– रमेश भट्टराई ‘सहृदयी’
विद्यालयको सबैभन्दा कमजोर विद्यार्थी हो गोपाल । परीक्षामा सधैँजसो गाली र सजायको ठेक्का बोकेको उसमा सबैको नजर पथ्र्यो । जसरी जान्ने विद्यार्थीमा माया बर्सिन्छ त्यसै गरी पढाइमा कमजोर भएको उसमा पनि प्रायः शिक्षकलगायत घर परिवारको उत्तिकै गाली बर्सिन्थ्यो । एकदिन डाँडा गाउँबाट उसको घरमा मामा आउनुभएको थियो । उहाँले उसलाई माया गरेर भन्नुभयो, “ओहो ! भान्जा बाबु त लाठे भइसकेछन्, अनि पढाइ कहाँ पुग्यो ?” मामाको स्वर एकाएक उसकी आमाको कानसम्म पुगेपछि आमाको क्रोध वर्षिन थाल्यो, “यसको के कुरा गर्नु, भुस छ भुस, यसको पढाइको कुरा नसोध् भाइ । यसलाई खेल्न पाए पुग्छ । दोश्रो त्रैमासिक परीक्षामा पनि आठवटा विषयमा सातवटामा तारा लागेको छ । गणितमा ६ महिना पढेर ३ नम्बर ल्याइर’छ ।”
आमाको गालीले ठूलो रूप लेला भन्ने डरले ऊ आफ्नो कोठामा जान बाध्य भयो । कहिलेकाहीँ बाबाले गाली गर्नुहुँदा आमाले थप्न बाँकी राख्नुहुन्नथ्यो । अब त उसलाई आफन्तकोमा मात्र होइन समाजमा समेत मुख देखाउन लाज हुने भइसक्यो । ऊ प्रायः कोठैमा बसेर दिन काट्ने कुरामा अभ्यस्त थियो । एकान्तप्रेमी उसले मलाई त अलिअलि उसका मनका भावना पोख्थ्यो तर, मैले उस्तो गम्भिर पनि लिँदिनथेँ ।
एकदिन विज्ञान विषयको शिक्षकले उसलाई गाली गर्दै भन्नुभयो, “यस्तो भुस दिमाग भएकोले जीवनमा केही गरिखाला त, अहँ, खोइ तैँले पढेर खाँदैनस् । बरु गोरुलाई कक्षामा राख्दा अलिकति बुझ्ला तैँले के बुझ्लास् र । पृथ्वीको भार रै’छस् ।”
‘आफ्नो कमजोरी आफैंलाई थाहा छैन’ गोपालले मलाई भन्ने गथ्र्यो, “हेर् ललित, म त वास्तवमै पढाइमा कमजोर छु । तैँले राम्रो पढ्नु । म घरमा आमाबाबाको आँखाको तारो छु । स्कुलमा प्रायः शिक्षकको गाली र सजाय नपाएको दिन हुँदैन । तर म के गरुँ ? मलाई कुनै आइडियै आउँदैन । वास्तवमा मलाई कसैसँग बोल्न, कुरा गर्न, कसैकोमा जान मन लाग्दैन । जसकोमा गए पनि पहिला पढाइकै कुरा निस्किन्छ । खै, म त आफैंलाई आफू भार भएकोजस्तो लाग्छ ।” तर मैले पनि नसम्झाउने गरेको त कहाँ हो र तर मनको वह कतिसम्म डरलाग्दो बन्दो रहेछ ।
एकदिन बिहानै बुबा र म एकछिन् बिहानीको यात्रामा निस्केका थियौँ । विदाको दिन भएकाले मनमैजु हुँदै सामाखुसीतिर जाने सोच बनाएर कोठाबाट निस्क्यौँ । पुसको महिना भएकाले चिसो त छँदै थियो साथमा आकाश पनि रिसाएझैं दुःखित लाग्थ्यो । जाडोको मौसममा बिहानीको यात्रा साँच्चै नै रमाइलो पनि हुन्छ नै । गोङ्गबु चोकसम्म आइपुगेपछि बाबासँग साथी गोपालको घर छेउ हुँदै जान आग्रह गरेँ । कतै बाटामा उसलाई भेटिएला कि भन्ने आशा राखे पनि हामीले उसकोमा जाने भन्ने सोच चाहिँ बनाएका थिएनौ । तर अकस्मात् उसको घर नजिकै पुग्दा ठूलो रुवाबासी र होहल्लाले हामीलाई त्यतैतिर खिच्यो । केही मानिसहरु फोनमा पुलिसलाई खबर गर्ने कुरा गरिरहेका थिए । कोही चाहिँ मोटरबाइकमा खोज्न जाने भन्ने गफ गरिरहँदा मनमा एक प्रकारको डर मिश्रित उत्सुकता जाग्यो ।
तर वास्तविक घटनाको चुरो थाहा नहुँदा कसलाई सोधूँ, म आफैं रनभुल्लमा परेँ । मनमा अनेकथरी विचारका साथमा नकारात्मक सोच र त्रासको पनि एकाएक तँछाड मछाड गर्दै दौड सुरु भयो । आखिर सोधौँ म कस्लाई ?
गोपालकी आमाले मलाई देख्नासाथ एक्कासि अँगालो हालेर गोपालले घर छाड्नुको कारण सोध्न थाल्नुभयो । गोपालको साथी भएको हुनाले समस्यालाई धेरै बुझ्नुपर्ने व्यक्तिको रुपमा त म पो परेँ । बाबाले पनि घटना जान्न चाहेपछि गोपालकी आमाले नै भन्न थाल्नुभयो, “बेलुकाको खाना खाएपछि त्यस्तै पढाइको विषयमा चर्चा भएको थियो । उसलाई कमजोर भइस्, मेहेनत गर् भनेकी थिएँ । मैले अलिअलि गाली पनि नगरेकी हैन । तर आजभोलि निकै दिन भइसकेको थियो ऊ हामीसँग खासै नजिक पर्दैनथ्यो । अस्ति सँगै मन्दिर जाऔँ न भन्दा पनि जान मानेन । खोइ के भ’को हो, साथीसँग पनि घुम्न जानेओर्ने कुरा गर्दैनथ्यो । आज बिहानसम्म उठेको नदेखेपछि चिया लिएर ओछ्यानमा जाँदा उसलाई देखिन ।” गोपालकी आमा झनै भक्कानिएर रुन थाल्नुभयो । मैले सम्हालिनलाई आग्रह गर्न पनि सकिन ।
एक्कासि मेरो मनमा एउटा ख्याल आयो अनि मैले उसको कोठामा जान अनुमति लिएर कुनै आधार खोज्न चाहेँ । कोठालाई राम्ररी मिलाइएको थियो । किताबहरूमा गाता लगाइएको, कापी झनै समेटेर राखिएको देखेँ । उसको सिरानीमुनि हेर्दा एउटा कागज भेटेँ– बडो मजाले पट्याइएको थियो । त्यो कागज खोलेर आफैं हेरूँ या नहेरूँ डर पनि साथै उत्सुकता मनमा एकाएक आउन थाल्यो । तै पनि आँट गरेर कागज मैले मात्रै पढ्ने उद्देश्यले खोलेँ । त्यहाँ लेखिएको थियो –
आदरणीय आमा–बाबा ! म गल्ति गर्न चाहन्न । म पढ्न कमजोर छु । यो मेरै कारणले हो । तर म हजुरहरूको मायाको भोको छु । म लेख्न पनि जान्ने त होइन तर समस्याले झापड हानेपछि, मन पग्लिएपछि सायद सरस्वती माता लाचार हुँदिरहिछिन् । आज यो पत्र पढेपछि तपाईँहरूले मलाई खोज्ने आवश्यकता नपरोस् । तर म आमा–बाबाको आशालाई प्रेमपूर्वक पूरा गर्न चाहन्छु ।
उही यहाँहरूकै छोरा
गोपाल मैनाली
मैले सानै स्वरमा पढेको भए पनि गोपालकी आमा ढोकामा आएर सुनिरहनुभएको रहेछ । उहाँ त भक्कानिएर झनै रुन पो थाल्नुभयो । अनि हामी सबैलाई थाहा भयो– उसले घर मात्र छोडेको हो उसलाई केही भएको छैन ।
दिन दुगुना रात चौगुना चर्चा चल्न थाल्यो । फेसबुकमा, स्टाटस, म्यासेजहरूमा उसकै खोजीका कुरा हुन थाले । स्कुल, चोक जताततै उसकै खोजीमा सकेसम्मको प्रयास गर्न थालियो । विदेशबाट उसकै बारेमा गुनासाहरू बढिरहेका थिए । मानिसहरूका अनुमान अनि निर्देशनका ठेलीले म झनै पीडामा छट्पटिन थालेँ । टेलिभिजन, पत्रपत्रिकामा भने जानकारी दिने कि नदिने भन्ने विचारहरू पैmलिन थाले । अन्ततः सबैमा तनाव र पीडा बढ्न थाल्यो । अनेक थरी शंका उपशंकाले आफन्तहरूमा चिन्ता बढाइरहेकै थियो । गोपालकी आमाले खाना नखाएको दुईदिन भइसकेछ । बल्ल सम्झाएपछि उहाँले अलिकति खानुभयो । मलाई पनि रातदिन निद्रा लागेन । घरै छोडेर यति ठूलो पीडा दिएकोले त अलि अलि रिस पनि नउठेको होइन ।
चौथो दिन बिहान बाबाको मोबाइलको ‘सुर्के थैली खै’ को रिङ टोनले मेरो निद्रा भगाइदियो । मनमा त एउटै विचारले तनाव बढाएकै थियो । एकाएक मेरो नाम लिएर कसैले बुबासँग बोलेको सुन्दा म अलि चासोमा थिएँ ।
बाबाले फोन मेरो हातमा थमाइदिनुभयो । उहाँ आफ्नै धुनमा व्यस्त हुनुहुन्थ्यो । एकजना बूढो मान्छेको आवाज थियो । “भाइ तिमी नै हौ ललित भनेको ?” “हो मै हो । तर मैले त हजुरलाई चिनिन नि !” त्यो आवाज भन्दा अर्कै आवाज अनायास मेरो कानमा प¥यो जसको अपेक्षामा म लगायत सबै पीडामा थियौँ –उही गोपालको आवाज । मैले उसलाई एकै साथ प्रश्नका ठेलीहरू तेर्स्याएँ, “तँ कहाँ छस्, किन घर छोडेको ? किन हामीलाई यति धेरै पीडा दिएको ?” तर उसको स्वर काँपिरहेको थियो । उसले एकजना भक्तपुरको व्यापारीसँग बिन्ति गरेर फोन गरेकाले उसले मलाई नै फोन गर्न आग्रह गर्यो । मैले ऊ भएको ठाउँमा तुरुन्तै आउने बाचा गरेर बाबा आमासँग भनेपछि हामी लगायत सबैतिर एक किसिमको खुसी फैलन थाल्यो ।
उसलाई देखिसक्दा मेरा आँखा रसाए । ऊ पनि रोइरहेको थियो । गोपाललाई कति पनि पीडा नथपियोस् भन्ने सोचेर उसलाई गाली नगरी उसकी आमाको हालत भनिदिएँ । त्यसपछि त ऊ झनै घुँक्कघुँक्क गरेर रुन थाल्यो । अब जे भइसक्यो भै’गो घर जाऔँ भनेर मैले उसलाई लिएर आएँ । घरमा एकाएक खुसी मिश्रित गालीले गोपाल नव आगन्तुक झैं बन्यो ।
उसले आफ्नी आमा र बाबाको त्यो अवस्था देखेर झनै आपूmलाई सम्हाल्न सकेन । आमा–बाबासँग प्रण गर्दै भन्न थाल्यो, “मैले ठूलो गल्ति गरेँछु । अब त म कहिल्यै यस्तो गल्ति गर्दिन । मैले आफैंले नपढेर आमा–बाबाको गालीलाई ईख लिएँछु । यहाँबाट गएपछि पैसा सकिइहाल्यो । त्यसपछि मैले एकजना इट्टाभट्टाको मान्छेसँग काम दिन आग्रह गरेँ । उसले काम त दियो तर, उसका जुठा भाँडा माझ्न लगायो । अलिकति तरकारी र थोरै बासी भात दिएपछि आमाले घरमा माया गरेर दिएको खाना मीठो भएन भनेर फालेको, घुर्की लगाएको झल्झली याद आयो । पढ्नु त मेरै लागि थियो तर, मैले आमा–बाबा र गुरुहरुको लागि पढ्ने ठानेर बाबाआमाको गालीलाई ईख लिएँछु । सरी आमा–बाबा अब म पक्का पनि पढ्छु ।” ऊ रोइरहेको थियो । रुवाई मिसिएको स्वरमा ऊ अभैm भन्दै थियो, “इट्टाभट्टाको मान्छेले इट्टा लोड गर्न लगाउँदा बल्ल थाहा भयो बाबाले मलाई पढाउनका लागि कति दुःख गर्नुभएको रहेछ । मैले यी कुरा त कल्पना पनि गरेको रहेनछु ।”
उसका यस्ता कुरा सुनेपछि उसकी आमाले अँगालो हालेर गालाभरी म्वाई खान थाल्नुभयो । “छोरा अब म कहिल्यै गाली गर्दिन । मैले त्यस्तो गाली गर्नु राम्रो होइन‘थ्यो । मैले अन्जानमा बोलेको कुराले तिमीलाई ठूलो चोट परेछ ।”
उसको बाबाले अर्कोतिरबाट अँगालो हालेपछि ऊ एक्कासि बाबाको अँगालोमा परेर माफी माग्न थाल्यो । उसको टाउको सुम्सुम्याउँदै बाबाले अबदेखि केही समस्या भए घरमा भन्ने गर्नुपर्छ भन्ने सल्लाह पनि दिनुभयो । त्यहाँको दृश्यले सबैको अनुहारमा खुसीका रंग देखिन्थे । उलगायत उसका सबै परिवारले मलाई धन्यवाद दिनुभयो । मलाई उसको सबै घटना अझै ताजै लाग्छ । त्यस्तो गोपालले त्यसपछिका हरेक परीक्षामा राम्रो अंक ल्याएको देखेर सबै शिक्षकहरू पनि खुसी हुनुहुन्थ्यो ।
त्यो घटना घटेको तीन वर्षपछि गोपाल स्कुलको पाँचौँ मेधावी विद्यार्थीमा पर्न सफल भयो । एस.एल.सि.को नतिजा प्रकाशनको प्रतिक्षामा सबै शिक्षकलगायत हामी आतुर थियौँ । सबैभन्दा अचम्म त्यहाँ भयो जुन अप्रत्यासित थियो गोपाल विद्यालयको मात्र होइन नेपालकै प्रथम भएको रहेछ । यो पत्याउने कुरा जस्तो त धेरैलाई लागेको थिएन तर, त्यो यथार्थ थियो । गोपाल अहिले नेपाल एयरलाइन्सको मेनेजर बनेको छ । म उद्योग मन्त्रालयमा छु । हामी कहिलेकाहीँ ती विगतका घटनामा हराउँछौँ । साह्रै अविश्मरणीय लाग्दो रहेछ– विगतमा हराउँदा ।
– युवा बराल ‘अनन्त’, सिक्किम
विगतका यादहरु कहिले काहीँ आलो बनेर आउँछन् । अनर्गल, यसरी धेरै भयो मकैको ढिँडोसँग सिस्नुको झोल मुसेर नखाएको ! कोदोको रोटी, पदिना र रामभेंडाको अचारसँग चोभेर नखाएको ! नयाँ चामलको (जाउलोको) खोले भातमा गहुँको पिठोको डल्ला बनाई उमालेर नखाएको ! बेपारीको पातमा मकैको रोटी पोलेर नखाएको ! ती स्वादहरु अब कल्पना मात्र रहे । सम्झना मात्र । दुधमानेको डाँक्ला ताछेर फर्सीको मुण्टासँग मिसाएर मकैको भातसँग नखाएको झन कति भो कति ! कस्ता यादहरु ।
तिर्खा जस्तो अनुभूति ! एउटा अतृप्त तृष्णा । चाहेर पनि खान नमिल्ने स्थिति छ आजकल । त्यसको प्राप्ति अनुकुल छैन अब । असम्भव । चलन नै छैन । अप्राप्य । भनौं मासिइएको । बिर्सिइएको । या छोडिइएको एउटा पुरानो सभ्यता । ठुलो छलाङ्ग लिएको छ समयले । मेरै समयमा मेरै उमेरको आयतनभित्र पनि यत्रो परिवर्तन !
धेरै भयो हो ‘खानेतेलको रित्तो बोतल बोकी छिमेकी घरहरुमा एक औंली तेल पैँचो नमागेको । बिहानी उठ्दा एक सिन्का माचिसको अभावले तल्लो घर माथिल्लो घरबाट झरिलो अगुल्ठोको आगो नल्याएको । घरमा पाहुना आउँदा एउटा बर्को ओडी परालको माचमा रात नकाटेको झन वर्षौं बित्यो । अनि पानी झरी पर्दा भएभरको भाँडा वर्तनहरु भेला पारी खरले छाएको छानाबाट चुहुन पुगेको प्रत्येक तप्कनाहरुमा यत्रतत्र थाप्न नपरेको अनि भाँडा नथापिएको ठाँउको पानी सोहोरेर झुम्रोमा निचोर्दै फाल्न नपरेको धेरै धेरै भयो ।
ओहो झण्डै बिर्सिएछु, वैशाखको तेजिलो हावाको निर्मम प्रहारले क्षतविक्षत घरको धुरीमा खरलाई चेप्ने बाँसको भाटालाई चोयाले कस्सेर नबाँधेको पनि वर्षौं बित्यो । घर लडन लाग्दा तलतिरबाट अर्को नयाँ दह्रो बाँसको टेवा लाएको सम्झँदैछु यतिबेला । ती कस्ता अनुभवहरु थिए !
सुख बिर्सन्छन् रे मान्छेले छोट्टो । तर, दुःख पनि बिर्सिइँदो छ यति छिटै ! भने पछि, स्थायित्व के’मा छ र !
आमाको पोल्टाबाट निकै यत्नले साँचो चोरी ठूलो काठको बाकसबाट घीउ चिनी अनि मह चोरेर खाएको आलो याद छ । कस्तो अतृप्त भो हुन ती ! ती बालसुलभ खेल क्रिडाहरु गर्न नमिल्ने खल्लोपन छ यहाँ यतिबेला । साँच्चै !
आहा ! त्यो आलो गोबर माटोले लिपेको घरको चुल्हाको गन्ध सुँघ्ने इच्छा लागेको महिनौं भयो । यो चिसो सिमेण्टले बनेको घरमा त्यो गन्ध कहाँ छ र ! बल्न नमानेको चिसो दाउराको पिरो धुवाँमा रुमलिन मन परेको पनि धेरै भयो । अगेनाको डिलमा बसेर आमैको मुखार्वृन्दबाट दन्तेकथा सुनिन्थ्यो । आमै हुनुहुन्न अब । अनि अगेना पनि । दाउरा पनि बल्दैन यो घरमा । आगो अरु नै प्रक्रियाले बल्छ । भात पनि अर्कै प्रयोजनले पाक्छ ।
गमलाको कम्पोज मल अञ्जुलीभरी उठाएर सुँघें तर आएन खोजेको माटोको त्यो सुगन्ध । तिख्खर । अलकत्रे सडकको छेउभित्ता कोट्याएर खोजेँ त्यो वास्तविक माटो । आफ्नो माटो । आफ्नो तिर्जा । निजी ।
तर, असारे हिलो खेतमा जिउभरी लछेप्रै हिलो नलागेको कति भो कति । दाँतेमाथि चडेर हाहाहोहो नकराएको‘ हाँसी रमाइलो नगरेको युग जस्तै पुरानो भो ।
कतै माटोको पनि तिर्खा लाग्छ ? तर मलाई अनौठो प्रकारले माटोको तिर्खा लागिरहेछ । ठाँउको । अस्तित्वको । जमीनको । स्वामित्वको । अधिकारको । स्वतन्त्रताको । स्वच्छन्दताको ।
घर मालिकको अग्लो बिल्डिङ्गको टुप्पामा चढेर जोडसित चिच्च्याउँ चिच्च्याउँ लाग्दैछ यतिबेला । भित्र कतै अल्झेको बोझ हो कि कुण्ठा हो कि वेदना हो कि पीडा । यस्तै के के’को वान्ता एकैसाथ ओकलौं ओकलौं लागिरहेछ । पोखौं पोखौं लाग्दैछ यो गह्रौं अट्टहास !
