-जानुका गौतम ‘मुना’
कोरोना महामारीले नेपालमा पेशागत स्वास्थ्य र सुरक्षाको विषयलाई अन्य समयको तुलनामा बढी नै सान्दर्भिक बनायो । यदि यो महामारीका बीच आर्थिक गतिविधिलाई सञ्चालन गर्ने हो र देशको अर्थतन्त्रलाई जीवितै राख्ने हो भने उद्योग तथा व्यापार क्षेत्रमा पेशागत स्वास्थ्य तथा सुरक्षाको सुनिश्चिता अनिवार्य सर्त हुन आउँछ । त्यसैले यो लेखमा सम्बद्ध नियम कानुन र तिनको कार्यान्यवनको अवस्था समेटिएको छ ।
नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकको स्वास्थ्य र सुरक्षामा जोड दिएको छ । मौलिक हकभित्र प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक, श्रमको हक र स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरेको छ । साथै प्रदूषित वातावरणको कारण क्षति पुग्ने पक्षले क्षतिपूर्ति पाउने अधिकार दिएको छ । साथै औद्योगिक स्वच्छता र पेशागत स्वास्थ्य तथा सुरक्षाका क्षेत्रमा दिशा निर्देश गरेको छ कार्यान्वयन गर्ने दायित्व पनि तोकिदिएको छ ।
नयाँ श्रम ऐनमा कम्तीमा एक लाख रुपैयाँ प्रत्येक वर्ष प्रत्येक कामदारले स्वास्थ्य उपचारका लागि पाउने, कार्य स्थलमा भएको दुर्घटनासम्बन्धी उपचार खर्चको लागि ७ लाख बराबरको कभरेज प्रत्येक कामदारलाई हुनुपर्ने, स्वास्थ्य बिमाको किस्ता आधा रोजगारदाताले र आधा कामदारले व्यहोर्नुपर्ने र दुर्घटना बीमाको किस्ता पूरै रोजगारदाताले व्यहोर्नु व्यवस्था छ । दफा ७४ ले उद्योगहरूमा जोखिमको नियन्त्रण र जोखिमरहित कार्य स्थलको लागि सुरक्षा र स्वास्थ्य समितिको निर्माण गर्न भनेको छ । दफा ७८ अनुसार उद्योगहरूले सुरक्षा र स्वास्थ्यका मापदण्डहरू अनुसरण गर्नुपर्छ । दफा ८० अनुसार रोजगारदाताले संक्रामण रोगको रोकथामो लागि कार्य स्थलमा आवश्यक व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।
साथै सुरक्षा र स्वास्थ्य नीतिको तयारी, सुरक्षा र स्वास्थ्य समिति बनाउने, रोजगारदाताको कामदारप्रति सुरक्षा र स्वास्थ्य व्यवस्थापन तथा गर्भवती महिलाको सुरक्षासम्बन्धी दायित्व समेटिएको छ । श्रम नियमावलीले सरकारलाई नेपाल राजपत्रमा पेशागत रोगहरूको सूची प्रकाशित गर्न भनेको छ । यसले पेशागत रोग हो कि होइन भन्ने विवाद समाधान गर्न विज्ञचिकित्सकहरू र अन्य विज्ञहरू सम्मिलित एक समिति गठन गर्न निर्देशन दिएको छ । यसले श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयलाई समितिले दिएको सिफारिसको आधारमा पेशागत बिरामी भएकाहरूलाई भुक्तानी गर्नुपर्ने स्वास्थ्य खर्च र क्षतिपूर्ति तोक्नअधिकार प्रदान गर्दछ ।
उक्त व्यवस्थाका साथै सरकारले पेशागत सुरक्षा र स्वास्थ्य नीति २०७६ जारी गरेको छ र सरकारले श्रम विभाग र पेशागत सुरक्षा र स्वास्थ्य केन्द्रको स्थापना गरेको छ । यो नीतिको मुख्य उद्देश्य कार्य क्षेत्र र कार्य वातावरणलाई खतरामुक्त बनाउने हो ।
नेपालमा औद्योगिक स्वच्छता, पेशागत स्वास्थ्य र सुरक्षासम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था हालैका वर्षमा भएको पाइए पनि तिनको कार्यान्वयन प्रभावकारी रूपमा भएको छैन । विश्व इतिहासमा करिब ८० वर्ष पहिले नै औद्योगिक स्वच्छता, पेशागत स्वास्थ्य र सुरक्षाको अवधारणा विकास भइसकेको भए तापनि नेपालमा बामे सर्ने अवस्थामा रहेको छ । विश्वका विकसित मुलुकहरूले सरकारी तथा गैरसरकारी स्तरमा विभिन्न संयन्त्रहरू विकास गरी काम गरिरहेका छन् । औद्योगिक स्वच्छता, पेशागत स्वास्थ्य र सुरक्षासम्बन्धी विषयहरूको विद्यावारिधिसम्मको अध्ययन हुने गरेको छ तर नेपालमा यससम्बन्धी पाठ्क्रम बनाई औपचारिक अध्ययन हुन सकेको छैन ।
औद्योगिक अस्वच्छताको कारण लाग्ने सरुवा र नसर्ने रोगहरूको रोकथाम गर्दै कार्य क्षेत्रका कामदारहरूको स्वास्थ्यर सुरक्षाको स्थिति राम्रो बनाउने दायित्व सरकारको रहेको हुन्छ । यसभित्र चेतना सम्प्रेषणसम्बन्धी कार्यक्रमदेखि लिएर सर्वसाधारण तथा कामदारका लागि आवश्यक सुरक्षा सामग्रीको वितरण गरी दैनिक जीवनलाई सहज बनाउन आवश्यक हुन्छ ।
रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जना हुन नदिन उद्योगहरूमा औधोगिक स्वच्छता कायम गर्दै पेशागत स्वास्थ्य र सुरक्षा अपनाउँदै कार्यक्षेत्रमा फर्किनुपर्ने आवश्यकता हुनसक्छ । कोरोना भाइरसको तीव्र संक्रमण प्रवृत्तिलाई ध्यानमा राखी नेपालमा इन्डष्ट्रियल हाइजिनिष्टको अवधारणा विकास नभइसकेको अवस्थामा अन्य तालिम प्राप्त समूहको निर्माण गरी तालिम तथा चेतनामूलक कायक्रम सञ्चालन गर्ने दायित्व कानुनले जिम्मेवारी तोकेका सम्बन्धित निकायको हो ।
ठूलो संख्यामा रोजगारी सिर्जना गरेको उद्योग व्यवसाय क्षेत्रले नियम कानुन तथा तोकेका मापदण्डको पालना अनिवार्य रूपमा गर्नुपर्छ । साथै औद्योगिक वातावरणलाई स्वच्छ र स्वस्थ राख्ने र आवश्यक सुरक्षाको उपाय अवलम्बन गर्ने कार्य आफैँ अग्रसर भएर गर्नुपर्ने हो तर अवस्था सन्तोषजनक छैन । सरकारले देशका कोरोना रोक्ने क्रममा अन्य क्षेत्रमा निधेषाज्ञा जारी गरेका समयमा पनि औद्योगिक स्वच्छता सहितका निश्चित उपाय लागू गरेर निजी क्षेत्रलाई उद्योग सञ्चालन गर्न दिएको थियो तर त्यस क्रममा नियम कानुन तथा तोकेका मापदण्डको पालना भयो भएन वा स्वस्फूर्त अन्तर्राष्ट्रिय स्तरका उपाय अवलम्बन भए कि भएनन् भनेर मूल्यांकन गर्न भने बाँकी छ ।
यो क्षेत्रमा नेपालको क्षमता धेरै नै कमजोर रहेको अवस्थालाई महसुस गरी औपचारिक अध्ययनको सुरुवात गर्ने लक्ष्यसहित निजी क्षेत्रबाट सन् २०१८ मा ‘नेशनल इन्स्टिच्युट अफ इन्डष्ट्रियल हाइजिन एण्ड अक्कुपेशनल हेल्थ एण्ड सेफ्टी’ नामक एउटा संस्था स्थापना भएको देखिन्छ । त्यसमार्फत् अमेरिकास्थित ब्रिमिंगम विश्वविद्यालयका केही विद्यार्थीहरूले बेसलाइन सर्भे पनि गरेका छन् र नेपालका विभिन्न उद्योगहरूमा अनुसन्धान गरी स्वास्थ्य तथा सुरक्षा रिपोर्ट २०१९ तयार गरेका छन् । उक्त संस्थाले पब्लिक प्राइभेट पार्टनरसिपका लागि पहल गरिरहेको छ तर यसका लागि सहज वातावरण छैन ।
नेपालको संविधानले नागरिकलाई दिएको स्वच्छ र स्वास्थ्य वातावरणमा बाँच्न पाउने हक, श्रमको हक, रस्वास्थ्यसम्बन्धी हकको प्रभावकारी कार्यान्वयनको लागि श्रम र नियमावलीका व्यवस्था पर्याप्त नभएकाले छुट्टै औद्योगिक स्वच्छतासम्बन्धी कानुन बनाउनुपर्ने देखिन्छ । नयाँ कानुन नबनेसम्मको अवधिमा पेशागत स्वास्थ्य र सुरक्षाको विषयलाई श्रम ऐन, नियमावली र पेशागत सुरक्षा तथा स्वास्थ्य नीतिका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु उपयुक्त हुन्छ । त्यसका लागि तत्काल मापदण्ड निर्धारण गरेर लागू गर्नुका साथै श्रम प्रशासनलाई सुदृढ बनाउन जरुरी छ । कार्यक्षेत्र निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउनु पर्छ ।
साथै औद्योगिक स्वच्छता, पेशागत स्वास्थ्य र सुरक्षासम्बन्धी दीर्घकालीन सुधारको लागि पाठ्यक्रम निर्धारण गरी औपचारिक शिक्षाको सुरुवात गर्नु आवश्यक छ । त्यसो गर्न सकियो भने कोरोना जस्ता भविष्यमा आइलाग्ने महामारीको व्यवस्थापन, रोकथाम तथा नियन्त्रण सहज हुन सक्छ र सम्पूर्ण नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने र श्रम तथा रोजगारीका हक सुरक्षित हुनेछ अनि वातावरणीय न्यायसमेत सुनिश्चित हुनेछ । तत्काल कोरोनाको नियन्त्रणका पनि औद्योगिक स्वच्छताका प्रक्रया र पेशागत स्वास्थ्य र सुरक्षाको अवधारणा अति नै उपयोगी हुने भएकाले अहिले नै दीर्घकालीन रणनीति तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी रूपमा लागू गर्न उपयुक्त देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies