२०८१ मंसिर २० गते बिहिवार / Dec 05 , 2024 , Thursday
२०८१ मंसिर २० गते बिहिवार

‘चीनका मुख्य शहरबाट पर्यटक ल्याउने रणनीति बनाउनुपर्छ’

ADV
२०८१ मंसिर १६ गते ०६:४०
‘चीनका मुख्य शहरबाट पर्यटक ल्याउने रणनीति बनाउनुपर्छ’

प्रधानमन्त्री केपी शर्मा ओली १७ देखि २० मंसिरसम्म चीनको औपचारिक भ्रमणमा जाँदै छन् । प्रधानमन्त्रीस्तरीय भ्रमणमा नेपाल र चीनबीच आर्थिक विकासका एजेन्डा र आपसी सहयोगको विषयमा छलफल र केही समझदारी हुने अपेक्षा गरिएको छ ।

‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) परियोजनाबाट अनुदान मात्र लिने नेपालका सत्तारूढ दलले निर्णय गरेका छन् । प्रस्तुत छ, समसामयिक तथा चीन र नेपालबीचको व्यापारको आयात–निर्यातको अवस्थालाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा नेपाल–चीन चेम्बर अर्फ कमर्स र नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा २ देशबीचको आर्थिक समृद्धिका लागि कस्ता एजेन्डा उठाउनुपर्छ ? 

नेपाल र चीनबीच लामो समयदेखि आर्थिक सम्बन्ध कायम रहँदै आएको छ । २०१२ सालदेखि २ देशबीच कूटनीतिक सम्बन्ध कायम भएको थियो । कूटनीतिक सम्बन्ध विस्तार भएको लामो समय हुँदा २ देशबीचको सम्बन्धसमेत विस्तार भएको छ । अहिले प्रधानमन्त्रीको भ्रमण हुँदै गर्दा नेपाल र चीनबीचको व्यापार घाटा बढिरहेको छ । २ देशबीचको व्यापारका लागि नयाँ ढंगबाट कसरी लैजाने भन्ने विषयमा छलफल हुन आवश्यक छ ।

आयात र निर्यात दुवैका लागि क्वारेन्टाइनको व्यवस्था नभएकाले नेपालमा आयात सहज भए पनि निर्यातमा धेरै नै असहज छ । कृषि, जडीबुटी, फलफूलका लागि आउने वा जाने राम्रो व्यवस्था भएको क्यारेन्टाइन भएको खण्डमा २ देशबीच आर्थिक व्यापार विस्तार अझ मजबुत हुन सक्छ । 

२ देशबीचको व्यापार विस्तारका लागि कस्ता प्रयासहरू अघि बढाउनुपर्ने देख्नुहुन्छ ?

नेपालले व्यापार घटाउनका लागि उत्पादन निर्यात भन्दा पनि पर्यटक, जडीबुटीतर्फ केन्द्रित हुन आवश्यक छ । हाम्रोमा उत्पादन हुने महत्त्वपूर्ण जडीबुटी प्रशोधन गरेर निर्यात गर्न सकिन्छ । उत्तरी नाकाबाट आउने चिनियाँ पर्यटकहरूलाई सहज रूपमा नेपाल आउने वातावरण बनाउन आवश्यक छ । अहिले नेपालसँगको व्यापार घाटा बढ्दो छ, त्यसलाई रोक्नका लागि अहिलेदेखि सरकारी तहमा अग्रसरता देखिन्छ । 

नेपाल र चीनबीचको व्यापार घाटा घटाउनका लागि कस्तो रणनीति आवश्यक छ ? 

नेपालले निर्यात गर्ने धेरै उत्पादन अहिले छैन । तर, चीनबाट आयात घटाउनका लागि आन्तरिक उत्पादन नै बढाउने हो । त्यसका लागि चिनियाँ लगानी भित्र्याएर स्वदेशमै लगानीको वातावरण बनाउन आवश्यक छ । चीनबाट आयात गरेअनुसार पर्यटन र जडीबुटी प्रशोधन गरेर नेपालबाट चीनमा निर्यात गर्ने हो भने २ देशबीच आर्थिक सम्बन्धलाई दीर्घकालीन रूपमा अगाडि बढाउन सकिन्छ । 

नेपाल र चीनको अर्थ व्यापारको विस्तारका लागि के आवश्यक छ ? 