ठूलो, खुल्ला र सम्पूर्ण आकाश नदेख्नुको यो ऐंठन । आफ्नो नहुनुको आभासको अर्को तीब्र पराकम्पन । जति सम्झँदैछु उति लाम लागेर आउँदैछन् ती प्यारा प्यारा मीठा मीठा सम्झनाहरु । म थिएँ’को । मेरो थियो’को। मेरो धरातलको । मेरो शैशवको । आफ्नोपनको । जहाँ टेकेर म पहिलो पल्ट उभिएँ । जुन माटोको कोमल स्पर्श अनि उपयुक्त शिक्षाले म मान्छे बनेँ । सम्झिरहेछु‘ यतिबेला ती सबै सबै । जान्दै बुझ्दै जाँदा; आफुबाट खोसिँदै गएका आफ्नापनहरू ! आफुले अधिकार जमाउन नसकेका निर्धापनहरू । बिडम्बनाहरू ! सम्झिरहेछु– ती सबै सबै माझ तिमीलाई पनि ! सुन्न चाहन्छु म तिम्रो पनि कथा । भनन्– तिमी कुन माटोले मान्छे बनिएकी हौ ?
– डा . मुरारि पराजुली
म एउटा निरीह भोट
बडो बिलखबन्दमा छु
कि तस्करी र भ्रष्टाचारका प्रतापले आर्जित
कुनै उम्मेदवारको
दुई चोक्टा मासु र रक्सीमा बेचिन सक्छु
वा श्रीमतीलाई पठाइएको
एउटा सारी
र एक पाथी चामलमा साटिन सक्छु ।।
कसलाई के थाहा
भोलि हुने चुनावमा
आजै वेपत्ता मातेर
बिहानैदेखि थापिएको
मतपेटिकामा पुग्नै नसकेर
खस्नैबाट वञ्चित हुन सक्छु
जमिन्दारका हवेली अगिको आँगनमा
तामेल गरिएको आदेशबमोजिम
उसैले भनेको चुनाव चिह्नमा
चुपचाप चुपचाप खसिन सक्छु ।।
वा मालिक साप्को सुपुत्र
जतिसुकै तस्कर र व्यभिचारी भए पनि
जतिसुकै अभिमानी र पातकी भए पनि
उसका बर्खिलापमा भोट हाल्नेले
सखारै गाउँ छाडेर
मुग्लानिनु पर्छ भन्ने त्रासका मारे
उसैका चुनावचिह्नमा घोप्टिन सक्छु ।।
म एउटा निःसहाय भोट न हुँ
मतदानस्थलमा पुग्दा
अरु कसैले
मेरा नामको भाट खसालिसकेकाले
कुनै विरोध र हंगामा नगरी
बडो शालीनतापूर्वक घर फर्काइन सक्छु
वा मतदानस्थलमा छिर्नै नपाइने
कृत्रिम भिडलाई छिचोल्ने ह्याउ नभएर
वा लडाइँ हुनसक्छ ।।
या गोली चल्न सक्छ भन्ने
मुस्तन्डहरूका हल्ला सुनेर
शान्तिपूर्वक बीच बाटैबाट
निरुपाय लखेटिन सक्छु ।।
जीवनभर एउटा आस्थाको टुकी निभ्न नदिएर
अन्तर्हृदयले प्रेम गरिराखेको
अमूक कुनै चुनाव चिह्न पल्तिर
हठात् गठबन्धनको केन्द्रीय आज्ञाप्तिले
जीवनभर मलाई दुस्मन ठानेको पार्टीका नाउँमा
बलजफ्ती खसाइन सक्छु ।।
म यौटा निमुखा भोट
कसले भन्न सक्छ
आजै रौतहटको कुनै गाउँभित्र
बम विस्फोटनमा परी
अर्धजीवित देह
भोलीको सूर्योदय नहेर्दै
भोट खसाउने अभीप्सा सकिएर
इटाभट्टीको अग्निमा डढाइन सक्छु ।।
वा भरतपुरको कुनै मतगणनास्थलमा
भोटका रूपमा खसेर पनि
गन्ती हुँदाहुँदै चपाइएर
गन्तीमै नआउने
अभीशप्त भोट हुन सक्छु
किनभने संसद् वादको सौन्दर्य नै यही हो
वीरभोग्या बसुन्धरा
निर्मूल्य मेरो भोटको कुन तुजुक छ र
जुनसुकै हत्कण्डाले पनि
फगत चुनाव जित्ने न हो ।।
–जानुका गुरागाईं, झापा
श्रमको ऊ गर्छ शोषण मुखले उदार हुन्छ
ज्याला दिँदैन मेरो निद्रा फरार हुन्छ ।।
मिल्दैन दाल, चामल दोकान हो किराना
बुझ्दै छु भित्रभित्रै मदिरा बेपार हुन्छ ।।
बोकेर थाल रित्तो बस्दै छ ऊ सडकमा
बुझ्दैन आज आश्वासनको बजार हुन्छ ।।
बुझ्नै सकिन्न भित्री मनको कुरो कसैको
बोली छ मीठो खुब बगलीमा कटार हुन्छ ।।
सुन्दैन आज मान्छे राम्रा कुरा कसैका
गल्ती कुराको मात्रै औधी प्रचार हुन्छ ।।
– अर्जुन यावा, पूर्व सिक्किम
बिहानै डाँडागाउँ पुग्दा दुई÷तीन जनाले समाचार–पत्रहरू हेरिरहेका थिए । छिमेकी भीमदाजु समाचार–पत्रहरू मिलाइरहनु भएको थियो । बिहान प्रायः भीमदाजुलाई व्यस्त नै पाइन्छ । चासो दिएर बिहानै त्यत्ति पत्र–पत्रिका हेर्ने गरेको छुइँन । तर पनि यहाँ आइपुगेपछि एकपल्ट कुनै–कुनै पत्रिका हेरिहाल्छु । आफ्नै पत्रिका कस्तो आएछ ? चासोको पहिलो विषय हुन्छ । अहिले पनि त्यस्तै भयो । अनि टेबलमा मिलाएर राखिएका समाचार–पत्रहरूबाट निकालेँ ‘समय दैनिक’ ।
सबैको ध्यान लिड न्यूज के छ ? सेकेण्ड लिडमा के छ ? सत्तापक्षले के भनिरहेका छन् ? विपक्षकाहरूले के भन्दैछन् ? राज्यमा नयाँ घटना के हुँदैछ ? यस्तै–यस्तैमा थिए । मैले पनि त्यसै गरेँ । हामीले बिहानै समाचार पत्रिकामा हेर्नुपर्ने भनेको पहिलो पाता नै हो । पहिलो पाता अर्थात् स्थानीय गतिविधि । आफू स्वयम् पत्रकारिता पेशामा भएकाले होला ती समाचारहरूले मलाई त्यति ध्यानाकर्षण गर्दैन । ‘हेडलाइन’हरू सर्सर्ति हेरेपछि भित्रि पृष्ठका राष्ट्रिय समाचारहरूमा मेरा आँखा पुग्छन् ।
समाचारहरु– भ्रष्टाचारको विरोधमा भोक हड्ताल, देशमा भ्रष्टाचार रोकिनुपछ : अन्ना हजारे, केजरीवालले दिल्लीलाई भ्रष्टाचारमुक्त गर्ने, गैरकानूनी ढंगमा विदेशमा निवेश गर्न नपाइने, विदेशी बैंकहरूमा पुँजी राख्नु अवैध, विदेशी बैंकहरूमा पुँजी राख्नेहरूको सूची जारी यस्तै यस्तै थिए । प्रायः समाचार पत्रहरूमा दोहोरिरहने राष्ट्रिय समाचारहरूका हेडलाइनहरू नै रहेछन् आज पनि ।
‘ए...! यावा’ पनि रहेछ । कतिबेला...?’
प्रश्न मेरै लागि थियो । टाउको फर्काएँ दाहिनेतिर । ‘रावत’ दाजु हुनुहुन्थ्यो। प्रतिउत्तरमा ‘भर्खर–भर्खरै । तपाईं नि..?’ सोधेँ ।
‘इ..., जस्ट पेपर टिप्दैछु’, भन्नुभयो । ‘हिमाली बेला’ रहेछ उहाँको हातमा । हिमाली बेला अथवा रावत दाजुले भन्नुभएको ‘पेपर’। दैनिक नेपाली समाचार पत्र ।
‘के छ हौ नयाँ–नौलो ?’ सोध्नुभयो मलाई । आँखा तर मतिर होइन, समाचार–पत्रमै थियो यतिबेला ।
‘छैन हौ त्यस्तो केहि...।’ हेरेर उत्तर दिएँ उहाँलाई ।
मेरो हातमा भएको समय दैनिक अघि टिपेकै ठाउँमा मिलाएर राखिदिएँ । सबैले टिपेर हेर्दै नमिलाई फ्यात्त फ्याँकिदिएर जाँदा भीम दाजुलाई कहिलेकाहिँ त रिस उठ्दो हो ! सम्झन्छु । त्यसैले जहिल्यै पनि समाचार पत्रहरू हेरेको समय मिलाएरै राखिदिन्छु, जस्ताको जस्तै । पत्रिका राखिदिएँ अनि रावत दाजुतिर हेर्दै भनेँ, ‘गएँ है दाजु ।’
रावत दाजुले दुईहातले दुई छेउ समाएर हेर्दै गरेको समाचार–पत्रका दुवै पाता देब्रे हातमा अड्याउँदै दाहिने हात मतिर बडाउनुभयो । त्यसपछि ‘ल...’ भन्दै फेरि प्रश्न गर्नुभयो ‘कता? घरतिरै कि ?’
‘हजूर ।’ भनेर म आफ्नो बाटो लागेँ ।
रेडियो स्टेशन पुग्नु थियो । त्यसैर फेरि डाँडा गाउँ पुग्नैपर्ने । पुगेर ट्याक्सी पर्खिरहेको थिएँ । सोमबार प्रायः ट्राफिक जाम हुनेगर्छ । अझ महिनाको पहिलो साता सोचेको समयमा पुग्नुपर्ने ठाउँ पुग्नु गाह्रो पर्छ । यो नयाँ कुरा होइन । गान्तोकको यो समस्यासित कोही अनभिज्ञ छैनन् । समाधान तर, कहिले हुनसकेको छैन । सायद हुँदैन पनि । किनभने समाधानको लागि विकल्प पनि त चाहियो । यसको फाइदा उठाउनेहरू तर खुशी हुन्छन् ट्राफिक जामसित । ट्राफिक जाम नहुँदा नै पनि ‘सर जाममा परेको छु, अलिक ढिलो हुन्छ होला...।’ भनिरहेका हुन्छन् । तर अहिले म साँच्चै ट्राफिक जामको चपेटमा छु । बाहनहरू घस्रिरहेका छन् सडकमा । म सडक छेउ उभिएको छु ट्याक्सी पर्खेर । सबै प्याक ।
झण्डै १५ मिनटपछि एउटा प्राइवेट कार मेरो छेउमै रोकियो । झट्ट ध्यान गइ हालेन त्यसमा । ‘टिट्..टिट्...’ हर्न बज्यो । ‘याँ आफूलाई अबेर हुन लागेको बेला...’ मनमनै सोच्दै झर्को माने झैं हेरेँ । ‘आइ–२०’ थियो मेरो अघि रोकिएको ।
‘बजारतिर हो ?’ प्रश्न र हातको इशारा एकैसाथ मेरै निम्ति थियो । ‘जाउँ’ भनेर अघिल्लोपटिको दैलो खोलिदियो उसले । ‘ऊ’ अथवा विवेक ।
विवेक उही थियो, जोसित म सँगै कलेज पढेको थिएँ । कलेजको पहिलो भेटमै हाम्रो मित्रता भएको थियो । गाउँको स्कूल पढेर आएका एक सोझो ठिटो थिए उनी त्यस समय । म जस्तै एक गरीब बाबुका छोरा । कलेसम्मको पढाइपछि कहाँ हराएको थियो, थाहा भएन । वर्षौंपछिको भेटमा पनि चिनिहालेछ मलाई । र त रोकिदिए गाडी मेरै निम्ति । चढेँ । साँच्चै हो, आइ–२० मै चाहिँ पहिलोपल्ट चडिरहेको थिएँ ।
‘साथी के छ हौ खबर ?’ उसको प्रश्न थियो गाडीमा चढिसकेपछि ।
‘सबै ठिकठाकै छ ।’ सिधा जवाब दिएँ ।
‘कविता लेखिँदैछ ?’ मतिर फर्किँदै सोध्यो । ‘थुक्क लोदर ।’ मैले केही भन्न नभ्याई ट्राफिक जामसित झोक्किँदै थियो ऊ ।
‘बेला–बेला लेख्दैछु नि’ भनेँ । फेरि सोधेँ मैल, ‘के गर्दैछौ नि कामकुरो ?’ अनि मनमनै सोचेँ आइ–२० त्यसै त कुदाइरहेका पक्कै होइनन् ।’
‘टिट्...टिट्...’ जाम खोलिएछ । पछाडिको गाडीलाई हतार लाग्यो । ‘सबैलाई हतारै छ त हौ...। दुई सेकेण्ड ढिलो गर्नु हुँदैन, हर्न बजाउनै पर्ने...।’ गनगनिदै बढायो गाडी उसले ।
‘ए...! के पो सोद्धै थियौ ?’ सोध्यो उल्टै मलाई ।
प्रश्न दोहोर्याइदिएँ, ‘अहिले के गर्दैछौ ?’
‘ए... अँ...’ भनेर ‘केही छैन हौ ।’ भन्यो अनि त्यही प्रश्न मलाई फर्कायो ।
‘म त पत्रकारितामा छु ।’ सिधा जवाब थियो मेरो ।
‘विवाह गर्यो त नि...?’ मलाई सध्यो।
‘निकै भइसक्यो नि ।’ भनेँ मैले ।
‘मैले लास्ट इयर जयलाई भेटेको थिएँ । उसैले भनेको ।’ भनेर फेरि प्रश्न थप्यो, ‘नानी छ ?’
‘एउटी छोरी छे ।’ फेरि भनें ।
‘कति वर्षकी ?’ सोध्छ होला सम्झेको थिएँ, ‘साँची जय त टिचिङ गर्दै थियो एडहकमा । गर्दैछ ?’ सोध्यो ।
‘छोडेर पुरानै विजनेस गर्दैछ ।’ उसको जवाब दिएँ । ‘तिमी पनि त्यसै त बसेको छैनौ नि...!’ फेरि जान्न खोजेँ ।
‘के भन्नु यार ! गर्दैछु । कन्सोलिडेटेडमा छु नि ।’ थोरै निरुत्साह पढेँ यतिबेला उसको मुहारमा । फेरि सोचेँ, “कन्सोलिडेटेड जभ, अनि ड्युटी जानु आइ– २० मा चढेर ?’
‘ठिकै छ । अनि... बिवा गर्यौ ?’ प्रश्न गर्दै नजानिँदो उसको शीर–पाउ दगुराएँ दुई नयन अनि आफैलाई खुट्टादेखि घाँटीसम्म नियालेँ । फेरि हेरेँ स्ट्रिङ अगाडि राखेको उसको सामसुङ गेलेक्सी ग्राण्ड–२ र एप्पल आइ फोन–६ अनि मोबाइलको हिसाब लगाएँ । लगभग पैंसठ–सत्तरी हजार ।
‘गरेँ नि । क्या त मैले प्रपोज गर्दा भागिहिँड्थी नि...!’
मैले बिर्सिएछु । सम्झने प्रयास गर्दैथिएँ । उसैले भन्यो, ‘सुनिताले फाइनल इयरमा त एक्सेप्ट गर्यो नि ।’ यतिबेला थोरै खुशी दौडिएको प्रष्टै देखिन्थ्यो उसको मुहारमा ।
‘नानीहरू ?’ छोटो प्रश्न थियो मेरो ।
‘छोरा र छोरी एक–एकजना ।’
‘कम्प्लिट फ्यामिली रहेछ ।’ मेरो यो वाक्यले ऊ खिसिक्क हाँस्यो । सायद खुशीमा।
‘मलाई यतै रोकिदेउ है’ आइडीबीआइअघि पुग्दा हङ्ग्रीज्याकतिर देखाउँदै भने ।
‘हङ्ग्री ज्याक’ भनेर होटललाई भन्दा धेरै ट्याक्सी स्टपेज भन्ने बुझिन्छ । अझै धेरैले ‘पेट्रोल पम्प’ भनिदिन्छन् । त्यहाँबाट ‘पम्प’ हटाइएको धेरै भइसकेको छ । तर यो ठाउँको नामै भइसकेको छ ‘पेट्रोल पम्प’। हामी पुग्यौं । म ओर्लिएँ ।
‘सी यू अगेन ब्र...।’ भनेर ऊ अघि बढ्यो । म टाइटनिकतिर लागेँ । साथीहरू हेरेँ । कोही थिएनन् । रेडियोमा रेकर्डिङ पनि अझै आधी घण्टापछि मात्रै थियो । ‘आ जाँदैगर्छु...’ सम्झेँ अनि हिँडे । एसबीआइको अगाडी हुँदै रुची क्लिनिकको छेउबाट एसटीएनएम निस्किएँ । कसैसित केही बोल्नु थिएन । एसटीएनएम अगाडि राखिएका बाहनहरूले बाटोसम्म छोडेको हुँदैन कहिलेकाहिँ । आज पनि त्यस्तै रहेछ । मनमनै गनगनाउँदै इमरजेन्सी वार्डअगाडिबाट छिरेँ । ‘बेस्सी नै सर्टकट खोज्नेहरूको लाइफ पनि सर्टकट नै हुन्छ’ भनेको सुनेको थिएँ, कति सत्य हो ? थाह छैन । मैले तर सर्टकट नै रोजेँ । त्यसैले एसटीएनएमदेखि पनि हाइकोर्ट हुँदै फूटपाथ निस्किएर पुगेँ आकाशवाणी गान्तोक स्टुडियो ।
काम सकियो ।
झट्ट सम्झना भयो कुन्नि केको र्याली निकाल्ने कुरा थियो..। लागेँ एमजी मार्गतिर ।
‘ओए...! कहाँ छस् ?’ फोन गरेँ झरनालाई ।
‘टाइटनिकमा ।’ छोटो जवाब आयो । फेरि सोधिन्, ‘तपाईं कहाँ हुनुहुन्छ ?’ अनि भनिन्, ‘आउनु न, कोनि केको र्याली निकालेको रहेछ । आइपुग्नु आँट्यो ।’
‘ल... ल...! आउँदैछु ।’ भनेपछि मोबाइल गोजीमा हालेँ ।
‘भ्रष्टाचार रोक्नुपर्छ...।’ तिक्खो नारी स्वर सुनेँ एसटीएनएमको इमरजेन्सी वार्ड क्रस गर्दा–नगर्दै । पछिपछि ‘रोक्नुपर्छ..., रोक्नुपर्छ...।’ थपिरहेका थिए एक हूल स्वरहरूले । मेरा दुई पाइला स्वतः हतारिरहेका थिए । दुई नयन त्यतैतिर अघि नै दगुरीसकेछन् । ‘कुरा के रहेछ ?’ जान्ने मनभन्दा दुई नयन छिट्यो पुग्यो भीडमा मिसिन । राजमार्ग उकालो आइरहेको त्यो हूलसितै घुमेर मेरा दुई नयन पनि टाइटनिक मै थुप्रिन पुगेँ ।
बल्ल पुगेँ । खोजेँ झरनालाई । फोटो खिचिरहेकी थिई । राष्ट्रिय टेलिभिजनहरूमा हेरिँदै गरेको कुराले राज्यमा पनि प्रवेश गरेछ । यति बुझेँ । देश र राज्यको इश्युलाई कम्पायर गरेँ । फेरि निक्र्यौल मन लाग्यो भीडभित्रका अनुहारहरू । थोरै चिनेकाहरू । थोरै कतै चिनेकाहरू जस्ता लाग्ने । धेरै नदेखिएकाहरू । हुनसक्छ कतै, कहिँ, कुनै समय यस्तै भीडहरूमा देखिएका होलान् । तर अपरिचित । अनुहारहरू सबै टुङ्गिएका थिए टाइटनिकमा आएर । अघिको तीखो स्वर अहिले त्यत्ति उत्साहित थिएन । शान्त भइहालेको पनि थिएन ।
‘घुसखोरी र भ्रष्टाचारी होसियार...।’ अचानक अर्को ठूलो स्वर चर्कियो ।
‘होसिया..., होसियार...।’ पछ्याएको थियो भीडले ।
‘को रहेछ फेरि..?’ हेरेँ । देखेँ, हातमा प्ले कार्ड । झट्ट चिन्न सकिन । भीड थियो । चिन्न खोजेँ । चिने । निधारमा चिटचिट पसिना । आँखामा एकप्रकारको क्रोध । मैले राम्ररी ठम्याएँ । हो ऊ मेरै साथी थियो । मेरो साथी विवेक । भीड अझै शान्त भएको थिएन । गुञ्जी रहेका थिए स्वरहरू अझै । सोचेँ, भीडभित्र मैले देखेको त्यो अनुहार सत्य हो !
– रुक्मिणी शर्मा, उदालगुडी, असम
पुर्णप्रसादले शहर गएका बेला एकजोडी सुँगा लिएर आए । उनले सोचेका थिए, ‘सुगा बोल्न थाल्छन् अनि छोरी यिनीहरूसँग खेलेर भुल्छिन् ।’ तर, उनलाई के थाहा, छोरीको मनले के माग्दै छ ? कहाँ उड्दै छ ? आफुले सोचे जस्तो सबै केको हुन्थियो र ..। ‘उ’ आजभोलि आडम्बर, विलासितापुर्ण जीवनमा होमिएका छन् । मुन्नीलाई पनि आफु जस्तै बनाउन खोज्दछन् । तर मुन्नीको मन बाबुको आडम्बर तिर ढल्किदै न । मुन्नीको मन मुटु त टुल्कि, लक्ष्मी, ऋषि भगे तिर ढल्किएको छ किनभने उ स्वतन्त्र भावले उडन् खोज्दछिन् । बाबुलाई फेरि छरछिमेकमा भएका तेस्ता दरिद्रताले त्यान्द्रो भाका, मैलेधैले नानीबाबुहरुसँग खेलेको मन पर्दैन । तर मुन्नीको चैँ साथीहरूसँग खेल्न नपाएर मन खिन्न हुँदै गाको छ । साथीहरूले खेलेको देख्दा उनका आँखादेखि आँसुका बलिन्द्र धारा बग्छन् । कहिलेकाँही त बाबु आमाका आँखा छलेर “जे होला देखा जाला” भन्ठानेर ढोका सरक्क खोलेर खेल्न जान्छिन् । त्योदिन चैँ उनको लागि कुनै एउटा ठूलो युद्ध जितेर आएपछि राज्यमा राज्याभिषेकको लागि उत्सव मनाएको दिन जस्तो लाग्दथ्यो । मन प्रफुल्लित हुन्थ्यो । फेरि कुनै दिन चै निस्किने जमर्को गर्दागर्दै मौका मिल्दैनथ्यो र सुर्यदेवको विश्राम लिने बेला हुन्थ्यो । त्यतिबेला बिचरी मुन्नी सुगासँग बसेर मनको गुनासो पोख्दै भन्थिन्, ‘हेर...तिमीहरुको र मेरो दसा एउटै भाको छ । हामी तिनैजना पिञ्जरामा बाँधिएका पराधीन प्राणी हौँ । पर्ख पर्ख तिमीहरुले चिन्ता गर्नुपर्दैन । म यहाँबाट तिमीहरुलाई छिट्टै नै मुक्त गराउँनेछु ।” सुगा दुईवटा अलि अलि बोल्न थालेका छन् । उनीहरू मुन्नी–मुन्नी, हुन्छ–हुन्छ भन्दै रमाउछन् ।
आइतबारको दिन थियो । मुन्नीको पनि पाठशाला छुट्टी भाको हुनाले घरमै थिइन । दैव संयोग त्यो दिन बाबु–आमा दुवै व्यवसायको निम्ति शहर जानुपर्ने भयो । बाबु आमा गए पछि मुन्नी पिञ्जराको छेउमा गएर मिठु मिठु भनेर बोलाउँछिन् । उनीहरू मुन्नीको छेउमा आएर केही भनौँला जस्तो गर्छन् । मुन्नी आफ्नो हातले चारो पानी खुवाछिन् अनि सुमसुम्याउदै भन्छिन्, ‘तिमीहरु आजदेखि आजाद पन्छी हुनेछौँ । लौत् जाओ मुक्त मनले दिग दिगन्तÞर्को परिभ्रमण गरेर साथी सँगी सित स्वतन्त्र भएर खेल भन्दै ढोका खोलि दिन्छन् । जब सुगा पखेटा फरफराउँदै खुशी खुशीले वनतिर लागे । उनि एकहोरो आँखा झिमिक्क नपारि उतैतिर हेरि रहेकी हुन्छिन् ।
त्यतिकैमा बाबु–आमा शहरबाट आईपुग्छन् । छोरी एकोहोरिएर बसेको देखेर उनीहरू आत्तिदै के भयो भनेर छोरीलाई सोध्छन् । छोरी खाली पिञ्जरा देखाउँदै “म पनि एक दिन मेरो पिञ्जराको ढोका खोलेर लक्ष्मी, टुल्किहरुसँग कसैले चालै नपाई खेल्न जान्छु”, भन्छिन् । बाबु–आमा छोरी तिर ट्वाल्ल परेर हेरिरहन्छन् । छोरी कुद्दै घरभित्र पस्छिन् । भोलिपल्ट चैते दशैंको महानवमी थियो । उनीहरूले त्यहीँ बसिबसी सिद्धान्त लिए भोलि राम्रो दिन हो लक्ष्मी, टुल्कÞी उनीहरुका अरु साथीलाईपनि निम्त्याउने, नयाँ कपडा ल्याई दिने, अनि मीठो मिठो खानेकुरा खुवाएर मुन्नीसहित शहर डुलाउन लिएर जाने ।
– वि. पि. विद्रोही
जहाज चढेर पूर्व लाग्यो कि
बस चडेर पश्चिम लाग्यो
दलाल पुँजीवाद ?
