२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

विद्यालय शिक्षामा कृषि तालिम

ADV
२०८१ मंसिर ९ गते ०६:१५
विद्यालय शिक्षामा कृषि तालिम

–प्रदीप सिंह 

नेपाल जस्तो कृषिप्रधान देशमा कृषि क्षेत्रप्रति युवाहरूको चासो घट्दै गएको छ । शिक्षामा व्यावसायिकता र सीपको कमीले गर्दा अधिकांश युवा खाडी मुलुकतर्फ पलायन हुने क्रम बढ्दो छ । शिक्षा प्रणालीमा सानैदेखि कृषि र अन्य सीपमूलक तालिम समावेश गर्न सके यसले रोजगारी सिर्जना गर्दै भोकमरीलाई समेत रोक्न सक्ने देखिन्छ ।

शिक्षाविद्हरू तर्कहरू हेर्दा पनि विद्यार्थीहरूलाई कक्षा १ देखि नै कृषि प्रणाली र सीपमूलक तालिममा लगाउन सकेमा उनीहरूको व्यावसायिक क्षमतालाई उजागर गर्न सकिन्छ । बालबालिकाको प्रारम्भिक शिक्षामा व्यावहारिक तालिम समावेश गर्दा उनीहरूलाई आत्मनिर्भर बनाउन सजिलो हुन्छ । यसले कृषि क्षेत्रको आधुनिकीकरणमा टेवा पुग्ने र गाउँघरमै स्वरोजगार बन्ने अवसर सिर्जना गर्ने छ ।

सामुदायिकदेखि निजी विद्यालयसम्म यस्तो तालिम लागू गर्न सके विद्यार्थीहरूले पढाइसँगै व्यावहारिक सीप सिक्न पाउने छन् । कृषि तालिममार्फत उनीहरूले खेतीपातीका वैज्ञानिक विधि, जैविक मल प्रयोग र आधुनिक उपकरणको प्रयोग गर्न सिक्ने छन् । यसले उनीहरूको व्यक्तित्व विकाससँगै देशको आर्थिक वृद्धिमा योगदान पुग्ने देखिन्छ ।

रोजगारीको अभावले खाडी जानुपर्ने बाध्यतामा रहेका नेपाली युवाहरूलाई सीप र तालिमले आफ्नै देशमा टिकाई राख्न सक्ने सम्भावना देखिन्छ । कृषि तालिममार्फत आफ्नो उत्पादन वृद्धि गर्न सक्ने र व्यावसायिक कृषिमा लाग्न सक्ने युवाहरूको संख्या बढाउन सके नेपालको लागि आयातमा निर्भर हुनुपर्ने बाध्यता घट्ने छ ।

कृषि तालिमले उत्पादन शक्ति बढाएर खाद्यान्न अभावको समस्या समाधान गर्न मद्दत पु¥याउँछ । तालिमप्राप्त विद्यार्थीहरूले गाउँघरमै स्वरोजगार सिर्जना गर्न सक्ने छन् । व्यावसायिक तालिमबाट आत्मनिर्भर युवाहरूले देशभित्रै रोजगारीका सम्भावना पहिल्याउन सक्ने छन् ।

शिक्षामा सुधार गरी कक्षा १ देखि नै सीपमूलक तालिमको सुरुवात गर्न आवश्यक छ । सरकारले नीति निर्माणमा प्राथमिकताका साथ यस्तो तालिमलाई शिक्षा प्रणालीमा समावेश गर्न आवश्यक देखिएको छ । स्थानीय तहहरूले समेत विद्यालय स्तरमा तालिमको व्यवस्थापन गर्दै विद्यार्थीलाई आधुनिक कृषि प्रणालीबारे सचेत गराउन भूमिका खेल्न आवश्यक छ ।

शिक्षामा कृषि र सीपमूलक तालिमको सुरुवात सानैदेखि भएमा विद्यार्थीहरू आत्मनिर्भर बन्ने र देशको आर्थिक समृद्धिमा योगदान गर्ने आधार तयार हुनेछ । यसले न केवल भोकमरी घटाउने, रोजगारी सिर्जना गर्ने र आयात प्रतिस्थापन गर्नेछ । युवाहरूलाई खाडी देश जानुपर्ने बाध्यताबाट पनि यसले मुक्त गर्ने छ । नेपाललाई आत्मनिर्भर बनाउने एक मात्र समाधान सानैदेखि कृषि र सीपमूलक तालिमको सुरुवात हो ।

ADVADV

सम्बन्धित खबर

Advertise