-प्रदीप उप्रेती
लोकतन्त्रको स्थापना पश्चात सामाजिक संरचनाको हरेक विधामा नौलो परिर्वतन आएको तथ्यसँग आमजनमत अनभिज्ञ छैनन् । विशेषगरी पुरुष सम्प्रदायको बर्चश्व कायम रहँदै आएको समाजले छोरी÷चेलीलाई पृथक राख्ने परम्परा रहेको थियो । तर लैङ्खिक विभेद स्वरुप उत्पन्न हुन प्रस्तुत क्रियाकलापविरुद्ध आजका शिक्षित महिलाहरु स्वतः अग्रस्थानमा रहेको पाइयो ।
चुनौतीपूर्ण परिवर्तनको संघारमा नेपाली महिलागण पुरुष सरह काधमा काधराखी अगाडी बढन् आतुर रहेको संकेतको रुपमा यसलाई लिदा फरक नपर्ला । जसले प्रतिस्पर्धात्मक पृष्ठभूमिको आधारस्तम्भ तयार भएको तथ्यलाई मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने हुन्छ । कौतुहलतापूर्ण नौलो परिवेशमा सुक्ष्म रुपमा भए पनि नारी समुदायले अभिब्यक्त गरेका अदम्य साहसलाई प्रतिनिधी मूलक घटनाको रुपमा लिदै सामाजिक उत्तरदायीत्वको कार्यमा थप हौसला प्रदान गर्न सक्ने हो भने अन्य क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि नविनताको शङ्कघोष हुने कुरामा हामी कसैको पनि दुई मत हुन सक्दैन ।
प्रस्तुत साहसिक कार्यको थालनिले हालसम्म कायम रहदै आएको पुरात्तन पुरुष हैकमवादी प्रवृतिलाई समयानुकुल प्रस्तिथापन गर्न सहयोगीको भूमिका निर्वाह गर्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । घटनाक्रमको विकासक्रमलाई क्रमबद्ध रुपमा अध्ययन गर्ने हो भने, नेपाली मृत्यू संस्कार सम्बन्धि कार्यमा पक्कै पनि पुन ः एक पटक गम्भिर भएर सोच्नु पर्ने अवस्था प्रारम्भ भई सकेको छ । अत्यन्त सम्बेदनशिल मानिएको प्रस्तुत विषयमा बृहत सामाजिक परिवेशको अनेकन प्रश्नहरुले जकडीएको वर्तमान अवस्था हो । यथार्थमा तत्सम्बन्धि सम्पूर्ण क्रियाकलापमा केवल पुरुष समुदायको एकाधिकार मात्र कायम रहने हो ? अथवा महिला समुदायलाई पनि क्रमश : सशक्तीकरण गर्दै समानताको प्रत्याभूती कायम रहनु पर्ने भन्ने द्धिविधाजन्य अवस्थाले आधुनिक नेपाली समाज बिलखबन्दमा परेको आभाष भएको छ ।
विशुद्ध धार्मिक परीवेशमा आधारित उक्त गतीविधीको आडमा हुने गरेको अन्याय–अत्याचारपूर्ण ब्यबहार सहन गर्न आजका शिक्षित महिलागण कतिसम्म सक्षम रहन्छन् भन्ने तथ्यले यस क्षेत्रको सुधारात्मक कार्यमा विशेष महत्व राख्ने गरेको पाईन्छ । किनकी, अपवाद बाहेक अन्य अवस्था कायम रहेसम्म धर्मभिरुहरुले जारी गरेको धार्मिक मूल्य मान्यतालाई चुपचाप सहन गर्दै पिल्सीदै जानु आजको बदलिदो सामाजिक परीवशेमा कतिसम्म जायज रहला भन्ने तथ्यलाई अवश्य पनि एक पटक खोतलेर हेर्नुपर्ने हुन्छ ।
अत: पुरुष सम्प्रदाय सरह आफ्नो कुलपरम्परा र धार्मिक आस्थाको आधारमा महिला वर्गले स्वईच्छा अनुसारको निर्णायक भूमिका निर्वाह गर्न सक्ने अवस्था तयार पार्नको लागि राज्यका तर्फवाट महिला शसक्तिकरण एवं सहजीकरणको वातावरण तयार गर्न विलम्व गर्न अवश्य पनि हुदैन ।
सर्वपक्षिय सहयोग र सहकार्यको विकास गर्दै यस क्षेत्रमा रहेको चरम कट्टरपन्थी ब्यवहारलाई समायोजन गर्न नरमपन्थी रणनीतिलाई आत्मसाथ गर्ने चेष्टा राख्ने हो भने, धेरैहदसम्म सकारात्मक भावनाको अभूर्दय हुने देखिन्छ । परिणामत: आज देखिएको छोरा–छोरीको लैङ्गिक विभेदमा पनि सहजीकरणको वातावरण तयार हुन गई छोराको अभावमा परलोकको मोक्ष्य प्राप्ति हुन सक्दैन भन्ने धार्मिक मूल्य मान्यतामा सुखद परिवर्तनको शङ्कघोष हुनेछ भनि ठोकुवा गर्न सकिनेछ । जसले गर्दा महिला हिंसाका साथै बालिका भ्रुणहत्या न्यूनीकरणको दरमा अप्रत्यासित सफलता प्राप्त गर्दै नेपाली जनमतलाई सुशिक्षित गराउन ठूलो अवसर प्राप्त हुने देखिन्छ । किनकी धार्मिक मान्यता अनुसार मृत्युपश्चात गरीने सुद्धाशुद्धिको कार्यका लागि छोरा नै रहनु पर्छ भन्ने सोचमा परीर्वतन ल्याउनु जरुरी भई सकेको छ । जसले निश्चित रुपमा महिला सम्प्रदायलाई पनि पुरुष सरह धार्मिक स्वतन्त्रता प्राप्ति हुने कुरामा सन्देह गर्नुपर्ने अवस्थाको अन्त्य भई सम्बद्ध समुहलाई आत्मसम्मानको अनुभूती कायम रहने देखिन्छ ।
जसको सफल परिणाम भन्नु नै राज्यले अङ्किकार गरेको धर्म निरपेक्षताको वास्तविक सुखानुभूती नेपालका अनेकन समुह, जातजाति एवं लैङ्गिक समाजले समानतापूर्वक अनुभती गर्न सक्ने अवस्थाको सुत्रपात हुने तथ्यहरुले औल्याएको पाईन्छ । पुरुष एकाधिकारवादी धार्मिक संरचनाको चौघेराबाट पृथकरही महिला सशक्तिकरणको प्रभावकारिताको ज्वलन्त उदाहरणको रुपमा प्रस्तुत कदमलाई लिन सकिन्छ । नेपाली समाजमा प्रचलनमा रहेको लैङ्गिय एकाधिकारको अन्त्य गर्दै, हरेक क्षेत्रमा महिला समुहको शसक्त भूमिकालाई उच्च स्थानमा राख्ने दर्बिलो विश्वसनियतालाई कुनै पनि हालतमा कमजोर रहन दिनु हुदैन भन्ने मान्यतामा आधारित रहदै कार्य गर्नुपर्ने हुन्छ ।
नेपाल लगायत विश्वको कुनै पनि कुनामा विभेद नभएको अवस्था फेला पार्न निक्कै कठिन हुनेछ । आधुनिकता एवं सुधारको नाममा जतीसुकै उदार कानूनहरु तर्जुमा गरीएको भनीएता पनि कुनै न कुनै रुपमा प्राप्त हुन आउने कानूनी छिद्रलाई गलत अर्थ लगाउदै उपयोगमा ल्याउदा कहिले काहि विभेदपूर्ण ब्यवहारको सामना गर्नुुपर्ने अवस्था सिर्जना हुने देखिन्छ ।
जसको पूर्ण कार्यान्वयनका लागि निश्चित रुपमा लैङ्गिक समानताको आवश्यकता पर्दछ । तर जनचेतनाको अभावका साथै पुरुष अभिमानवादी चारित्रिक विषेशताका कारण नेपाल लगायत अन्य विकान्सोमुलुकमा महिला सशक्तिकरणका सन्दर्भमा विशेषगरी मौन रहने सस्कृतीको विकासले समानता प्राप्तिको क्षेत्रमा बिलम्ब हुन गएको मात्र हो । त्यसो भएको हुदा जती सुकै उदारताको वर्णन गरिएता पनि ब्यवहारमा उतार्न कठिन हुन गई कागजी दस्तावेजमा मात्र सिमीत रहेकोले सही रुपमा सामाजिक उत्तरदायीत्व निर्माणमा गतिरोध उत्पन्न गएको पाईयो ।
तसर्थ महिला भएकै कारणले हरेक क्षेत्रमा पश्वगमनको परिस्थिती निमार्ण हुने प्रवृति देखियो भने निश्चित रुपमा सम्बद्ध पक्ष लगायत राज्यलाई समेत घात हुने देखिन्छ । लैङ्घिक स्वतन्त्रता अन्र्तगत विशेषगरी नारी स्वतन्त्रताको रक्षा गर्दै मुलुकको हरेक कर्मक्षेत्रमा अग्रगामी परिवर्तनको साथै निकासको मार्ग प्रशस्त गर्ने हो भने, पुरुष सरह बरावरको हैशियतमा अगाडी बढ्न सक्ने बातावरणको विकासले सामाजिक उत्तरदायित्वको क्षेत्रमा लैङ्घिक विभेदको अन्त्य भए सरहको अवस्था प्रारम्भ भएको मानिनेछ भन्दा फरक नपर्ला ।
-पदमराज जोशी
संघर्ष र सफलता एकअर्काका पर्याय हुन् । यही दुःख र संघर्षको गतिलो बिम्ब भन्दा फरक नपर्ने नाम हो, प्रोफेसर डाक्टर चन्दा कार्की । उनको अहिलेको पहिचान डाक्टर, स्त्रीरोग विशेषज्ञ, मेडिकल कलेजकी प्रिन्सिपल हुँदै सांसद पनि हो ।
यो पहिचान बनाउनका लागि उनले गरेको कठोर संघर्ष निर्मम छ । निर्मम यसर्थमा कि, सन्तानका लागि सबै चिज त्याग्न सक्ने महिला चरित्र विपरित उनले ११ दिनको शिषु छोडेर पढाइका लागि विदेश गएको समय निकै कठोर थियो ।
महोत्तरीको औरही नैनीगौरीमा माता चन्द्रदेवी र पिता शिवमानसिंह भण्डारीको सन्तानका रूपमा सन् १९५८ अप्रिल २६ मा चन्दा जन्मिइन् । छोरीलाई स्कूल नपठाउने परिवेश भए पनि चन्दाकी आमा छोरी पढाउने कुरामा सधैं महत्व दिन्थिन् । छोरी पढाउनका लागि आमाले परिवारमा निकै हठ गरिन् । आमाको त्यही हठले चन्दाको औपचारिक पढाइ सहज बन्यो । फलस्वरुप आफ्नै हजुरबुवाले स्थापना गरेको प्रसादसिंह हाइस्कुलमा चन्दा सिधै कक्षा ४ मा भर्ना भइन् ।
सामान्य तरिकाले उनको पढाइ चल्दै थियो । जीवनमा दुःख आउन के बेर लाग्दो रहेछ र ? उनी कक्षा ७ मा पढ्दापढ्दै आमा सिकिस्त बिरामी भइन् । उपचारका लागि राजधानी ल्याइएकी आमाले एक वर्ष माइतीमा बसेर बेडरेस्ट गर्नुपर्यो । आमासँगै बसेकी चन्दाको पढाइ बिग्रनेमा मामा चिन्तित भए । तर, चन्दालाई काठमाडौंमै भर्ना गर्न खोज्दा ‘तराईमा पढेकी छात्राले पढ्न सक्दैन’ भन्दै धेरै विद्यालयले उनलाई भर्ना लिन मानेनन् । ‘राम्रो पढ्न नसकेमा विद्यार्थी फिर्ता लग्छु’ भन्ने सर्तमा पद्मकन्याले चन्दालाई भर्ना लिन मान्यो ।
राम्रो नगरेमा आफैं फिर्ता जाने सर्तमा भर्ना भएकी चन्दाले त्यही विद्यालयबाट एसएलसीमा कमला स्वर्ण पदक हात पारिन् । त्यसपछि अमृत साइन्स क्याम्पसबाट आईएससी गरेपछि उनमा डाक्टर बन्ने सपना पलायो । मामा डा. लोकविक्रम थापाको व्यक्तित्वले चन्दा प्रभावित थिइन् । डाक्टर बन्नका लागि भने उनले भारतको कलकत्तामा रहेको आरजीकर (राधा गोविन्द कर) मेडिकल कलेज रोजिन् । त्यहीँबाट उनले उत्कृष्ट अंक ल्याएर एमबीबीएस सकिन् ।
एमबीबीएस सकेर कलकत्ताबाट फर्केपछि २०४३ सालमा चन्दाले परिवारको सल्लाहमा डा. टेकेन्द्र कार्कीसँग मागी विवाह गरिन् । विवाहसँगै उनको पेशागत करियर पनि अघि बढ्यो । उनकै पालादेखि डाक्टर बन्न लिखित परीक्षा पास गर्नुपर्ने व्यवस्था सुरु भएको थियो । वैवाहिक बन्धनमा बाँधिएको केही दिनमै उनी सरकारी जागिरे बनिन् । भोजपुरबाट सुरु गरेको डाक्टरी पेशामा उनले करिब आठ वर्ष विभिन्न जिल्लामा बिताइन् ।
पञ्चायती व्यवस्थाको अन्त्यको समय थियो । त्यो बेला राजाका लागि जे पनि गरिन्थ्यो । डा. चन्दाको हकमा पनि त्यही भयो । डा. चन्दाको सरुवाको कारण सुन्दा पनि रमाइलो लाग्छ । ‘राजाको सवारी जहाँजहाँ हुन्थ्यो, मेरो सरुवा त्यहीँ त्यहीँ गरिन्थ्यो । राजाको सवारी हुने जिल्लामा डाक्टर देखाउनैका लागि मलाइ पठाउथ्यो ।’
आठ वर्ष विभिन्न जिल्लामा काम गरेपछि उनले पढाइलाई अगाडि बढाउने निर्णय गरिन् । सात महिनाकी गर्भवती चन्दाको उक्त निर्णयलाई श्रीमान्ले पनि साथ दिए । र म पढ्नका लागि बंगलादेशको ढाका गइन् । ‘महिलाले करियर बनाउन आफ्नो अठोटसँगै श्रीमान्को साथ चाहिँदो रहेछ’, डाक्टर चन्दाले श्रीमानको प्रशंसा गर्दै भनिन्, ‘श्रीमान्ले हौसला र साथ नदिएको भए सायद आजको अवस्था सहज थिएन ।’
ढाका युनिभर्सिटीमा डीजीओ (स्त्री तथा प्रशुती) पढ्दापढ्दै उनको बच्चा जन्माउने समय नजिक आयो । उनी १५ दिनको बिदामा नेपाल आइन् । छोरी जन्माइन् र न्वारन गरिन् । ११ दिनकी छोरीलाई आमा र दिदी मीनुको जिम्मा छोडेर पढाइका लागि ढाका नै फर्किइन् । त्यो समय सम्झिदा पनि चन्दालाई कहाली लाग्छ । उनलाई आफू निकै कठोर र निर्मम भएको झैँ लाग्छ । उनी भन्छिन्, ‘मेरो अगाडि दुईवटा विकल्प थियो । कि बच्चासँग बस्ने र पढाइ रोक्ने कि छोरी छोड्ने । मैले छोरी नै छोडेँ । दुधे बच्चा छोडेर जिन्दगीको जुवा खेलेको हो ।’
उनको यो जटिल निर्णय देखेर साथीहरूले नै छोरीको नाम ‘मिराकल’ अर्थात् करिश्मा राखिदिए । अहिले तिनै करिश्मा अस्ट्रेलियामा विशेषज्ञ चिकित्सक छिन् । कान्छी छोरी चन्द्रिका पाटन अस्पतालमा एमडी गरिरहेकी छिन् ।
ढाकाबाट डा. चन्दाले डीजीओमा युनिभर्सिटी टप गरिन् । उनी पुनः फर्केर नेपाल आइन् । त्यसपछि पाटन, टिचिङ, प्रसूति गृहहुँदै भक्तपुर अस्पतालमा सेवा दिइन् । निकै संघर्षले पढेकी डा. चन्दालाई सरकारी सेवामा बढुवा हुन भने गाह्रो भयो उनी सातौं तहबाट आठौंमा उक्लिनै सकिनन् । त्यसमाथि निकै कम मात्रै आम्दानी हुन्थ्यो । बचत गर्न निकै असहज बन्यो । अलीअली गरेको बचत छोरीलाई विद्यालय भर्ना गर्दा, ड्रेस, किताबलगायतका सामानमा सकियो । सहज आम्दानी थिएन । उनलाई लाग्यो, ‘यसरी जिन्दगी चल्दैन । डाक्टर बनेर सेवा त जहाँबाट पनि गर्न सकिन्छ ।’ उनले १५ वर्ष बिताएको सरकारी डाक्टरबाट राजीनामा दिइन् ।
सन् २००० मा केएमसीको व्यवस्थापन नेपालीले जिम्मा लिएपछि उनले प्राइभेट क्षेत्रमा जागिर त्यहीबाट सुरु गरिन् । सरकारी सेवा छोडेर प्राइभेट क्षेत्रमा जोगिरे बनेकी चन्दा लेक्चरर डाक्टरको रूपमा केएमसी प्रवेश गरिन् । १५ वर्षको अथक मिहेनेतले उनी केएमसीको प्रोफेसर बनिन् । अहिले उनी कलेजको प्रिन्सिपल छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदमा रूपमा बिगत डेढ वर्षदेखि संसदमा पनि आफ्ना आवाज उठाइरहेकी छिन् चन्दा । देशभरका २० वटा मेडिकल कलेजमध्ये पहिलो महिला प्रिन्सिपल डा. चन्दा भन्छिन्, ‘नआत्तिएर लागिरहँदा हुँदोरहेछ । असफलता नै सफलताको पिल्लर हो । मेहनतले रङ ल्याउँदो रहेछ ।’
-छबि सापकोटा
अभाव, साहस र आत्मविश्वासले मुना घिमिरे श्रेष्ठलाई नेपालकै पहिलो डोजर अप्रेटर भनेर चिनाउन सफल भएको छ । गोरखाको हर्मीमा जन्म र तनहुँमा आबुखैरनीमा बाल्यकाल बिताइन् । सामान्य परिवारमा जन्मएकी दुई दिदी बहिनी मध्ये मुना जेठी छोरी ।
घरको जेठो सन्तान भएको हुँदा मुनाले आफ्नो घरको समस्यामा नजिकबाट देख्नु पर्यो । घरमा छोराको जन्म नहुँदा आफन्त, छिमेकी र समाज हेर्ने दृष्टिकोणलाई जवाफ दिन केही नयाँ गरेर देखाउने दृढ इच्छा शक्ति मुनामा सानैदेखि थियो । घर छेउमा मध्य–मस्याङ्दी जलविद्युत आयोजनामा डोजरले काम गरेको बाल्यकालमा देखेकी मुनालाई लागेको थियो, डोजरले कसरी काम गर्छ ?
मानिसले दिनभरमा गर्ने काम एकै छिनमा कसरी गर्न सक्छ ? त्यस्तै कौतुहलताले मुनालाई डोजर चलाउने मोह थियो । जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै एक कन्सट्रक्सन कम्पनीको रिसेप्सनिष्ट भइन् । काम गर्दै जाँदा अप्रेटरले डोजर चलाएको हेर्दाहेर्दै उनलाई समेत डोजर सिक्न मन लाग्यो । डोजर सिक्ने अवसर कम्पनीका सञ्चालकले दिएपछि उनले सानोमा देखेको सपना पुरा भयो । ६ महिनामै डोलर चलाउन सिकिन् ।
तनहुँबाट बाँकेको कोहलपुर पुगेर आफनो सपना २०५६ मा साकार भयोे । मुना १७ वर्षको उमेरमै डोजरको सिटमा बसेर काम सुरु गरिन् । बाँकेको चिसापानी सुर्खेत सडक ग्राबेल गर्दा डोजर चलाउने कामको थालनी भयो ।
एक महिलाका लागि हेभी इक्वीपमेन्ट चलाउन त्यति सहजता थिएन, आज भन्दा २५ वर्ष अघि कुनै पनि महिलाले नगरेको डोजर चलाउने काम कल्पना बाहिरको कुरा थियो । सुरुमा डोजरको सिटमा बस्दा उनलाई संसार जितेको अनुभव भएको थियो ।
महिलाले डोजर चलाएको समाचार गोरखापत्रमा छापिएपछि पहिलो महिला डोजर चालकको रुपमा स्थापित भइन् । देशभर पुरुष डोजर चालक भएको स्थानमा एक्लो महिला डोजर चालक आफैमा नौलो काम थियो ।
२०५६ सालदेखि २०६६ सालसम्म १० वर्ष विभिन्न निजी कन्सट्रक्सन कम्पनीमा काम गरेर आफुलाई अब्बल महिला डोजर चालकको रुपमा स्थापित भइन् । १० वर्षको बीचमा आएको दुःख कष्ट, महिलालाई हेर्ने दृष्टिकोणलाई चिर्दैै आफुलाई प्रमाणित गरेर देखाउन सफल भइन् । त्यसपछि २०६७ सालमा नेपाल सरकारको सडक विभागको हेभी इक्वीपमेन्टको कार्यलयमा करारमा डोजर चालकको रुपमा काम गर्न प्रवेश गरिन् ।
सरकारी सेवामा समेत सुरुमा अविश्वास धेरैले गरेको थिए, तर उनले आफैलाई प्रमाणित गर्दै ६ वर्ष अस्थायी रुपमा काम गरिन् । २०७२ मा लोकसेवा पास गरेर डोजर अप्रेटर हुदै अहिले सडक विभाग अन्र्तगत हेभी इक्वीपमेन्ट डिभिजन नयाँ बानेश्वरमा सिनियर डोजर अप्रेटरमा छन् । सरकारी जागिरे भएपछि वर्षाको समयमा कति बेला कहाँ पहिरो जान्छ त्यहि पुग्नु पर्ने हुन्छ । रातभर काम गरेको अनुभव समेत छ मुनासँग । नेपालको डाँडापाखा, साघुँरो सडक, भिरपाखामा डोजर लगेर चलाउने आट कमै महिलालाई मात्र होइन पुरुषलाई समेत हुदैन । तर त्यो साहस र आत्मबिश्वास मुनामा देखिन्छ ।
आत्मविश्वास र मेहनत
लामो समय डोजर चलाएर जान्ने भएपनि महिलाले गर्न सक्दैन भनेर काम नपाएको धेरै कथा उनी आफैले सुनेकी छन् । कामको लागि कन्सट्रक्सन कम्पनी धाएको अस्ति भर्खर जस्तो छ उनलाई । त्यति बेला कन्सट्रक्सन कम्पनी नगरेको विश्वास अहिले पनि उनलाई झस्काउने गरेको छ । उनको यो २५ वर्षे डोजर चालकको यात्रामा कति बाधा आए, कतिले कुरा काटे, तर उनलाई घरपरिवार र श्रीमानले साथ दिए ।
‘म पनि एक महिला हुँ । मैले गर्न सकेको छु भने अरुले किन गर्न सक्दैनन् ? दृढ अठोट लगाएर प्रयास गर्ने हो भने कुनै पनि क्षेत्रम सफल हुन सकिन्छ’ उनी भन्छिन्, ‘डोजर चलाउने मेसिनको काम भएकाले धेरै नै होस पु¥याउनु पर्ने हुन्छ ।’
देश घुम्ने अवसर
धेरै क्षेत्रमा महिलाले गर्न सक्छन भनेर प्रमाणीत भइरहेको छ । डोजर चलाउने सेक्टर फिल्ड वर्क हो । सहज स्थानमा भन्दा दुर्गमका डाडाँ पाखा पुगेर काम गर्नु पर्ने हुन्छ । अरु पेसा भन्दा ग्राहो त देखिन्छ, तर काम गर्ने हो भने यो क्षेत्रबाट राम्रो रोजगारीको अवसर छ ।
मुनालाई यही कामले देश घुमाएको छ । नेपालको अधिकांश जिल्ला पुर्याएको छ । २०५७ सालमा इटहारीमा काम गर्दा पुर्व–पश्चिम राजमार्ग जाम नै भएको थियो । उनले चलाएको डोजर हेर्नेको भीडले ।
महिलाले डोजर चलाएको भन्दै राजमार्गमा गुड्ने सवारी साधन चालकदेखि स्थानीय समेत आएर भिड लागेको सम्झदा उनलाई आफ्नो पेसा प्रति थप प्रोत्साहन मिलेको थियो । धेरै नै भीड लाग्न थालेपछि त्यो साइटमा अरुलाई जिम्मा लगाएर फर्कनुपरेको अनुभव समेत छ । अझै पनि डोजर चलाउदाँ महिलाले चलाएको भनेर हेर्ने धेरै नै छन ।
मुनाले नेपालमा मात्र होइन, भारतको गुजरातमा २००५ देखि २००८ सम्म ३ वर्ष डोजर चलाइन् । यति बेलामा भारतको गुजरातका उपलेटा नगरपालिकाबाट सम्मान पाउनु भएको थियो ।
चुनौतीका बाबजुद पनि नेपालकी पहिलो डोजर चलाउने महिला भनेर चिनिन् पाउँदा गर्व लागेको उनी बताउनुहुन्छ । यो क्षेत्रले अवसर कुरी रहेको छ । सरकारी कोटा हुन्छ तर आवेदन दिने कम छन महिला । महिला र पुरुषमा केही शारिरिक बनोट फरक होला । खाडी मुलुक गएर अर्काेको काम गर्नु भन्दा स्वदेशकै आफ्नै देशका काम गर्न सीप सिकेर पैसा र सम्मान दुबै कमाउन सकिने उनको भनाई छ ।
-लक्ष्मी खरेल
२०५६/५७ ताका नेपालमा सशस्त्र संघर्ष चरम उत्कर्षमा थियो । उदयपुरको गाईघाटकी माया घले मगरको पनि जीवनमा संघर्षको यात्रा तय हुँदै थियो । आईए पढ्दै गरेकी मायालाई जीवनमा यसै गर्छु भन्ने त थिएन, तर सामाजिक काम गर्ने हुटहुटी भने जागिसकेको थियो । त्यही हुटहुटीले उनलाई नेपाल रेडक्रस सोसाइटीको ‘रिवार्ड प्रोजेक्ट’मा जोड्यो । उक्त संस्थाले उदयपुरका तत्कालीन ४० वटा गाविसमा महिला प्रजनन स्वास्थ्य, एचआईभी एड्स, परिवार नियोजन र बालबचाउसम्बन्धी काम गर्थ्यो ।
प्रोजेक्टमा फिल्ड वर्करका रुपमा काम गर्दा मायाले कयौं पटक माओवादी लडाकुहरूबाट केरकार खानुप¥यो । उनको मनमा गढेको सामाजिक सेवालाई अगाडि बढाउन निकै असहज भयो । उनले सहजरुपमा काम गर्न पाइनन् ।
गाउँगाउँमा महिला र बालबालिकाहरूले भोगिरहेको दुःखले उनलाई निकै छुन्थ्यो । त्यसमाथि माओवादी र तत्कालीन सरकारबीच चरिहेको युद्धले गाउँघर निकै अशान्त थियो । गाउँ समाजको मनोदशा त्रासमा थियो । कयौं महिलाहरूको जीवन उजाडिएको थियो । कतिपय बालबालिकाले अभिभावक गुमाउनुपरेको थियो । त्यस्ता दुःख देखेर उनी कयौं पटक भक्कानिएकी छिन् ।
ग्रामिण भेगका कष्ट देख्दै भोग्दै जीवन गुजारिरहेकी मायालाई पैसा कमाउन सके समाज सेवा सहज हुन्छ जस्तो लाग्यो । उनको त्यही सोचाइले विदेशको भोक जाग्यो । १० वर्षे जनयुद्ध अवतरण हुँदै थियो । द्वन्द्वको समयमा नेपाल बस्न नसकेर पलायन हुन लागेका नेपालीको समूहमा मिसिइन् माया पनि । सन् २००६ मा इजराइल सरकारले नेपालबाट केही कामदार लैजाने भएपछि मायालाई राहत मिल्यो । उनी खुसी भइन् । उनलाई लाग्यो, ‘समाजसेवालाई निरन्तर पैसा चाहिन्छ । इजरायल गएर पैसा कमाएर समाज सेवा गर्छु ।’
इजराइल जानका लागि काठमाडौं आउँदा पनि कष्टपूर्ण यात्रा भएको उनुभव छ मायासंग । ‘म गाईघाटबाट काठमाडौंका लागि आएँ । बाटोमा करिब दश ठाउँमा चेकिङ पर्दै काठमाडौं छिरेकी थिएँ । बसुन्धारामा दाइभाउजू बस्नुहुन्थ्यो, म त्यहाँ पुगें ।’ त्यो समय सम्झँदै माया भन्छिन्, ‘भोलिपल्ट बिहानै बसुन्धारा चोकमा एक व्यापारीलाई दिउँसै गोली हानी हत्या गरिएको रहेछ । त्यहाँ वरिपरि हेर्ने मानिसको भीड भएपछि म पनि गएँ । एक्कासी मलाई आएर केरकार मात्रै गरेन मेरो थाइकट कपाल हेर्दै माओवादी भएको आशंकाले एक जना आर्मीले थप्पड हान्यो । त्यसपछि आर्मीलाई दाइभाउजूको कोठामै लगेर डकुमेन्ट देखाउनुप¥यो । बल्ल आर्मी म माओवादी नभएको एकिन गरेर फर्क्यो ।’
त्यसपछि माया ठूलो जोखिम मोलेर इजरायल गइन् । छिट्टै नेपाल फकिन्छु भनेर इजरायल पुगेकी मायालाई उतैको व्यस्तताले फर्किन दिएन । इजरायल पुगेको दुई दशक पुग्नै लाग्दा पनि उनी उतै छिन् । तर मायाले इजरायल बसेर आफ्नो जन्मभूमिका लागि धेरै कामहरू गरिरहेकी छिन् । इजरायल पसेपछिका शुरुवाती दिनहरू पनि उस्तै कष्टपूर्ण रहेको अनुभव सुनाउँदै माया भन्छिन्, ‘शुरुवातका दिनहरुमा मलाई हिब्रु ( इजरायली भाषा ) को ज्ञान थिएन । भाषा कै कारणले काम गर्न गाह्रो हुन्थ्यो । तर अहिले भाषा प्रष्ट बोल्दा यहाँका हामीले केयर गर्ने बिरामी वृद्ध, वृद्धाहरुले औधी मन पराउँछन् । अहिले त यतै रमाइलो लाग्छ ।’
इजरायलमा केही समय संघर्ष गरेपछि फेरि उनले नेपाल सम्झिइन् । नेपाल मगर संघ इजरायलको कार्यसमितिको विभिन्न पदमा बसेर काम गर्दा होस् वा अन्य समयमा मायाले नेपालका क्यान्सर पीडित, मिर्गौला पीडित, मुटु रोगी, ब्रेन ट्युमर, बाढी पीडितलगायतका विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गरिन् ।
इजरायलमा कामको सम्मान पनि हुने, कमाइ पनि राम्रै हुने भएकाले उतै बस्ने र उतैबाट नेपालमा सक्दो समाजसेवा गर्ने उनी बताउँछिन् । इजरायलमा राम्रो आम्दानी हुने र महिलाहरूका लागि सुरक्षित गन्तव्य पनि भएकाले सरकारले नै सहजीकरण गर्दा गरिबीको चपेटामा परेका नेपालीहरूलाई सहज हुने उनको बुझाइ छ । उनी भन्छिन्, ‘छिट्टो र छरितो शून्य लागतमा इजरायलका लागि जीटुजी मोडलबाट कामदार पठाउने हो भने सुनमा सुगन्ध थपिने छ । निःशुल्क गर्न सकिएन भने पनि कमसेकम नेपालबाटै सहजरुपमा इजरायलमा काम गर्न आउन पाउने बाटो नेपाल सरकारले खुला गर्नु पर्छ । नत्रभने नेपाली युवाहरू भारतीय पासपोर्ट बोकेर भारतीय रूट भएर २५÷३० लाखसम्म पैसा तिरेर ऋण बोकेर भए पनि इजरायल आउने क्रम बढ्दै जान्छ । यसले त दलाल पोसिँदै जाने, देश र जनाता चाहिँ झन् झन चपेटामा पर्दै जाने स्थिति बन्छ ।’
-कृष्ण अधिकारी
झण्डै तीन दशकअगाडि बेल्जियम पुगेकी रजनी प्रधान अहिले त्यहाँको रैथानेजस्तै भइसकेकी छन् । युरोपका अधिकांश देशका नागरिकका बीचमा निकै लोकप्रिय छिन् उनी । काठमाडौंमा जन्मे, हुर्केर युरोपलाई कर्मथलो बनाएकी उनी नेपाल र नेपालीको पहिचानका लागि समर्पित रहँदै आएकी छन् । सन् १९९१ मा अध्ययनको सिलसिलामा बेल्जियम गएका श्रीमान रवीन्द्रमान श्रेष्ठसँगै गएकी उनले बेल्जियममा रहेर पनि अधिकांश समय नेपालको संस्कृति, धर्म, कला, नेपाली खाना, भाषा, पर्यटन प्रवद्र्धनका लागि समय खर्चिरहेकी छन् ।
लामो समयदेखि युरोपेली बजारमा नेपाली खाद्यान्नदेखि दैनिक अन्य उपभोग्य बस्तु पुर्याएर नेपाल र नेपाली चिनाउने काम गरेकाले यो दम्पत्तीलाई नेपालको व्यापारिक दूतको रुपमा लिन सकिन्छ । बसोबास बेल्जियमको राजधानी ब्रसेल्समा भएपनि उनीहरु अधिकांश समय युरोपका विभिन्न देशमा नेपालमा निर्मित खाद्यान्न, लत्ताकपडादेखि अन्य उपभोग्य बस्तुहरु बिक्री वितरणमा पुग्ने गर्छन् । बेल्जियम पुग्ने जो कोही नेपालीलाई हार्दिकताका साथ स्वागत गर्ने कारणले पनि उनीहरु धेरैको लोकप्रिय बनेका छन् ।
शुरुमा उनीहरुले नेपालमा बन्ने कार्पेट, पस्मिना, ज्वेलरी र हस्तकलाका सामानको व्यवसाय गरे । त्यतिबेला युरोपमा नेपालका यस्ता सामानहरुको धेरै ठूलो माग थियो । रजनी भन्छिन्, ‘पछि भारत, थाइल्याण्ड, बंगलादेशजस्ता देशबाट यस्तै प्रकारका नक्कली र मेसिनले बन्ने सामानहरू आउन थालेपछि हामीले प्रतिस्पर्धा गर्न सकेनौं । हातबाट बन्ने हाम्रा उत्पादनहरू महँगो हुने भएकाले नेपाली सामानको माग विस्तारै घट्दै गएपछि नेपालमा उत्पादन हुने चाउचाउ, मदिरा, चिउराजस्ता खाद्यवस्तु मगाएर व्यापार गर्न थाल्यौं । अहिले पनि हामी यहाँ यही व्यवसाय गरिरहेका छौं ।’
युरोपका विभिन्न देशमा नेपालमा उत्पादन हुने खाद्यबस्तु कतै नदेखेपछि उनीहरुले सन् २००६ मा पहिलोपटक बेल्जियममा वाईवाई चाउचाउ ल्याएर बेच्न थाले । ‘यससँगै पेय पदार्थसहित फापरदेखि मसलासम्मका बस्तु नेपालबाट आयात गरेर युरोपका धेरै देशमा वितरण गर्न थाल्यौं । नेपालबाट चाउचाउहरू मगाएर बेचेपछि नै युरोपमा पनि चाउचाउ खाने चलन शुरू भएको भन्दा हुन्छ । आफ्नो देशको उत्पादन यहाँ ल्याएर बिक्री गरी प्रवद्र्धन गर्न पाउँदा अत्यन्तै आत्मसन्तुष्टि मिल्दो रहेछ । आफ्नो देशको उत्पादनका लागि कसरी विश्वव्यापी बजार व्यवस्थापन र वितरण गर्न सकिन्छ, त्यसका लागि के–कसरी सकारात्मक भूमिका खेल्न सक्छौँ, बहस चलाउन आवश्यक भएको तर्कसहित वैकल्पिक बजार सम्भाव्यताका लागि गम्भीर हुनैपर्छ,’ रजनी भन्छिन् ।
टेस्ट ट्युबबाट तीन सन्तान
टेस्ट ट्युबबाट तीन सन्तान जन्माउने नेपालीको कीर्तिमान राख्ने पनि आफूहरू नै भएको बताउँछन् यी दम्पती । टेस्ट ट्युबबाट सन् १९९४ मा उनीहरूको पहिलो सन्तान जन्मिएको थियो । अहिले ३० वर्ष पुगिसकेका पहिलो सुपुत्र आदित्यमान श्रेष्ठ टेस्ट ट्युबबाट विदेशमा जन्मिएका पहिलो नेपाली हुन् भन्ने यी दम्पतीको दाबी छ । पछि छोरीको चाहनाले आफूसँग बाँकी रहेको एउटा अण्डालाई टेस्ट ट्युबमार्पmत जन्माउन चाहे पनि जुम्ल्याहा छोरा जन्मेको बताउँछिन् रजनी ।
एनआरएन अभियान
युरोपमा छरिएर बसेका नेपालीलाई संगठित गरी आफ्नै देशका लागि केही गर्न पाए हुन्थ्यो भन्ने सोच रजनीलाई आइरहन्थ्यो । उनी भन्छिन्, ‘यही बीचमा एनआरएनको धारणा आयो । आफ्नो सोचसँग एनआरएनको उद्देश्य मिल्न गएकाले हामी दम्पती नै यसलाई संगठित गर्नतिर लाग्यौं ।’ यहाँ बसोबास गरिरहेका नेपालीले पनि हौसला दिएपछि उनका श्रीमान नै एनआरएन बेल्जियमको संस्थापक अध्यक्ष बने । सन् २००४ मा यहाँ एनआरएनको स्थापना गरेपछि पोर्चुगल, इटली, स्पेन, लक्जेमबर्गजस्ता युरोपका अन्य मुलुकमा पनि गएर एनआरएन स्थापना गर्न सहयोग गरेको उनी बताउँछिन् ।
उनले सन् २०१३ र २०१५ गरी दुई पटक गैरआवासीय अन्तर्राष्ट्रिय महिलाको सफलतापूर्वक सहसंयोजक र एक पटक संयोजकको जिम्मेवारी निर्वाह गरिसकेकी छन् । हाल उनी विश्वभर छरिएका एनआरएन महिलाहरूको फोरम गठन गरी ‘एक नेपाली एक युरो’को नारा दिएर गरिब नेपाली महिलालाई सीपमूलक तालिम दिने प्रोजेक्टका लागि सहयोग जुटाउनमा व्यस्त छिन् । ‘विदेशमा बसेपछि नेपालको माया झनै हुँदो रहेछ । कसरी विदेशी पैसा नेपाल भित्र्याउन सकिन्छ र नेपाल समृद्ध हुन सक्छ भन्ने कुराले चिन्तित बनाउने गर्दछ,’ उनी भन्छिन्, ‘मलाई लाग्छ, अहिलेसम्म एनआरएनको अर्बाैं रुपैयाँ नेपालमा लगानी भइसकेको छ ।’
सामाजिक सेवामा समर्पित
उनी भन्छिन्, ‘मैले लामो समयसम्म एनआरएनअन्तर्गत गैरआवासीय अन्तर्राष्ट्रिय महिला विभागको सह–संयोजक भएर काम गरिरहेकी छु । यस संस्थामार्पmत नेपालका सुदूरपश्चिमका विकट ठाउँहरू डोटी, कैलाली, कञ्चनपुरमा पुगेर गरिब महिलाको आङ खस्ने रोगको निःशुल्क उपचार गरिसकेका छौं । यसबाट हालसम्म ५ सय महिला लाभान्वित भइसकेका छन् ।’ २०७२ सालमा गएको भूकम्पका बेलामा पनि उनले सिन्धुपाल्चोकमा गएर केही लत्ताकपडा वितरण गरेकी थिइन् भने सोलुखुम्बुका ६ सयभन्दा बढी विपन्न महिलालाई खास्टोसहित कपडा वितरण गरेकी थिइन् । सेवा नै धर्म हो भन्ने उनको मूलमन्त्र छ । उनले यस्तै प्रोजेक्टहरुका लागि रकम संकलन गर्ने भनेर युरोपका देशहरूमा एनआरएन महिला फोरम गठन गर्ने र युरोपमा स्थायी बसोबास गरिरहेका नेपालीहरूबाट प्रतिव्यक्ति एक युरो उठाउने अभियान पनि चलाएकी थिइन् ।
अहिले रोजगारीका लागि विदेशमा पुगेका नेपालीले धेरै दुःख झेलिरहेको र कतिपय महिलामाथि यौनशोषण भएका समाचार आइरहेका छन् । सकेसम्म महिलाहरूले विदेशिनु नपरोस् भन्ने नै उनको चाहना रहेको देखिन्छ । उनी भन्छिन्। ‘सीपमूलक तालिम लिएर स्वदेशमै आयआर्जन गर्न सकुन् भनेर हामीले फेडरेसन अफ विमन इन्टरप्रेनर्स एसोसिएसन अफ नेपाल भन्ने संस्थासँग मिलेर महिलालाई सीपमूलक तालिम प्रदान गरेका छौं ।’ पैरवी नेपाल भन्ने संस्थासँग मिलेर पनि यस्तै प्रकृतिका कामहरूलाई अगाडि बढाइरहेको उनले जानकारी दिइन् । उनी बेल्जियममा सनातन धर्म संस्कृतिको संरक्षणमा पनि उत्तिकै क्रियाशील छिन् । उनी मासा पुचःको पूर्वअध्यक्ष तथा वल्र्ड नेवा अगर्ननाइजेशनको उपाध्यक्ष पनि हुन् ।
-गोमती पाल
१० वर्षको उमेरदेखि बहुदल निर्दल सुन्दै आएकी लक्ष्मी बुढा घर–परिवारसँगै बहुदलको पक्षमा उभिइन् । राजनीतिको कखरा नै नबुझेकी लक्ष्मी त्यतिबेला केही नबुझीकनै बहुदलको पक्षमा नारा लाउन थालिन् । त्यसको एउटै कारण थियो, कम्युनिष्ट पृष्ठभूमिका उनका बुवा दामोदर भण्डारी । त्यतिथबेला भण्डारी बहुदल पक्षधर थिए । निर्दलीयताको धुरन्धर बिरोधि थिए । ‘त्यति बेला बहुदलको आन्दोलन थियो, बहुदल भनेर कराइयो, बुवा कम्युनिष्ट हुनुहुन्थ्यो, बहुदलको पक्षमा हुनुहुन्थ्यो । त्यसैले बहुदलको पक्षमा जानी नजानी लागेँ ।’ उनी सम्झिन्छन् ।
देशमा पञ्चायत बिरुद्धका गतिविधि उग्र बनिरहेका थिए । कञ्चनपूरको कृष्णपुुर पहरियामा २०३७ मा जन्मिइन् लक्ष्मी । सामान्य मध्यम वर्गीय परिवारमा खान लाउनकै लागि दुःख थिएन । राजनीतिक चेत भएको परिवारमा पढ्का लागि पनि सहजै भयो । उनी स्थानीय पहरियाको राष्ट्रिय माध्यमिक विद्यालयमा पढ्न थालिन् । त्यहीबाट उनले राजनीतिकमा औपचारिक प्रवेश गरिन् । माध्यमिक बिद्यालयमै लक्ष्मी अनेरास्ववियुको स्कुल कमिटी सचिव भइन् । नेपाली राजनीतिमा उनको करियर त्यहीँबाट सुरु भयो ।
त्यसपछि पार्टी सदस्यता लिएर सक्रिय राजनीतिमा लागेकी हुन् । लक्ष्मीका बुवा दामोदर भण्डारी २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन कृष्णपुर गाविसको वडा नं.१ को अध्यक्षका लागि चुनाव लडेका थिए । त्यसको पाँच वर्षपछि २०५४ को स्थानीय निर्वाचनमा उनकी आमा द्रोपती भण्डारी पनि चुनाव लडिन् ।
विद्यार्थी राजनीतिमा सक्रिय भइसकेकी लक्ष्मीले २०५१ को मध्यावधि निर्वाचनमा पहिलो पटक सूर्यलाई मतदान गरिन् । आमा र बुवाको सक्रिय राजनीतिले लक्ष्मीमा पनि होलटाइम राजनीतिमै लाग्ने दृढ इच्छा जागिसकेको थियो । २०५२ मा लक्ष्मीले घर परिवार सल्लाहमै विवाह गरिन् । राजनीतिबाटै टाढै बसेको उनको श्रीमानको परिवारले राजनीतिमा सहयोग नगर्ला कि भन्ने संशय लक्ष्मीमा थियो । तर, अवस्था सोचेभन्दा फरक भयो । विवाहले उनको राजनीतिक यात्रा झनै सहज बनाइदियो । परिवारको जिम्मेवारसँगै लक्ष्मीले राजनीतिलाई निरन्तर अघि बढाइन् । अहिले लक्ष्मीका एक छोरा एक छोरी छन् ।
राजनीतिसँगै सामाजिक कार्यमा पनि रहेकी लक्ष्मीले २०५७ देखि २०७० सम्म स्वयम् सेविका भएर सेवा पनि गरेकी छिन् । २०६२/०६३ को जनआन्दोलनमा सक्रिय रहेकी लक्ष्मीले सामुदायिक वन, महिला स्वास्थ्य स्वयम् सेविका समिति लगायतका सामाजिक संस्थामा नेतृत्व पनि गरेकी छन् । यही २०८० को चैत पहिलो साता सम्पन्न एमाले कञ्चनपूर नवौं अधिवेशनबाट निर्विरोध अध्यक्ष बनेकी छिन् । जिल्ला पदाधिकारीमा उनीसहित पाँच जना छन् । अहिले उनको राजनीतिक उचाइ चुलिएको छ ।
आफ्नो राजनीतिक उचाइ जति माथि जान्छ त्यति नै उनी आफ्ना आमा बुवाप्रति नतमस्तक हुन्छिन् । भन्छिन्, ‘मेरो आमा बुवाको प्रेरणाबिना यो कहाँ सम्भव थियो र ? मलाई होस हुने बेला घर परिवारभित्र राजनीतिक सक्रियता देखेँ । म पनि यही गर्छु भन्ने लाग्यो ।’
पित्रिसत्ता हावी रहेको नेपाली समाजमा महिलालाई सजिलो भने नभएको उनको बुझाइ छ । ‘महिलालाई पुरुषको तुलनामा राजनीति गर्न त समस्या छ । कार्यकर्तासित जोडिनु पर्छ, संगठनसित जोडिनु पर्छ । कसैसित बोल्दा हिड्दा पनि लाञ्छना लागि हाल्छ । त्यसको वास्ता नगरी मिसनमा हिडिरहनु पर्छ । यसरी अठोट लियो भने असम्भव भने छैन ।’
राजनीतिमा सक्रिय भएपछि आफूसित धेरै भोगाई भएको र महिला भएका कारण समाजमा विभिन्न लाञ्छना लाग्ने गरेको उनले बताइन् । ‘अहिले पनि सोचे जस्तो अवस्था त छैन, त्यो बेला त झन कस्तो होला, महिलालाई त गाह्रो नै हुन्छ’ उनी भन्छिन् ।
एमाले कञ्चनपुरको नवौ अधिवेशनमा आफू अन्तिमसम्म सर्वसम्मतको पक्षमा भएको लक्ष्मीको भनाई छ । एमालेका केन्द्रीय नेतालाई उनले आफू भन्दा परिपक्व नेतालाई नेतृत्व दिए आफूलाई स्वीकार हुने सन्देश पठाएको बताउँछिन् ।
एमाले कञ्चनपुरलाई एक ढिक्का बनाएर अघि बढ्ने प्रमुख कार्यभार बनाएर अघि बढ्ने अध्यक्ष लक्ष्मी बताउँछिन् । ‘पार्टीलाई एक ढिक्का बनाउने मेरो पहिलो प्राथमिकता हो, सबै नेता कार्यकर्ताको भावना अनुसार पार्टीलाई एक ढिक्का बनाएर बलियो बनाउँछु’ उनले भनिन्,‘त्यसका लागि संगठन विस्तार, पार्टी प्रशिक्षण, सदस्यता विस्तार, जनतासित पार्टीको पहुँच बढाउने लगायतका कार्य योजना बनाएर अघि बढ्छौ ।’
एमालेको मिसन ८४ लाई सफल पार्ने लक्ष्य प्राथमिकतामा राखेर जिल्ला कमिटी अघि बढ्ने उनको भनाई छ । उनले एमालेमा सर्वसम्मतपछि गुट उप गुट केही नभएको दावी गरिन् । ‘अब गुट उप गुट केही रहने छैनन्, एमाले अब ढिक्का भएर अघि बढ्छ’ उनी भन्छिन् ।
-देबका काप्री
लघुवित्त संस्थाको स्थापना नै ग्रामीण भेगका पिछडिएको माहिलालाई साक्षर बनाउने र वित्तीय संस्थासँग जोड्नेगरी स्थापना भयो । पहुँच नभएका, पैसा नभएका, तर काम गर्ने क्षमता भएको व्यक्तिलाई केही लगानी गरेर आत्मनिर्भर बनाउनु संस्थाको मुख्य उद्देश्य हो । लघुवित्त संस्थामा हाल महिला कर्मचारी पुरुष कर्मचारी भन्दा धेरै रहेको पाउन सकिन्छ ।
लघुवित्त क्षेत्र महिलाको लागि भएकाले कुनैपनि एक महिलाले अर्को महिलासँग खुलेर कुरा गर्न सक्ने भएकाले लघुवित्त संस्थाहरुले महिला कर्मचारीलाई बढवा दिदै आएका छन् । कुनैपनि ग्रामिण भेगका महिलाले महिला कर्मचारीसँग जसरी पुरुषसँग नजिकिन सक्दैनन् ।
अहिले लघुवित्त क्षेत्रलाई हेर्ने हो भने महिलाको नेतृत्वबाट चलेको संस्था निकै सफल भएको पाइन्छ । महिला कर्मचारीले सदस्य महिलाको भावना बुझ्ने भएकाले लघुवित्त क्षेत्रमा महिला कर्मचारीको भूमिका निकै महत्वपूर्ण रहेको हुन्छ । महिला कर्मचारीहरुको माग बढी हुने गर्छ । महिलाहरुसँग ग्रामिण भेगका मानिसहरु छिट्टै मेलमिलाप हुँने हुँदा महिला कर्मचारीको माग उच्च रहन्छ । महिला कर्मचारीलाई लघुवित्त क्षेत्रमा काम गर्दै जाँदा विभिन्न चुनौतिहरुको पनि सामना गर्नुपर्ने हुन्छ ।
नेतृत्वको चुनौती
लघुवित्त संस्थामा काम गर्दै गर्दा महिला कर्मचारीहरु अफिसमा भन्दा फिल्डमा जानुपर्ने हुँदा केही समस्या भने सिर्जना हुने गरेको साधना लघुवित्त वित्तीय संस्थाकी महाप्रबन्धक सरिता ढकाल बताउँछिन् । उनले समाजले महिला कर्मचारीलाई हेर्ने दृष्टिकोण उस्तै रहेको कारण महिलाहरुले लघुवित्त क्षेत्रमा खुलेर काम गर्न नसकेको उल्लेख गरिन् ।
उनले महिलाहरुलाई दमन गर्ने र हेप्न खोज्ने प्रवित्तिको अन्त्य तत्काल गर्न आवश्यक रहेको पनि बताएकी छिन् । उनको अनुसार लघुवित्त क्षेत्र महिला कर्मचारीको लागि निकै राम्रो भए तापनि महिलाको समस्याको बारेमा केही सोचेको छैन । उनले महिलाको लागि कुनैपनि सुविधा नभएको भन्दै महिला कर्मचारीलाई यो फिल्डमा केही चुनौति सामना गर्नुपर्ने भएको बताइन् । उनकाअनुसार फिल्डमा जानेक्रममा कतिपय कर्मचारी रेपमा समेत परेको घटनाहरु पनि बाहिरीरहेका छन् ।
ढकालले लघुवित्तको अफिसको समय पनि लामो हुँदा महिला कर्मचारीले सास्ती भोग्नुपरेको उल्लेख गरिन् । उनले समयका कारण पनि कतिपय कर्मचारीले जागिर त्याग्न परेको उल्लेख गरिन् । उनले लघुवित्त क्षेत्रले महिलालाई प्रोत्साहन गर्ने काम नगरेको बताए । हाल नेपालमा ५७ वटा लघुवित्त संस्था हुँदा पनि ३÷४ वटा लघुवित्त संस्थामा मात्रै महिला सीईओ रहेका छन् ।
बैंक तथा वित्तीय संस्थामा नै हेर्ने हो भने महिलाको नेतृत्व कमै हुने गरेको ढकाल सुनाउँछिन् । उनले लघुवित्त क्षेत्रमा सीईओ बन्न सक्ने क्षमताका महिलाहरु भए तापनि केही व्यक्तिले ‘महिलाले सीईओ चलाउन सक्छ र’ भन्ने कुराले गर्दा सतहमा आउन नसकेको बताइन् ।
त्यस्तै लघुवित्त बैंकर्स संघका पुर्व अध्यक्ष प्रकाशराज शर्मा २०४९ साल र हाललाई नियाल्दा लघुवित्तमा महिला लघुवित्तकर्मीको संख्या ५० प्रतिशतले बढेको बताउँछन् । २०४९ सालदेखि महिलाहरुको लघुवित्त क्षेत्रमा प्रवेश भएको पाइन्छ । उनले सुरुमा लघुवित्तमा महिलाहरुको प्रवेशको मुख्य कारण पनि लघुवित्त क्षेत्रले महिला समुदायमा काम गर्नु हो ।
सुरुको चरणमा महिलाहरु फिल्डमा जाने भिजिटर मात्रै थिए भने हालसम्म आइपुग्दा भने ब्रान्च व्यवस्थापकदेखि सीईओ पदसम्म पनि महिलाहरुलाई देख्न सकिन्छ । उनले सुरुमा महिलाहरुलाई समाजले हेर्ने दुष्टिकोणले भने केही समस्याहरु सिर्जना गरेको बताए ।
उनले कतिपय ठाउँमा भने महिलाको क्षमताको कदर नभएको पनि उल्लेख गरे । शर्माकाअनुसार महिलाहरुलाई फिल्डमा गएर काम गर्दा सुरक्षाको अभाव भने खड्किएको छ । उनले महिलाहरुका लागि पहिले तलब सुविधाहरुमा पक्षपात भए तापनि हाल भने त्यस्तो नहुँने गरेको बताए ।
-विमला ढकाल
नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्याल प्रतिनिधिसभाको शून्य समय छुटाउँदिनन् । उनी भन्छिन्, ‘ठूलो पार्टी भएकाले अन्य समय पाउन पर्खिनुपर्छ । शून्य समय सांसदको समय हो । आफ्नो समय छोड्ने कुरै भएन ।’
४ मंसिर २०७९ मा सम्पन्न निर्वाचनपछि समानुपातिक प्रणालीतर्फबाट माननीय भएकी कोइराला प्रतिनिधिसभाको तीन वटा अधिवेशन चलिरहँदा जम्मा तीन वटा बैठकमा अनुपस्थित रहेको बताउँछिन् । ‘आमाको मृत्यु भएकाले प्रतिनिधि सभाको अन्तिमतिर तीन वटा बैठकमा उपस्थित हुन सकिँन । बाँकी प्रतिनिधि सभाका सबै बैठकमा उपस्थित भएकी छु र प्रत्येक बैठकको शून्य समयमा बोलेकी छु ।’
शून्य समय वा अन्य समयमा उठाएका विषय कार्यान्वयनमा चासो राख्ने पनि सांसद पौड्यालको स्वभाव छ । सांसद कोइराला भन्छिन्, ‘बोलेका कुरा जनताले पूरा भएको पनि देख्न पाउनुपर्छ भन्ने लाग्छ । यसनिम्ति लबिइङ पनि गर्छु ।’ सामान्य विषय उठाउने र कार्यान्वयनमा चासो राख्ने गर्दा उठाएका अधिकांश विषय सम्बोधन हुन पुगेको उनको अनुभव छ ।
पहिलो पटक सांसद भएकी र संसदीय अभ्यासमा रमाइरहेकी रमा पहिलो दिन संसदा बोल्दा केही अप्ठ्यारो लागेको सुनाउँछिन् । तर पहिलो दिन नै उठाएको विषय, त्यसले पाएको प्रतिक्रिया र प्रभावले उनलाई अगाडि बढ्न हौसला प्रदान गरिरहेको छ । २१ माघ २०८० मा पहिलो पटक संसदको शून्य समयमा बोलेकी उनले तीन विषय उठाएकी थिइन् ।
पहिलो– श्रमिकको न्यूनतम ज्याला बढाउनुपर्ने,
दोस्रो– भक्तपुरवासीलाई मेलम्चीको पानी खुवाउनुपर्ने,
तेस्रो– संसदमा शिशु स्याहार केन्द्रको व्यवस्था मिलाउनुपर्ने ।
तीन वटै विषय सम्बोधन भएको सांसद पौड्याल बताउँछिन् । संसदमा शिशु स्याहार केन्द्रको व्यवस्था मिलाउनुपर्ने विषयले उनी त्यस दिनका सञ्चार माध्यमहरूमा छाइन् । हाल संसद भवनमा बच्च भएका महिलाका लागि स्तनपान कक्ष निर्माण भएको छ । भक्तपुरवासीलाई मेलम्चीको पानी खुवाउनुपर्ने भनी उठाएको विषय पनि डिपिआर गरेर काम सुरु भएको छ । मेलम्चीका पानी दिने भनेर यसका लागि पनि काम सुरु भएको छ ।
श्रमिकको न्यूनतम ज्याला बढाउनुपर्ने विषय पनि सम्बोधन भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा न्यूनतम ज्याला १५ हजारबाट १७ हजार पु¥याएको छ । आफूले उठाएका विषयहरु सम्बोधन हुँदा उनी खुसी छन् । भन्छिन्, ‘थोरै बोलेर पनि धेरै प्रभाव पार्न सकिन रहेछ भन्ने भयो ।’
हाल भक्तपुरको विषय उनी संसदमा निरन्तरजसो उठाउँछिन् । भक्तपुरमा स्मार्ट सिटीले पार्न सक्ने प्रभाव, भक्तपुर क्षेत्रका सडक लगायत कार्यमा उनको आवाज निरन्तरजसो उठाइरहेकी हुन्छिन् । नियमित संसदीय गतिविधिमा भाग लिने र सामान्य लाग्ने तर, दैनिक जीवनयापनका विषय उठाउने माननीय पौड्यालको प्रवृतिको सिको अन्य सांसदहरुले पनि गर्न थालेका छन् । ठूला कुरा गरेर भन्दा जनताका आवाज उठाएरै स्थापित हुन सकिने उनको विश्वास छ ।
भक्तपुरको ज्यादा कुरा उठाउने गरेता पनि उनी भक्तपुरमै जन्मे हुर्केकी होइनन् । भोजपुरमा जन्मिएकी कोइराला विवाह गरेर संखुवासभा पुगिन् । कामको सिलसिलामा २०४३ सालदेखि २०६२ सालसम्म सुनसरीमा बसिन् । सुनसरीको साझा बालिका उच्च माविमा १९ वर्ष लेखापाल काम गरेकी उनी २०४७ सालदेखि नेपाली कांग्रेसको ट्रेड युनियनमा आबद्ध भइन् ।
२०४७ सालदेखि राजनीतिमा होलटाइमर रहेता पनि उनी पहिलो पटक मानीय भएकी हुन् । २०७० सालमा समानुपातिक सूचीमा परे पनि सांसद हुन सकिनन् । आठ वर्षदेखि भक्तपुरको दधिकोटमा स्थायी बसोबास गर्दै आएकी उनी २०७९ सालको चुनावमा समानुपातिक कोटाबाट भक्तपुरको प्रतिनिधित्व गर्दै सांसद भइन् ।
भक्तपुरबाट संसद भवन नयाँ वानेश्वर आउँदा सार्वजनिक यातायात चढ्छिन् । ‘नियमित सार्वजनिक यातायात चढ्दा जनताका कुरा सुनिन्छ । आफ्नै निर्वाचन क्षेत्रका र घर आसपासका मानिससँग नियमित कुराकानी भइराख्छ’ उनी संसदमा नियमित उठाउने विषय कसरी संकलन गर्ने भन्ने प्रश्नमा जवाफ दिन्छिन् । आवस क्षेत्रका नागरिकसँग समेत नियमित संवाद गरिरहेका कोइरालाले संसदमा वैदेशिक रोजगारी, वृद्धवृद्धाको संरक्षण, पारिवारिक विखण्डनका कारण र समाधानका उपायका विषयहरू उठाइरहन्छिन् ।
तर एक्लो प्रयासले समग्र नतिजा प्राप्त नहुने उनको बुझाइ छ । उनी भन्छिन्, ‘म एउटा श्रमिक महिला संसदमा पुगेको छु । पहिले संसद बाहिर जति सक्रिय थिएँ, त्यति नै सक्रिय संसदमा छु । व्यक्तिगत पहल र त्यसको प्रभावले खुसी तुल्याउँछ । तर, कानुन निर्माणका दृष्टिमा भने सरकारबाटै कियरलेस हुँदा समग्रतामा रिजल्ट दिन सकिएन झैँ लाग्छ ।’
-अम्बिका खड्का
खिरिलो ज्यान, साधारण टिसर्ट पाइन्ट, कुनै कस्मेटिक्स प्रयोग नगरिएको अनुहार, यसै बटारेर बाँधेको कपाल, देखावटी सुन्दरतामा अलिकति पनि लालची नदेखिएकी एक युवती काठमाडौंका सडकमा हजारौं पुरुषको भीडमा सँगसँगै नारा लगाउँदै थिइन्, ‘निर्माण व्यवसायीलाई भुक्तानी दे, भुक्तानी दे’ । गत असार–साउनमा निर्माण व्यवसायी महासंघले सरकारसँग विभिन्न माग राख्दै चरणबद्धरुपमा गरेको आन्दोलन तथा धर्ना कार्यक्रमको एक दृष्टान्त हो यो । कहिले नारा लगाउने, कहिले ब्यानर बोकेर त कहिले निधारमा कालो पट्टी बाँधेर महासंघको आन्दोलनभर निकै सक्रिय रहेकी उनी कुनै निर्माण व्यवसायीकी छोरी, श्रीमती वा आफन्त होइनन् । उनी हुन् एस.एल कन्स्ट्रक्सन प्रा.लि.की सञ्चालिका गीता शाही ।
निर्माण व्यवसायी भन्नासाथ प्रायः सुनका मोटामोटा सिक्री र ब्रासलेट टल्काउने, भुँडी ढल्काउने सुकिलामुकिला पुरुषको अनुहार झल्किन्छ । नेपालमा थोरै संख्यामामात्र महिला निर्माण व्यवसायी छन् । जसमा पनि धेरैजसो महिलाको कम्पनी मात्र आफ्नो नाममा छ, काम श्रीमान वा परिवारका अन्य पुरुष सदस्यले गर्छन् । निर्माण व्यवसाय (ठेक्का पट्टाको काम) पुरुषको हो भन्ने मानसिकता अझै व्याप्त छ । तर यी सबै कुराको अपवाद जस्तै हुन् जुम्लाकी गीता ।
विगत १२–१५ वर्षदेखि निर्माण क्षेत्रमा सक्रियरुपमा काम गरिरहेकी शाही निर्माणस्थलमै समय बिताउँछिन् । हालसम्म सडक निर्माणका काम मात्र गरिरहेकी उनी आफैं निर्माणस्थलमा बसेर काम गराउने, अह्राउने गर्छिन् भने आवश्यक परेमा निर्माण उपकरण समेत आफैं चलाउँछिन् । काम गर्न लाज, डर, घमण्ड गर्न नहुने मान्यता राख्ने शाही आफूलाई गिट्टी, बालुवा, रड, सिमेन्ट, स्काभेटर, टिपरसँगै रमाउने बानी परेको बताउँछिन् । उनी आफ्नो व्यावसायिक काममा मात्र होइन निर्माण व्यवसायीको हकहितका साथै महिला निर्माण व्यवसायीलाई अघि बढाउनका लागि आवाज उठाउने तथा पहलकदमी गर्ने कार्यमा सधैं अग्रसर भएर लागिरहेकी छन् ।
निर्माण व्यवसायमा सक्रिय शाही आफ्नो काममा पनि सन्तुष्ट छिन् । निकै संघर्ष गरेर यो स्थानसम्म आइपुगेकी शाहीको जीवनमा भने धेरै उतारचढावका कथाहरु छन् ।
विद्यालय नगएरै १२ कक्षासम्मको पढाइ
२०४५ साल साउन २५ गते जुम्लाको तातोपानी गाउँपालिकामा बुबा धनवीर शाही र आमा कौशीला शाहीको कोखबाट जन्मिएकी शाहीले कम उमेरमा धेरै उतारचढाव भोगेकी छन् । अन्नको नाममा वर्षको एकबाली गहुँ र जहु मात्र फल्ने ठाउँ, आर्थिक अवस्था कमजोर, ६ जना छोराछोरी खर्च चलाउनै मुस्किल थियो परिवारमा । त्यसैले दाइ सानैदेखि फुपूका घर बसेका थिए भने दिदीको सानैमा विवाह भयो । बुबाले राडीपाखी बेचेर जाजरकोटबाट बोकेर ल्याएको चामलको भात खान चाडपर्व नै कुर्नुपथ्र्यो । गीता जुम्लाकै श्री कालिका माविमा भर्ना भएर परीक्षा त दिन्थिन्, तर विद्यालय जान मुस्किलले पाउँथिन् । एक सिजन जाजरकोट र एक सिजन जुम्ला बस्नुपर्ने हुन्थ्यो । उनी कक्षा चार पढ्दा बुबालाई औलो लाग्यो । चार महिना बिरामी भएपछि बुबा बिते, घरको मुल खाँबो ढल्यो । उनको परिवारमा झनै ठूलो समस्या आइप¥यो । देशमा माओवादी जनयुद्ध चलिरहेको थियो । बुबा बितेको केही समयपछि शाहीलाई माओवादीले फकाइफुलाइ लगे । उनलाई त्यहाँ बस्न मन लागेन र भागेर घर आइन् । पछि आमालाई धम्क्याएर माओवादीले उनलाई फेरि लगे । तर उनी फेरि भागेर घर नगइ जाजरकोट आफन्तकोमा बस्न थालिन् । त्यसपछि उनी जाजरकोटबाट फुपूसँग कोहलपुर आइन् र एक जना आफन्त दाइकोमा बस्न थालिन् । उमेर धेरै भइसकेको थियो, ४ बाट एकै पटक ८ कक्षामा भर्ना भए पनि उनी उमेर धेरै भएकाले स्कुल जाँदिन थिइन् । उनले विद्यालय नगएरै एसएलसी परीक्षा दिइन् । त्यसपछि चन्दनाथ उच्च माविबाट क्याम्पस नगएरै १२ सम्मको पढाइ सकिन् । त्यसपछि भने शाहीले पढाइलाई अगाडि बढाउन सकिनन् ।
जुम्लाबाट काठमाडौंसम्मको यात्रा
माओवादीबाट भागेर जाजरकोट पुगेकी शाही फुपूसँग कोहलपुर आएपछि त्यहाँ उनले एउटा संस्थामार्फत गाडी सिक्ने अवसर पाइन् । गाडी सिकेपछि लाइसेन्सका लागि भने हजार रुपैयाँ चाहिने रहेछ । घरबाट भाग्ने बेला आमाले दिएको पैसा थियो, त्यही तिरेर उनले गाडीको लाइसेन्स बनाइन् । त्यो बेला उनी गाडीको लाइसेन्स प्राप्त जुम्लाकी पहिलो महिला नै थिइन् । त्यसपछि जुम्ला सरमुकाममा उनले टिकट काउण्टरमा काम गर्न थालिन् । जुम्लामा टिकट काउण्टरमा काम गर्ने महिला पनि उनी नै पहिलो थिइन् । २ वर्ष जति काम गरेपछि जम्मा भएको केही पैसा लिएर उनी काठमाडौं छिरिन् । काठमाडौंमा यसै अलमल परेकी शाहीले अन्ततः विदेश जाने निर्णय गरिन् । विदेश जान भनेर पासपोर्ट बनाउन फारम पनि भरिन्, जुन उनले दुःखको बेलाको भनेर अहिलेसम्म पनि सुरक्षित राखेकी छन् । उनले फारम त भरिन्, तर फारम बुझाउन चाहिने अन्य कागजात घरमै थिए । त्यसैले केही समय रोकिइन् । त्यहीबेला उनलाई माओवादीमा हुँदा चिनेका ठेक्कापट्टा गर्ने एक जना दाइले विदेशमा महिलालाई धेरै दुःख हुने भन्दै सम्झाए र यहीँ केही गर्न सुझाव दिए । साथै नेपाल निर्माण व्यवसायी संगठनमा कार्यालय सहयोगीको कामसमेत मिलाइदिए । यसरी जुम्लाबाट काठमाडौंसम्म पुगेकी उनी खाडी देशको यात्रा रोकेर काठमडौंमै बस्न थालिन् ।
कसरी बनिन् निर्माण व्यवसायी ?
मनमा केही गर्नैपर्छ भन्ने हुटहुटीले उनलाई यसै अल्झिएर बस्न दिएन । निर्माण व्यवसायी संगठनमा काम गर्न थालेपछि उनले त्यसबेला १० हजार खर्च गरेर आफ्नो पनि ठेक्कापट्टाको लाइसेन्स बनाइन् र केही समय त्यहीँ काम गरिन् । त्यसपछि उनी जुम्ला फर्किएर जुम्लाको नारी आवाज भन्ने रेडियोमा टेक्निसियनको काम गरिन् । रेडियोका सञ्चलकको प्लेन दुर्घटनामा मृत्यु भएपछि रेडियो चल्न समस्या हुन थाल्यो र उनी फेरि काठमाडौं आइन् । काठमाडौंमा उनले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा पनि कार्यालय सहयोगीको रुपमा काम गरिन् । केही समय त्यहाँ काम गरेपछि उनी पुनः निर्माण व्यवसायी संगठनको कार्यालयमै कार्यालय सहयोगीको रुपमा काम गर्न थालिन् । त्यसबेला भने उनलाई निर्माण क्षेत्रको काम सिक्ने चासो बढ्यो । उनी काम गर्ने ठाउँमा साथीलाई राखेर उनलाई विदेश जान रोकेर काममा लगाउने र लाइसेन्स बनाइदिने दाइको निर्माणस्थलमा जाने, निर्माणका काम हेर्ने र सिक्ने गर्न थालिन् । यसरी साइटमा जाँदा भने मानिसहरुले ठेकेदारको पछि लागेर आएकी को हो ? के हो ? भनेर सोध्ने, कुरा काट्ने गर्थे । उनी भन्छिन्, ‘मनमा केही गर्छु भन्ने लागेपछि कसैको केही कुराले फरक नपर्दो रहेछ । म काम सिक्न चाहन्थें, त्यसैले कसैको कुराको वास्ता नै गरिनँ ।’
त्यसपछि उनलाई यसरी अर्काको साइटमा हेरेर मात्र सिकिँदैन अब आफैं ठेक्का हाल्नुपर्छ भन्ने लाग्यो । त्यसबेला ललितपुर सडक डिभिजनले साना–साना २६ वटा ठेक्का खुलाएको थियो । सानो बजेटका ठेक्का भएकाले खर्च धेरै नलाग्ने हुँदा उनलाई सजिलै भयो । उनले त्यहीँबाट आफ्नो निर्माण व्यवसायको यात्रा प्रारम्भ गरिन् । साना साना ठेक्काबाट काम सिक्ने अवसर पाउँदै गइन् । त्यसपछि सहकारीमा सदस्य भएर ऋण लिने, जग्गा किन्ने, बैंक ग्यारेन्टी देखाउने गर्दै ठूला ठेक्कामा पनि हात हाल्न थालिन् । अहिले उनी करोडौंको ठेक्काको काम गर्छिन् । उनी निर्माण व्यवसायी महासंघकी केन्द्रीय सदस्य पनि हुन् भने महासंघकै छाता संगठन निर्माण व्यवसायी महिला समितिको सहसंयोजक पनि हुन् । हालैपनि उनी दैनिक ३५–४० जनासम्म मजदुर लगाएर काम गरिरहेकी छन् । यसरी २०६९ सालदेखि निरन्तर सक्रियरुपमा निर्माण व्यवसायमा संलग्न शाहीको अहिले ललितपुरमा आफ्नै घर छ । हिँड्डुल गर्न आफ्नै गाडी छ । कुनै बेला चामलको भात खान चाडपर्व कुर्नुपर्ने शाही अहिले मन लागेको बेला, मन लागेको ठाउँमा खान समस्या नभएको बताउँछिन् । उनी भन्छिन्, ‘हिजोको जस्तो खान लगाउनै दुःख छैन, म यसमै सन्तुष्ट छु । सामान्य जीवन चलिरहेकै छ निर्माण क्षेत्रमा अझ राम्रो काम गर्ने मन छ ।’
उनी निर्माण व्यवसायमा यसरी लागिन् कि विवाह गर्ने उपयुक्त समयसम्म पाएकी छैनन् । व्यावसायिक हिसाबले सन्तुष्ट र सफल भएपनि महासंघमा समेत आफू राम्रो स्थानमा पुग्ने र निर्माण क्षेत्रलाई पनि राम्रो बनाउने उद्देश्य रहेकाले अझै विवाहबारे नसोचेको उनी बताउँछिन् ।
महिला निर्माण व्यवसायी हुँदाका समस्या
महिला भएकै कारण शुरुवाती दिनमा निकै समस्या हुने गरेको उनका धेरै नमिठा अनुभवहरु छन् । साइटमा जाँदा कामदारले नै नपत्याउने, कुरा नसुन्ने, नटेर्ने गर्दा नै समस्या हुन्थ्यो । तर विस्तारै कुरा बुझाउँदै, सम्झाउँदै उनी अघि बढिन् । वरपरका मानिसहरुले ठाउँअनुसार आफ्नै भाषामा कुरा गर्ने, कोसँग आएकी, केटी पनि यस्तो काम गर्छन् ? भन्ने जस्तो कुरा गर्ने गर्दा आफूलाई नराम्रो अनुभूति हुने गरेको उनको भनाइ छ । साइटमा जाँदा अहिले पनि पुरुष कामदार मात्र हुने हुँदा साइटमा बस्न सुरक्षाको अनुभूति नहुने, छुट्टै बस्ने व्यवस्था गर्दा खर्च बढी हुने, प्रशासनिक काममा पनि महिला निर्माण व्यवसायी भनेपछि कुरा गर्न अप्ठ्यारो मान्ने र काममा धेरै अलमल गराउने गरेको उनको दुखेसो छ ।
जे कुरा पनि शुरु गर्दा धेरै गाह्रो भएपनि विस्तारै बानी पर्दै जाने र सहज हुँदै जाने उनको अनुभव छ । अनेक उतारचढावका बीच पनि निर्माण क्षेत्रमा नै टिक्न सफल भएकाले हिम्मत र गर्छु भन्ने अठोट नै ठूलो कुरा भएको उनको भनाइ छ ।
-भावना अवस्थी
नेपालमा पञ्चायती व्यवस्थाको अन्तिम समय थियो । देशमा पञ्चायती व्यवस्थाविरुद्ध आवाज चर्को सुनिन्थे । मध्य नेपालको गुल्मीको साविक जुभुङ गाविस एकमा २०४४ सालमा मिना जन्मिइन् । ग्रामिण जिवनमा बनिबुतो गरेर खानुपर्ने अवस्थाको परिवारमा जन्मेकी मीना विद्यालय जाने अवसरबाट बञ्चित हुनु परेन ।
उनको परिवारले उनलाई विद्यालय जाने छुट दियो । घरायसी काम र टाढाको विद्यालय जाँदा उनी रमाइलो नै मान्थिन् । साथीसँगीबीच रमाइ रहेकी थिइन् । २०५२ पश्चात् माओवादी बिद्रोह सुरु भयो । तत्कालीन बिद्रोही माओवादीले घरघरबाट उमेर पुगेका युवाहरू आफुसँगै लैजान थाले । त्यही डरले मिनालाई उनका दाजुले काठमाडौं पुर्याए । काठमाडौं आएपछि कक्षा ७ मा पढ्दै गरेकी मिनाको पढाइ पनि रोकियो ।
काठमाडौंमा आफन्तकोमा बसेकी मिनाका संघर्ष सुन्दा मात्र पनि अत्यास लाग्छ । उनले त्यो समयदेखि नै कहिले अर्काको घरमा काम गरिन् त कहिले चिया बेचिन् । त्यही संर्घर्षबीच १५ वर्षकै उमेरमा सवारीचालक हरि चन्द ठकुरीसँग विवाह भयो । त्यसपछि उनको जिवनमा झनै दुःख थपिए ।
त्यही दुःखले हो, उनमा स्ववलम्वी र आत्मनिर्भर बन्ने सपना पलाएको । विवाह भएको डेढ वर्षपछि १८ कात्तिक २०५८ मा उनले जेठो छोरो पुजललाई जन्म दिइन् । काममा निस्किएका श्रीमानको कोठामा फर्किने समयको ठेगान हुदैनथ्यो । कहिलेकाहीँ त हप्ता दिनसम्म पनि कोठामा फर्कंदैनथे । त्यसमाथि श्रीमानको कमाईले दैनिकी चलाउनै नपुग्ने उनी सम्झिन्छिन् । श्रीमानको तलब पाँच हजार थियो । त्यसले कोठा भाडा मात्रै हुन्थ्यो बच्चाहरुको खर्च खान लाउन केही नपुग्ने हुन्थ्यो ।
यो अवस्थासँग जुध्न बाटोमा बसेर सेकुवा पोलेको अनुभव पनि छ, उनीसङ्ग । मिनाले २०६३ असारमा उनले दोस्रो सन्तान जन्माइन् । घरखर्च जुटाउन सुत्केरी अवस्थामा पनि उनी अर्काको घरमा काम गर्न जान्थिन् ।
मीनाले सुत्केरी अवस्थामै २०६३ असोजमा ड्राइभिङ सिक्ने सोच बनाइन् । श्रीमानलाई ड्राइभिङ सिक्छु भन्दा श्रीमानको साथ नपाएपछि तीन महीने शिशु र पाँच वर्षे छोरालाई कोठामा छाडेर तीन महीनासम्म लुकेरै दैनिक चार घण्टा ड्राइभिङ सिकिन । २०५९ सालमा आफन्त पर्ने हजुरआमाबाट साढे २ लाख र फाइनान्सबाट साढे ३ लाख रुपैयाँ ऋण लिएर एउटा पुरानो टेम्पो खरीद गरिन् ।
यो उनको आत्मनिर्भर बन्ने पहिलो यात्रा थियो । बिहान ३ बजे बच्चालाई खाना बनाएर दिनभर टेम्पो चलाउँथिन् । मीना निस्किदा आँखाभर आँशु बोकेर निस्किने कुराले उनलाई अझै दुख्छ । हिड्थिन् टेम्पो चलाउन । टेम्पो चलाउन थालेको ६ महिनापछि मात्रै उनका श्रीमानले यसबारे थाहा पाए । त्यसपछि भने श्रीमानको साथ पाएको मिना सम्झिम्छिन् ।
महिलाले चलाएको टेम्पो हेर्ने मानिषहरु धेरै हुन्थे रुदै टेम्पो चलाएकी छिन् । हेर्नेदेखि शरीरमा टाँसिन र छुन खोज्ने यौन हिंसाको पनि उनले सामना गर्नुपरेको छ । ‘अहिले पो उमेर भयो, काली भए त्यतिबेला त भर्खरको उमेर त्यहिमिाथ म एक्टिभ पनि थिए, सप्पैले आँखा लगाउथे’ उनी भन्छिन् ‘एकैजना प्यासेन्जर दिनभरी नै गाडीबाट झर्दैनथ्यो । कोठामा जाँदा पनि अरु ड्राइभर दाजुभाईलाई भनेर पुर्याइ माग्नुपथ्र्यो ।’
उनले टेम्पो किन्दाको ऋण चुक्ता गरिन । फेरि ६ लाख ऋणमा अर्को टेम्पो किनेर एकजना ड्राइभर राखिन् । यसरी नै २०६६ सालसम्म पाँच वटा टेम्पो जोडिसकेकी उनले अर्को वर्ष चार वटा टेम्पो बेचेर माइक्रोबस चलाइन् । माइक्रो बसबाट भने उनले सफलता पाइनन् । उनले ऋण तिर्न बस नै बेच्नुपर्यो । त्यसपछि ट्याक्सी चलाउन थालिन् ।
आफुजस्तै समस्यामा परेका महिलालाई नि शुल्क ड्राइभिङ सिकाउन थालिन् । उनले निशुल्क ड्राइभिङ सिकाएको केही समयपछि विभिन्न संघ सस्थाहरुबाट आएको सहयोगले नै उनले सयौं जनालाई ड्राइभिङ सिकाइन् ।
२०७६ मा उनलाई आपत आइलाग्यो । उनको ठुलो छोरा मोटरसाइकल दुर्घटनामा परे । उनै बच्चाको स्याहारमा मीनाका २ वर्ष बिते । त्यो दुई वर्षले मिनालाई झन धेरै दुःख भोग् गर्न सिकायो । सन्तानका दुःख आँखै अगाडि देख्दा उनलाई झनै ठूलो पीडा बोध भयो ।
कति महिना उनले रोएरै बिताइन् । त्यो समय सम्झेर मीना भन्छिन्, ‘म महिला भएर दुःख त झेलेकै थिए । तर आफ्नो सन्तान आँखै अगाडि महिनौंसम्म अचेत रह्यो । त्यो पीडा शब्दमा बयान गर्नै सक्दिन ।’ मीनाको आत्मविश्वास र ममताले छोरा पुजल ६ महिना कोमामा रहेर पनि ब्युतिए । तर पुरानै अवस्थामा भने फर्किन सकेका छैनन् ।
अहिले पनि मीनाको संघर्ष उस्तै छ । तर दैनिकी फेरिएको छ । उनले कयौं महिलालाई आत्मनिर्भर बनाएका कुरा बाहिरिएपछि २०७९ को निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीले मीनालाई सामुपातिक सांसदको टिकट दियो ।
पार्टीले नै न्यूनतम मत ल्याउन नसकेपछि सांसद बन्ने उनको सपना पुरा भएन । त्यसपछि भने उनी राजनीतिमा सक्रिय छिन् । भन्छिन्, ‘सफलता त महसुश गर्ने कुरा हो । राजनीतिमा मेरो पहिलो खुट्किलो थियो । मैले धेरै सिकेँ त्यसैले म सफल नै भएँ । समाज परिवर्तन र महिलाको आत्मनिर्भरताको विषयमा म सधैं सक्रिय रहनेछु ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies