२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

एमालेले स्वीकार्नुपर्ने गल्ती

ADV
२०८१ मंसिर ६ गते ०६:२५
एमालेले स्वीकार्नुपर्ने गल्ती

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले राजधानी काठमाडौंमा जनसभा गर्दै छ । दरबारमार्गमा १ लाख मानिस उतारेर जनसभा गर्ने लक्ष्यसहित एमालेको पंक्ति झण्डै २ सातादेखि सक्रिय छ । गत २४ कात्तिकमा बसेको सचिवालय बैठकले ७ मंसिरमा राजधानीमा जनसभा गर्ने निर्णय गरेको थियो । त्यही निर्णयबमोजिम राजधानी उपत्यकामा सक्रिय पार्टी कमिटीहरूको अनेक चरणमा बैठक बसेको छ । जनसंगठनहरूलाई मानिस ल्याउन संख्या तोकिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई सकेसम्म बढी मानिस उतार्ने जिम्मा दिइएको छ । उपत्यकाबाहेक बाग्मती प्रदेशका जिल्लाहरूबाट समेत मानिस सभामा सहभागी गराइँदै छ । सम्पर्क समन्वय कमिटी, जनसंगठन र भूगोल कमिटी परिचालन गरेर जनसभा गर्नुको औचित्य प्रस्ट पार्न भने एमाले नेतृत्वलाई कठिन परिरहेको देखिन्छ । कतिपयले सत्तारूढ भएर सडक प्रदर्शन गर्नुलाई संगतिपूर्ण निर्णय नभएको टिप्पणी गरिरहेका छन् । सत्तारूढ शक्तिले सरकारको डेलिभरीलाई चुस्त बनाउनुपर्नेमा सडक प्रदर्शन गर्नुलाई उल्टो निर्णय नै भनिरहेका छन् । 

तर, एमाले नेताहरूले भने जनसभा गर्नुको उद्देश्य सरकारलाई दबाब सिर्जना गर्नु नभएर आफ्ना कुरा जनतालाई सुनाउनु रहेको तर्क गरिरहेका छन् । सभाबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवाली र बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले अराजकता र निराशा बढेर गएकाले जनसभा गर्नुपरेको जबाफ दिए । देशमा केही नभएको भाष्य स्थापित गर्दै अराजकता मच्चाउने प्रवृत्ति बढेकाले त्यसविरुद्ध सन्देश दिन जनसभा गर्नुपरेको उनीहरूको भनाइ थियो । विशेषगरी प्रहरी अनुसन्धानमा रहेका दुर्गा प्रसाईंसहितको टोलीले अराजकता फैलाइरहेको एमाले नेताहरूको निष्कर्ष छ । प्रधानमन्त्रीमाथि नै कीर्ते गरेर भ्रम फैलाउनेसम्मको तहमा अराजकता पुगेको उपमहासचिव ज्ञवालीले बताएका थिए । अराजकता र लोकतन्त्र एउटै विषय नभएको पनि एमाले नेताहरूको तर्क छ । तर, उनीहरूले यो अराजकता सिर्जनाको कारणबारे चित्त बुझ्दो जबाफ दिन सकेका छैनन् । 

दुर्गा प्रसाईंलाई नै अराजक गतिविधिको नेता मान्दा पनि त्यसको सम्बन्ध एमाले नेतृत्वसँगै जोडिएको विषय हो । एउटा सामान्य ब्यापारीको परिचयलाई देशब्यापी बनाइदिने काम प्रधानमन्त्री केपी शर्मा ओली आफैंले गरेका थिए । प्रसाईंको घरमा खाना खाएको तस्बिर सार्वजनिक गर्ने अनि तिनै प्रसाईंलाई पार्टीको केन्द्रीय सदस्य मनोनीत गर्नेजस्ता निर्णयमार्फत ओलीले आफ्नो सम्बन्ध पुष्टि गरेका थिए । अहिले तिनै प्रसाईं एमाले र प्रधानमन्त्री ओलीलाई टाउको दुखाइको विषय बनेको छ । कतिसम्म भने लोकतन्त्रकै खतराका रुपमा प्रसाईंलाई चित्रित गरिएको छ । दोस्रो पटक प्रहरी नियन्त्रणमा रहेका ब्यापारीविरुद्ध सिंगो पार्टीको शक्ति परिचालन गर्नुपरेको छ । अर्थात् एमाले आफैंले हुर्काएको प्रवृत्ति र पात्रविरुद्ध जुध्नुपर्ने मोडमा आइपुगेको छ । र, भनिरहेको छ– ‘यो लडाइँ लोकतन्त्रका निम्ति हो, अराजकताविरुद्ध हो ।’ जनसभा गर्ने अधिकार हरेक दललाई छ, एमालेले उपयोग गर्न सक्छ । लोकतन्त्रका निम्ति एमालेको अडान सही पनि छ । तर, हालका प्रसाईं गलत हुन् भने विगतमा एमालेले गरेको निर्णयप्रति एमालेले माफी माग्नुपर्छ । त्यो माफीले एमालेप्रति भरोसा बढ्छ, घट्दैन ।

ADVADV

सम्बन्धित खबर

Advertise