२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नौमती बाजा घन्काउँदै सन्धिखर्क नरपानीका महिलाहरु

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार ६ गते ११:२८
नौमती बाजा घन्काउँदै सन्धिखर्क नरपानीका महिलाहरु

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानी भूतडाँडाका स्थानीय महिलाहरुले नौमती बाजा घन्काउन थालेका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ ले बाजा बजाउने तालिम दिएपछि महिलाहरूले बाजा बजाउन शुरु गरेका हुन् । 

तालिम पाएपछि आजकल गाउँघरमा हुने विवाह र विभिन्न कार्यक्रममा महिलाले नौमती बाजा लिएर पुग्ने गर्छन् र निकै रमाइलो गर्छन् । महिलाले गाउँमा नौमती बाजा घन्काउन थालेपछि गाउँलेहरू खुसीका साथ दंग परेका छन् । 

महिलाले बजाएको नौमती बाजामा रमाइलो मानेर पुरुषहरू नाच्ने गर्छन् । महिलाहरु बाजा बजाउँछन् । हालै मात्रै सन्धिखर्क नगरपालिकाले कृषि बजारीकरणका लागि सम्झौता गर्ने क्रममा सन्धिखर्क नगरपालिकामा आएका बरिष्ठ व्यवसायीलाई महिलाले नौमती बाजाले सन्धिखर्क नगरपालिकाको सभाहलमा भव्य स्वागत गरेका थिए । 

कार्यक्रममा बजेको नौमती बाजाले नगरपालिकाका कर्मचारीको मात्रै होइन सेवाग्राहीको समेत  ध्यान खिच्यो । पाहुनाहरूसँग  र जनप्रतिनिधिहरु बाजामा छमछमी नाचे ।

‘२१  दिनसम्म नौमती बाजा बजाउने तालिम दिएका थियौँ’ सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्रीधर महत्राले भने ‘तालिम पाएपछि महिला नौमती बाजा बजाउन पोख्त भएका छन् ।’ गाउँघरमा आयोजना हुने कार्यक्रममा उनीहरुले तालिम लिँदालिँदै बाजाका लागि माग आउन शुरु गरेको वडाध्यक्ष महत्राको भनाइ छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ६ मा अब केही समयभित्र होमस्टे सञ्चालन गर्ने तयारी छ । त्यसका लागि पनि तालिम दिएको वडाध्यक्ष महत्राले दावी गरे । नौमती बाजाका सामानहरू खरिद गरेर वडाले तालिम दिएको वडाध्यक्ष महत्राको भनाइ छ । 

महिलाले एउटै पहिरन रातो साडी, हरियो चोलो र तिलहरी लगाएर नौमती बाजा नियम बनाइएको छ । महिलाले हातमा नर्सिङ्गा, सहनाइ, दमाहा, ढोलकी, ट्याम्को, कर्लान र झ्याली लिएर नौमती बाजा बजाउँदै अघि बढ्दा सन्धिखर्क नगरपालिकामा आएका पाहुनाहरू अचम्ममा परेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

‘नौमती बाजा हामी सबैको संस्कृति हो,’ नगरप्रमुख श्रेष्ठले भने, ‘गाउँघरमा नौमती बाजाको लोप हुन थालेपछि हामी वडा कार्यालयमार्फत महिलाई सीप सिकाउन थालेका थालेका हौं ।’

यो कुनै जातिविशेष र पुरुषले मात्र बाजा बजाउनुपर्छ भन्ने पुरानो मान्यतालाई महिलाले तोड्न थालेका छन् । यो कार्यले महिलाहरूको आर्थिक आयआर्जन समेत वृद्धि हुने नगरपालिकाले अपेक्षा गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम लाल भुसालले बताए ।

नौमती बाजा संरक्षणका लागि वडा कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा १ लाख रुपैयाँ विनियोजन गरेको थियोे । सोही बजेटबाट नौमती बाजा बजाउन तालिम दिइएको वडा सचिव जगत खनाले बताए । नौमती बाजा बजाउन १५ जना महिलाको समूह छ । तालिम लिएका महिला सबैले बाजा बजाउन जानेको वडा सचिव खनालले बताए । 

गाउँघरमा आयोजना हुने कार्यक्रममा नौमती बाजा बजाउने मानिसको अभाव थियो । महिलाहरुले नौमती पञ्चे बाजा बजाउन थालेपछि गाउँलेहरु खुसी भएको स्थानीय पत्रकार प्रकाश महत्राले बताए । वडाबाट यस्तो महत्वपूर्ण अवसर पाउँदा हौसला मिलेको सहनाइ बजाउने ईश्वरी परियारले बताइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise