काठमाडौं । संघीय राजधानी काठमाडौंसहित देशभर प्रिमनसुन वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रहनाका साथै देशका विभिन्न स्थानमा वर्षा भएको हो ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भू–भागबाहेक देशभर वर्षा भएको छ । प्रिमनसुन सुरु भएपछि आज पहिलोपटक काठमाडौँसहित देशभर वर्षा भएको हो । ‘मार्च १ तारिखदेखि नै प्रिमनसुन सुरु भइसकेकाले यो प्रिमनसुन वर्षा हो । आज प्रिमनसुन गतिविधि पनि देखियो, चट्याङसहित वर्षा भएको छ,’ उनले भने ।
प्रिमनसुनमा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने अपराह्नतिर बदली हुनाका साथै मेघगर्जन÷चट्याङसहित वर्षा हुने मौसमविद् पुडासैनीको भनाइ छ । मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन महिना मानिन्छ । नेपालमा सामान्यतयाः मनसुन भित्रिने समय जुन १० तारिख भए पनि कुनै वर्ष केही दिन ढिलो वा चाँडो मनसुन भित्रिने गरेको मौसमविद्को भनाइ छ । अघिल्लो वर्ष जुन १४ तारिखमा नेपालमा मनसुन भित्रिएको थियो ।
महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भएको छ । आज देशभरका धेरै स्टेसनहरुमा वर्षाको रेकर्ड भएको मौसमविद् पुडासैनीले बताए।
नेपालमा पश्चिमी वायुको प्रभाव पनि कायमै छ । भोलि सोमबारदेखि मौसममा क्रमिक सुधार हुनेछ । देशका पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
गलकोट (बागलुङ) । बीस वर्ष वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती थालेका छन् । गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दै गएपछि बाँझिन थालेको पाँच रोपनी बारीमा सुन्तलाखेती थालेका कार्की अहिले खेतीयोग्य जग्गाको झाडी हटाउने अभियानमा छन्।
लामो समय वैदेशिक रोजगारीमा गएर गाउँ फर्केर आउँदा युवा पलायनका कारण अधिकांश खेतीयोग्य जग्गामा झाडी पालाएको देखेपछि झाडी फाडेर कार्कीले सुन्तलाखेती विस्तार गर्न थालेको बताए। पहिलो चरणमा ८० सुन्तलाका र ४० कागतीका बिरुवा रोपेको बताउँदै उनले सुन्तलाखेतीलाई विस्तार गरी १५ रोपनीमा पुर्याउने लक्ष्य रहेको सुनाए।
कार्कीको नेतृत्वमा उनको जग्गा मात्रै होइन सायकोटका अन्य स्थानीयवासीको जग्गामा रहेका झाडी तथा रुख हटाउने कार्यले तीव्रता पाएको छ । अहिले सायकोट क्षेत्रको पाँच सय रोपनी भन्दाबढी खेतीयोग्य जग्गामा रहेका झाडी हटाउने काम भइरहेको छ।
‘केहीवर्ष भारतमा बिताएँ । १५ वर्ष साउदीमा रोजगारी गरेँ । अहिले गाउँ फर्केर आउँदा उराठ लाग्दो अवस्था रहेछ, गाउँमा रुख बिरुवाले खेतीयोग्य जग्गा ढपक्कै ढाकेको छ । खेती गर्ने कोही छैनन्’ कार्कीले भने, ‘गत वर्ष सुन्तला र कागती बारीमा लगाएँ । वरपर रहेका अनावश्यक रुख र झाडीले ती बिरुवा बढ्न पाएनन् । अहिले वडा कार्यालयको प्राविधिक सहयोगमा रुख फँडानी भइरहेको छ । अधिकांश झाडीले भरिएको जग्गामा सुन्तलाखेती गर्न थालिएको छ ।’
कार्कीले आफ्नो १५ रोपनी खेत तथा बारीमा सुन्तला र कागतीखेती विस्तार गर्नका लागि सबै झाडी हटाएर खाली गरेको जानकारी दिए। सुन्तला गाउँका रुपमा चिनिएको सिगानभित्रको सायकोट गाउँमा यसअघि व्यावसायिक सुन्तलाखेती हुन सकेको थिएन । सुन्तलाबाटै वार्षिक तीन करोड रुपैयाँ भित्र्याउने सिगानको बेसी, ढोकानफाँट, बाँस्बोट र कोरीखोलालगायत गाउँमा व्यावसायिक सुन्तलाखेती उत्पादन हुँदै आएका छन् ।
‘सिगाना सुन्तला गाउँका रुपमा चिनिए पनि सायकोटमा व्यावसायिक खेती भएको छैन । यहाँ गत वर्षदेखि सुन्तला लगाउन थालिएको हो । सुन्तलाखेती फस्टाउन बाझो जग्गाको झाडी फँडानी गर्ने, कुकाठ हटाउने काम भएको छ । यसले खेती विस्तारमा टेवा पुग्नेछ’, स्थानीय सूर्य कार्कीले भने, ‘गाउँ–गाउँमा ग्यासको प्रयोग बढेपछि दाउराको प्रयोग कम हुँदा वन जङ्गल बढेर घरसम्मै आउन थालेपछि रुख र झाडी फँडानी गरेर सुन्तला लगाउन अभियान थालिएको हो ।’
बागलुङ–८ सिगानास्थित वडा कार्यालयले रुख फँडानीमा सघाएर किसानलाई सुन्तलाखेती विस्तार गर्ने योजनामा चालु आर्थिक वर्षमा रु एक लाख ५० हजार बजेट विनियोजन गरेको छ । उक्त रकमले एक हजार रोपनी जग्गाका रुख बिरुवा हटाउन सक्ने भन्दै हालसम्म पाँच रोपनी खेतीयोग्य जग्गाका रुख बिरुवा हटाइसकिएको वडा नं ८ का वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिए। उनले कटान गरेका रुख व्यवस्थापन भने स्वम् जग्गाधनीले गर्दै आएकाले थोरै रकमले धेरै काम गर्न सकिएको बताए।
खेतीयोग्य जग्गामा ढाकिएको उत्तिस, चिलाउने, मल्लात्तो र बाँसघारीलगायत झाडी तथा साना रुख हटाएर सुन्तलाखेती गर्ने अभियान अहिले बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले समेत चलाएको छ ।
खेतीयोग्य जग्गा बाँझिदै गएपछि उम्रिएका रुख बिरुवाले फलफुल तथा नगदेबाली गर्न कठिनाई भएपछि अहिले खेतबारीमा रहेका रुख हटाउने अभियानले तीव्रता पाएको स्थानीय बताउँछन् । रासस
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको यही फागुन २५ गते शुक्रबार हुने महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र बनाएको छ।
पशुपति क्षेत्र विकास कोष परिसर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिए।
उनका अनुसार पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरीको मूल शिविर रहनेछ भने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमाण्ड पोष्ट पशुपति क्षेत्र नासल चोकमा रहनेछ। मूल शिविरसँगै कमाण्डपोष्टअन्तर्गत सब कमण्ड पोष्ट खडा गरी समग्र पशुपति क्षेत्रको महाशिवरात्रि पर्वमेला त्रुटिरहित सुरक्षा प्रणाली अपनाइनेछ।
यसैगरी खोजखबर कक्षको व्यवस्थापनसहित मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सिसी क्यामेराको जडान गर्ने, दर्शनमार्गमा ‘ब्यारिकेड’ जडानलगायत कार्यमा र मन्दिरभित्र भीड व्यवस्थापनका लागि नेपाली सेनाको विशेष सहयोग हुने कोषका सदस्य सचिव खत्रीले बताए।
उनले भने, ‘मन्दिर तथा मुख्य क्षेत्रभित्रमा मन्दिरका भण्डारीलगायत सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मी परिचालन हुने तथा मन्दिर परिसरमा स्वयंसेवकका लागि नेपाल स्काउटलगायत चार हजार जना स्वयंसेवक खटिने छन्।’
पशुपतिनाथ मन्दिर नजिकै मुख्य(कोर) क्षेत्रमा डाक्टर, नर्स, औषधि र शय्यासहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिव ५० स्वास्थ्य शिविर रहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आपत्तकालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन पनि उपलब्ध हुने जनाइएको छ।
यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक शङकराचार्य मठ पछाडि, बज्रघर दक्षिणतर्फ, राममन्दिर नजिक वागमती पारी गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ।
यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने मुख्य क्षेत्रभित्र, जयवागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगङ्गामा समेत रहनेछ। पशुपतिनाथको दर्शनका लागि यसपटक नौ वटा मार्गको व्यवस्था गरिएको सदस्य सचिव खत्रीले बताए । उनका अनुसार उत्तरपट्टी तीन, पूर्वपट्टी दुई, दक्षिणपट्टी दुई तथा पश्चिमपट्टी दुई मार्गको व्यवस्था गरिएको छ।
यसैगरी पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगङ्गा करिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहाको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ। विमानस्थल, गौशाला, चाबहिलको रिङरोडमा यात्रुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकताअनुसार डाइभर्सनकोसमेत व्यवस्था मिलाइने जनाइएको छ । सडक छेउमा फुटपाथका कुनै पनि पसल राख्न नदिइने कोषले जनाएको छ।
कोषले मन्दिर परिसरमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ गाँजा, भाङजस्ता पदार्थको बिक्रीवितरण एवं ओसारपसार र भण्डारण तथा सेवन नगर्न आग्रह गरेको छ। कोषले यस पटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अभिलाषा राखेको छ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुगेका भक्तजनलाई व्यवस्थापनमा कुनै कमी नराखिको जनाएको छ। पशुपति क्षेत्र विकास कोषले यस वर्ष कसैलाई पनि विषेश पासको व्यवस्था नगरिएको जनाएको छ।
बत्तिसपुतली, मैतिदेवी, पुरानो बानेश्वरतर्फबाट आउने दर्शनार्थीका लागि गौशाला–पिङ्गलास्थान गेट हुँदै वनकाली हुँदै दक्षिण ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ। यसैगरी भक्तपुर, ललितपुर, कोटेश्वर, तिनकुने, विमानस्थल, तिलगङ्गा क्षेत्रबाट दर्शनार्थीका लागि मन्दिरको पूर्वी ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ।
साथै जोरपाटी, कपन, महाङ्काल, चाबहिल, सिफलतर्फबाट आउने दर्शनार्थीका लागि मन्दिरको उत्तर ढोका तथा रातोपुल, कोलोपुल, चाबहिल, सिफलबाट आउने दर्शनार्थीका लागि मन्दिरको पश्चिमी बाहिरी सानो ढोकाबाट प्रवेश गराइने व्यवस्था मिलाइएको छ। दर्शनार्थीलाई सहजरुपमा र छिटो भगवानको दर्शन गराउन आवश्यक सम्पूर्ण कामको व्यवस्था मिलाइएको सदस्य सचिव खत्रीले बताए । रासस
बैतडी । पाटन नगरपालिका–३ गुजरमा रहेको प्रसिद्ध वनारसी धाममा हरेक वर्ष हुने जात्रालाई जातीय विभेद अन्त्य गर्ने जात्राका रुपमा लिइन्छ। हरेक वर्ष माघ शुक्ल दशमीका दिन लाग्ने यो जात्रामा पुजारी दलित समुदायबाट हुने परम्परा छ। साथै जात्रा भर्ने गैरदलितले दलित पुजारीका हातबाट टीका र प्रसाद ग्रहण गर्छन्।
धार्मिक सहिष्णुताको नमूना बनेको यो मन्दिरमा दलितले पूजा गरेपछि मात्रै देउता खुसी हुन्छन् भन्ने विश्वास छ। जात्रा हेर्न आउने गैरदलितले पनि टीका, प्रसाद ग्रहण गर्ने मन्दिरका मूल पुजारी झेरे लुहारले बताए।
यस मन्दिरमा सबै समुदायका दर्शनार्थी जाने र दलित समुदायका पुजारीबाट प्रसाद ग्रहण गर्ने प्रचलन रहिआएको वनारसी धाम विश्वनाथ सेवा समाजका धार्मिक प्रवक्ता गणेशप्रसाद पन्तले जानकारी दिए। उनले भने, ‘वनारसी जात्रा जातीय विभेद अन्त्य गर्नेका रूपमा लिने गरेका छौँ, यहाँ दलित र गैरदलितबीच कुनै पनि विभेद हुँदैन।’
वनारसी धामको जात्रा जातीय विभेद अन्त्यका लागि सन्देश दिने जात्रा भएको दलित अधिकारकर्मी रमेश कोलीले बताए। दलित पुजारी हुने मन्दिरमा ब्राह्मण र अन्य जाति अनिवार्य सहभागी हुने परम्परा रहेको उनले सुनाए। उनले भने, ‘गैरदलितले निर्धक्कसँग पूजा सामग्री चढाएर प्रसाद लिन्छन्, लामो समयदेखि दलितमाथि विभेद हुने गरेको थियो तर यो जात्रा विभेद अन्त्यको सन्देशका रूपमा लिन सकिन्छ।’
वनारसी धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ। जात्रामा सहभागी हुन हजारौँ दर्शनार्थी पुग्छन्। जात्रामा छिमेकी जिल्लाबाट पनि भक्तजन आउने चलन छ। माघमा ठूलो पूजा लागे पनि अन्य बेलामा पनि मन्दिरमा पूजा गर्ने र बलि दिनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ। परापूर्वकालमा खोपरे नामको राक्षसलाई वनारसी देवताले मारेको किंवदन्तीअनुसार वनारसीलाई शक्तिशाली देवताको रूपमा लिने गरिएको छ।
पछिल्लो समय वनारसीधामलाई विश्वनाथधामका रूपमा विकास गर्ने काम पनि सुरु भएको छ। वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका रूपमा रहेको धार्मिक प्रवक्ता पन्तको भनाइ छ। मानसखण्ड पुराणमा सरयु नदीको किनारमा विश्वनाथ ज्योतिर्लिङ्ग अवस्थित रहेको उल्लेख भएको र पौराणिक सरयु अर्थात् सुर्नया नदीको किनारमा रहेको वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग भएको उनले सुनाए।
त्यसैगरी तत्कालीन राजा महेन्द्रको पालामा मन्दिरका लागि पूजा खर्च दिने गरेको र उनले यहाँ आएका बेलामा तीन दिनसम्म सोही ठाउँमा लघुरुद्राभसषेक र नवचण्डी पाठ प्रायण गरेको पनि पन्तले बताए।रासस
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ।
कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो। अहिलेसम्ममा वडा नं १, २ र ३ का अधिकांश र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त संख्या ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको पाइएको विभागले जनाएको छ।
वडा नं १४ कलंकीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको पाइएको थियो। यसरी भेटाएका तीन प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टिटी खोप नौ थान र तीन थान इन्सुलिन जफत गरिएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिए।
अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले त्यस्ता औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको कामपाको उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले बताए। ‘औषधि पसलले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापरबाही हो। जनस्वास्थ्यका दृष्टिले यो चरम गल्ती हो’, उनले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’
औषधि पसल दर्ता गर्दा एउटाको नाममा प्रमाणपत्र छ। पसलमा अर्कै व्यक्ति बसेको पनि भेटिएको डंगोलले जानकारी दिइन्। उनका अनुसार केही प्रतिनिधि पसलबाहेक धेरैमा समस्या देखिएको छ।
कामपाले गत मंसिर आफ्नो क्षेत्रभित्र सञ्चालित औषधि पसललाई प्रचलित व्यवस्थाअनुसार कानुनी दायरामा आउनका लागि सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । सूचनाको व्यवस्ता गरेको भन्दै कामपाले अनुगमन सुरु गरेको हो ।
उक्त अवस्थामा सुधार नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को दफा ५३ अनुसार कारबाही गरिने जनाइएको छ । औषधि पसल सञ्चालन हुनका लागि पहलो कामपामा अनुमति लिनुपर्ने हुन्छ । फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्रीवितरण गर्नुपाउने कानुनी मान्यता छ । हाल कामपामा दुई हजार छ सय औषधि पसल सञ्चालनमा रहेका छन् ।
औषधि पसलको यो प्रवृत्तिमा तत्काल सुधारको खाँचो रहेको बताउँदै कामपाले गत असोजदेखि नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा समस्या देखिएका पसललाई कारबाहीको दायरामा ल्याइने कामपाको भनाइ छ ।
पर्वत । विभिन्न जिल्लामा शृंखलावद्धरुपमा चोरी गर्ने एक युवालाई यहाँबाट प्रहरीले पक्राउ गरेको छ। रोल्पाको रोल्पा नगरपालिका–१ का ३३ वर्षीय भरत परियारलाई पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीबाट बिहीबार राति २ बजे प्रहरीले पक्राउ गरेको हो।
स्थानीय शर्मिला पौडेलले सञ्चालन गर्दै आएको आशिक एन्ड आशिका किराना पसलबाट १० लाख १७ हजार नगद, १२ हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड, चोरी गर्दै गर्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी नायब उपरीक्षक खुमलाल भुसालको टोलीले पक्राउ गरेको हो ।
उनका साथबाट प्रहरीले ३५ तोला ७२ लाल सुन, ११ लाख १५ हजार चार सय ८५ नगद, नेपाल टेलिकम र एनसेलका ४२ थान रिचार्ज कार्ड बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी चोरीमा संलग्न व्यक्ति र बरामद गरिएको सामान सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालका अनुसार चोरी गर्ने व्यक्तिबाट दुई थान मोबाइल, नेपालको नक्सा एक थान, नेपालको सडकको नक्सा एक थान, हसिया एक थान, निजको नागरिकता, वायरलेस सिसी टिभी क्यामेरा एक थान, हार्डडिक्स एक थान र एलइडी मनिटर एक थान बरामद गरिएको छ ।
त्यसैगरी चोरी गर्न प्रयोग गरिएको ह्याम्बर, स्क्रुड्राइभर, जीआई पाइप, टर्च विभिन्न चाबीका झुप्पाहरु, चोरी गर्दा प्रयोग गरिने बालक्याप, पञ्जा, पावरबैङ्क, डिजिटल तौल मेसिन बरामद गरिएको छ।
अभियुक्त परियार यसअघि २०६९ सालमा प्रहरी वृत्त नयाँ बानेश्वरमा चोरी मुद्दामा चार वर्ष कैद भुक्तान गरी २०७३ सालमा छुटेको पाइएको छ। सुरुमा केन्द्रीय कारागार काठमाडौँ र पछि झुम्का कारागार सुनसरीमा बसेको तथा त्यहाँ बस्दा आपराधिक व्यक्तिसँग सम्पर्क बढाई जेलबाट छुटिसकेपछि गिरोहको रुपमा चोरी गर्न थालेको बयान परियारले प्रहरीलाई दिएको छ।
परियारलाई आज नै जिल्ला अदालतमा चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी १० दिनको म्याद लिएर अनुसन्धान कार्य सुरु गरिएको प्रहरी नायब उपरीक्षक भुसालले जानकारी दिए । रासस
काठमाडौं। काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरीमाथि आक्रमण भएको र आफूहरुले त्यसको प्रतिरक्षा मात्रै गरेको दाबी गरेका छन् । उनले त्यसक्रममा नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको समेत बताए ।
बुधबार सुनधारा क्षेत्रमा सडक व्यापारी र नगर प्रहरीबीच झडप भएको थियो । नगर प्रमुख पाण्डेले भने त्यस क्षेत्रमा सडक व्यापार नगर्न आफूहरुले गएको १ महिना अघिदेखि माइकिङ् गरेर सचेत गराइरहेको बताए। ‘बुधबार सडकमा व्यापारी आउन थालेको सूचना पाएर मध्य क्षेत्रका कमाण्डर लामिछानेको कमाण्डमा प्रहरीहरु सुन्धारा जानुभएको थियो,’ उनले भने, ‘उहाँ पुग्ने वित्तिकै आक्रमण भयो । भीडकोअगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुंगा प्रहार भयो । यसबाट बच्न नगर प्रहरीले प्रतिरक्षा गरेको हो । कसैमाथि दमन गर्ने वा धरपकड गर्ने काम हामीबाट भएको छैन । त्यो हाम्रो काम पनि होइन ।’
पाण्डेले सडक व्यापारलाई महानगरपालिकाले पूर्ण निषेध गरेको र महानगरपालिकाको नीति कार्यान्वयन गर्ने दायित्व महानगर प्रहरी बलको भएको बताए ।
काठमाडौं। काठमाडौंका नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिने क्युआर कोड राखिएको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक घुम्न आउने आगन्तुकहरुले सजिलै जानकारी पाउन सकुन भनेर वडाले प्रविधिको प्रयोग थालेको हो, वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए । ‘अहिले घुम्न आउने जसले पनि स्मार्ट फोन बोकेको हुन्छ,’ उनले भने, ‘क्युआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय जान्न कसैलाई सोध्नु नपरोस् भन्ने हाम्रो चाहना हो ।’
वडा सदस्य रसला तण्डुकारका अनुसार वडाभित्र ४ वटा प्राचीन ढुंगेधारा छन् । यस्तै नागपोखरी, हिटी पोखरी, चतुर्भुज नारायण, गोमा गणेश, नन्दीकेशर बगैँचा, हरिहर नारायण (आधा विष्णु आधा शिव), साइ केन्द्र, सोराहिटी (तीनधारा), जमल विहार, लाल गणेश जस्ता प्राचीन सांस्कृतिक सम्पदा छन् ।
यी सम्पदाको प्रवर्धनका लागि क्युआर कोडमार्फत काम थालिएको हो । वडा सचिव सर्वज्ञराज पौडेल भन्छन, ‘ठमेल, दरबारमार्ग घुम्न आउने पर्यटकहरु वडा नं. १ का विभिन्न मन्दिर, ढुंगेधारा, महाविहारजस्ता सम्पदा क्षेत्रमा आउनुहुन्छ । उहाँहरुलाई स्मारकका बारेमा जान्न सजिलो होस् भनेर प्रयोगका रुपमा हामीले अहिले २ वटा मन्दिर र एउटा महाविहारको चिनारी क्युआर कोडमा राखेका हौँ । यसको पृष्ठपोषण हेरेर थप कामको योजना बनाउने छौँ ।’
वडाले द सारङ्गको प्राविधिक सहयोगमा क्यु आर कोड राखेको हो । क्युआर कोडमा नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चाइनीज, कोरियन, स्पेनिस, जापानीज, अरेविक गरी १० भाषामा अडियो सुन्न सकिन्छ।
दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्न थालेको छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्दै व्यवहारिक सीप प्रदान गरेको हो ।
गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमबमोजिम विद्यालयमा लहरे बालीको नर्सरी स्थापना गरी त्यहाँबाट उत्पादित बेर्ना बिक्री थालिएको विद्यालयका प्रधानाध्यापक कुवेर ढकालले जानकारी दिए। उनका अनुसार ८० विद्यार्थीले लहरे बालीको नर्सरी व्यवस्थापनमा प्राविधिक ज्ञान हासिल गर्नाका साथै बेर्ना उत्पादन भएर बिक्री सुरु गरिएको छ ।
पहिलो चरणका चार सय बेर्ना दोस्रो आँबुखैरेनी महोत्सवमा लगेर बिक्री गरिएको प्रधानाध्यापक ढकालले बताए। उनले भने, ‘पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत अहिलेको मौसमअनुसार लहरे बालीलाई अगाडि बढाउनुपर्छ भन्ने हेतुले विद्यार्थी, शिक्षक र अभिभावकको सहभागितामा बेर्ना उत्पादन गरेका थियौं । चार सय बेर्ना उत्पादन भएकामा अधिकांश बेर्ना बिक्री भइसकेको छ ।’
प्रधानाध्यापक ढकालका अनुसार लहरे बालीको बेर्ना बिक्रीका लागि आँबुखैरेनी महोत्सव फलदायी भएको छ । गाउँपालिकाले बेर्ना बजारीकरणका लागि सहजीकरण गरिदिएको थियो । उक्त विद्यालयका विद्यार्थीले गत वैशाखमा अदुवा र हलेदोखेतीको सुरुआत गरेका थिए । दुई रोपनी जमिनमा अदुवा र हलेदो रोपिएको थियो । उनले भने, ‘यो कार्यक्रमले अध्ययनका साथै व्यवहारिक सीप सिकाउन मद्दत मिलेको छ । यसले विद्यार्थीलाई धेरै कुराको ज्ञान भएको छ ।’
शिक्षासँग सीप अभियानलाई अगाडि बढाउन गाउँपालिकाले चालु आर्थिक वर्षमा विभिन्न विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उनका अनुसार मित्रता माध्यमिक विद्यालयमा चित्रकला, सयपत्री फूलखेती, कन्यादेवी माध्यमिक विद्यालयमा कुखुरापालनलगायत कार्यक्रम सुरु गरिएको छ ।
उनले भने, ‘विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्छ । सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम सुरु गरेका हौँ ।’ गाउँपालिकाले विद्यालयको माग र आवश्यकताका आधारमा अन्य विद्यालयमा पनि यो कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । रासस
सिरहा। राजनीतिमा सक्रिय अधिकांश मानिसहरू त कुनै इलमबिनै रहरलाग्दो जीवन बाँचिरहेका पनि देखिन्छन् । एकपटक सार्वजनिक लाभको पद र जिम्मेवारी बहन गरिसकेपछि बाँकी के चाहियो र ? भन्नेहरू पनि छन् । तर यो धारणा सधैँ र सबैका लागि लागू नहुनसक्छ । त्यसैको उदाहरण हुन सिरहाको धनगढीमाई नगरपालिकाका पूर्वप्रमुख हरिनारायण चौधरी ।
विसं २०७४ को स्थानीय निर्वाचनबाट नगरप्रमुख भएका चौधरीले आफ्नो कार्यकाल सकिएसँगै राजनीतिसँगै कृषिलाई मुख्य पेसा बनाएका छन्। ‘सार्वजनिक पदमा हुँदा वा नहुँदा पनि मैले कृषिकर्म छोडिनँ । मलाई माटोमा नङ्ग्रा खियाउन, भकारो सोर्न, डोको बोक्न कहिल्यै अप्ठ्यारो लागेन । मेरो यो कर्म पछिल्लो एक दशकदेखि चलिरहेको छ’, चौधरीले भने, ‘नगरप्रमुखको जिम्मेवारी सकिएपछि त झनै सक्रियताका साथ लागेको छु। काम त गरिखानुपर्यो नि सबैले ।’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेका चौधरीले आफ्नो आम्दानीको स्रोत नै कृषि पेसा बताउँछन्। उनले डेढ बिघामा तोरी, दुई बिघामा हिउँदे मकै र अढाई बिघामा घाँसखेती गरिरहेका छन्। एउटै याममा १५ क्विन्टल तोरी, ९० क्विन्टल हिउँदे मकै र घाँस तथा बीउ बेचेर करिब १० लाखसम्म रुपैयाँसम्म आम्दानी हुने गरेको उनले सुनाए।
‘राजनीतिमा नाम छ तर आर्थिकरूपमा जीवन धान्न धौधौ छ । राजनीति विशुद्ध समाजसेवा हो । त्यसैले परिवारको जोहो टार्न र जीवनयापन गर्न केही त गर्नैपर्छ’, चौधरी भन्छन्, ‘त्यसैकारण मैले व्यावसायिक कृषि सुरु गरेको हुँ । अहिले राजनीतिमा मात्रै हुँदाजस्तो आर्थिक अभाव झेल्नुपरेको छैन ।’
उनी सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिको जीवनशैली पारदर्शी हुनुपर्ने भन्दै त्यसको उदाहरण आफैँबाट सुरु गर्नुपर्ने मान्यतासहित उद्यममा जोडिएको बताए। ‘सार्वजनिक ओहोदामा रहेका व्यक्तिबारे गलत धारणा छ । काम नगरेरै बाँचिरहेका छन् भन्ने आरोप बारम्बार सुन्नुपरिरहेको छ । त्यो स्वाभाविक पनि हो । समाजलाई डोहोर्याउने जिम्मेवारीमा रहेका नेतृत्वकर्मीले बोलेरभन्दा पनि व्यवहारबाटै जवाफ दिन आवश्यक छ । अहिले कृषिकर्ममा जोडिएपछि मैले परिवारको जीवनयापन सहजरूपमा गर्न सकेको छु । साथै राजनीतिकर्मीका रूपमा लाग्ने गरेको आरोपबाट पनि मुक्ति मिलेको आभास हुने गरेको छ’, उनले भने।
राजनीतिकर्मी वा सार्वजनिक ओहदामा बसेका व्यक्तिलाई उद्यमबाट आर्जेको पैसाभन्दा त्यसबाट कमाएको इमान र प्रतिष्ठाले अझ बढी खुसी मिल्ने गरेको बताउने चौधरीले अहिले तीन छोराछोरीको पढाइ, घरपरिवारको लालनपालन र आवश्यकतामा ढुक्कले दुई पैसा खर्च गर्ने साहस पनि बढेको बताए।
चौधरीको व्यावसायिक कृषिकर्ममा बढेको लगावले परिवारको आम्दानीमात्रै बढेको छैन त्यसबाट आर्जेको सामाजिक प्रतिष्ठाले अझ बढी खुसी दिने गरेको छ। त्यो खुसीले उनकी श्रीमती बचकुनदेवी चौधरीको खुसीको दायरा पनि फराकिलो बनाएको छ । ‘गाउँघरमा राजनीतिकर्मी केही गर्दैनन् भन्ने आरोप सुन्छु । पहिले मेरो श्रीमान्को पनि कुरा काटेको सुन्थेँ । मन अमिलो हुन्थ्यो’, बचकुनदेवीले भने, ‘श्रीमान्ले राजनीतिलाई समाजसेवा र कृषिकर्मलाई आम्दानीको स्रोतका रूपमा अपनाएपछि अहिले भने राम्रो प्रतिक्रिया सुन्छु । त्यसो सुन्दा राजनीतिक नाम, पद, पैसाभन्दा उद्यमबाट आर्जेको प्रतिष्ठा ठूलो हुँदोरहेछ जस्तो लाग्यो । र यसले निकै खुसी हुन्छ ।’
चौधरीले कृषिकर्म गरे पनि पार्टी काम छोडेका छैनन् । त्यसरी राजनीतकर्ममा व्यस्त भएका बेला खेतीपाती सम्हाल्ने सारथी पनि श्रीमती बचकुनदेवी नै छन् ।
उत्पादनसँग जोडिऔँ
अधिकांश जनता कृषि पेसामा भए पनि राज्यको लगानी र सामाजिकरूपमा हेयको दृष्टिले हेर्दा उचित लाभ लिन नसकिएको चौधरीको बुझाइ छ । उनले कृषिबाटै नेपाललाई समृद्ध बनाउने सोचसहित अगाडि बढ्नुपर्ने जरुरी रहेको बताए। सोही भावनाअनुसर आफू नगरप्रमुख भएका बेला धनगढीमाई नगरपालिकाका किसानलाई प्रोत्साहन, आलु पकेट क्षेत्र घोषणा र सहयोगलगायतका काम गरेको उनले सुनाए।
‘हामीसँग उर्बर माटो छ । अनुकूल वातावरण छ’, उनले भने, ‘सिँचाइ सुविधा, समयमै मलखाद, कृषि पूर्वाधारमा लगानी, उत्पादनको बजारीकरण गर्ने राज्यको नीति र आफ्नो माटोलाई माया गर्ने हुने हो भने यहाँ अन्न मात्र होइन सुनै फलाउन सकिन्छ भन्ने आत्मविश्वास नागरिकमा जगाउन जरुरी छ ।’
जनतालाई परिवर्तनमा ल्याउने तथा आत्मनिर्भर र राष्ट्रिय स्वाभिमान निर्माण गर्ने माओवादीका नेता कार्यकर्ताले त उत्पादनमा जोडिएर उदाहरण पेस गर्नुपर्ने बेला आएको चौधरीको भनाइ छ । माओवादीले विसं २०६९ माघमा हेटौँडामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका नेता, कार्यकर्ता उत्पादनसँग जोडिने नीति पास गरे पनि त्यसअनुसार हुन नसकेकामा चौधरीको चित्त दुखाइ छ ।
‘जनयुद्धमा हुँदाका सपना त छँदैछन् । हाम्रो पार्टीको हेटौँडा महाधिवेशनले उत्पादन ब्रिगेडको नीति अख्तियार गर्यो तर नेताहरूले सोअनुसारको व्यवहार अंगिकार गर्न सकिएन । हरेक नागरिक र पार्टी सदस्यलाई श्रम र उत्पादनसँग नजोडी विकास र समृद्धिको सपना पूरा हुन सक्दैन । त्यसैले अधिकांश युवाहरू विदेशिइरहेको बेला नेपालका पार्टीहरूले नै श्रम र उत्पादनसँग जोड्ने अभियान सुरु गर्नुपर्छ’, उनले भने।
राजनीति पेसा होइन, सेवा हो
राजनीतिलाई सेवाभन्दा पनि पेसा बनाउने प्रवृत्ति बढ्दै गएकामा पनि चौधरीको चिन्ता छ । देशमा बेतिथि र कुशासनको जड पनि परनिर्भर संस्कृतिको विकास हो भन्ने चौधरी आफ्ना दैनिक आवश्यकता चलाउनसमेत आम्दानीको स्रोत नभएका व्यक्तिहरूबाट राजनीति स्वच्छ हुन्छ भन्ने कुरा नागरिकले पत्याउन छाडिसकेको उनको धारणा छ ।
‘राजनीतिमा उद्योग, व्यापार, जागिर वा आयआर्जनको अरु केही कुरा छैन तर पनि अधिकांशले ऐयासी जीवन बिताइरहेका छन् । त्यो प्रवृत्तिबाट देशको हित हुन सक्दैन र नागरिकलाई आशावादी पनि बनाउन सकिँदैन’, चौधरी भन्छन्, ‘समृद्धि, सुशासन, निराशाको अन्त्य र आम युवाहरूमा आशाको सन्देश फैलाउन पनि हरेक पार्टी र पार्टीका नेता, कार्यकर्ता उद्यमशील बन्न सक्नुपर्छ । म आफैँले त्यो बाटो रोजिसकेको छु । अरुलाई पनि आह्वान गर्छु ।’ रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies