२०८२ कार्तिक २२ गते शनिवार / Nov 08 , 2025 , Saturday
२०८२ कार्तिक २२ गते शनिवार
Ads

कथा : अधुरो चित्र, पूरा जीवन

shivam cement
रञ्जना बास्ताकोटी
२०८२ कार्तिक २२ गते ०६:१०
Shares
कथा : अधुरो चित्र, पूरा जीवन

क्यानभासमा रंग मिसाउँदै म केही नयाँ सिर्जना गर्ने प्रयासमा थिएँ । बिहानको उज्यालो झ्यालको पर्दा हुँदै कोठामा छिरेको थियो । कलेजबाट आएर अबेरसम्म चित्र कोर्ने बानी मेरो पुरानो हो । आज पनि त्यही बानी दोहोर्‍याउँदै थिएँ ।

त्यसैबेला ढोका हल्का ढकढकियो । ‘भित्र आउनुहोस्’, भनेँ ।

ढोका धकेल्दै मेरी सहकर्मी राधा भित्र पसिन् । उनको अनुहार अँध्यारो थियो । आँखामा निद्राहीनता र बोलीमा चिन्ता ।

‘के भयो राधा ? अनुहारमा उज्यालो छैन त,’ मैले सोधेँ ।

उनले ढिलो स्वरमा भनिन्, ‘माया, मलाई केही दिन बिदा चाहियो । घर जानै पर्छ ।’

‘किन ? कलेजमा त प्रोजेक्ट बुझाउने अन्तिम मिति नजिकै छ नि,’ मैले अचम्म मान्दै सोधेँ ।

‘छोरी बेपत्ता भएकी छ,’ उनले काँपिएको स्वरमा भनिन्, ‘गएर कुरा बुझ्नुपर्छ ।’

म केहीबेर त स्तब्ध भएँ । ‘बेपत्ता ?’

‘हो, ऊ केटो लिएर भागेकी रे  ! त्यो पनि दलित परिवारको केटो ।’

उनको स्वरमा ‘दलित’ शब्द उच्चारण हुँदा पनि अहिलेको २१औँ शताब्दीको एउटा शिक्षित महिला यस्तो सोच्दा मन पोल्यो ।

‘राधा, ऊ त तपाईँकी छोरी हो नि । भागेकी छैन होला, आफ्नो बाटो रोजेकी हो । अहिलेको पुस्ता फरक सोच्छ,’ मैले सहज स्वरमा भनेँ ।

राधाले सुँक्कसुँक्क गर्दै भनिन्, ‘तर यो त हाम्रो इज्जतको कुरा हो माया । गाउँमा मुख देखाउने ठाउँ छैन । म जाऊँ न ?’

‘जानुस् तर कृपया छोरीको खुसी पनि सम्झनुस्,’ मैले न्यानो स्वरमा भनेँ ।

उनी केही नबोली कोठाबाट बाहिरिइन् । उनी गएपछि मेरो मन क्यानभासमा होइन, मेरो अतीतमा पुगेको थियो । राधाको कुरा सुन्दा मेरो पनि पुरानो कथा बल्झियो– जुन कथा म प्रायः कसैलाई सुनाउँदिनँ ।

त्यो बखत म झापा जिल्ला कार्यालयमा जागिर गर्थेँ । मेरो जीवनमा प्रेम भन्ने शब्दको कुनै अर्थ थिएन, जबसम्म नवराजसँग भेट भएन । ऊ हाम्रो अफिसको नयाँ प्राविधिक थियो । गोरो र गम्भीर अनुहार, तर हृदय अत्यन्त सरल ।

पहिलो पटक जब ऊ फाइल लिएर मेरो टेबलमा आयो, मुस्कुराउँदै भन्यो, ‘म्याडम, यो रिपोर्टमा साइन चाहियो ।’

मैले मुस्कान फर्काएँ, तर त्यो सामान्य मुस्कान थिएन– मनमा केही हलचल भयो ।

दिनदिनै भेट, सँगै खाजा र कहिलेकाहीँ अफिसपछि बाटोमा सँगै हिँड्ने क्रम सुरु भयो । नवराजको आत्मीयता र आदरले मेरो मन जित्दै गयो । मैले पनि आफूलाई रोकेकी थिइनँ ।

तर एक दिन उसले भन्यो– ‘म त तामाङ हो नि माया, तिम्रो घरले स्विकार्ने छैन ।’

म हाँसेँ, ‘जातले होइन, मान्छेले जीवन चलाउँछ ।’

तर, म गलत रहेछु । जब घरमा कुरा गरेँ, बुबा तातिएको पानीजस्तै उम्लिए, ‘हाम्रो खानदानमा तामाङ ज्वाँई ? म मर्छु, तर यस्तो ज्वाँई स्वीकार गर्दिन !’

त्यो दिन म घर छोडेर नवराजसँग भागेँ । हामीले सानो कोठा भाडामा लिएर बस्यौँ । सुरुवाती दिनहरूमा दुवै गरिबी र प्रेमबिच सन्तुलन खोज्थ्यौँ । नवराज काममा जान्थ्यो, म चित्र कोर्थेँ । हाम्रो संसार सानो थियो तर आत्मीयता ठूलो ।

तर सुखका दिन लामो रहेनन् । ऊ मोटरसाइकल दुर्घटनामा पर्‍यो । एक्कासि म एक्लिएँ– पेटभित्र ऊ छोडेको सन्तान बोकेर ।

बाबुआमाले थाहा पाए । आमा भेट्न आउँदा भनिन्, ‘फिर्ता आऊ माया । यो समाज के भन्छ भनेर सोच ।’

मैले शान्त स्वरमा भनेँ, ‘समाज मेरो बच्चालाई नाम दिन सक्दैन आमा । म उसको आमाको नाम नै पर्याप्त ठान्छु ।’

वर्षौँ बिते । म काठमाडौँ सरेँ, चित्रकलाको पढाइ पूरा गरेँ, अहिले यही कलेजमा अध्यापन गर्छु । मेरा छोरा अजय अहिले १२ कक्षामा पढ्दै छन्, कला र संगीतमा असाधारण रुचि छ ।

आज बिहान जब राधा त्यस्तो मनस्थितिमा मसँग भेटेर गइन्, म आफैँलाई सम्झाएँ– समयले सबै घाउ निको पार्छ, तर साँचो समझदारीले मात्र मानिसको दृष्टि बदल्छ ।

तीन दिनपछि राधा फर्किइन् । अनुहारमा हल्का उज्यालो फर्किएको थियो ।

‘कस्तो भयो त घरमा कुरा ?’ मैले सोधेँ ।

‘छोरी भेटिएकी रहिछे माया,’ उनले सास फेर्दै भनिन्, ‘ऊ एउटा सानो बस्तीमा रहेकी थिई । हामी भेट्यौँ ।’

‘अनि तपाईँले के गर्नुभयो ?’

‘पहिले त धेरै रोएँ, कराएँ पनि । तर पछि उसको आँखामा त्यही चमक देखेँ, जुन कहिले म आफ्नै सपना पूरा गर्न खोज्दा देखाएकी थिएँ । त्यसपछि बोल्न सकिनँ ।’

उनको स्वर अब शान्त थियो । ‘तिम्रो कुरा सम्झेँ– छोरीको खुसी सोच्नुपर्छ भनेकी थियौ नि । म मान्छु, म गलत थिएँ ।’

‘त्यसो भए अब ?’ मैले सोधेँ ।

‘अब म त्यसै केटाको घर जान्छु, छोरीसँग भेटेर आशीर्वाद दिन्छु,’ उनले हाँस्दै भनिन् । ‘समाज जे भनोस्, मेरी छोरी मेरो माया हो ।’

म मुस्कुराएँ ।

‘राधा, तपाईँले आफ्नो जीवनको सबैभन्दा सुन्दर चित्र पूरा गर्नुभयो । अब त्यो चित्रमा कुनै रङ फिका हुँदैन ।’

सायद जीवन पनि चित्रकला जस्तै हो, रंगहरू ठोक्किन्छन्, कतै फैलिन्छन्, कतै मिल्दैनन् । तर अन्तिममा जब चित्र पूरा हुन्छ, त्यसमा पीडा र प्रेम दुवै मिसिएका हुन्छन् ।

राधा आफ्नो बाटो लागिन् । म फेरि क्यानभास अघि फर्किएँ । ब्रसले सेतो रंग छोप्दै सोचेँ– कहिलेकाहीँ अधुरो चित्र नै पूरा जीवनको प्रतीक बन्छ ।

ADV

सम्बन्धित खबर