२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

चर्को हवाई भाडाले वैदेशिक रोजगार क्षेत्र अस्तव्यस्त, भाडा घटाउन पहल नगरेको भन्दै संघ नेतृत्वको राजीनामा माग

ADV
२०८१ कार्तिक २१ गते ०६:४५
चर्को हवाई भाडाले वैदेशिक रोजगार क्षेत्र अस्तव्यस्त, भाडा घटाउन पहल नगरेको भन्दै संघ नेतृत्वको राजीनामा माग

काठमाडौं : वैदेशिक रोजगारीका लागि जाने कामदारको हवाई टिकटको मूल्य एक लाख रुपैयाँको हाराहारीमा पुग्न थालेको छ । आगामी शुक्रबारदेखि करिब ५ महिनासम्म त्रिभुवन विमानस्थलको स्तरोन्नतिका कारण ‘उडान समय’ छोट्याइएपछि एयरलाइन्सहरुले त्यसैलाई बहाना बनाएर अन्तर्राष्ट्रिय उडानको हवाई टिकट सामान्य अवस्थाको तुलनामा तेब्बर हाराहारीमा वृद्धि गरेका हुन् । विमानस्थलको स्तरोन्नतिका नाममा हवाई भाडामा वृद्धि गरिनु ट्राभल्स र एयरलाइन्सको कुतर्क मात्रै भएको र लूटको हद भएको व्यवसायीहरुको भनाइ छ ।

महँगी, कालोबजारी र कुशासनको अन्त्य गर्न भन्दै प्रमुख राजनीतिक दलहरुको बलियो सरकार बनाएको अवस्थामा वैदेशिक रोजगारमा जाने गरिब तथा विपन्न कामदार भने अत्यधिक महँगो हवाई भाडा तिरेर जान बाध्य भएका छन् । करिब साढे ४ घण्टा दुरीको काठमाडौं–दुबई उडानको सामान्य अवस्थामा हवाई भाडा ३० देखि ३५ हजार भएपनि मंगलबार  टिकटका लागि ८० हजार बढी तिर्नुपरेको एक व्यवसायीले मध्यान्हलाई बताए । उनका अनुसार नेपालबाट सबै वैदेशिक रोजगार गन्तव्यमा जाने कामदारको हवाई भाडा केही हप्तायता दैनिकरुपमा बेलगामरुपमा बढिरहेको छ ।

सरकारले प्रभावकारी हस्तक्षेप नगरे नेपालबाट कामदार पठाउनै नसकिने अवस्था आउने व्यवसायीहरुको भनाइ छ । यूएईबाट नेपाल आउने सोही दुरीको हवाई भाडा भने हाल ९ सय दिराम करिब ३३ हजार रुपैयाँमात्रै रहेको छ । नेपालबाट जाने भने त्यसको तीन दोब्बर गराउनु चलखेल बाहेक केही नभएको व्यवसायीहरुको दाबी छ ।

नेपाल सरकारले इम्प्लोइमेन्ट पे मोडलमा कामदार पठाउने नीति लिएपनि सबै कामदार रोजगारदाता कम्पनीले दिने टिकटमा उड्न पाएका छैनन् । म्यानपावर कम्पनीहरुले रोजगारदाता कम्पनीलाई ३० देखि ३५ हजार रुपैयाँ हाराहारीमा टिकटको कोटेशन पठाउने गरेका छन् । टिकट पठाउने रोजगारदाताहरु पनि सम्झौताभन्दा बढीको टिकटको भुक्तानी पठाउन नसकिने भन्दै कामदार पठाउने नेपाली म्यानपावर कम्पनीसँग महँगोमा पार्न खोजेको भनेर असन्तुष्टि जनाउने गरेका छन् । हवाई टिकटकै कारण म्यानपावर कम्पनीले समयमा कामदार पठाउन सकेका छैनन् । त्यसले नेपाल आउने मागपत्र अन्य मुलुकमा डाइभर्ट हुने खतरा बढेको व्यवसायीहरुको भनाइ छ ।

विगतका वर्षहरुमा जस्तै नेपालीका महत्वपूर्ण चाडपर्व दशैं, तिहार र छठ पर्वपछि ठूलो संख्यामा नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन् । यस्तो समयमा हवाई टिकटको मूल्य बढ्दा व्यवसायी र कामदारमाथि थेग्नै नसक्ने दबाब बढेको छ ।

