२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

निरन्तर चुलिँदो व्यापार घाटा

ADV
२०८१ मंसिर ९ गते ०६:४०
निरन्तर चुलिँदो व्यापार घाटा

काठमाडौं : विगतका वर्षमा झैँ चालू आर्थिक वर्षमा पनि नेपालको वैदेशिक व्यापार घाटा निरन्तर उकालो लाग्दो अवस्थामा छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आ. व.को ४ महिनामा कुल वैदेशिक व्यापारमा नेपालले साढे ४ खर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा बेहोरेको छ ।

विभागको तथ्यांकअनुसार चालू आ. व.को कात्तिक मसान्तसम्मको अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको आयात र ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । कुल ५ खर्ब ६६ अर्ब ५ करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापारमा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ बराबरको व्यापार घाटा नेपालले बेहोरेको छ । समीक्षा अवधिमा गत आ. व.को तुलनामा आयात शून्य दशमलव १७ र निर्यात ४ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ ।

नेपालको वैदेशिक व्यापार घाटा निरन्तरतामा भए पनि विभागको तथ्यांकअनुसार अचम्मलाग्दो विषय के छ भने, वर्षौंदेखि रसियासँग युद्धमा होमिएको युक्रेन नेपालका लागि तेस्रो ठूलो निर्यातकर्ता बनेको छ । समीक्षा अवधिमा नेपालले युक्रेनबाट ९ अर्ब १० करोड ९९ लाख २६ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

त्यसमध्ये ८ अर्ब २५ करोड २२ लाख ६१ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेलको कच्चा पदार्थ रहेको छ भने ६४ करोड ५४ लाख ४३ हजार रुपैयाँ बराबरको कोल्जा सिड आयात गरेको छ । त्यस्तै, नेपालले समीक्षा अवधिमा अन्य विभिन्न तेलहनका कच्चा पदार्थ र मेसिनरी उपकरण पनि आयात गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

समीक्षा अवधिमा भारतबाट ३ खर्ब १६ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा ३५ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । त्यस्तै, सो अवधिमा चीनसँग नेपालले १ खर्ब ३ अर्ब १८ करोड २५ लाख रुपैयाँको आयात र ६८ करोड २३ लाख ७७ हजार रुपैयाँको निर्यात व्यापार गरेको छ । समीक्षा अवधिमा भारतसँग २ खर्ब ८१ अर्ब ११ करोड ६६ रुपैयाँ र चीनसँग १ खर्ब २ अर्ब ५० करोड रुपैयाँको व्यापार घाटा देखिएको छ ।
समीक्षा अवधिमा नेपालले २९ अर्ब ४ करोड २० लाख रुपैयाँ बराबरको डिजेल, २१ अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको पेट्रोल र १८ अर्ब ८५ करोड ९३ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ ।

त्यस्तै, सो अवधिमा नेपालबाट ३ अर्ब ६० करोड ८ लाख रुपैयाँ बराबरको कार्पेट, सोयाबिन तेल, ३ अर्ब ४१ करोड, चिया २ अर्ब २१ करोड र अलैँची १ अर्ब ९० करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise