२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

नीलकण्ठमा सीप तथा रोजगार मेला

shivam cement
मध्यान्ह
२०८२ असार ४ गते १६:१७
नीलकण्ठमा सीप तथा रोजगार मेला

धादिङ : धादिङको नीलकण्ठ नगरपालिकाले सीप तथा रोजगार मेलाको आयोजना गरेको छ । युवाहरूलाई सीप सिकाउने र स्वदेशमै रोजगार उपलब्ध गराउने मेलाको मुख्य उद्देश्य हो ।

नगरपालिकाले आयोजना गरेको सीप तथा रोजगार मेलाको  नगर उपप्रमुखसँग युवा कार्यक्रमअन्र्तगत शुभारम्भ गरिएको छ । 

रोजगार मेलाको उद्घाटन समारोहमा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवं नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकालाई उद्यमशीलताको हब बनाउने बताए । नगरपालिकाले उत्पादन गरेको वस्तु नगरपालिकाले नै खरिद गर्ने उनले बताए ।

‘विदेश होइन देशमै रोजगारी सिर्जना गर्छाै’, उनले भने, ‘हामी युवालाई विदेशी भूमिमा पसिना बगाउनेभन्दा आफ्नै भूमिमा सम्भावना सिर्जना गर्न चाहन्छौं । यो मेला स्वदेशमै सम्भावना खोज्ने कोसिस हो । हामी सीप र श्रमको सम्मान गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नेछौं । यो मेलाले ठूलो सहयोग पुग्नेछ ।’

मेलामा युवाहरूलाई थरीथरीका सीप प्रदान गर्न दक्ष प्रशिक्षक पनि राखिएको छ । २५ बढी स्टल रहेको मेलामा अचार बनाउने, ढाका बुनाई, ढल बनाउने, मादल तथा ढोलक बजाउने, खाद्य परिकार बनाउने, दुना टपरी बनाउने, दुग्धपदार्थसम्बन्धी सीप, कफी बनाउनेलगायतका सीप सिकाइने छ । दक्ष युवालाई सके आफैँ उद्यमी बन्न प्रेरित गरिने, नभए रोजगारदातासँग समन्वय गरी रोजगार उपलब्ध गराउन पहल गरिने आयोजकको भनाइ छ । युवाहरूलाई नवप्रवर्तन र उद्यमी गराउने मुख्य उद्देश्य भएको नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माको भनाइ छ ।

मेलामा आएका युवाहरूलाई सरोकारवाला संघसंस्थासँग समन्वय गरी थप सीप सिकाउन पहल गर्ने मेलाको मुख्य उद्देश्य हो । पालिकाभित्र रहेका दक्ष जनशक्तिको पहिचान गर्ने र सीप सिक्न चाहनेहरूको लगत संकलन गरी सीप सिक्न प्रेरित गर्न मेलाको आयोजना गरिएको पालिकाको भनाइ छ । मेलाबाट आफूहरू लाभान्वित हुने र दक्ष भएर स्वदेशमै केही काम गरेर जीविकोपार्जन गर्न सकिने विश्वास मेलामा सहभागी युवा आकृति  थापाले बताइन् ।

रोजगारदाता र युवाहरूका बीचमा पुलको काम गर्न र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न मद्दत पुग्ने युवा कञ्चन भट्टको विश्वास छ । नगरपालिकाले गत वर्षदेखि सुरु गरेको सीप मेलाको यो दोस्रो संस्करण हो । गत वर्ष ६ सय ५० जनाले सीप सिकेर अहिले आफूले सिकेका सीपले जीविकोपार्जन गरिरहेका छन् । गत वर्ष सफल भएको निष्कर्षसहित यो वर्ष पनि मेलालाई निरन्तरता दिइएको हो ।
 

ADV

सम्बन्धित खबर

Advertise