
देउखुरी : देउखुरी उपत्यकामा पठन संस्कृतिको प्रवर्द्धन तथा साहित्य र संस्कृतिको विकासमा योगदान गर्ने उद्देश्यले स्थापना भएको देउखुरी रिडर्स क्लबले शुभकामना आदानप्रदान तथा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
हिन्दुहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा देउखुरी रिडर्स क्लबको आयोजना तथा देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको सहकार्यमा बुधबार दाङको राप्ती गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको हो ।
देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष निमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका शिक्षा समिति सदस्य भरतमणि न्यौपाने, अन्तरपार्टी महिला सञ्जाल दाङकी निवर्तमान जिल्ला अध्यक्ष प्रमिता चौधरी शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, मावि फल्कापुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निखिल चौधरी तथा देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका सदस्य सीताराम सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा साहित्यकार तथा स्रष्टाहरू शेषमणि शर्मा घिमिरे, कृष्ण गिरी, पुरन शर्मा, छविलाल कोपिला, युवराज भण्डारी, जीवराज शर्मा, सनिराम चौधरी, शरदराज शर्मा र श्रीकृष्ण अधिकारीले कविता, गजल तथा मुक्तक वाचन गरेका थिए। स्रष्टाहरूले विभिन्न विषय र भावमा सिर्जना प्रस्तुत गर्दै साहित्यप्रतिको आफ्नो धारणा र अनुभूति व्यक्त गरेका थिए ।
कार्यक्रममा देउखुरी रिडर्स क्लबका तर्फबाट क्लबका पुष्पराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने बासुदेव न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा साहित्यप्रेमी, स्रष्टा, सामाजिक क्षेत्रका व्यक्तित्व तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
देउखुरी रिडर्स क्लबका योजनाकार विष्णु बेलबासेले देउखुरीमा पठन संस्कृतिको विकाससँगै साहित्य, सिर्जना र बौद्धिक संवादको वातावरण निर्माण गर्ने उद्देश्यले क्लबका गतिविधिलाई अभियानकै रूपमा निरन्तर अघि बढाइने बताए । उनले यस्ता कार्यक्रमलाई केवल औपचारिकतामा सीमित नराखी पढ्ने, बुझ्ने, बहस गर्ने र समाजलाई चलायमान बनाउने अभियानका रूपमा विस्तार गरिने धारणा व्यक्त गरे ।