२०८२ कार्तिक १७ गते सोमवार / Nov 03 , 2025 , Monday
२०८२ कार्तिक १७ गते सोमवार
Ads

दलहरू आ-आफ्ना कित्तामा उभिऊन्

shivam cement
२०८२ कार्तिक १७ गते ०६:१५
दलहरू आ-आफ्ना कित्तामा उभिऊन्

जेनजी विद्रोहपछि राष्ट्रिय राजनीतिक नयाँ ध्रुवीकरणको संकेत देखिएको छ । दलहरू एकता हुने र त्यसप्रति असहमति राख्दै विभाजन हुने शृंखला पनि सँगै चलेको छ । विघटित प्रतिनिधि सभाको तेस्रो दल माओवादी केन्द्रको नेतृत्वमा आइतबार आठ वाम घटकबीच एकताको सहमति भयो । सशस्त्र विद्रोहबाट संसदीय राजनीतिमा आएको सो पार्टीले अन्ततः आफ्नो वैचारिक लाइन माओवाद परित्याग गरेको छ । त्यस्तै, एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद छाडेर एकता रोजेको छ । माक्र्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेर एकठाउँ उभिँदा ती दलहरू विभाजनको खतरा पनि मोलेका छन् । एकीकृत समाजवादी विभाजन भइसकेको छ भने माओवादी केन्द्र विभाजनको संघारमा पुगेको छ । यसले दलहरू एकता र विभाजनसँगै नयाँ ध्रुवीकरणमा जाँदै छन् । 

विगतमा दलहरूले चुनाव जित्न विचार मिल्ने/नमिल्ने जस्तोसुकै गठबन्धन बनाए । एउटा गठबन्धन बनाएर चुनाव जित्ने र नतिजा आउनासाथ अर्को गठबन्धन बनाएर सत्तामा पुग्ने अराजनीतिक हर्कतसमेत भए । राजनीतिक रूपमा बिल्कुल भिन्न धारका नेपाली कांग्रेस र माओवादी केन्द्र, नेकपा एमाले र राप्रपाका असंगत गठबन्धनले वाक्कदिक्क भएका आमनागरिकमा सबै दल र विचार उस्तै हुन् भन्ने भइसकेको थियो । दशक लामो सशस्त्र विद्रोहबाट आएको माओवादी केन्द्र पनि पुरानै संसदीय खेलमा सामेल भएको थियो । मधेस केन्द्रित दल होस् वा राप्रपा अथवा भर्खरै उदाएको रास्वपा सबै सत्ताको खेलमा लिप्त थिए । जेनजी विद्रोहमा पोखिएको असन्तुष्टि र आक्रोशमा दल तथा नेतृत्वप्रतिको त्यही वितृष्णा छताछुल्ल भएको भन्दै विश्लेषण भइरहेको छ । 

राजनीति सत्ता प्राप्तिको खेल मात्र होइन । आफूले अंगालेको विचार र सिद्धान्तका आधारमा देशमा आमूल परिवर्तनको सपना देख्नु, जनताको विश्वास जितेर सरकारमा पुग्नु र आफ्नो घोषणापत्रअनुसार काम गर्नु हो । देश सुहाउँदो सही विचारले मात्र राजनीतिलाई सही दिशामा अघि बढाउँछ । तर पछिल्लो दशक राजनीति आदर्शविहीन बन्यो । चुनावदेखि चुनावसम्मको गोलचक्करमा फस्यो । दलका झन्डा, विचार र नेता भिन्न भए पनि व्यवहारमा सबै उस्तै देखिए । पछिल्लो परिवर्तनले दलहरूलाई विचारका आधारमा ध्रुवीकरण हुन, नेतृत्व हस्तान्तरण गर्न र दलहरू पुनर्गठन भई रूपान्तरण गर्न मौका प्रदान गरेको छ, यसले धमिलिएको राजनीति संग्ल्याउन मद्दत पुग्ने विश्वास गर्न सकिन्छ । विचार मिल्ने वामपन्थी, लोकतान्त्रिक, उदारवादी वा दक्षिणपन्थी सबै दल आआफ्ना कित्तामा उभिनु राम्रो हो । तत्कालका लागि यसले उथलपुथलजस्तो देखिए पनि बिग्रेको राजनीति सुधार्न यो सकारात्मक छ । 
 

ADV

सम्बन्धित खबर