२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

कलाकारको आँसुसँगै विलीन सामाजिक मुद्दाहरू

ADV
मध्यान्ह
२०८१ मंसिर ४ गते ०६:२०
कलाकारको आँसुसँगै विलीन सामाजिक मुद्दाहरू

मधु शाही/रासस

‘हेलो ! मधु जी नमस्कार । फिल्म प्रदर्शन भएको ३ दिन भइसक्यो, केही लेखिदिनुप¥यो’, तिहारताका चलचित्र पूर्णबहादुर सारंगीका ‘हिरो’ विजय बरालले फोनमार्फत भन्नुभएको थियो । उहाँको फोन आउँदा मर्दी हिमालको पदयात्रामा थिएँ । नेटवर्कको समस्याले आवाज राम्रोसँग सुनिएन ।

मैले काठमाडौँ फर्किएपछि लेखौँला भनेर फोन राखिदिएँ । ४ दिनको पदयात्रा पूरा गरेर काठमाडौं फर्किंदा फिल्मको बारेमा चर्चा नगर्ने सायदै कोही थिए । चर्चा मात्र होइन, फिल्म हेरेर सामाजिक संजालका भित्तामा आँसु खसालेका दृश्य पनि सँगसँगै राखिरहेका थिए । 

नेपाली कलाकारिता क्षेत्रमा विजय बराल नौलो नाम होइन तर यो तहको चर्चा सायद पहिलो पटक भएको हो । अझ भनौँ, उहाँ एकाएक ‘चर्चित’ हुनुभयो । सामाजिक संजालमा चलचित्र हेरेर रुँदै हलबाट निस्किने दृश्यले बरालको अभिनयको तारिफ जताततै भइरहेको थियो । मैले चलचित्र हेरेकी थिइनँ । त्यसैले रुने कुरा पनि भएन ।

हल सबै ‘हाउसफुल’ थिए । एक साता धैर्य गरेँ । यद्यपि, हल भरिएकै छ । जसरी बरालले फिल्म चलेन भनेर फोन गर्नुभएको थियो, मैले उसैगरी उहाँलाई फोन गरेर भनेँ, ‘विजयजी फिल्म हेर्न पाइनँ, सबै हाउसफुल छ । कसरी समीक्षा गरौँ ?’, उहाँले निकै हार्दिकताले भन्नुभयो, ‘म मिलाउँछु नि !’ 

बराल अभियनले जति अब्बल हुनुहुन्छ, यति नै लचिलो मानवीय स्वभाव छ । झन्डै १६ वर्षदेखि मण्डला थिएटरमा उहाँले रंगकर्मीका रूपमा निरन्तर गर्दै आएको संघर्ष र अभिनयप्रतिको लगाव मैले प्रत्यक्ष देख्ने र लेख्ने अवसर पाएकी छु । अभिनय नै सबैथोक मान्ने कलाकारमध्ये उहाँ पनि एक हुनुहुन्छ । जतिबेला नाटक मंचन गरी थिएटरबाट बाहिर निस्कनुहुन्थ्यो, उहाँको मप्रति उल्टो प्रश्न हुन्थ्यो, ‘मधुजी, मलाई प्रशंसा गरेर नलेख्नु । जे महसुस हुन्छ, यथार्थ आलोचनात्मक लेख्नु है !’

जुन कलाकारले कटु आलोचनालाई पचाउन सक्दैन, ऊ धारिलो हुँदैन । विजय बराल यस सन्दर्भमा असाध्यै लचिलो कलाकार हो । उहाँ अभिनीत ‘पूर्णबहादुरको सारंगी’को लोकप्रियताले यसको पुष्टि गरिसकेको छ । 

‘पूर्णबहादुरको सारंगी’ भनौँ या विजय बरालको सारंगी पर्यायवाची जस्तै छ अहिले किनकि चलचित्रमा बराल आफू हराएर पूर्णबहादुर पात्रका रूपमा उत्रिनुभएको छ । सायद उहाँ ओशोले कलाकारको सन्दर्भमा भन्नुभएको भनाइबाट प्रभावित हुनुहुन्छ । कुनै सन्दर्भमा ओशोले भन्नुभएको छ, ‘जीवन अभिनय गरेजस्तै गरी जिउनु र अभिनय जीवन जिएजस्तै गरी गर्नु !’ 
बरालले दिलोज्यान लगाएर यस फिल्ममा पात्रअनुकूल अभियन गर्नुभएको छ तर प्रश्न यतिमै टुंगिँदैन । एउटा चलचित्र के हो ? कल्पना, यथार्थ घटना, समाजको ऐना, रूपान्तरणको प्रयास वा व्यापार ? 

साहित्यकार अमर न्यौपानले किताब जात्राको छैटौँ संस्करणको संवादका क्रममा भन्नुभएको छ कि साहित्य समाजको ऐना हो भनेर मात्र पुग्दैन, समाज रूपान्तरण र परिवर्तनका आधार सिर्जना गर्ने क्रान्ति पनि हो । लेखक न्यौपानेको बुझाइ सापटी लिने हो भने ‘पूर्णबहादुरको सारंगी’ रूपान्तरण र क्रान्तिभाव जागरणमा चुकेको छ ।

समाजको अत्यन्त पिँधमा पारिएका दलित समुदायको प्रतिनिधित्व गर्ने पात्र हो, पूर्णबहादुर । उसले आफू अपमानित भइरहेको समाजबाट उन्मुक्त हुन नसकेको बेला छोराको चम्किलो भविष्य कसरी पूरा गर्न सक्छ ? चलचित्रले यो प्रश्नलाई भगवान्को भरोसा छोडिदएको छ । 

छोराले पूर्णबहादुरलाई पटकपटक सोध्छ, ‘तिमीलाई किन हेप्छन् बा ?’ खासमा चलचित्रले यसको उत्तर दिनुपर्ने हो तर एउटा गाइने समुदायको गरिबी देखाएर मानवीय संवेदना बटुल्न खोज्दै चलचित्र व्यावसायिक बनाउनु न्यायोचित छैन । चलचित्रले उठाउने मुद्दा र पात्रहरूमा सकारात्मक रूपान्तरण ल्याउन जरुरी थियो, यदि साहित्य रूपान्तरणको आधार हो भने । चलचित्र समाजको दर्पण मात्र हो भने त्यो दर्पण नेपाली समाजलाई देखाइरहन जरुरी छैन, थिएन । हाम्रो समाजले जातीय तथा लैंगिक आधारमा हुने हिंसा र अपमान, गरिबी, सीमान्तकृत हुनुको पीडाबारे हाम्रो समुदाय बेखबर वा अंजान छैन बरु त्यो पीडा ‘कठै’ वा ‘विचरा’मा सीमित छ । अझ अगाडि भन्ने हो भने यो विचारमा मात्र कैद छ ।

गणतान्त्रिक शासन व्यवस्था अपनाएको डेढ दशक नाघेको समाजले अब ती दलित र सीमान्तकृत पात्रलाई विचरा वा कठै वा विचारमा होइन, राज्य र समुदायले उसमाथि गर्दै आएको विभेदको आत्मग्लानि महसुस गरी व्यवहारमै ‘सुध्रिएको’ महसुस गर्न वा गराउन जरुरी छ । 

हामीले भुल्नु हुँदैन, पूर्णबहादुरले सारंगी बजाएर कला पस्किएको यो समाजले कहिल्यै इज्जत गरेन बरु त्यही सारंगीकै कारण उसमाथि जातीय विभेदको चरम प्रातडना सहन बाध्य पारेको छ ।

यदाकदा भन्ने गरिन्छ, ‘दलित समुदायले आफ्नो जात, थर र पेसामाथि गर्व गर्न सिक्नुपर्छ ।’ चलचित्र पूर्णबहादुरको सारंगीले पनि डाक्टर पढेपछि छोरोले गौरवका साथ सारंगी समाएको दृश्य देखिन्छ । कुनै पनि सम्प्रदायको जात, धर्म र थरमाथि न कथित दलित, न कथित गैरदलित । कसैले न घृणा गर्न जरुरी छ, न गर्व नै । यो मानवले आर्जेको कुनै पनि तत्त्व होइन, केवल मान्यताबाहेक । तर, त्यही थर, जात र पेसाले मान्छेको अस्तित्वमाथि नै प्रश्न गर्ने अवस्था सिर्जना हुन्छ भने त्यो सारंगी पुस्तान्तरण गर्नुको कुनै अर्थ छैन । 

दलित अधिकारकर्मी भन्छन्,‘कथित दलित समुदायमाथिका विभेद राज्यद्वारा नीतिबद्ध बनाएर गरिएको विभेद हो । पूर्णबहादुर कुशल कला साधक हुन् । उनी सिर्जना सुनाएर आय आर्जन गर्छन् । उनी मगन्ते होइनन् ।’ हो, चलचित्रले पूर्णबहादुरलाई मगन्ते बनाएको छ । जुन समाजले सारंगी बजाउनेलाई मगन्ते भन्दै आएकै थियो, त्यही यथार्थ देखाइएको छ ।
खाँचो त पूर्णबहादुर मगन्ते होइनन्, उनी एक अब्बल र कर्मशील कलाकार हुन् भनेर साबित गराउनु थियो । चलचित्रमा पूर्णबहादुरले छोरालाई पढाएर चिकित्सक बनाएपछि उसले भोगेजस्तै अपमान र विभेद के अब उसको छोराले सहनुपर्दैन ? भन्ने जबाफको थियो । 

हाम्रो समाजमा प्रशस्तै घटना भइरहेका छन् जातका आधारमा । यो ‘ब्राह्मणवादी’ सोचको पराकाष्ठा हो । समाजमा विद्यमान यो सोच चिरेर मान्छेले मान्छेमाथि गरिएको अमानवीय आचरणप्रति लज्जाबोध गराउनुपर्ने अहं मुद्दालाई चलचित्रका निर्देशक सरोज पौडेलले बेवास्ता गरेका देखिन्छ । 

आँसु बेच्न सजिलो छ, यदि ढंग पुग्यो भने । ‘पूर्णबहादुरको सारंगी’ले नेपाली चलचित्रको इतिहास नै रच्यो यस हिसाबले । अभिनयले रुवाएको चलचित्रमा विषयवस्तु भने कुनै अनौठो र अपरिचत होइन । दलित समुदायको रोदनलाई सिँढी बनाएर सत्तामा पुगेपछि सबै भुलेजस्तै चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले पनि समाजको चरम विभेदमा परेको समुदायमाथि न्याय गर्ने उद्देश्य गौण ठानेको देखिन्छ । कलाकारको अभिनयले रोदनको व्यापार गर्दैमा चलचित्रले इतिहास रच्न सक्छ तर सफल र चमत्कारपूर्ण चलचित्र भन्न सुहाउँदैन । ‘पूर्णबहादुरको सारंगी’ले उठाउनुपर्ने थुप्रै सामाजिक मुद्दाहरू कलाकारको आँसुसँगै विलीन भएका छन् । अर्थहीन भएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise