्गाका तरुण हौँ ? हामी त दुई विशाल छिमेकी मुलुक बीचका मित्र हौँ ।
यदि छिमेकीले हामीलाई मित्रताको व्यवहार गरेका छन् त ? सवाल यो । उनीहरु आफ्ना रुचीमा हामीलाई प्रयोग गर्ने उनीहरुको नियत मात्र हो, हामी के चाहान्छौँ ? त्यसमा हामीलाई सहयोग गर्ने हो तर उनीहरु के चाहान्छन् ? त्यसमा हामीले आँखा चिम्लेर हस्ताक्षर या समर्थन गर्नु पर्ने केहि बाध्यता छ त ? हाम्रो परिवर्तन त हामी नेपाली जनताले पो ल्याएका हौँ । नेपाली जनताको बलिदानी र योगदानलाई भुलेर उनीहरु जे भने र त्यो राज्य सञ्चालक र नेतृत्व वर्गले आँखा चिम्लेर समर्थन गर्ने हो त ? यसर्थ के क्यूवा धेरै ठूलो देश छ त ? विश्वभरि छत्र छायाँ पारेको अमेरिकासँग उ झुकेको छ त ? आज संसारलाई च्यालेन्ज दिँदैछ ।
उत्तर कोरिया कुनै पनि देशसँग झुकेको छ त ? संसारलाई धम्की दिइरहेको छ । के उ पनि ठूलै देश हो त ? त्यसैले ठूला शक्ति हुँदैमा उनीहरुसँग डराउनु पर्ने त होइन । यसैले लोभ, लालच र आर्थिक लाभमा देशलाई उनीहरु निर्देशित अवस्थामा हिँडाल्ने काम गर्ने शासक र नेतृत्वलाई अब नेपालीले सजाय दिने कि नदिने ? एउटा परिवर्तनको नाम नेपालको स्रोत भेटी चढाउने दलाल शासकबाट होसियार हुने कि नहुने, यसैले हालसम्मका यी सबै नेता एवम् प्रमुख यहाँका व्यूरोक्र्याट्स्हरु कहाँबाट सञ्चालित छन् । यिनीहरुको खोजी नीति गर्नुपर्ने काम अब नेपाली जनताले गर्नुपर्दछ ।
वर्तमान राजनीतिक दलका कार्यकर्ताहरुले पनि आफ्नो नेता कहाँ कहाँबाट सञ्चालित छ ? देशलाई कता धकेल्दै छ ? त्यस पार्टीका कार्यकर्ताहरुले खोजी गर्नु पर्दछ र सार्वजनिक नङ्ग्याउनु पर्दछ । त्यसैले हामी सचेत नेपालीहरुले राष्ट्रिय स्वाधिनताका लागि आफ्ना व्यक्तिगत झिनामसिना कुराहरुलाई एउटा कुनामा राखेर समग्र देशको हितको निम्ति एक जुट हुनु आवश्यक छ । अन्यथा यस्तै अवस्थामा स्वयम् हामी नागरिकहरुले चुप लागेर बस्यौँ भने एकादेशको कहानी भएर हामी समेतको अस्त्वि खतम् हुनेछ । त्यसैले विश्वको इतिहासमा शासकहरु कहिल्यै राष्ट्रवादी हुँदैनन् । सत्ता टेकाउनका लािग र सत्तामा जानका लागि कुनै न कुनै राष्ट्रहित विपरित काम गरेका हुन्छन् ।
तर जनता भने जहिले कहिले राष्ट्र प्रेम, देश प्रेम प्रति वफादारी हुन्छन् । यसैले अवका दलाल र देशलाई अरुकै भरमा सञ्चालन गराउन खोज्ने एजेण्डहरुलाई खोजी खोजी सार्वजनिक रुपमा बहिष्कार गरौँ । यसैमा सबै नेपाली जनताको कल्याण छ, देश बन्छ, राष्ट्रिय स्वाधिनताको आन्दोलनबाट आएको जनताको छोरो नै देश हाक्न सक्दछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies