
काठमाडौं : नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । बुधबार दिउँसो निर्वाचन आयोगले पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो ।
आयोगको तर्फबाट सचिव माहादेव पन्थले पार्टीका संरक्षक रेशमलाल चौधरी र पार्टीका अध्यक्ष कविर सोबलाई प्रमाणपत्र हस्तान्तरण गरे । यसअघि चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । गत निर्वाचनमा सो पार्टीले ४ सिट ल्याएको थियो ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको किचलोका कारण चौधरीले नयाँ पार्टी गठन गरेका हुन् । पार्टीको वरिष्ठ उपाध्यक्षमा यसअघि जनमत पार्टीका उपाध्यक्ष समेत रहेका अब्दुल खान छन् । दल दर्ताको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सोबले जनताको पक्षमा देश बनाउने योजनासहित आफूहरुले नयाँ राजनीतिक दल दर्ता गरेको बताए ।