जुम्ला : देशैभर ‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान’ चलिरहेको छ । नेपालमा यो अभियान २०५४ सालमा सुरु भएपनि महिलाहरूमाथि हिंसाको क्रम रोकिएको छैन ।
अभियानभरी महिलाविरुद्ध हुने हिंसाका सवालमा सचेतनामूलक कार्यक्रम भए पनि हिंसाबाट पीडित महिलाको संख्यामा कमी आउन सकेको छैन ।
यो अभियान प्रत्येक वर्ष सबै स्थानीय तहमा संचालित भइरहेको छ । यसै क्रममा जुम्लाको चन्दननाथ नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा र जुम्लामा संचालित किडार्क नेपाल लगायतका गैर सरकारी संस्था र नेपाल प्रहरीको समन्वयमा बुधवार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको छ ।
त्यस अवसरमा विभिन्न विद्यालयमा अध्यायनरत्त बालबालिका र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक असिम हमाललेजुम्लामा बलात्कार एवं बालिका हिंसाका घट्ना न्यूनीकरणको प्रयास भइरहेको बताए । उनले भने, ‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान देशभर चलेको छ । यसको अवसरमा जबरजस्ती करणी, जबरजस्ती उद्योग, अपराध अनुसन्धान तथा नियन्त्रणसम्बन्धी सरोकारवाला र बालबालिकाबिच अन्तरक्रिया कार्यक्रममा गरिएको छ ।’
त्यस्तै दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्ष भन्दा बढी उमेरका महिला भए जन्म कैदको सजाय हुने कानुनी ब्यवस्था रहेको उनले जानकारी दिए ।
दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदेखि बीस वर्षसम्म सजाय हुने ब्यवस्था रहेको उनले बताए ।
कार्यक्रममा एसिया मोडल अंग्रेजी स्कुल लगायतका विद्यालयमा अध्ययनरत विद्यार्थीले प्रहरी र सरोकारवाला निकायलाई बालबालिकामाथि भएका अपराध न्यूनीकरणमा सक्रिय हुनुहुन्छ भन्ने प्रश्न गरे ।
उनीहरूले घटनास्थलमा प्रहरी ढिला किन पुग्छ ? गाउँमा भइरहेको अपराध लुकाउन संलग्न हुनेलाई कस्तो सजाय हुन्छ ? भन्ने लगायतका प्रश्न गरेका थिए । बालबालिकाका प्रश्नमा प्रहरीले अपराध न्यूनीकरणमा सक्रिय रहेको दाबी गरेको छ । प्रहरी आफ्नो जिम्मेवारीभन्दा बाहिर नहेको बताएको छ ।
अपराध न्यूनीकरणसँगै प्रहरीले जनताको सुरक्षा सुनिश्चित गर्ने काम गरिरहेको बताएको छ । चन्दननाथ नगरपालिका–५का वडा अध्यक्ष बृख बहादुर कार्कीले स्थानीय सरकार बालबालिकाले उठाएका प्रश्नहरूको विषयमा गम्भीर हुने बताए ।