काठमाडौंः घुस लिएर भ्रष्टाचार गरेको मुद्दामा प्रतिकुल बकपत्र गरेको अभियोगमा साक्षीविरुद्ध नै मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भावना महतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत पनेरु महतको भ्रष्टाचारसम्बन्धी मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएकी महतले घुस लिएर गलत बकपत्र गरेको भन्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । महतको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी बनेकी भावना महतले बयान व्यहोराको प्रतिकूल बकपत्र दिएकी हुन् ।
पनेरुले १ लाख ५० हजार रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको आरोपमा उनीमाथि विशेष अदालतमा मुद्दा दायर भएको थियो । घुसबापतको रकम राखिदिने महतलाई उक्त मुद्दाको अनुसन्धानका क्रममा सजायमा पूर्ण छुट दिएर प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरिएको थियो ।
तर भावना महतले विशेष अदालत काठमाडौंसमक्ष बकपत्र गर्दा बयानको प्रतिकूल हुने बकपत्र गरेको पुष्टि भएकाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार भ्रष्टाचारको मतियार मानी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । भावना महतउपर १ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी ऐनअनुसार राष्ट्रसेवकलाई हुने सजायको आधा सजाय माग गरिएको छ ।
गत वैशाख ११ गते जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । टोलीले महतलाई सोवाग्राहीबाट लिएको एक लाख ५० हजारसहित नियन्त्रणमा लिएको थियो । बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट एक लाख ५० हजार रकम लिएको अभियोगमा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
फुङ्लिङ वडा नं ४ स्थित एक घरबाट सेवाग्राहीबाट लिएको रकम उक्त रकमसहित पनेरू पक्राउ परेकी थिइन् । ‘विशेष अदालत, काठमाडौंसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा निजले गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको मतियारमा कसुर भएको हुँदा निज प्रतिवादी भावना महतउपर १ लाख ५०,०००।– (एक लाख पचास हजार) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको कसुरमा ऐ.ऐनको दफा २२ बमोजिम राष्ट्रसेवकलाई हुने सजायको आधा सजाय हुन मागदावी लिई माग/दाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ आयोगका प्रवक्ता भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies