–खिमराज गिरी
नेपाल सार्वभौम सत्ता सम्पन्न गणतान्त्रिक मुलुक हो । नेपालको संविधान, २०७२ को धारा १७ (२) मा वाक् तथा अभिव्यक्ति स्वतन्त्रताबारे लेखिएको छ । त्यस्तै, धारा १९ मा संचारको हक छ र धारा २७ मा सूचनाको हक तथा अधिकारबारे उल्लेख गरिएको छ । तदनुसार नेपाली जनताले आफूलाई मन लागेको कुरा बोल्न र अभिव्यक्त गर्न पाउँछन् । तर, बोल्दै गर्दा त्यसमा पनि राज्यको सुरक्षा तथा अन्य व्यक्तिहरूको स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकारतर्फ ध्यान दिनु जरुरी देखिन्छ ।
त्यस्तै, संचार माध्यमले पनि भए घटेका सत्यतथ्य समाचार सम्प्रेषण गर्न पाउँछन् तर तथ्यगत आधारमा पत्रकारिताको सिद्धान्तको पालना गरेर मात्र । प्रत्येक मानिसलाई सूचना प्राप्त गर्ने अधिकार छ तर राज्यसँग सम्बन्धित गोप्य सूचनाबाहेक । यसरी नेपालमा गणतन्त्र आएपश्चात् नेपालका राजनीतिक दलहरू पालैपालो सत्तासीन भएका छन्, चाहे प्रतिनिधिसभामा २–४ सिट मात्र प्राप्त गरेका दलहरू किन नहुन् ।
सत्तामा रहँदा जस्तोसुकै सिद्धान्त बोकेका दलहरू किन नहुन्, सत्ताको स्वादमा सबै रमाउँछन् । तर, जब सत्ताबाहिर जान्छन् तिनै जिम्मेवार नेताहरूले राष्ट्र, राष्ट्रियता, देशको सार्वभौम सत्ता तथा अन्तर्राष्ट्रिय कूटनीतिको ख्यालै नराखी बर्बराउन थाल्छन् । यसको पछिल्लो उदाहरणको रूपमा नेपाली राजनीतिमा गत साता केही नेपाली नेताले दिएको अभिव्यक्तिलाई लिन सकिन्छ ।
राज्यको महत्त्वपूर्ण चौथो अंगको रूपमा रहेको संचार क्षेत्र छापा माध्यम, रेडियो, टेलिभिजन, इन्टरनेटको आविष्कारपश्चात् विकसित डिजिटल प्रविधिको कारणले सामाजिक संजाल तथा नागरिक पत्रकारिताको रजगज बढेको देखिन्छ । यसमा एकातिर जनताले तत्कालै सूचना तथा समाचारहरू प्राप्त गर्न सक्छन् र हरेक पल अपडेट हुने वातावरण मिलेको पाइन्छ ।
एआईको आविष्कारसँगै अहिले संचारको क्षेत्र झन् यति बिचित्रको बनेको छ कि आफूलाई परेको हरेक समस्याको समाधान उसैले दिन सक्छ । हरेक क्षेत्रमा एआई टुल्सको प्रयोग गर्न थालिएको छ । यसको सकारात्मक तथा नकारात्मक दुवै पक्षहरू होलान् तथापि हाल विकसित तथा अल्पविकसित देशहरूमा संचारको आधुनिक सुविधा प्राप्त भएसँगै समाजमा दुविधाको गन्ध पनि फैलिएको छ ।
अझ नेपाल जस्तो देशको कुरा गर्दा सामाजिक संजालको प्रयोग गरेर राजनीतिक दल खोल्ने अवस्था बन्यो । कतिपय पार्टी गठन भएको ६ महिनामै समेत सत्तामा पुगे । यद्यपि, सामाजिक संजालको सदुपयोग वा दुरुपयोगको कारणले भन्ने कुरा त नेपाली जनताले बिस्तारै बुझ्दै जानेछन् ।
यही सामाजिक संजालले उचाइमा पुर्याइएका धेरै नेताहरूलाई यसैले ओरालो यात्रा तय गर्न बाध्य भएको उदाहरण विश्वमा जति पनि छन् । चाहे ती बेलायतका ऋषि सुनक हुन् या पाकिस्तानका इमरान खान किन नहुन् । त्यस्तै घटना नेपालमा पनि नदोहोरिएला भन्न सकिन्न किनकि अहिले सामाजिक संजालको ‘फेक’ समाचार पत्याएकै भरमा आफ्नो उचाइ कायम राखेका पूर्वमन्त्री तथा स्वतन्त्र रूपबाट उठेका स्थानीय जनप्रतिनिधिहरूको साख पनि कहीँ न कहीँ गिरेको देखिन्छ ।
धरानका मेयर हर्क साम्पाङको राजनीतिक करिअर ठिकै थियो तथापि हिन्दु राज्यमा गाई काटेर भोज गरेको घटनाले केही समय मौन बस्नुपर्यो । त्यस्तै, अहिले काठमाडौं महानगरका मेयर बालेन शाहले पनि सामाजिक संजालमा लेखेका केही स्टाटसहरूमा विदेश या स्वदेशका केही युवाहरूले ‘वाह वाह बालेन’ भनेका छन्, जसरी रविलाई भन्थे । तर, उनी पनि आफ्नो अडानमा बस्न नसक्ने रहेछन् भन्ने कुरा गत शुक्रबार राजदरबार परिसरमा भएको नेकपा एमालेको जनजागरणसभाको घटनाले प्रस्ट्याउँछ । उक्त पार्टीको कार्यक्रम करिब १ बजेदेखि सुरु भएको र करिब ६ बजेतिर समापन भएको थियो र त्यहाँका केही युवाहरूले फोहोर उठाउने कार्य पनि गरेको देखिन्छ ।
