काठमाडौं : पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले आव २०८२/८३ का लागि १ अर्ब ८ करोड ७२ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ ।
नगर उपप्रमुख शान्ति कोइरालाले नगरसभामा प्रस्तुत गरेको बजेटमा चालु तर्फ ६३ करोड ३१ लाख ४६ हजार अर्थात ५८.२३ प्रतिशत र पूँजीगततर्फ ४५ करोड ४० लाख ९८ हजार अर्थात् ४१.७७ प्रतिशत छुट्टाइएको छ ।
नगरपालिकाले स्वास्थ्य, शिक्षा,र रोजगारलाई प्राथमिकता दिइएको छ । बजेटमा चालु खर्च ५८.२३ प्रतिशत र पूँजीगत खर्च ४१.७७ प्रतिशत छुट्टाइएको छ, ।
नगरपालिकाले वडाका कार्यालय भवन निर्माण, बसपार्क, र कृषिका लागि योजनाहरू ल्याएको छ । यस्तै अपाङ्गता भएका नागरिकलाई कर छुटको व्यवस्थालाई निरन्तरता दिएको जनाएको छ ।
पालिकाले वडा नं. ३, १४ र १८ लाई ८० लाख र अन्य सबै वडाका लागि ७० लाख रकम विनियोजन गरेको छ । नगरभित्रका गौरवका आयोजनाका लागि १२ करोड ५ लाख, कृषिका लागि १ करोड १० लाख विनियोजन गरेको पालिकाले आगामी आर्थिक वर्षमा गैंडाकोटमा बसपार्क बनाउने योजना सार्वजनिक गरेको छ ।
वडा नं. १, २,१३ र १६ का वडा कार्यालय भवनलाई आगामी वर्ष भित्र नयाँ बनाइसक्ने लक्ष्य नगरपालिकाले लिएको छ । नगरपालिकाले सेवा छिटो, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित बजेट निर्माण गरेको जनाएको छ । यसपटकको बजेटमा नागरिकका लागि स्वास्थ्य र गुणस्तरीय शिक्षा, विपद् व्यवस्थापन, गरिबी न्युनीकरण र रोजगारी सिर्जनामा विशेष प्राथमिकता दिइएको छ ।