भोजपुर : भोजपुरमा लोपोन्मुख वन्यजन्तु रेडपान्डा (हाब्रे) संरक्षणका लागि चारवटा सामुदायिक वनमा ४८ वटा क्यामरा जडान गरिएको छ । रेडपान्डा नेटवर्कका अनुसार क्यामेरामार्फत रेडपान्डाको अवस्थाबारे जानकारी लिने काम भइरहेको छ ।
नयाँ खर्क, भुरुखेक, धप्परे एकराते र मैयुङ सामदायिक वनमा क्यामरा जडान गरिएको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । यहाँको धप्परे एकराते सामुदायिक वनमा रेडपान्डा फेला भएको उनको भनाइ छ ।
यस्तै टेम्केमैयुङ–१ सावामा रहेको भुरुखेक र महाभीर वाल्वानी सामुदायिक वनमा आठ हजार मालिङ्गो बिरुवा रोपिएको डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए । रेडपान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि यी क्षेत्रमा तीन वटा ठूला पोखरीसमेत निर्माण गरिएको उनको भनाइ छ ।
गत आर्थिक वर्षमा पोखरी निर्माण तथा रेडपान्डाको आहार मालिङ्गो रोपणका लागि श्रमदानसहित १३ लाख ३० लागत बराबरको काम सम्पन्न भएको अधिकृत अधिकारीले जानकारी दिए । मुन्दुम पदमार्गमा पर्ने यी स्थानमा रेडपान्डा संरक्षणले यहाँको पर्यापर्यटनमा समेत टेवा पुग्ने उनको भनाइ छ ।
राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार रेडपान्डाको चोरी, सिकारी गरेको खण्डमा १ लाखदेखि ५ लाखसम्म जरिवाना, एकदेखि दस वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।