
दोहा, कतार : कतारदेखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले जिल्लाको एक विद्यालयलाई न्यानो कपडा वितरण गरेको छ । मोना कतारले एक कार्यक्रमका बीच जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुना बाल विकास विद्यालयमा अध्ययनरत ११ विद्यार्थीलाई जाडोको न्यानो कपडा हस्तान्तरण गरेको हो ।
मोना कतारका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षता तथा सोही वडाका वडा अध्यक्ष रामबहादुर खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले सहयोगप्रति आभार व्यक्त गरे । उनले कतारमा रहेका सबै म्याग्देलीलाई मोनामा आबद्ध हुन आग्रह गर्दै भविष्यमा मोनासँग मिलेर अझै राम्रा काम गर्न आफू इच्छुक रहेको बताए ।
त्यस्तै कार्यक्रममा आफ्नो धारणा राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद बुढाथोकीले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई थप सहयोगको आवश्यकता रहेको बताए । मोना कतारका महासचिव शिव खड्काले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष बाबुराम भण्डारीले घारबाट कतार पुगेका सबैलाई संस्थामा आबद्ध हुन आग्रह गरिदिन त्यहाँका स्थानीयलाई अनुरोध गरेका थिए । कार्यक्रममा मोना कतारका पूर्वमहासचिव कृष्ण शर्मा, गाउँपालिका सदस्य राम पौडेललगायत स्थानीयको उपस्थिति रहेको थियो । उक्त विद्यालयमा एक जना शिक्षिकाले अध्यापन गराइरहेकी छन् ।