–शेखर
भिरको छेउमा सुकेको घाँसको रासमाथि
नाङ्गिएर बसेकी थि अप्सरा
त्यही रात, त्यही ठाउँ र त्यही रासमा
डढेलो लाग्यो,
आगोको रापले तातेको भुइँमाथि कालो छायाँ नाच्यो ।
पुसको बिहानी,
पूर्वपट्टी फर्किएर नारायणलाई जल
अर्पण गरिरहेको पण्डित
र
पोइ मरेको वियोगमा छाती पिट्दै
आफ्नो दुरावस्थाका लागि नारायणलाई
धिकारीरहेकी विधवाः
यी दुवैले लगाएको धोतीको रङ सेतो थियो ।
गुलावी वस्त्रमा एक आइमाइ,
‘करक–करक’
तुसारोले खाएको घाँस कुल्चँदै
आएर आँगनको डिलमा बसी ।
“कतिसम्म गर्नसकेको है,
हुनत लेखेर ल्याएको भोगेर जानै पर्छ ।’’
“त्यही त ! माथिको लिला, तलको खेल !”
साँझमा बाँसझ्याङका रन्थनिँदै गरेका सारौटे ।
पण्डितले आरतीमा बजाएको घण्टी ।
विधवा आक्रोशले शान्त थी ।
खरानीमाथि शित पर्दै थियो ।
परबाट—
“सम्हाल है सम्हाल, फर्किएर आउन मन भए
आफूलाई सम्हाल,
यो झिलिमिली तिमीलाई पर्खी रहेछ ।
पुण्यको काम गर है पुण्यको
याद छ नि तातो तेल नर्कको ?
हर्ष भनेको अन्तर मनको निष्कर्षम भर पर्छ, बुज्यौ !
अ, अनि खरानी घस्यौ ?
नाङ्गो शरीर समाजले सहँदैन नि !
लाज, उत्तेजना र घृणालाई सफेद बनाउँछ खरानीको कालोले ।”