-कृष्ण अधिकारी
नेपालमा कूल जनसङ्ख्याको करिब ९८ प्रतिशत जनसङ्ख्यामा मात्रै अहिलेसम्म विद्युत््को पहुँच विस्तार हुन सकेको छ । आगामी डेढ वर्षभित्र शतप्रतिशत सबै घरधुरीमा विद्युत पहुँच पुर्याउने गरी सरकारले काम गरिरहेको छ । राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पहुँच पुर्याउन समस्याग्रस्त दुर्गम क्षेत्रमा वैकल्पिक प्रविधिमार्फत विद्युतीकरण गर्न सरकारको प्राथमिकता रहेको छ । नेपालको संविधानले वैकल्पिक ऊर्जाको विकास गरी आधारभूत आवश्यकता परिपूर्तिका लागि सुपथ र सुलभ रुपमा भरपर्दो ऊर्जाको आपूर्ति गर्ने नीति अङ्गीकार गरेको छ ।
राष्ट्रिय विद्युत्् प्रशारण लाइन नपुगेका ग्रामीण तथा शहरी क्षेत्रमा प्रदेश र स्थानीय तहसँगको सहकार्यमा ऊर्जा सेवा पुर्याउन र आयातित ऊर्जा माथिको निर्भरता कम गर्न नवीकरणीय ऊर्जाको प्रवद्र्धन र विकास गरी यस क्षेत्रलाई विकासको मूल प्रवाहमा ल्याउने सरकारको जोड रहेको छ । यसरी देशका ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच विस्तार भएसँगै जनताको जीवनस्तरमा पनि उल्लेख्य सुधार आएको छ । ऊर्जाको पहुँचसँगै खपत बढ्नु विकासको सूचक पनि हो । खासगरी यहाँँ विद्युत्को सुविधाबाट ग्रामीण जनताको सूचना प्रविधिमा पहुँच वृद्धिसँगै उनीहरुको जीवनस्तरमा आएको सुधारका बारेमा केही विश्लेषण गर्न खोजिएको छ ।
केही वर्षअघिसम्म विद्युत्को पहुँचको अभावमा झारो वा मटिीतेलको टुकी बालेर गुजारा गरिरहेका जनताले आज केन्द्रीय प्रशरण लाइन वा लघुजलविद्युत् तथा सौर्य ऊर्जाबाट विद्युत् सुविधा उपयोग गर्न पाएका छन् । विद्युत्को अभावमा शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता विकासका आधारभूत सेवा र अवसरबाट उनीहरु बञ्चित रहेका थिए । आज यो अवस्थामा ठूलो परिवर्तन भएको छ । वर्तमान २१ औँ शताब्दीलाई सूचना–सञ्चार प्रविधिको युगका रूपमा चित्रित गरिन्छ । मुलुकभित्र र मुलुकहरूबीचको भौगोलिक सिमा र अवरोधलाई सहजै परास्त गर्दै विश्वभरका मानिस एवं स्थानहरूबीच विशाल सञ्जाल र सम्पर्क कायम गराउने प्रभावकारी माध्यमका रूपमा सूचना–सञ्चार प्रविधि स्थापित भइसकेको छ ।
विकासका कार्यमा सही सूचना आदान प्रदान गर्न स्पष्ट सञ्चार महत्वपूर्ण रहन्छ । मानव विकासको पक्षमा सञ्चार विना कल्पना गर्न सकिदैन । विकास प्रक्रियालाई गतिशील, समयसापेक्ष र चुस्त बनाउने प्रभावकारी माध्यमका रूपमा सूचना–सञ्चार प्रविधिको अपरिहार्य भूमिका रहेको छ । सूचना–सञ्चार प्रविधिको विकासले एकातिर ग्रँमीण विकासका एजेण्डाहरूलाई अघि बढाउन अवसर मिलेको छ भने अर्कोतिर विकास गतिविधिहरूलाई सहज तुल्याउन मार्गप्रशस्त गरेको छ । ग्रामिण विकास र सञ्चारलाई एउटा साघुँरो घेरा र सिमाभित्र राखेर हेर्नुभन्दा विश्वव्यापी दृष्टिकोणबाट हेर्नु पर्दछ ।
सञ्चारले गर्दा ग्रामीण वासिन्दा विस्तारै सूचना गर्ने, सूचना पुगेपछि त्यसको फाइदा–बेफाइदा दिने, कसरी प्रयोग गर्ने बारेमा धेरै भन्ने कुरामा जानकार हुँदैछन् । सञ्चार माध्यमले समाजलाई जागृत गराउने, चेतना जगाउने, सहभागिता बढाउने हुन्छ । त्यसैले सञ्चारको प्रयोगमार्फत विकासका प्रयत्नहरुको सहभागिता बढ्न थालेको छ, आफ्ना अधिकार, अवसरहरुमा मानिसहरु सचेत भएका छन् । यसको विकास र उपयोगले विकास योजनाहरूको कार्यान्वयनमा आवश्यक समयावधिलाई चामत्कारिक रूपमा छोट्याएको छ । वर्षौँसम्म लाग्ने कामहरूलाई केही घण्टामै सम्पन्न गर्नसक्ने विकासको व्यवस्थापनको सशक्त हतियारका रूपमा सूचना–सञ्चार प्रविधि रहेको छ ।
सूचना तथा सञ्चार प्रविधिको विश्वव्यापी सञ्जाल र पहुँचका कारण विश्वको कुनै पनि कुनामा भएको अभ्यास क्षणभरमै गाउँगाउँसम्म पुग्न सकेको छ । सार्वजनिक सेवाहरूको प्रवाहमा प्रभावकारिता हासिल गरी सेवाग्राहीहरूको पहुँचलाई सहज तुल्याई सुशासन कायम गर्न सूचना–सञ्चार प्रविधिको उपयोगलाई बढाउनुको विकल्प छैन । खुला बजार अर्थतन्त्रले निम्त्याएको प्रतिस्पर्धात्मकतालाई सामना गर्न पनि विकासप्रक्रियालगायत सार्वजनिक सेवाका क्षेत्रमा सूचना–सञ्चार प्रविधिको प्रयोग सशक्त माध्यम हुन सक्दछ ।
अहिलेको विश्वमा देशको विकासको स्तर र सूचना–सञ्चार प्रविधिको विकासको अवस्थाबीच सोझो र प्रत्यक्ष सम्बन्ध रहने गर्दछ । सूचना–सञ्चार प्रविधिको विकासमा फड्को मारेका देशहरू नै समग्र विकासमा अगुवा रहेका छन् । नेपालले पनि पछिल्लो एक दशकमा ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच विस्तारसँगै सूचना प्रविधिको विस्तार भएपछि जनताको शैक्षिक, स्वास्थ्य, पूर्वाधारलगायत विकासका हरेक आयाममा सुधार आएको छ । फलस्वरुप मुलुक अल्पविकसित राष्ट्रको सूचीबाट माथि उक्लिन सकेको छ । तसर्थ दिगो विकास लक्ष्य, सबैका लागि दिगो ऊर्जाको अवधारणा, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न, लैंगिक समानतालगायत अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्न र हरित अथर्तन्त्रलाई प्रवद्र्धन गर्दै ऊर्जा सुरक्षाको सुनिश्चित, ऊर्जाको पहुँच र वातावरणीय सन्तुलन स्थापित गर्न विद्युत्को पहुँच नपुगेका स्थानहरुमा पनि जतिसक्दो चाँडो लघुजलविद्युत््लगायत अन्य नवीकरणीय ऊर्जामार्फत विकासको पुर्याउन आवश्यक छ ।