नेपाल र चीनबीचको व्यापार विस्तारका लागि २ देशबीचको सम्बन्धको विस्तार नै मुख्य हो । २ देशका व्यवसायीबीचको सम्बन्धको कारणसमेत अहिले व्यापार विस्तार भइरहेको छ । नेपालको नीति ठीक भए मात्र हाम्रो व्यापार विस्तार हुन्छ । 

सरकारले अर्थ व्यापारमा निर्यात वा आयातमा भएको समस्या नै अहिको मुख्य समस्या हो । २ देशबीच व्यापार गर्ने वातावरण बनाउनु नै पहिलो कुरा हो । व्यवसायीलाई नीतिगत रूपमा नेपालबाट निर्यात गर्ने वस्तुहरूमा सहजता गराउने र आयात हुँदासमेत सहजता गराउन आवश्यक छ । कानुन नै बनाएर २ देशबीच लगानीमैत्री वातावरण बनाएर चिनियाँ लगानीलाई विस्तार गर्न सकिन्छ । 

चीन र नेपालबीचका व्यापारिक नाकाहरूलाई व्यवस्थित गर्न के गर्नुपर्छ ? 

अहिले चिनियाँ पक्षले बीआरआईलाई प्राथमिकता दिएको छ । नेपालले सो सम्बन्धमा आफ्नो रणनीति बनाइरहेको छ । चीनले पनि नेपालमा सामान ल्याउने बाटोमा भौतिक पूर्वाधारमा ध्यान दिन आवश्यक छ । चीनको नाकासम्म आउने सवारी साधन कन्टेनर भन्सारसम्म नै आउने वातावरण बनाउन सकिन्छ । अहिले कन्टेनरको मूल्य महँगो छ । चिनियाँ कन्टेनर भन्सार र ड्राइपोर्टसम्म ल्याउन सक्ने हो भने सामानसमेत बिग्रिंदैन, छिटो पनि हुन्छ । 

नेपालले चिनियाँ पर्यटक ल्याउनका लागि कसरी लाग्नुपर्ने देख्नुहुन्छ ?

नेपालको पर्यटनका लागि चीन ठूलो सम्भावना भएको क्षेत्र हो । चीनको कुल जनसंख्याको १ प्रतिशतलाई मात्र नेपाल घुमाउन सक्ने हो भने पर्यटन क्षेत्र फस्टाउन सक्छ । अहिले पनि नेपालमा चिनियाँ पर्यटक आउन चाहिरहेका छन् । तर, हवाई टिकट महँगो हुँदा कम आइरहेका छन् । त्यसलै नेपालमा चीनका मुख्य स्थान बेइजिङ, सांघाईलगायतका स्थानबाट सिधा हवाई उडान गर्न सकियो भने ठूलो संख्यामा चिनियाँ पर्यटक नेपाल आउन सक्छन् । 

चाइजिज एयरलाइन्सहरूले टिकटहरू सस्तो गराउने हो भने पनि नेपाल चिनियाँ पर्यटकका लागि नजिकको गन्तव्य हुन सक्छ । चिनियाँ एयरलाइन्सले अरू देशको उडान गर्न निकै सस्तो फेयरमा काम गरिरहेका हुन्छन् । तर, नेपालमा आउन हवाई टिकट महँगो छ ।

होटलमा निजी क्षेत्रको लगानी बढ्दा ४० लाख पर्यटक नेपालमा सहज रूपमा बस्न सक्ने अवस्था छ । त्यसैले अब भौतिक पूर्वधारमा सडक र हवाई सेवालाई सहज बनाउने हो भने चिनियाँ पर्यटक ल्याउन निकै सहज छ । नेपालमा आउन संसारका मानिसहरू मोहित छन् तर टिकट महँगो हुँदा ती पर्यटकहरू अन्य देशमा गएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise