अर्घाखाँची : नेपाली कांग्रेस अर्घाखाँचीका पूर्वसभापति कमल प्रसाद भुसालले गाउँ–गाउँमा गएर एकजुट भइ संगठन विस्तार र सुदृढीकरणमा लाग्न अगुवा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
भुसालले पार्टीमा आफूबाट भएका कमी कमजोरी सच्याउँदै अघि बढ्न अनुरोध आग्रह गरेका छन् । पार्टीका अगुवा कार्यकर्ताले गल्ती गरेको भए त्यसबारेमा जिल्ला पार्टीलाई जानकारी गराउन आग्रह गर्दै उनले सयदिने अभियानले पार्टीलाई बलियो बनाएर अगाडि बढने बताए । भुसालले भने, ‘पार्टीमा सबै नेताले आफ्ना गल्ती सच्चाउन पर्छ । संगठन मजबुद बनाउनु पर्छ । चुनावमा पार्टी पहिलो बन्नु पर्छ ।’ कांग्रेस भूमिकास्थान नगरपालिका–९ ढिकुराले विपी स्मृति प्रतिष्ठान गैराकोटमा आयोजना गरेको एक सय दिने अभियानअन्तर्गत वृहत्त क्रियाशील सदस्यता वितरण कार्यक्रममा बोल्दै भुसालले भने, ‘पार्टीभित्र मैले गल्ती गरेको छु र कमी कमजोरी भएका छन् भने सुधार गर्न तयार छु ।’
नेता भुसालले नेपालका हरेक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको बताउँदै मुलुकमा उत्पन्न हरेक समस्याको समाधान खोज्न पनि कांग्रेस अग्रसर रहँदै आएको बताए । भुसालले सबै दलहरूसँग जिल्लामा सहमति, एकता र मेलमिलाप गरेर जिल्लाको विकास कांग्रेसको नेतृत्वमा गरिने बताए ।
कार्यक्रममा कांग्रेस भूमिकास्थान नगरपालिका–९ का सभापति तिर्थराज घिमिरेले संगठन निर्माणको अभियानका क्रममा सबैको घरदैलोमा पुगेर क्रियाशील सदस्यता वितरण गर्दै पार्टीलाई चलायमान बनाउने बताए ।
त्यसअवसरमा पुण्यप्रसाद घिमिरेको अध्यक्षतामा २१ सदस्यीय किसान महासघ र हिमकला खनालको अध्यक्षतामा १३ सदस्यीय महिला संघ ढिकुरा पनि गठन भएको छ ।