२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

हाँडीगाउँको जात्रा

ADV
मध्यान्ह
२०८१ मंसिर ४ गते ०६:१५
हाँडीगाउँको जात्रा

-रत्नप्रसाद अनामणि 

काठमाडौंको प्राचीन ठाउँमध्ये एक हो, हाँडीगाउँ, जसलाई किरातकाल तथा लिच्छवीकालमा एक सम्पन्न शहरको रूपमा हेरिन्थ्यो । सत्ययुगमा यो शहर विजयपुर नामले प्रख्यात थियो । यही शहरमा ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखान जस्तै बिचित्रको जात्रा परम्परा चलिआएको छ । 

यहाँ कात्तिक कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि ३ दिनसम्म लगातार जात्रा मनाउने गरिन्छ । यहाँको जात्रामा प्रयोग गरिने रथ अथवा खट अन्यत्र कतै पनि पाइँदैन । रथको गजुर तलपारी गर्भगृह र भगवान्को मूर्ति राख्ने स्थानमाथि रहेको हुन्छ । भगवान् राखिएको गर्भगृहलाई डोरीको सहायताले बेस्सरी घुमाउने गरिन्छ साथै रथमा मैनको सुगन्धित फूलले सजाइएको हुन्छ । 

गोलो ३ तहको विभिन्न फूलहरूले सजाएको गर्भगृह हुन्छ । ती ३ तहलाई हिमाल, पहाड र तराईका प्रतिनिधिको रूपमा लिएको पाइन्छ । 

जात्रामा ३ वटा रथहरू निर्माण गरिएको हुन्छ । ती रथहरू मानन्धर समुदायले बडो मिहिनेत गरी निर्माण गरेका हुन्छन् । ती ३ वटा रथमा ब्रह्मा, विष्णु र महेश्वरको  प्रतीकको रूपमा लिइएको पाइन्छ । रथलाई भक्तजनहरूले आ–आफ्नो काँधमा बोकेर वरपरका टोलहरूमा पुर्‍याउने गर्छन् । 

टोलबासीहरूले आ–आफ्नो स्थानमा ल्याई पुर्‍याएपछि आ–आफ्नो गच्छे र श्रद्धाअनुसार पूजाआजा गरिन्छ । स्थानीयहरू उक्त जात्रालाई सत्यनारायणको जात्राको रूपमा पनि लिन्छन् । जात्रा गर्दा रथको गर्भगृह वरपर रहेका फूलको झल्लर घुम्दा निकै रमाइलो लाग्छ । फूलहरू कहिलेकाहीँ खस्दछ । त्यसलाई प्रसादको रूपमा लिनेको भीड हुन्छ । 

यस फूललाई पाउनेलाई सौभाग्यशाली मानिन्छ । नारीहरूले उक्त फूललाई प्रसादको रूपमा ग्रहण गर्नाले सुत्केरी हुँदा सहज हुन्छ भने जनविश्वास रहेको छ । यससम्बन्धी एउटा किंबदन्ती पनि रहेको छ ।

उहिले–उहिले हाँडीगाउँमा २ दिदीबहिनीहरू बस्थे । ती २ दिदीबहिनीमध्ये दिदीले भगवान् मान्दैनथिइन् भने पूूजापाठ पनि गर्दैन थिइन् । तर, बहिनीले भने हरेक दिन मन्दिर गई पूजापाठ गर्थिन् ।

समय बित्दै गएपछि दुवै दिदीबहिनीहरूको विवाह भयो । विवाहपछि दुवै जना गर्भवती भए । दुवै दिदीबहिनीको सुत्केरी करिबकरिब एकै समयमा जस्तै भएको थियो । दुवैलाई प्रसव पीडाले च्यापेको थियो । सधैँजसो भगवान्को भक्तिले गर्दा सहज तरिकाले बहिनीको सन्तान जन्मियो भने दिदीले भगवान् नमान्ने हुँदा १२ वर्षसम्म पनि बच्चा जन्माउन सकिनन् । 

दिदीले साह्रै दुःख भोगेको देखेर उनका परिवारले भगवान् नारायणलाई कहीँ पनि नभएको जात्रा गर्ने भाकल गरेपछि सहज रूपमा प्रसूति भयो । तर, जन्मिएको बच्चा उल्टो र जुँगासहित भएको जन्मिएछ । त्यसैले खट बनाउँदा उल्टो पारिएको भन्ने जनविश्वास स्थानीयको रहेको छ ।

खट मात्र उल्टो नभईकन फूल पनि संसारमा नै नभएको मैनको फूल चढाएको भनिन्छ । हिजोआज पनि जात्रामा खट सजाउन प्रयोग हुने मैनको फूल प्रसूति व्यथा लागेका महिलाले चढाए वा चढाएको प्रसादको रूपमा ग्रहण गरेमा पीडा कम हुन्छ भन्ने विश्वास रहेको छ ।

हाँडीगाउँकै विषयमा विद्यावारिधि गरेका सम्पदा तथा संस्कृतिविद् डा. सुदर्शनराज तिवारीका अनुसार लिच्छविकालीन समयको राजधानी नै हाँडीगाउँ थियो । त्यसबेला बूढानीलकण्ठदेखि अनामनगरसम्म फैलिएको राजधानीलाई विशालनगर भनिन्थ्यो । उहाँको दाबीअनुसार राजा उदयदेवसहित भृकुटी र नरेन्द्रदेव तिब्बती राजा स्रोङचोङ गम्पोको शरणमा गएका थिए । २० वर्षपछि सेनासहित फर्कंदा उनको स्वागतमा यो जात्रा देखाइएको हो भन्ने रहेको छ ।

वास्तवमा मैनको फूल रथमा सजाइन्छ । उक्त फूल पनि नेपालमा नभएको र तिब्बतबाट नै ल्याइएको हो भन्ने तर्क डा. तिवारीको छ । जे होस्, स्थानीय भाषामा चोक्ते नारायण’ भनेर जात्रा गर्ने उक्त नारायणको नाम नेपाल भाषामा रहेको थाहा हुन्छ । 

‘चो’ भनेको माथि, ‘खट’ भनेको रथ र नारायण भनेको देवता यानिकी माथि खटमा रहेको नारायण भन्ने बुझिन्छ । यस्ता अनगिन्ती हाम्रा सम्पदाहरू विभिन्न किंबदन्ती र इतिहासहरूमा जेलिएर रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise