२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

लम्बिरहेको समस्या

ADV
मध्यान्ह
२०८१ मंसिर ५ गते ०६:२५
लम्बिरहेको समस्या

प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाएर कीर्ते भिडियो सार्वजनिक गरेको आरोपमा व्यावसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंमाथि पटके अपराधको मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्ने भएको छ । २ महिनाअघि पनि प्रसाईं पक्राउ परेका थिए । त्यसबेला एक महिलाको उजुरीका आधारमा पक्राउ परेका प्रसाईंलाई यस पटक प्रधानमन्त्री ओलीमाथि नै भ्रामक प्रचार गरेको आरोप लागेको छ । प्रसाईंले भिडियोमार्फत प्रधानमन्त्री ओलीलाई कम्बोडियामा ३१ करोड अमेरिकी डलर लगानी गरेको आरोप लगाएका थिए । यस क्रममा प्रधानमन्त्री ओलीको कीर्ते हस्ताक्षर तयार पारी कृत्रिम कागजात बनाएको आरोप प्रसाईंमाथि छ । सामाजिक संजालको दुरुपयोग गरी एउटै प्रकृतिको अपराध गरेको आरोपमा प्रसाईंविरुद्ध पटके मुद्दा अगाडि बढाउने सूचना प्रहरीले सार्वजनिक गरेको छ । 

केही समययता प्रधानमन्त्री ओलीविरुद्ध सामाजिक संजालमार्फत चर्को टिप्पणी गर्ने प्रसाईंको मुद्दा कसरी अगाडि बढ्छ भन्नेमा धेरैको चासो गएको देखिन्छ । खासरी नेकपा एमाले, ओली र नेपालका केही ब्यापारिक घरानाविरुद्ध चर्को आरोप लगाउँदै आएका प्रसाईंलाई यस पटक छुट्न सजिलो नहुने विश्लेषण पनि सुनिन्छ किनकि ओली स्वयं प्रधानमन्त्री छन् भने सत्ता गठबन्धन यो एजेन्डामा एकमत देखिन्छ । प्रसाईंको अभिव्यक्ति शैलीकै कारण राज्यको संस्थापन र सत्ताको दृष्टिकोण उनीप्रति सकारात्मक छैन । प्रसाईंविरुद्ध पटके अपराधको मुद्दा अगाडि बढाउने निर्णय हुनुलाई संस्थापन उनीप्रति सकारात्मक नरहेकै प्रमाणका रूपमा लिन सकिन्छ । सत्ता मात्र नभएर राज्यका अरू संस्थाहरू समेत प्रसाईंप्रति सकारात्मक रहेका देखिएन । नत्र कुनै व्यक्तिलाई अभिव्यक्तिकै कारण पक्राउ गरेर पटके मुद्दा अगाडि बढाउँदा बोलिदिने संस्थाहरू सुनिनुपर्ने हो तर त्यस्तो भएन । 

सामाजिक संजालमार्फत सामाजिक मर्यादा कायम नगरिएको भन्दै विद्युतीय कारोबार ऐनबमोजिम मुद्दा चल्न लागेको पहिलो व्यक्ति प्रसाईं होइन । प्रधानमन्त्रीमाथि नै गम्भीर आरोप लगाउने तहमा प्रसाईं पुगे पनि योभन्दा भिन्न कसूरमा थुप्रै मानिसविरुद्ध यस्ता मुद्दा चलाइएको छ । तर, सामाजिक संजालमार्फत हुने यस्ता घटना न्यूनीकरण हुन सकेको देखिँदैन बरु सामाजिक संजालमा चर्को स्वरमा बोलेकै कारण ठूलो मात्रामा समर्थन बटुल्ने प्रवृत्ति मौलाउँदो छ । सहकारी बचत रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका रवि लामिछाने सामाजिक संजाल प्रयोगकै कारण राष्ट्रिय राजनीतिमा उदाएका पात्र हुन् । यस्ता थुप्रै पात्र छन्, जसको शक्ति भन्नु नै सामाजिक संजाल हो । सामाजिक संजालमार्फत कीर्ते कागज बनाएर प्रधानमन्त्रीविरुद्ध भ्रामक प्रचारको आरोपमै प्रसाईं पक्राउ परे । यस्ता समस्या आगामी दिनमा नदोहोरिने कुनै ग्यारेन्टी छैन किनकि सामाजिक संजाल रहेसम्म त्यसमार्फत हुने समस्या आइरहन्छ । यसको समाधान भनेको सामाजिक संजाल नियमन कानुन हो । त्यही कानुनमार्फत सामाजिक संजाल प्रयोगको नियमन गर्ने र समस्या न्यूनीकरणमा उत्प्रेरित गर्न सकिन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise