कपिलवस्तु : हरेक वर्ष मल र बिउको अभावको समस्या नेपाली किसानको नियति बन्दै आएको छ । जब कृषि बाली लगाउने समय आउँछ, किसानका अनुहार निचोरिन थाल्छन्– मल र बिउ कहाँ पाउने भनेर । उता, सरकार र तालुक मन्त्रालय ‘चाँडै मल बिउ उपलब्ध गराउने’ आश्वासन दिइरहन्छ– समय गुज्रिसक्दासम्म ।
कपिलवस्तुका किसानहरू यतिबेला हिउँदे खेती लगाउन व्यस्त छन् । गहुँ, तोरी, आलु, मसुरी, धनिया, केराउलगायतका खेतीका लागि डीएपी मलको आवश्यकताले पिरोलिएका छन् उनीहरू ।
कृषि सामग्री कम्पनी लिमिटेड, बहादुरगन्ज शाखाका प्रमुख अशोक त्रिपाठीका अनुसार यस वर्ष कार्तिक महिनामा २९६ दशमलव ३६२ मेट्रिक टन (५ हजार ९२७ बोरा) डीएपी मल आएको थियो । उक्त मल विभिन्न नगरपालिकामा वितरण गरिएको छ । तर, यो परिमाण किसानहरूको आवश्यकताभन्दा निकै कम हो ।
त्रिपाठीका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड बहादुरगन्जमा कम्तीमा २ हजार ५०० मेट्रिक टन डीएपी मल आवश्यक छ तर हालसम्म सो परिमाणको व्यवस्था गर्न नसकिएको उनले बताए । डीएपी मलको अभाव रहँदा युरिया मलको भने पर्याप्त मात्रामा उपलब्धता छ । हालै ३५५ मेट्रिक टन युरिया मल एक साताभित्रै आउने जानकारी पनि उनले दिएका छन् ।
वितरण प्रक्रिया र समस्या
डीएपी मल वितरणका लागि सम्बन्धित नगरपालिकाको सिफारिसलाई आधार मानिएको छ । बुद्धभूमि नगरपालिकाले ५५ दशमलव २०३ मेट्रिक टन, शिवराज नगरपालिकाले ६३ दशमलव ९६३ मेट्रिक टन, महराजगन्ज नगरपालिकाले ६९ दशमलव ९८९ मेट्रिक टन, विजयनगर गाउँपालिकाले ४१ द्यशमलव ९ मेट्रिक टन र कृष्णनगर नगरपालिकाले ६५ दशमलव ३०७ मेट्रिक टन मल पाएका छन् ।
तर, केही सहकारी संस्थाहरूले प्राप्त डीएपी मल अझैसम्म किसानहरूलाई वितरण गरेका छैनन् । सप्तशती कृषि सहकारीले ११० बोरा, खुरहुरिया सामुदायिक कृषि सहकारीले १०४ बोरा र महालक्ष्मी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाले १०४ बोरा मल रोक्का राखेका छन् ।
सरकारको कमजोरी र किसानको चिन्ता
सरकारी निकायहरूले किसानहरूको मागअनुसार मल उपलब्ध गराउन नसक्दा समस्या थपिएको छ । डीएपी मलको अभावले कालोबजारी बढेको किसानहरूको गुनासो छ । खेतीको मुख्य समयमा डीएपी मल अभाव हुँदा युरिया मल मात्र उपलब्ध गराउँदा किसानहरूको उत्पादनमा असर पर्ने चिन्ता छ ।
प्रमुख त्रिपाठीले मलको खरिद प्रक्रियामा सुधार नभएसम्म यो समस्या समाधान नहुने बताएका छन् । डीएपी मल पुस महिनाको अन्त्यसम्म आइपुग्ने भनिए पनि तत्कालको समस्या समाधान नहुने देखिएको स्थानीय किसानहरूको चिन्ता छ ।