तर, महानगरले शुक्रबारको दिन भए पनि राजनीतिक प्रतिशोधकै कारणले एमालेलाई फोहोर व्यवस्थापन गर्न नसकेको भनी १ लाख रुपैयाँ जरिमाना गर्यो । एमालेलाई जरिमाना तिराउने निर्णय गराएका बालेनले त्यही दिन तीनकुनेमा भएको कार्यक्रममा देखिएको त्यो फोहोरको डंगुरतिर ध्यान दिएनन् । न त गत महिना नेकपा माओवादी केन्द्रले गरेको कार्यक्रममा देखिएको त्यो फोहोरको डंगुरप्रति महानगरको ध्यान गयो । उनले किन त्यसो गरे, उनको विषय हो यद्यपि, उनले पनि प्रतिशोधकै व्यवहार अपनाएकामा दुविधा छैन ।
नेपालको राजनीतिमा असल नेताको खोजी हुन छाड्यो । कसको के योगदान कदर हुने अवस्था रहेन । सामाजिक संजालमा बलियो पकड भए पुग्ने अवस्था बन्यो । यसले समाजलाई कता डोहोर्याउला ? विषय निकै गम्भीर छ । अर्कातर्फ, मूलधारका मिडियामा पत्रकारितामा हुनुपर्ने सबै गुणहरू देखिन्छ र मिडिया संचालक तथा सम्पादक पनि यस कुरामा सजग भएका देखिन्छ । यसले प्रसारित समाचारप्रतिको जिम्मेवारीबोध गरेको हुन्छ ।
तर, अहिलेको नयाँ मिडिया अझ खासगरी युट्युब चलाउनेहरू र फेसबुक प्रयोग गर्नेहरूले त अनाहकमा राजनीतिक दलका नेता तथा कार्यकर्ता जुधाउने र बझाउने तथा आफ्नो भ्यूज बढाउन तथा भाइरल बन्नका लागि अपुष्ट समाचार पनि प्रसारित गर्नेजस्ता कार्यले अहिले नयाँ दलका नेता तथा कार्यकर्ताको साख पनि झन्झन् गिरेर जाने स्थिति देखिएको छ किनकि समाजमा फैलाइएका ती भ्रमहरू र डिजिटल रूपमा गरिएको दादागिरी र छाडापनबारे अब हरेक नेपाली जनता सजग हुनुपर्ने बेला आएको छ ।
एउटै व्यक्तिले सयवटासम्म फेक आइडी खोल्ने र संजालमा नेपाली समाजमा पाच्य नहुने शब्द प्रयोग गर्ने गरेकाले नियामक निकाय खासगरी प्रेस काउन्सिल नेपालको पनि यसतर्फ ध्यानाकर्षण हुन जरुरी देखिन्छ । हो, पुराना दलहरूले नेपाली जनताले सोचेअनुरूपको काम गरेर देखाउन सकिरहेको अवस्था छैन । राजनीतिक आडमा केही मुठ्ठीभरका व्यक्तिहरूको भ्रष्टाचारको गन्धले देशलाई नराम्ररी गाँजेको छ । हाल केही व्यक्तिहरूको अनुसन्धान पनि भइरहेको छ । सरकारले पनि बिना राजनीतिक स्वार्थ, यो वा त्यो नभनी पारदर्शी रूपमा भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन अब ढिला गर्नु हुँदैन ।
अहिले यसै त पुराना दलप्रति सामाजिक संजाल खनिएको छ भने कमसेकम निष्पक्ष रूपमा अहिलेको सरकारले आफूले गरेका कार्यप्रतिको पारदर्शिता र अब गरिन लागेको कामको वास्तविकता जनता सामु स्पष्ट रूपमा प्रस्ट्याउनु जरुरी छ ।
आगामी चुनावी माहोल थप धमिलिन सक्छ किनकि यही धमिलो पानीमा माछा मार्ने हेतुले गणतन्त्रलाई नै धावा बोल्दै विभिन्न देशी विदेशी शक्तिहरू सक्रिय छन् । केही भाइरल र सामाजिक अभियन्ता पनि बन्नै पर्ने रोगले खासगरी नेपाली समाज दुर्गन्धित भुमरीमा फसेको छ । राजनीतिक प्रतिशोधकै कारण अनेक आरोप–प्रत्यारोपको वर्षा भइरहेको देख्न पाइन्छ । यस्ता अनाहक तथा बेतुकका पछि नेपाली जनता लाग्नु पनि हुँदैन र यो भ्रष्टाचारको विरुद्धमा भने सबै जना एक हुनु जरुरी पनि छ ।
सामाजिक संजालको उचित नियमन आवश्यक छ । यदि नियमन नगरिएको खण्डमा भोलिका दिनमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा धार्मिक क्षेत्रमा अवश्य पनि ह्रास ल्याउन सक्छ । हाम्रो समाज अनियन्त्रित हुनेछ । सबैले बेलैमा चेतून् ।