लहान : लहान नगरपालिकाले खुट्टी खोला सिँचाइ नहरलाई ढलको रूपमा प्रयोग गर्ने निर्णय गरेपछि आक्रोशित किसानहरूले लहानमा विशाल र्याली निकालेका छन् । खुट्टी खोला नहर सिँचाइ संघर्ष समितिको अगुवाइमा आयोजित र्यालीमा किसानहरूले "नहरलाई ढल बनाउन पाइँदैन", "किसान विरोधी मेयर चाहिँदैन", र "किसानको माग पूरा गर" जस्ता नारासहित प्रदर्शन गरेका छन् ।
र्यालीको शुरुवात पशुपति आदर्श माध्यमिक विद्यालयबाट भएको थियो, जहाँ सयौं किसानहरूको उत्साहपूर्ण सहभागिता थियो । नगरका विभिन्न भाग परिक्रमा गर्दै र्याली शहीद चौकमा कोण सभामा परिणत भयो । किसानहरूले नहरलाई सिंचाइको लागि मात्र प्रयोग गर्नुपर्ने र कृषि क्षेत्रको महत्वलाई नजरअन्दाज नगर्न नगरपालिकासँग माग गरेका छन् ।
संघर्ष समितिका अध्यक्ष धर्मराज चौधरीले नहरलाई ढल बनाउन खोज्ने निर्णयलाई किसान विरोधी भन्दै यसलाई तत्काल फिर्ता लिन चेतावनी दिए । "जय जवान, जय किसान" नारासहित सिंचाइ सुविधाको संरक्षणका लागि नगरपालिकामा दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको उनले बताए ।