उस्ले कस्तो कमिज लगाएको छ ?
अन्दाजी कति वर्षको छ ?
जुङ्गा मोटो छ कि पातलो ?
कति बजे कुन चोकमा पुग्छ ?
रेकि गरौँ
एउटा कमरेडले अर्को कमरेडलाई खबर गरौँ
हामीमाथी लाद्ने अत्याचारको यात्री बोकेर
साढे पाँच गिएरमा हुँइकिरहेको
दलाल सत्ताको गाडिलाई
सुनसान जंगलमा रोकेर
बुझाइदिऊँ जनसेनाको डिभिजनलाई
अनि पो जितिन्छ लडाइँ ।।
पुरानो सत्ताले
क्रान्तिकारीहरुको विरुद्ध कस्तो खाले लेख्दैछ
षड्यन्त्रको दस्तावेज
चियो त्यता गरौँ
हिन्द–प्रसान्त सागर भएर
हाम्रो माटोमा छिर्न चाहिरहेको साम्राज्यवादलाई
कोलकाता बन्दरगाहमै रोकौँ
समुन्द्रमा एम्बुस थापौँ
अनि पो जितिन्छ लडाइँ ।।
विश्व शान्तिको खोल ओडेर
झ्यालबाट छिर्न लागेको धार्मिक अतिवादलाई
भण्टा बारिबाटै फर्काइदिउ
अनि पो जितिन्छ लडाईँ ।।
एउटा कमरेडले अर्को कमरेडको जरो खनेर
अर्को कमरेडले अर्को कमरेडको हाँगो लाछेर
कसरि जितिन्छ लडाईं ?
हाम्रो रुद्रघण्टीबाट
पल्मनरी धमनी र सिरा हुँदै
हाम्रो मस्तिष्कसम्म पुग्न चाहिरहेको पुँजीवादलाई
नाकको डाँडिमै रोकौँ
अनि पो जितिन्छ लडाईँ ।।
कमरेड,
पुँजीवाद हाम्रो आँगनमा नाङ्गै नाचिरहेको याम
हाम्रो काम धेरै छ
सचेत बनौँ
जिम्मेवार बनौँ
पुँजीवादविरुद्ध लडौँ ।।
– सुरेश वैद्य, काठमाडौं
प्रिय, मलाई हेरेर तिमी के हाँसेकी थियौ मुसुक्क
धर्तिमा छु कि स्वर्गमा छु बिर्सेछु मैले त भुसुक्क ।।
चाँदी झै दन्त लहर देखाएर हाँस्दा कत्ति हिस्सि परेकी
दिन पनि रात झै लाग्छ जब बस्छौ तिमी रिसाइ ठुसुक्क ।।
जहाँ–जहाँ नजर पुर्याए देख्छु बहारै बहार छाएको
यस्तो रंगिन मौसममा आउछौं कि माया गर्न खुसुक्क ।।
मेरो जस्तो तिम्रो पनि गुड्गुडि लाग्यो कि तन मनमा
मनका कुरा साट्न आउँछौ कि भेट्न राति लुसुक्क ।।
छट्पटिमै मेरा रात बित्यो उनको मिठो पर्खाइमा
थाहा नै भएन कुन बेला छोएर गए सपनीमा छुसुक्क ।।
– अम्बरबहादुर बि.क., उदयपुर (हाल : दोहा कतार)
१.
रूँदै छिन् नेपाल आमा छातीको घाउ फाटेर
आफ्नै सन्तानले मुटु अचानोमा राखी काटेर
कस्लाई माया छ र देशको स्वार्थले भरिएको
बेचिदिन्छन् कि देश डलर र भा.रू.मा साटेर ।।
२.
यो देशमा न नेता सुध्रिन्छन् न कुनै जनता
न कसैलाई घृणा लायक छन्, न ममता
नुन खाएर गुण बिर्सिन्छन् चाँडै मान्छेहरू,
भेटिएन कतै जनमनमा कोही एकरूपता ।।
३.
गोरू जस्तै जोतिन्छन् युवा अरबको खाडीमा
हामीले जिताएका नेता हिड्छन् नहेरी गाडीमा
के सोचेर ल्याउएको नीति बेग्लै भो गतिविधि
चुनाव आउँदा सिङ्गापुर बन्छ नत्र देश झाडीमा ।।
४.
टाढाको देवता होइन, नजिँकैको भुत नै काम लाग्छ
यो युगमा सत्यवादी हरिचन्द्र हैन झुट नै काम लाग्छ
गरिबीको निकास खोजौँ अब विकास गर्ने नेता रोजौँ
नेताको भाषण हैन हजुर जनता–खुद नै काम लाग्छ ।
५.
आजभोली जताततै सर समानको भाउ बढेको छ
घर चलाउन पनि दिनदिनै ऋणले साहु बढेको छ
गरिबको बेथा सरकारको ढुकुटी मार्नेलाई के थाहा
सोध उसलाई जस्को पिडाले मुटुमा घाउ बढेको छ ।।
– बलराम तिमल्सिना
एउटा कवि
घाँटीमा ब्रोइलरको हड्डी अड्केर मर्यो
अर्को कवि
चुनावी रक्सी सर्केर मर्यो
तेस्रो कवि
भविष्यमा प्राज्ञ बनाइदिने आश्वासन सुनेपछि
लामो सास तानेर मर्यो
चौथो कवि
अर्को पटकको वडा अध्यक्षको बचन पाएपछि
हृदयाघात भएर मर्यो
पाँचौँ कवि अलि कडा थियो
उसले पनि उपाध्यक्षको हाताहाती टिकट पायो
त्यसपछि मलमुत्रको पोखरीमा डुबेर
हेर्दा हेर्दै ठाउँको ठाउँ मर्यो ।।
एक हुल कविहरु छन् अझै
गणतन्त्रको दायाँ किनारमा उभिएका
गायत्री मन्त्र सुनाएझैं पण्डितले
कानमा उखान टुक्का सुनाइरहेछ कोही
हेर्दा हेर्दै
कविहरूले खुट्टा टेक्न छोडेका छन्
र सबै लम्पसार परेर सुतेका छन्
उनीहरूलाई
हतार–हतार अस्पताल पुर्याइएको छ
र, चिकित्सकले सबैलाई मृतक घोषणा गरेका छन् ।।
ठुलै षडयन्त्रको हल्ला भएपछि
सबैको पोष्टमार्टमको माग उठ्यो
र सबैको पोष्टमार्टम पनि गरियो
पोष्टमार्टमको रिपोर्टमा लेखिएको थियो–
विषालु विचारको अत्याधिक सेवनले
दिमागमा वीष जमेर मरेका हुन् उनीहरू ।।
यसरी एउटा महामारी बोकेर
चुनावी फ्लू आयो
र एक हुल कविहरूलाई सोहोरपट्टार पार्यो ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies