कपिलवस्तु : भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले ३ वर्षभित्रै भूमिहीन, सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्ने दाबी गरेका छन् ।
भुमी सम्बन्धी समस्या बुझ्दै विजयनगर गाउँपालिका पुगेका रिजालले पत्रकारहरूसँग कुरा गर्दै भूमिहीनहरूलाई जग्गाधनी बनाउने काममा आयोगले तीव्रता दिएको बताए ।
संविधान प्रदत्त अधिकारको कार्यान्वयनका लागि लालपुर्जा वितरण प्रक्रिया तीन वर्षभित्रै सम्पन्न गरिने समेत बताए । आयोगले कानूनी अड्चन र प्राविधिक चुनौतीलाई समाधान गर्दै लालपुर्जा वितरणको काम अघि बढाउने बताए । हालसम्म आयोगमा १० लाख ८२ हजार निवेदन दर्ता भएका छन् । बाँकी छुटफुट भएका निवेदनलाई भेरिफाई गरी प्रक्रिया पूरा गर्ने बताए ।
‘आयोगले सबै प्रदेशमा कार्यविभाजन गरिसकेको छ, कर्मचारीको व्यवस्थापन, कार्यविधि निर्माण, र जनशक्ति थप्ने प्रक्रिया पूरा भइसकेको छ’ उनले भने ।
आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्न तीव्रतासँगै स्थानीय तहले तथ्यांक संकलन र पहिचानको काम तीव्र गतिमा रहेको बताए ।
लुम्बिनी प्रदेशका पूर्ववन मन्त्री अर्जुन केसीले भूमि सम्बन्धी समस्याको समाधानको लागि भूमिहीन नागरिकले अनुभुती गर्ने गरी आयोगले स्थानीय तह र प्रदेश सरकारसँग मिलेर काम गर्नुपर्ने बताए ।
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले पालिकाले भूमिहीन र सुकुम्बासीहरूको समस्यालाई प्राथमिकतामा राख्दै ३४ सय भन्दा बढी निवेदन संकलन गरेको जानकारी बताए । भूमि सम्बन्धी समस्याको समाधानका लागि आफुले पालिका प्रमुखको हैसियतले केन्द्रीय र प्रदेश सरकारसँग निरन्तर समन्वय गर्दै आएको बताए ।