
                  
अघिल्लो महिनाको आन्दोलन र विध्वंशले नेपाल भ्रमणबारे संसारभर नकारात्मक सन्देश गइरहे पनि पर्यटकको आगमनमा भने खासै फरक परेको छैन । बितेको अक्टोबर महिनामा पर्यटकको नेपाल आगमन उत्साहजनक छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो महिनामा मात्र १ लाख २८ हजार ४ सय ४३ विदेशी पर्यटक नेपाल आए, जुन यो वर्षकै सबैभन्दा ठुलो संख्या हो । गत मार्चमा १ लाख २१ हजार र अप्रिलमा १ लाख १६ हजार पर्यटक भित्रिएका थिए । अक्टोबरमा भएको पर्यटकको उल्लेखनीय वृद्धिले २३–२४ भदौको आन्दोलन, हिंसा र विध्वंशले अत्तालिएका पर्यटन व्यवसायीलाई राहत मिलेको छ ।
पछिल्लो घटनाले पर्यटन उद्योगमा निराशा छाएको थियो । विभिन्न देशहरूले नेपाल भ्रमणमा सर्तकता अपनाउन भनिसकेका थिए । जसका कारण केही समय होटल खाली भए, बुकिङ रद्द भए । यसले विदेशी पर्यटकको नेपाल भ्रमणबारे अनेक आशंका उब्जाएको थियो । नेपाल असुरक्षित गन्तव्य बनेको सन्देश गएको व्याख्या भइरहेको थियो । सेप्टेम्बरमा पर्यटक आगमन घटेर ७८ हजारमा सीमित भएपछि पर्यटन क्षेत्रमा निराशा जाग्नु स्वाभाविक पनि थियो । तर एक महिनापछि नै त्यसका उल्लेख्य सुधार भयो । रद्द गरिएका भ्रमण सुचारु हुँदा पर्यटकको संख्या ह्वात्तै बढ्यो । यसले व्यवसायी मात्र होइन, कठिन परिस्थितिमा राष्ट्रिय अर्थतन्त्रलाई समेत राहत पुगेको छ । एकै महिनामा नेपालको पर्यटन सुधारउन्मुख हुनुमा व्यवसायी र पर्यटन बोर्डसँगै नेपाल भ्रमणमै रहेका विदेशी पर्यटकको सकारात्मक प्रचारप्रसारले पनि भूमिका खेलेको छ । यसबीच बोर्ड र व्यवसायीले नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वसामु पर्याउने प्रयत्न गरे भने भ्रमणकै क्रममा रहेका पर्यटकले नेपालको अहिलेको स्थिति झल्किने तस्बिर, भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक गरे । जसका कारण नेपाल शान्तिपूर्ण रहेको र भ्रमणका लागि कुनै समस्या नरहेको सन्देश फैलियो । संकटउन्मुख आर्थिक परिस्थितिबाट पनि नेपालले आफूलाई फेरि उभ्याउने कोसिस भइरहेको संकेत दिएको छ ।
शरद ऋतु नेपालमा पर्यटकको सिजन हो । अन्नपूर्ण, लाङटाङ, एभरेस्ट बेस क्याम्पलगायतका पदयात्रा मार्गमा अहिले स्वदेशी र विदेशी पर्यटकको भीडभाड नै छ । यसले छोटो समयमै आन्दोलन र अशान्तिको प्रभाव हटेको सन्देश दिन्छ । नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिएको पर्यटनप्रति विदेशी पर्यटकलाई आश्वस्त पार्नु अहिलेको मुख्य दायित्व हो । खासगरी पर्यटकको सुरक्षा, पूर्वाधारको सुधार र अन्तर्राष्ट्रिय प्रचारलाई निरन्तरता दिनुपर्छ । त्यसमा पर्यटन बोर्ड र व्यवसायीहरूले अझै मेहनत गर्न जरुरी छ ।