मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक भन्दा बढी बिचारहरु एक ठाउँ रहने विषयलाई स्वीकार गर्दै पार्टीलाई अगाडि बढाउने गरी राजनीतिक मार्ग तय गरेको छ ।
पार्टी स्थापनाको लामो समयसम्म बैचारिक धार स्पष्ट नभएको भनी भइरहेको आलोचना चिर्दै रास्वपाले बहुलवादी लोकतन्त्र स्वीकार गर्दै अगाडि बढ्ने निक्र्योल गरेको हो । महोत्तरीको जलेश्वरमा जारी पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट पारित राजनीतिक प्रतिवेदनको प्रस्तवना अनुसार रास्वपाको मुख्य औपचारिक राजनीतिक मार्ग बहुलवादी लोकतान्त्र हुनेछ ।
पार्टीका महामन्त्री मुकुल ढकालका अनुसार पार्टीको मूल दस्तावेको प्रस्तावना पारित भएको हो । पारित प्रस्तावनामा रास्वपाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत नै समावेशी समाज निर्माण गर्ने ध्येय राखेको जनाएको छ ।
‘रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासन मार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो’ पारित दस्तावेजमा भनिएको छ । लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत९साधनको दीगो परिचालनको नीति लिने पनि उक्त प्रस्तावनामा भनिएको छ ।
उद्यममैत्री, लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित, सामाजिक पुँजीको अभिवृद्धि र जलवायु पर्यावरणीय सन्तुलन कायम राख्न पार्टी प्रतिबद्ध रहेको प्रस्तावनामा उल्लेख छ ।
संघीयता र धर्मनिरपेक्षताबारे मौन
रास्वपा संघीयता र धर्मनिरपेक्षताबारे भने मौन बसेको छ । गत चुनावमा प्रदेश तहमा उम्मेदवारी नदिएको रास्वपाले राजनीतिक मार्ग तय गर्दा पनि संघीयताबारे कुनै प्रतिवद्धता जनाएको छैन । तर पूर्ण राजनीतिक प्रतिवेदन आउँदा भने यो विषय समेटिन पनि सक्छ ।
तर, रास्वपाका नेताहरुका अनुसार प्रदेश तहको संरचनाबारे मौन रहने हालसम्मको नीति छ । प्रदेश बाहेक संघीय र स्थानीय सरकार समेत हुने दुई तहको संरचनाको बहस गर्नेहरु पनि छ । कैयन मुलुकमा दुई तहको संघीयता पनि अभ्यास छ । त्यसकारण संघीयताको विषयमा मौन रहने र उपयुक्त समयमा यसबारे धारणा प्रष्ट गर्ने नेताहरु बताउँछन् ।
यसअघि रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी संघीयता खारेजको पक्षमा नभएर सुधारको माग गरिरहेको बताएका थिए । प्रदेशका संरचनाबारे धेरै अस्पष्टता भएकाले सुधारको आवश्यकता रहेको उनको भनाइ छ ।
‘हामीले प्रदेशसभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन । स्थानीय तहले धेरै राम्रो काम गरेका छन् । तर, प्रदेशका धेरै संरचना देशका लागि बोझ भएको हामीले सुझाव पायौं’ सभापति लामिछानेले गत माघमा राजधानीमा आयोजित एक कार्यक्रममा भनेका थिए ।
अर्थात, सभापति लामिछानेको त्यही स्पिरिटमा रास्वपाले राजनीतिक मार्ग तय गर्दा लेख्ने कतिपयको आँकलन थियो । तर, मौन रहेको छ । आगामी चुनावसम्म यसबारे प्रष्ट हुने र चुनावमा भाग लिने वा नलिने निर्णयमा पुगिने रास्वपाका नेताहरु बताउँछन् ।
साथै, धर्मनिरपेक्षताबारे पछिल्लो समय हुन थालेको बहसमा पनि रास्वपा मौन बसेको छ । धर्मनिरपेक्षता स्वीकार गर्ने वा नगर्ने केही भनिएको छैन ।
स्वर्णिम उपसभापति, विराजभक्त उपनेता
रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय बनेको छ । केन्द्रीय समिति बैठकले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेसँगै केन्द्रीय समिति सदस्यको कुल संख्या ५२ सदस्यीय बनेको हो ।
केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा. स्वर्णिम वाग्ले, डा. चन्दा कार्की, असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत छन् ।
यसअघि सांसद रहेका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सोविता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र विन्दवासिनी कंसाकार गरी ६ जना मात्र केन्द्रीय सदस्य थिए ।
स्वर्णिम वाग्लेलाई उपसभापति बनाइएको छ । सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् ।
संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ निरन्तर छन् । प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियार छन् । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह–कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ । सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् । महामन्त्रीमा मुकुल ढकाल यथावत छन् ।
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रामा निस्केको छ । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नाराका साथ एमाले बैतडीको झुलाघाटबाट पाँचथरको चियो भन्ज्याङसम्म झण्डै १८ सय किलोमिटर लामो यात्रामा निस्केको हो ।
अध्यक्ष केपी शर्मा ओलीसहितका नेतो झुलाघाट नजिकै पर्ने गोठालापानी पुगिसकेका छन् पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बिहीबार बिहान साढे ८ बजे अध्यक्ष केपी ओलीले यात्राको थालनी गर्छन । संगठनलाई थप मजबुत पार्ने उद्देश्यका साथ पार्टीलाई जनतामा थप स्थापित गर्ने, व्यवस्था र संविधानको रक्षाका लागि मध्यपहाडी यात्रामा निस्किएको एमालेले जनाएको छ ।
२० हजार सहभागी हुने दाबी गरिएको यात्राका क्रममा साना ठूला खालका सभा हुनेछन् । पर्यटन र स्थानीय स्रोत साधनकोे प्रबद्र्धनका लागि पनि एमालेले आफ्ना स्थानीय कमिटिलाई निर्देशन दिएको छ । पुस १ गते सकिने यात्राका क्रममा १७ ठाउँमा ठूला सभा गर्ने र १९ ठाउँमा वास बस्ने कार्यक्रम तय भएको छ ।
सचिव अधिकारीका अनुसार पार्टीका शीर्ष नेताहरुले गोठालापानी, सिलगढी, मंगलसेन, दैलेख, सुर्खेत, रिम्ना, वामीटक्सार, कुस्मामा सम्बोधन गर्नेछन् । सन्दरबजार, बट्टार, कुन्तावेंसी, चरिकोट, हर्कपुर, भोजपुर, बसन्तपुर, फिदिम र च्याङ्थापु ठूला सभा आयोजना हुनेछन् ।
दैनिक एक सय किलोमिटर यात्रा गर्ने लक्ष्य राखिएको अभियानका क्रममा ठाउँ ठाउँमा सानाका खालका कोणसभा, भेला बैठक, पार्टी मिटिङसमेत आयोजना गरिनेछ । यात्राका क्रममा एमालेले जनाका समस्या सुुन्ने, विकास निर्माणको अवस्थाबारे जानकारी लिने, विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने योजना बनाएको छ ।
यात्रालाई व्यवस्थित बनाउन बास बस्ने ठाउँकोे पहिल्यै निर्धारण गरिएको छ । कार्यक्रमलाई व्यवस्थित र एकीकृत गर्नका लागि १९ ठाउँमा मात्रै बास बस्ने व्यवस्थाा मिलाइएको छ ।
एमाले नेता कार्यकर्ताहरु बुधबार गोठालापानीमा बास बसे । बिहीबार अमरगढीमा, मंसिर १५ गते सिलगढी, मंसिर १६ गते मंगलसेन, मंसिर १७ गते दैलेख, मंसिर १८ गते सुर्खेत, मंसिर १९ गते रुकुमकोटमा बास गर्ने तालिका छ ।
मंसिर २० मा गलकोट, मंसिर २१ गते पोखरा, मंसिर २२ गते गोरखा, मंसिर २३ गते बगरकोट, मंसिर २४ गते धुलिखेल, मंसिर २५ गते मन्थलीमा बास बस्ने कार्यक्रम तय गरिएको छ ।
मंसिर २६ गते दिक्तेल, मंसिर गते २७ भोजपुर, मंसिर २८ गते वसन्तपुर, मंसिर २९ गते संक्रान्तिबजार, मंसिर ३० गते फिदिम र अन्तिम दिन पुस १ गते चिवाभञ्ज्याङमा बास बस्नेछ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । महोत्तरीमा जारी बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो ।
यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह-कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ ।
काठमाडौं : जनता समाजवादी पार्टी, (जसपा) नेपालले पार्टीको तीन महिने अभियानलाई निरन्तरता दिने भएको छ । उक्त अभियान गत कात्तिकमा सकिए पनि त्यसलाई पुनः निरन्तरता दिने भएको हो ।
औपचारिक रुपमा अभियानको समय नथपिए पनि अनौपचारिक रुपमा अभियानलाई निरन्तरता दिइने पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनले भने, “पार्टी अध्यक्ष उपेन्द्र यादव काठमाडौं बाहिर रहेकाले बैठक तय भएको छैन । उहाँ काठमाडौँ फर्केपछि बैठक बसेर अभियानको म्याद थपिने छ ।”
विधान अधिवेशनबाट नयाँ विधान ल्याइसकेपछि सोहीअनुसार पार्टी पुनःगठन गर्न जसपाले तीन महिने अभियान सञ्चालन गरेको थियो ।
उक्त अभियानबाट प्रदेश र राष्ट्रिय समिति तथा केही जिल्ला र पालिका समिति पुनःगठन गरेको केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख बस्नेतले बताए । उनका अनुसार मधेश प्रदेशबाहेक अन्य छ वटै प्रदेश समिति र राष्ट्रिय समिति पुनःगठन भइसकेका छन् ।
कार्यकारिणी समितिको बैठक बसेर अभियानको म्याद थपेपछि संगठनको गठन तथा पुनःगठनलाई थप तीव्रता दिइने पार्टीले जनाएको छ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका १४ सांसदलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ ।
महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिमा नरहेका सांसदहरूलाई मनोनीत गरेको हो ।
यसअघि सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्यालसहित ६ सांसद मात्रै केन्द्रीय समितिमा थिए । केन्द्रीय समिति बैठक विस्तार गरेपछि ५२ जनाको समिति बनेको छ ।
स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, हरि ढकाल, मनिष झा, सन्तोष परियार, डा तोसिमा कार्की, निशा डाँगी, विनिता कठायत, डा चन्दा कार्की, असिम शाह, लक्ष्मी तिवारी, अशोक चौधरी र शिव नेपालीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।
काठमाडौंः सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा उक्त दिन निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सङ्घीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एकतिहाई अर्थात् २० सांसद् आगामी फागुन २१ गतेदेखि बाहिरिँदै छन् । विसं २०७४ मा राष्ट्रियसभा गठनपछि पहिलोपटक दुई, चार र छवर्षे कार्यकालका लागि गोला प्रथाका माध्यमबाट निर्धारण भएका सबै सांसद्को कार्यकाल सकिँदै छ ।
नेपाली कांग्रेसबाट अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ रायमाझी, नेकपा (एमाले) बाट इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई, (नेकपा माओवादी केन्द्र)बाट बिना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, जनता समाजवादी पार्टी (जसपा) बाट प्रमिला कुमारी, नेकपा (एकीकृत समाजवादी) बाट नन्दा चपाइँ र सिङबहादुर विश्वकर्मा, स्वतन्त्र डा खिमलाल देवकोटा तथा र मनोनित डा. विमला पौड्यालको कार्यकाल सकिन लागेको हो ।
बैठकले जजारकोट केन्द्रबिन्दु भएको भूकम्पबाट प्रभावितलाई अस्थायी आवास निर्माणका लागि सुरक्षा निकायलाई परिचालित गर्ने निर्णय गरेको छ । प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई अस्थायी आवास निर्माणमा खटाउने निर्णय गरेको उनको भनाइ छ ।
जिल्लामा जनशक्ति अभाव भएमा प्रमुख जिल्ला अधिकारीको मागका आधारमा थप जनशक्ति खटाउने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् । बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने, सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णयसमेत गरेको छ ।
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दुई वटा प्रतिवद्धता सार्वजनिक गरेका छन् । आइतबार मात्र आफूले सुकुम्बासी समस्या समाधानका लागि एक साताभित्र ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी गराएका उनले सुकुमबासी समस्या पनि अब समाधान हुने दाबी गरे ।
स्कुलको अगाडि रहेको रुख ढलेर विद्यार्थीको मृत्यु भयो, तर रुख काट्न वनले अनुमति नदिएको भन्दै उनले भने, ‘त्यसलाई बदल्ने भनेर हामीले निर्णय गरेका छौं । त्यो ऐन संशोधनपछि लालपूर्जा वितरण वा वनले रोकेको विकास निर्माणका काम हुन्छ । त्यो खुल्नेवित्तिकै ठूलो क्रान्ति हुन्छ भन्ने मेरो विश्वास छ’ उनले भनेका छन् ।
अर्थात, प्रचण्डको प्रतिवद्धतामा वन ऐन र सुकुम्बासी समस्या तत्काल समाधान गर्ने थपिएको छ । यसअघि ल्याउने भएको निजामति सेवा ऐन अलपत्र छ । प्रहरी समायोजना हुन सकेको छैन । भनेको पूरा नभए पनि प्रचण्ड एक पछि अर्को प्रतिवद्धता जनाउन र बाचा गर्न छोड्दैनन् ।
१० पुस २०७९ मा प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुसमा विश्वासको मत लिएका थिए । त्यसबेला उनले प्रचण्ड मत पाएका थिए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए । कुल २७० जनाले मतदान गरेकोमा २६८ मत प्रचण्डको पक्षमा परेको थियो ।
राष्ट्रपतिको निर्वाचनपछि उनले फेरि विश्वासको मत लिनु पर्यो । त्यसबेला एमालेसहितका दलहरुले प्रचण्डलाई विश्वासको मत दिएका थिएनन् । दुवै पटक उनले आफू काम गर्नका लागि प्रधानमन्त्री भएको बताएका थिए । ६ महिनाभित्र कानुन बनाउने भनी बिभिन्न विषयहरु राखेका थिए । त्यसमध्येको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदीय समितिमा बिचारधीन छ । मनि लाउण्डरिङ सम्बन्धी विधेयक सभामा बिचाराधीन छ । अन्य कानुनहरु पनि रफ्तारमा अगाडि बड्न सकेका छैनन् । यसबीचमा महंगी बढेको छ ।
महंगी नियन्त्रणको विषय पनि सरकारको आलोचनाको विषय बनिरहेको छ । जनतामा नैराश्यता बढ्दो छ । वेरोजगारी समस्या उस्तै छ । विदेशिनेक्रम रोकिएको छैन । यही बेला राजावादीहरुको आन्दोलन सुरु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कतिपयले प्रश्न उठाउन थालेका छन् । तर, सरकारका कामकारबाही जनताको नैराश्यता कम गर्ने भन्दा ज्यादा सरकार टिकाउने र राजवादीहरुको आलोचना गर्नेतर्फ केन्द्रित छ ।
सरकारले यसबीचमा टिकटक एप बन्द गरेको छ । यसका सम्बन्धमा सकारात्मक र नकारात्मक धारणा दुवै छन् । तर, सामाजिक सञ्जाल नियमन गर्ने बाचा गरेको सरकारले रफ्तारमा यस सम्बन्धी नीति बनाउन सकेको छैन । आएको नीति पनि प्रभावकारी कार्यान्वयमा जान सकेको छैन ।
जनकपुरधामः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक शुरु भएको छ । बैठक तीन दिनसम्म चल्नेछ ।
महोत्तरीको जलेश्वरमा सभापति रवि लामिछानेको अध्यक्षतामा शुरु भएको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिकोसमेत सहभागिता रहेको छ ।
बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने पार्टी महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिमा चार जना सदस्य मनोनीत भएका छन् । योसँगै कांग्रेसको लेखा समितिले पूर्णता पाएको छ ।
सभापति शेरबहादुर देउवाले श्यामकुमार घिमिरे संयोजकत्वमा रहेको केन्द्रीय लेखा समितिमा सोमबार चार जना सदस्य मनोनीत गरेका हुन् ।
धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका डा. डेविड बस्याल, मकवानपुरका अनन्त कार्की र सिन्धुलीका अनन्त कार्कीलाई सदस्यमा मनोनीत गरिएको छ ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकमा केन्द्रित भएको छ । नेताहरुका अनुसार रास्वपाको आन्तरिक जीवनमा यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । बिगतमा मिसन–०८४ भनेर गरिएको प्रचार, यसबीचमा ठूला दलहरुले गरेको व्यवहार र जनताको प्रतिक्रियाका आधारमा रास्सवपा नयाँ नीति तय गरेर त्यसअनुसार आगामी चुनावको तयारीमा जुटेको छ ।
रास्वपाले विगतमा काठमाडौंमा बैठकहरु गर्ने गरेको थियो । यसपटक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक जलेश्वरमा सुरु भएको छ । पार्टीका प्रदेश सभापतिहरुको समेत सहभागिता रहने बैठकलाई राणनीतिक महत्वका साथ लिइएको छ । पार्टी स्थापनाको छोटो समयमै मुलुकको चौथो ठूलो शक्तिको रुपमा उदाएको रास्वपाले छोटो समयमै सरकार र प्रतिपक्ष दुवैको अनुभव लिइसक्यो । छोटै समयको अभ्यासबाट ठूला दलहरु नयाँ शक्तिका लागि बाधक भएको निष्कर्षसहित यसका सभापति भूगोल केन्द्रित भएका छन् । यही बेला मधेशमा बैठक राखेर रास्वपाले एउटा सन्देश दिन खोजेको हो ।
रास्वपा सभापति महासचिव मुकुल ढकाल अनुसार बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने छन् । अर्थात्, रास्वपामा राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । यसमार्फत् रास्वपाले राजनीतिक रुपमा उसले प्रष्ट नपारेका कैयन विषय समेट्ने छ ।
मुलुकमा पछिल्लो समय राजावादीहरु र गणतन्त्रवादीहरु एक अर्कोको प्रतिवाद गरिरहेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंमा दशौं हजारको उपस्थितिमा प्रदर्शन भयो । राजावादी देखिने होडमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापामा प्रदर्शन गर्यो । प्रसाईं समूहले राजधानीमा प्रदर्शन गर्दा एमालेले प्रतिवादमा प्रतिवाद गर्यो । ठूला राजनीतिक दलहरु व्यवस्थाको पक्षमा वकालत गरिरहेका छन् भने केही साना दल जनताको वितृष्ण देखाइरहेका छन् । यही बेला राजावादीहरु सलबलाउँदा राजनीतिको केन्द्रमा व्यवस्था र अवस्थाको विषय चर्चामा छ । ठूला दलहरु शान्ति प्रक्रियाको विषयमा छलफल चलाइरहेका छन् । व्यवस्था विरोधीको प्रतिवादमा लागि अभिव्यक्ति दिइरहेका छन् ।
यस्तै छलफल र बहसमा रुमल्लिएर अर्को चुनावमा अपेक्षित नतिजा प्राप्त गर्न नसक्ने निष्कर्षसहित रास्वपा सभापति लामिछानेले फरक धार लिएका छन् । उपप्रधान तथा गृहमन्त्रीसहित सरकारमा गएर पनि छोटो समयमै बाहिरिएका उनी फेरि सरकारमा जाने तयारीमा रहेको यदाकदा आउँछन् । तर, वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष चल्ने बुझाइका साथ उनी सरकार बाहिरै रहेर जनमत बटुल्ने ध्याउन्नमाा लागेका हुन् । यसका लागि रास्वपा नेतृत्वको एउटा टोली जनताको रहेको रुपमा जाजरकोट र रुकुम पश्चिममा क्रियाशील छ । सांसदहरुले एक चरण घरदैलो अभियान सकाए । पराजित उम्मेदलवारहरुले पनि घरदैलो गरे । अब पार्टीका कतिपय विषय र व्यवहारमा स्पष्टता लिँदै प्रतिपक्षमै रहेर जनमत बटुल्ने धार रास्वपा सभापति लामिछानेले लिन खोजेका छन् ।
महामन्त्री मुकुल ढकालका अनुसार ‘पार्टी जीवनको महत्वपूर्ण बैठक भएकाले मधेशबाटै सन्देश प्रवाह गर्ने लक्ष्य’ रास्वपाको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies