–त्रिपुरा पोखरेल खरेल
मेरो दिनदिनैको ऐय्या, आत्थुको गनगन सुन्न नसकेर मेरो श्रीमान्ले मलाई क्लिनिकमा लिएर जानुभयो । डाक्टरले मेरो मोटो शरीर हेर्दै भने, ‘लामो जीवन जिउने हो भने तपाईंले खानपानमा पहरेज गर्नुपर्छ अनि एक घन्टा मर्निङ वाक गर्नै पर्छ ।’
म परेँ खानाको लोभी र निद्राको भोगी । डाक्टरको सल्लाह मान्ने हिसाबले २ धार्नीको टाउको हल्लाएर डाक्टरको अघि आज्ञाकारी बिमारी बनेको अभिनय गरेँ । बाहिरबाट हुन्छ भनेर संकेत गरे पनि म भित्रभित्रै उनीसँग असाध्यै चिढिएकी थिएँ । मेरा लागि मर्निङ वाक गर्नु भनेको २ मनको भारी उचाल्नुजत्तिकै थियो ।
‘डाक्टर साहेब यिनको कुरा नपत्याउनुस् । मैले मसँगै बिहान वाकमा जाऔँ भनेर धेरै पटक भनिसकेँ, यिनी मान्दिनन् । जतिखेर पनि चुपुरचुपुर खाइरहने बानी छ ।’
मेरा श्रीमान् मेरो पोल सार्न पाउँदा धेरै खुशी हुनुभएको थियो ।
मैले आफ्नो बिमारले शरीरलाई दिएको दग्धीबारे डाक्टरलाई बताउनुभन्दा पहिले नै मेरा श्रीमान्ले मेरो खानपिन र कसरतबारे राम कहानी बताउन थाल्नुभयो । उहाँ मेरो चुक्ली सार्दै हुनुहुन्थ्यो, डाक्टर भने हातमा स्टेस्थोस्कोपलाई मेरो ढाड र छातीमा राख्दै ‘साँ... साँ...’ भन्दै थिए । उनका कान र हात व्यस्त भए पनि आँखाले भने ढोकाबाहिर बेन्चमा बसेका बिमारीको संख्या गन्दै थिए ।
‘हेर निर्देशकको पदमा भएर पनि डाक्टरलाई लोभले नछाड्ने रहेछ । बिमारीको रगत पसिनाको पैसा जति लुटे पनि नछाड्ने भनेकै सरकारी डाक्टर हुन् । सरकारले उनीहरूलाई जतिसुकै सुविधा उपलब्ध गराए पनि प्राइभेट क्लिनिकमा बिमारी हेर्न छाड्दैनन् । हेर, पैसाका लागि पद र पेसाको दुरुपयोग !’ म लामो सास तान्दै र छाड्दै यस्तै केके सोचिरहेकी थिएँ । मेरा श्रीमान् आफ्नै धुनमा हुनुहुन्थ्यो । उहाँ डाक्टरलाई अरू पनि केके भन्दै हुनुहुन्थ्यो ।
डाक्टरलाई झर्को लागेछ कि क्या हो, उल्टै प्रश्न गरे, ‘बिमारी तपाईं कि तपाईंकी श्रीमती ? मेरो काम रोगीलाई जाँच गर्ने, उनीहरूलाई के गर्ने के नगर्ने त्यसबारे उचित सल्लाह दिने हो । मधौरोले बाँच्नका लागि के गर्नुपर्छ, के गर्नु हुँदैन, ऊ आफैँले जान्ने कुरा हो ।’
उनको रीस बढ्दै थियो ।
बाहिर मान्छेका भीडलाई हेर्दै मैले लोग्नेलाई अरू नबोल्ने संकेत गरेँ । यसपछि मेरा उहाँ पनि केही नबोली डाक्टरले हातमा थमाइदिएको पुर्जी हेर्न लाग्नुभयो । डाक्टर साहेबले अर्को महिनामा फलोअपका लागि आउँदा यी टेस्ट गरेर आउनू भनेर लामो लिस्ट दिनुभयो । जाँचको सूचीमा रगत जाँच सँगसँगै एचआईभी पनि छोडिएको थिएन । जाँचको सूचीमा अल्ट्रासाउन्ड, सिटी स्क्यान इत्यादि देख्दा म आफैँ छक्क परेँ ।
