२०८१ कार्तिक १९ गते सोमवार / Nov 04 , 2024 , Monday
२०८१ कार्तिक १९ गते सोमवार

बंगलादेश च्याम्पियन, नेपाल उपविजेतामै सीमित

ADV
मध्यान्ह
२०८१ कार्तिक १४ गते २०:३१
बंगलादेश च्याम्पियन, नेपाल उपविजेतामै सीमित

काठमाडौं : नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा आज भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । यससँगै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बंगलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना पूरा भएन । 

साफको सातौं संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो । हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बंगलादेशसँग दुई पटक पराजित भयो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता भने बंगलादेशले लियो । खेलको ५२औं मिनेटमा बंगलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ५६औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याइन् । 

खेलको ८१औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर बनायो । बंगलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः उपाधि बंगलादेशको पोल्टामा पुग्यो । 

ADVADV

सम्बन्धित खबर

Advertise