२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कविता : मेरो देश जलिरह्यो

shivam cement
हरि विनोद अधिकारी
२०८२ कार्तिक २९ गते ०६:००
Shares
कविता : मेरो देश जलिरह्यो

जतासुकै बेथिति छ खुसी छैन कसैको मन
भ्रष्टाचारको विरुद्धमा सुरु भयो आन्दोलन

पन्ध्रदेखि सुरु भइ अट्ठाइसभित्र थिए
अरू देशमा जस्तै गरी जेनजी भन्ने नाम दिए

सुती खानी बच्चा भनी सरकारले गिज्याइरह्यो
के गर्छौ र तिमीले भनी संसदबाट चिच्याइरह्यो

भ्रष्टाचार र कुशासनको अन्त्य गर्ने मूल मन्त्र
दुई दिन मै सत्यानाश भो देशको सारा अर्थतन्त्र

सरकारले जनतामाथि अन्धाधुन्ध गोली हान्यो
मैसासुरको पारा आयो सर्वेसर्वा आफै ठान्यो

कहिलेसम्म सहनु पर्ने दादागिरी जनताले
सरकारको दम्भदेखि अब जनता जाग्न थाले

कसको मन सम्हालिन्छ बिच सडकमा छोरो ढल्दा
कोही कसैले रोकेनन् नि अन्धाधुन्ध गोली चल्दा
 
ताकेजस्तै गोली लाग्यो निधार अनि छातीमाथि
रगतको चोक्टा टिपी देखाउँछ छेउको साथी

युवाहरूलाई हेप्न खोज्दा देशमा आगो बलिरह्यो
निरीह छन् जनता सारा सिंहदरबार जलिरह्यो

घमन्ड र अहंकारले दुई तिहाइको सरकार ढल्यो
कता कसको घुस पैठ भयो न्यायालय पनि जल्यो

इतिहासका दस्ताबेज छानी छानी जलाइदिए
अझैसम्म थाहा छैन जलाउने खै को थिए

७६ को ज्यानै गयो हजारौँ छन् घाइते भएका
फर्किएनन् छोराछोरी झोला बोकी स्कुल गएका

मै हँु भन्ने नेता मन्त्री खोजी कार्य चलिरह्यो
निभाउने कोही भएन मेरो देश चैँ जलिरह्यो

युवाहरूलाई हेप्न खोज्दा देशमा आगो बलिरह्यो
निरीह छन् जनता सारा सिंहदरबार जलिरह्यो ।।

सम्बन्धित खबर