उहाँले चलाउने गरेको आफ्नै ल्याबको रिपोर्टबाहेक अरू ल्याबको रिपोर्टमाथि उहाँले विश्वास गर्नु हुन्न भनेर त्यहाँकी परिचारिकाले मलाई पूर्वसूचना दिइसकेकी थिइन् । मेरो लाटो हिसाबमा लगभग ३०–४० हजार रुपैयाँको टेस्ट थियो ।
‘रीमा, तिमीले मेरो र छोराछोरीका लागि भए पनि मर्निङ वाक गर्नै पर्छ’, घर फर्किंदै गर्दा श्रीमान्ले मलाई फकाउनुभयो । मैले पनि मेरा लोग्ने र छोराछोरीकै लागि भए पनि आफ्नो शरीर स्वस्थ र चुस्त राख्छु भनेर दृढ प्रतिज्ञा गरेँ । मलाई डाक्टरलाई देखाएको दिनदेखि मृत्युसित डर लाग्न थालेको थियो ।
‘रीमा उठ ! मर्निङ वाकमा जानुपर्छ’, भोलिपल्ट बिहानको ३ बजे श्रीमान्ले मलाई घचघच्याएर उठाउनुभयो । म पनि बाँच्ने रहर लागेर होला, चाइँचुइँ नगरी जुरुक्क उठेर लुगासुगा लगाएर उहाँको पछि लुरुलुरु लागेँ ।
बिहानै कुकुरले आची पनि नखाई मर्निक वाकमा निस्कनु म भित्रको बाँच्ने रहर थियो । रातिको तीनबजे, भूत फर्किने समय हो भनेर धामीझाँक्रीले भनेको सुनेकी थिएँ । पछाडिबाट समाउँछ कि भन्ने डरले आङ पनि फुलेर आयो । एक्कासी शरीर शीताङ्ग भयो । नरक खोल्सा नजीकको बाटोबाट आँखा बलेको कुनै चिज घस्रेर ओरालो जंगलतिर लाग्यो । मेरो सातोपुत्लो उड्यो । उहाँ लोग्नेमान्छे, टाँगन घोडाको चालमा अघि बढ्दै हुनुहुन्थ्यो । म कछुवाको चालमा उहाँको पदचापलाई पछ्याउन थालें । बाटो सुनसान थियो । जंगली चराहरु कराएको आवाज र मृगको आवाजले पनि मलाई आतङ्कित तुुल्याउँदै थियो । बाल्यकालमा अँध्यारोमा हिँड्दा जङ्गलीले भेट्छ भन्ने डरको छाप मस्तिष्कमा बसेको थियो, त्यो छाप मेरो मस्तिष्कबाट अझैसम्म हट्न सकेको थिएन । बाँच्नका लागि हिँडेको मान्छे जंगली लागेर मरिने पो हो कि ? भन्ने भयले मेरो मनलाई भयभीत पार्दैथ्यो ।
चिहानडाँडा पुग्दा मेरो आङ जिरिङ्ग भयो । शरीर भारी हुनथाल्यो । एक महिनाअघि इहलीला त्यागेर परमधाम भएका दावा र पञ्चु उठेर मेरो सामु आउने हुन् कि भन्ने त्रासले मलाई सताउन थाल्यो । अबभने मेरा पैतालाले तीव्र गति लिन थाले ।
बाटोको छेउमा लास बिसाउने अमलाको रुखमा सेतो शरीर चलमलाउँदै थियो । ‘अब मलाई पिसाचले मार्ने भयो ।’ मेरो मुटुको धड्कन तीव्रगतिले बढ्यो, रोमकूपबाट निस्किएका रौँहरू ठाडा भए । आफूलाई सम्हाल्दै एन केन प्रकारले अगाडि बढ्दै थिएँ । अमलाको बोटको छेउमा पुगेर अघिको हल्लिँदै गरेको सेतो शरीरलाई छड्के आँखाले हेरेँ, लास बिसाउँदा मलामीहरुले अमलाको रुखमा बाँधेका खादाहरुलाई हावाको स्पर्शले हल्लाएको रहेछ । ‘थुक्क भूतको भ्रममा परेर झण्डै मरिन ।’ मेरो मुखबाट निस्केको आवाज पारी डाँडामा पुगेर प्रतिध्वनित हुँदैथियो । अझै पनि म हिँड्दै गरेको भूइँमा उज्यालो झरेको थिएन ।
नरक खोल्सा पुग्दा ठूला ढुङ्गा र रुखका पोथ्राहरुमा पनि झोडा उर्लेर बगाएका सन्तु र पुनमानको आकृति देख्न थालेँ । मेरा पति अघि नै फर्किसकेका थिए ।
फर्किदा अलिअलि उज्यालो झरेको जस्तो लाग्यो । अबभने मेरो दिमागमा रहेको भूतको भयको छाप विस्तारै हट्दै गयो । मान्छे सलबलाउने उज्यालोमा भूत डराएर भाग्छन् भन्ने सुनेकी थिएँ । म निर्भयसँग ओरालो हिँड्न थालेँ ।
‘भोलिदेखि चार बजे पछाडिमात्र घरबाट बाहिर निस्कन्छु, तीन बजे त मरिगए पनि घरबाट निस्किन्न ।’ मैले भीष्म प्रतिज्ञा गरेँ ।’
भोलिपल्ट बिहानको चार बजेतिर एक्लै उकालो लागेँ, एउटा पाँग्रे कुकुरले मलाई झम्टिन खोज्दै थियो । मैले त्यसलाई ढुङ्गाले हानेँ, त्यो कुइँकुइँ गर्दै भाग्यो । म उकालो लागेँ । द्वन्द्वमा प्रतिद्वन्द्वी परास्त पारेर फर्किएको सेनाको हिँडाइमा जस्तै मेरो हिँडाइमा स्फूर्ति थियो । म विजयी सेनाझैँ लम्किन थालेँ ।
अर्को बिहानी त्यही ठाउँमा हिजोको कुकुरले मलाई झम्टिने प्रयास ग¥यो । मैले लठ्ठीले त्यसलाई हिर्काएँ, धेरै दुखेर होला कुकुर जंलतिर पस्यो ।’ आजभने यसलाई बजाएँ ।’ भन्दै घर पुगेर लोग्नेलाई आफ्नो खुशी प्रकट गरेँ । कुकुरलाई लठ्ठीले पिट्दा मलाई आफूले विश्व विजय गरेको झैँ अनुभव भएको थियो । र मेरो कुरा सुनेर उहाँको अनुहार अँध्यारो भयो ।
‘विचरा निरीह पशुलाई किन कुटेको ?’ उहाँले कुकुरको पक्ष लिँदै मलाई प्रश्न गर्नु भयो । मैले यथार्थ बताएर जित्न खोजेँ । त्यो दिन म जत्तिको खुशी थिएँ त्यत्तिकै दुखी हुनुभयो मेरा उहाँ ।
कुकुरको डरले गर्दा गाउँकी बहिनी जानुलाई लिएर हिँड्न थालेँ । त्यो कुकुर मलाई देखेर रुँदै भुक्न थाल्यो । त्यसको रुवाइ सुन्दा मलाई नरमाइलो लाग्यो । मैले जानुलाई कुकुर र मेरोबीचको द्वन्द्वबारे वृतान्त बताएँ ।
‘म्याडमले गान्तुकेको बारेमा कुरा गर्नुभएको ? सारै गुनिलो छ । मर्निङ वाकमा जानेहरुलाई माथि नरक खोल्सासम्म पुु¥याएर फर्किन्छ ।’ तिनले हिंड्दै भनिन् । तिनको कुरा सुन्दा मलाई गान्तुके उपर आफूले गरेको दुव्र्यवहारले दुःखित तुल्यायो । त्यो मूक र निरीह पशुसित मैले माफी माग्नु पनि असम्भव थियो । आफू भित्रभित्रै सल्किँदै पश्चात्ताप गर्नु बाहेक मेरो अर्को कुनै विकल्प थिएन ।
अब मलाई चिसो हावा खाँदै हरियालीको दृश्यावलोकन गर्नमा त्यति आनन्द लाग्न छोड्यो । ‘मैले बेकारमा त्यसलाई पिटेछु’ भन्ने हीनताबोधले मलाई दिनरात सताइरह्यो । मेरो मनस्थिति नियालिरहनु भएको मेरा लोग्नेले मेरो हातमा बिस्कुटको प्याकेट दिँदै मलाई मायालु पाराले भन्नुभयो ‘त्यसले तिमीसँग मन दुखाएको रहेछ, अब बिस्कुट दिएर फकाउ ।’
म सधैँ झैँ बिहानको चारबजे घरबाट । निस्किएँ । जानू बैनीले आज अल्छी गरिन्, म एक्लै परें । गान्तुुके मेरो पदचाप सुनेर फेरि भुक्न थाल्यो । मैले बिस्कुट उसको अघिल्तिर फालिदिएँ । त्यो आफ्नो पुच्छर हल्लाउँदै निर्धक्क भएर बिस्कुट खानथाल्यो । हामी दुवैका क्लेशरहित आँखा जुधे । उसले मलाई हेरेर पुच्छर हल्लायो, मैले मुसुक्क हाँसेर उसँगको मित्रतालाई सहस्र स्वीकृति दिएँ । सायद हामी दुवै एकअर्काको भयदेखि मुक्त भयौँ । म पनि ढुक्क भएँ । भोलिपल्टदेखि उसले मलाई गन्तव्य स्थलसम्म पुु¥याउने र फर्किने गर्नथाल्यो । अब गान्तुके मेरो यात्राको अभिन्न मित्र भइसकेको थियो ।
जीवन यात्रासँगै मान्छेले पनि आफ्नो यात्रालाई निरन्तरता दिनुपर्ने हुन्छ । यही सिलसिलामा मलाई पनि आफ्नो थातथलो छोडेर अर्को थलो रोज्नुपर्ने वाध्यता आईप¥यो । मेरो सडकको प्यारो साथी गान्तुकेलाई भारी मनले सधैँका लागि विदा मागेँ । मैले रोजेकी यो नयाँ थलो भने मेरो कर्मस्थान थियो । यहाँ आएर पनि मेरो सडकको उपकारी साथी गान्तुके मेरो स्मृतिबाट हट्न सकेको छैन ।
मैले मान्छेलाई धेरै गुन लगाएकी पनि छु, कतिलाई मेरो पतिले काममा लगाइदिए, काम नपाएकाहरु मेरो घरमा आएर वर्षौंसम्म बसे । कतिलाई स्कूूलमा भर्ना गरिदिँए । मैले गुन लगाएकाहरु अहिले मलाई देखेर पनि नदेखेको झैँ गर्छन् । कतिपय त आफूलाई उचालेर माथि उठाउने मेरा हात काट्न पनि पछि परेका छैनन् । मेरो मर्निङ वाकको इमान्दार साथी गान्तुकेले भने मैले बिस्कुट दिएर लगाएको गुन आजसम्म पनि भुलेको छैन भन्ने कुराको जानकारी जानुले बेलाबेलामा मोबाइलबाट दिन्छिन् । ऊ अहिले पनि बिहानको चारबजे मैले छोडेको घरको गेट अगाडि आएर मलाई पर्खिरहेको हुन्छ रे ! गान्तोक, पूर्व सिक्किम ।