सरकारले ट्राभल्स ऐजेन्सीहरुको अनुगमन नगर्दा टिकटमा कालोबजारी हाबी देखिएको व्यवसायीहरुको टिप्पणी छ । सरकारले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कामदार उडाए विभिन्न छुट दिने बताए पनि भैरहवाबाट उडान हुने जहाजको टिकटको मूल्य पनि उत्तिकै महँगो बनाइएको व्यवसायीहरु बताउँछन् ।

व्यवसायीहरुले कामदार र व्यवसायीको क्षमताले नभ्याउने गरी टिकटको मूल्य अस्वभाविकरुपमा बढाउँदा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मौन रहेको र व्यवसायीको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघ विरोध र प्रतिरोधमा नउत्रिएको भन्दै आलोचना गरेका छन् । वैदेशिक रोजगारीमा जाने कामदार कोरोनाकालको जस्तै चार्टर्ड उडान सरहको महँगो भाडा तिर्न बाध्य भएको भन्दै कतिपय व्यवसायीहरुले आक्रोश पोखेका छन् ।

राई वैदेशिक रोजगार व्यवसायी समाजका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद राईले वैदेशिक रोजगार क्षेत्र नै तहशनहश हुने गरी बढाइएको हवाई भाडा घटाउने सम्बन्धमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीहरु प्रभावकारीरुपमा नबोलेको र भाडा घटाउन पनि कुनै पहल नगरेको भन्दै उनीहरुले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘कामदार र व्यवसायीको ढाड सेकिँदा पनि समस्या समाधानका लागि  पहलकदमी लिन नसक्ने नेतृत्व पदमा रहनुको अर्थ छैन ।’

उता संघका महासचिव मेघनाथ भुर्तेलले भने गत भदौ १५ गते नै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई भेटेर यस विषयमा गम्भीररुपमा ध्यानाकर्षण गराएको बताउँदै त्रिभुवन विमानस्थलको स्तरोन्नतिका नाममा ‘उडान समय’ छोट्याइएपछि एयरलाइन्सहरुले त्यसैलाई बहाना बनाएर भाडा बढाउने चलखेल नरोके वैदेशिक रोजगार व्यवसायीलाई कामदार पठाउन रोक्न आह्वान गर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको बताए । उनले यसमा तत्कालै श्रम मन्त्रालयले चासो देखाउनुपर्नेसमेत माग गरे ।

नयाँदिल्ली विकल्प 

वैदेशिक रोजगारमा जाने गरिब तथा विपन्न कामदार अत्यधिक महँगो हवाई भाडा तिरेर जान बाध्य भएको अवस्थाको अन्त्य गर्न भारतको नयाँदिल्लीबाट उडान अनुमति दिइनुपर्ने कतिपय वैदेशिक रोजगार व्यवसायीको माग छ ।

वैदेशिक रोजगार ऐनको दफा २२ मा सकेसम्म स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने, तर स्वदेशी विमानस्थलबाट कामदार पठाउन हवाई जहाजको टिकट उपलब्ध नभएको जस्ता अवस्था उत्पन्न भएमा कारण देखाइ वैदेशिक रोजगार विभागको स्वीकृति लिइ विदेशी विमानस्थल प्रयोग गरी कामदार पठाउन सकिने व्यवस्था छ ।

हाल ट्राभल्स र एयरलाइन्सको एकाधिकार तोड्न अपेक्षित सस्तो टिकटमा कामदार पठाउन पाउने भारतका विमानस्थलबाट उडाउन अनुमति दिनु उपयुक्त हुने भन्दै व्यवसायीहरुले उक्त माग गरेका हुन् । 

नेपाल सरकारले घरेलु कामदारका लागि नेपाली महिलाको खाडी मुलुकमा तस्करी भएको भन्दै भारतीय विमानस्थलबाट खाडीका मुलुकमा नेपालीले उडान भर्दा नेपाली दूतावासको नो अब्जेक्सन लेटर अनिवार्य गरेको छ । नेपालबाट यूएईका लागि ८० हजार बढी भाडा लागेको अहिलेको अवस्थामा नयाँदिल्लीबाट उडाउँदा भारु २५ हजार हाराहारीमा टिकट पाइने गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise